पञ्चायत समर्थकले बहुदलमा जन्माएर दरबारको छत्रछायामा हुर्किएको दल हो- राष्ट्रिय प्रजातन्त्र पार्टी।
राप्रपाको इतिहास हेर्दा बहुदलीय व्यवस्थाको पुन:स्थापनालाई हेर्नुपर्ने हुन्छ। पहिलो जनआन्दोलनपछि जब २०४६ सालमा नेपालमा बहुदल आयो, दरबारनिकट रहेर पञ्चायतलाई सहयोग गरिरहेका पूर्वपञ्चहरू पनि दल खोल्ने निर्णयमा पुगे।
पञ्चायतको सत्ता थामेको ‘कुलिन वर्ग’ ले २०४७ साल जेठ १५ गते राप्रपा गठन गर्ने निधो गर्यो।
त्यसमा पञ्चायतका हस्ती सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले राप्रपा स्थापना गरेर बहुदलीय राजनीतिक प्रतिस्पर्धामा आए।
राजाको नजिक र दरबारबाट भरपुर फाईदा लिएकाले खोलेको यो पार्टीलाई पूर्व पञ्चको खानदानी पार्टी भनेर चिनिन्थ्यो।
तर पार्टीलाई बाहिरी विरोधिले भन्दा पनि पार्टीभित्रकै नेताले एक अर्कालाई सिध्याउन लागिपर्दा आजसम्म पटक-पटक फुट्दै र जुट्दै आएको छ।
सम्भवतः नेपालमा सबैभन्दा बढी फुट्ने र जुट्ने पाटीनै राप्रपा होला।
पछिल्लो आम निर्वाचनमा एक स्वतन्त्र सिट जितेको राप्रपामा पार्टीको नेतृत्वका लागि हानाथाप, घमन्ड र तुषको चाङ ठूलो छ।
गणतन्त्र आउनु अगाडि पूर्व राप्रपामा झुकाव कमै थियो। जब गणतन्त्र आयो। हिन्दु राष्ट्र र राजतन्त्रको एजेन्डा लिँदै अगाडि बढेको राप्रपा नेपालसँग एकीकरण गरेको राप्रपाले राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दा अगाडि लिएर हिँड्न थाल्यो।
जनताहरू तत्कालिन राप्रपा नेपाललाई दोस्रो संविधान सभामा २५ सिट जिताएर हिन्दु राष्ट्र र राजतन्त्रको लागि अगाडि बढ्ने ढोका खोलिदिए। त्यसपछि राप्रपासँग एकीकृत भयर राप्रपा ३५ सिटसहित संसदमा चौथो ठूलो पार्टी बन्यो।
जनताले नेताको जुँगा र जिउ हेरेर भोट दिएको थिएनन्। राप्रपाले उठाएको मुद्दालाई हेरेर मत दिएका थिए। दोस्रो संविधान सभामा पाएको मतलाई नेताले आफूखुसी शक्तिको दुरूपयोग गर्दै पैसा वालालाई सांसद पद बाढ्न थालेको भन्दै पुनः राप्रपा फुट्यो।
अरू पार्टीहरू चुनावको बेला गठबन्धन गर्दै जुट्छन् भने राप्रपा प्रायः चुनावकै मुखमा फुट्छन्।
पटक पटक फुट्दै र जुट्दै आएको राप्रपा फेरि एक भयो। पूर्वपञ्चहरू एकतामा गए। राष्ट्रिय प्रजातन्त्र पार्टी २०७६ फागुनमा कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहानी अध्यक्ष हुँदै एकै दलमा समाहित भयो।
अब राप्रपा एक भएर राम्रोसँग अगाडि बढ्ने आशामा लाखौ कार्यकर्ता खुसी भए। राप्रपामा त्याग गर्ने र अवसर पाउनेले उचित सदुपयोग गर्नेछन् भन्नेमा पूरा आशावादी रहे।
एकता अधिवेशनबाट चुनिने नेतृत्वले राप्रपालाई एक ढिक्का बनाएर लाने धेरैले अपेक्षा गरे।
