म आशावादी मान्छे हुँ। र त देशको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका प्रणालीहरू राम्रो बन्न सक्छ र बनाउनु पर्छ भनेर लेखिरहेको छु।
मलाई यो पनि थाहा छ, मेरो लेखलाई राजनीतिक भूत चढिसकेकालाई बेकाम लाग्छ। पढ्नसम्म पनि मन लाग्दैन र अनुशरण गर्लान् भनेर आशा गर्नु त आकाशको फल आँखातरि मर नै हो। त्यसैले आज यो लेखमा म राजनीतिज्ञहरू सबैलाई पढ्न मिल्ने राजनीतिक गफ लेख्दैछु। पूरै लेख पढ्न आग्रह, राजनीतिकै बारेमा लेख्दैछु, कस्सम!
राजनीति र नेता अनि राजनीतिक दल, यी तीन शब्दावली सबभन्दा बढी प्रयोग भएको आधा शताब्दीभन्दा पनि बढी भयो होला नेपालमा। अब यो लेखमा पनि राजनीति शब्दलाई विशेष प्रयोग गरेर सम्मान गर्न मन लाग्यो।
वर्षको बाह्रै महिना राजनीतिको भूत चढ्ने नेपाल विश्वकै थोरै राष्ट्रमध्ये पर्छ होला। त्यसको जनगणना