राप्रपाको एकता महाधिवेशनमा नेतृत्वका लागि १६ वर्षसम्म पार्टी हाँकेर हिँडेका कमल थापा र उनकै राजनीतिक चेला चुनावी मैदानमा उत्रिए। घर भित्रकै दाजुभाइबाट आफूलाई असहयोग हुन्छ भन्ने पटक्कै हेक्का नराखेका थापाले अन्ततः चुनाव हारे।
राजनीतिकमा प्रभावशाली छबि बनाएर पटकपटक सरकारको उच्च ओहादामा पुगिसकेका थापाले राजेन्द्र लिङ्देनलाई सामान्य आँकेका थिए। आफू वरिपरिकाले उनलाई भोट हाल्ने भनेर विश्वाससमेत दिलाएका थिए।
तर आम कार्यकर्ता नेतृत्व परिवर्तनको पक्षमा थिए। लामो समयदेखि पार्टी भित्रको आन्तरिक कलहलाई राम्ररी बुझेका कार्यकर्ता थापाबाट निरास थिए र नेतृत्व परिवर्तनको पक्षमा थिए।
थापाका विश्वास पात्रासँगै अधिकांश कार्यकर्ता थापाको सम्पर्कबाट टाढिँदै गएका थिए, यसको भेउ थापाले पाएका थिएनन्।
दोस्रो संविधानसभा निर्वाचनमा आफू खुसी सांसद पद बाँडेको आरोप लागेका थापाले देउवा, प्रचण्ड र ओली तीनै जनाको मन्त्रिमण्डलमा सहभागी भएर दोधारे व्यहार देखाएको राप्रपाका कार्यकर्तालाई मन परेको थिएन।
यस्तै पार्टीका सह-अध्यक्ष केशरबहादुर विष्टलाई गरेको कारबाहीपछि राष्ट्रवादीले खुलेरै विरोधसमेत गरेका थिए।
केही महिना अगाडि केन्द्रीय समितिको मनोनयमा समेत प्रभावशाली नेता धवलसमशेर राणालाई अपमानपूर्वक विशेष समितिमा नराख्दा थापा नजिकका २ राजनीतिक खम्बा राणा र लिङ्देन टाढिएका थिए।
एकातिर घरभित्रकै दाजुभाइको किचलो, अर्कोतर्फ सचिवालयका दाजुभाइले अध्यक्ष र कार्यकर्ताबीचको दूरी बढाईरहँदा थापाले आफ्नु पक्षमा कार्यकर्ताको विश्वास घटेको आँकलन गर्नै सकेनन्। उचित समयको पर्खाईमा बसेका कार्यकर्ताले सबैको बदलास्वरूप आगामी राप्रपाको बागडोर लिङ्देनको हातमा पुर्याइदिए।
सबैसँग मिल्ने र सवैलाई मित्रवत् व्यवहार गर्ने राजेन्द्रलाई प्रकाश चन्द्र लोहनीको खुला समर्थन, पशुपति समशेरको मौन समर्थन, धवल शमसेरको काँध र निरास कार्यकर्ताको विश्वासले कमल थापाको विरासत ढल्न काफी रह्यो।
उता केसरबहादुर विष्टले पनि सकेको सहयोग गरे। विष्टलाई पार्टीले निकाले पनि कार्यकर्ताले मनबाट निकालेका छैनन्। त्यसैले कतिपयले केसरबहादुर विष्टको पनि कुरा मानेर लिङ्गदेनलाई भोट हाले।
यतिबेला वास्तवमा मतदाताले विवेक प्रयोग गरेकै हुन्। लिङ्देनलाई सम्मानजनक भोट दिए। केही मत वदर भए, केही कार्यकर्ताले भोट हालेनन्। तर पनि लिङ्देनलाई कार्यकर्ताले २ सय मतअन्तरले जिताए।
थापाले चुनावमा पराजय भोग्नेबित्तिकै निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रलाई ट्वीटरबाट ‘धन्यवाद’ नै दिएका थिए।
थापाले यो क्रमलाई सोमबार पनि जारी राखे। उनले पूर्वयुवराज्ञी हिमानी शाहको नाममा खोलिएको ट्वीटर अकाउन्टमा पनि आक्रोश पोखेका थिए।
ज्ञानेन्द्र र निर्मल निवाससँग आक्रोश पोख्ने क्रममा थापाले मंगलबार वक्तव्य जारी गरेका थिए। थापाले वक्तव्यमा भनेका थिए, ‘केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछु।’
उनले राप्रपाको आन्तरिक राजनीतिमा ज्ञानेन्द्रले हस्तक्षेप गरेको यो पहिलो घटना नभएको बताएका छन्।
२०७४ सालमा पार्टी फुटाउन र विगत केही समययता ‘भजन मण्डली’ खडा गरेर पार्टी नेतृत्वको चरित्र हत्या गर्ने काम गरेको आरोप निर्मल निवासलाई लगाएका छन्।
निर्मल निवास र ज्ञानेन्द्रलक्षित अभिव्यक्तिलाई थापाले जारी राखेका छन्।
यद्यपी अधिकांश पदाधिकारीमा कमल थापाकै मान्छे छन्। यसरी घरभित्रका दाजु भाइले गलत/सही जे गरे पनि घर भित्रको दोष दरबारलाई लगाउनु दुखत कुरा हो।
काम विगार्ने घर भित्रकै दाजुभाइ दोषचै दरवारलाई?
महाधिवेशनको केही समय अगाडि दरबारले राप्रपामा जसले जिते पनि फरक नपर्ने आशय आएको थियो। ‘जसले जिते पनि केही फरक पर्दैन। उहाँहरूको यो पार्टी भित्रको आन्तरिक कुरा हो। जसले जिते पनि उहीँ पार्टीका सदस्यले जित्ने हुन्। यस्तोमा दरबारबाट कुनै चिन्ता र चासो छैन’, दरबारका एक सदस्यले भनेका थिए।
प्रभावशाली र श्रद्देय व्यक्तिले आफ्नै परिवार भित्रको सदस्यसँग पराजित हुँदा राजा र संस्थालाई तथानाम गाली गर्नु उचित देखिएन। राजतन्त्रपछि पनि दरबारको छत्रछायाँ र आसीर्वादले उच्चपदमा पुगेका थापा आफूले लिएर एजेन्डा विपरित गएर राजतन्त्रको विरोध गरेको सुहाएन।
पूर्वपञ्चहरूको पार्टी राप्रपाका निवर्तमान अध्यक्ष थापा लामो समय हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा बोकेर राजनीति गरिरहेका थिए।
दरबार संकटमा पर्दा नजिकबाट साथ दिने सन्दर्भमा पनि उनको सक्रियता थियो भन्ने गरिन्छ। पछिल्लो समय थापासँग निर्मल निवास असन्तुष्ट रहँदै आएको बताइएको छ। निर्मल निवास थापासँग रूष्ट हुनुमा उनले राजसंस्थाको नाममा जनतासँग भोट मागेको तर एजेन्डासँग ‘सम्झौता’ गर्दै गणतान्त्रिक सरकारलाई स्वीकार गरेको आरोप छ।
राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डालाई लिएर भइरहेका गतिविधिमा थापाले साथ नदिएको आरोप छ।
राजनीतिका चतुर खेलाडी थापाले लिङ्गदेनलाई पार्टीको कमाण्ड छोडेर आगामी दिनमा संसदीय दलको नेताहुँदै अगाडि बढ्नु उचित हुन्छ। आवेगमा आएर घर भित्रको दोषलाई दरवारमा थोपर्नु पर्दैनथ्यो।
आफ्नो सचिवालयको गहन समीक्षा गरि आगामी दिनमा विजयको बलियो आधार तय गर्नुपर्नेछ।
यसरी राप्रपालाई एक भएको देख्न चाहने आम कार्यकर्ताको हितका लागि थापा-लिङ्देन सँगै हिड्नुपर्छ। यसैमा बेस होला।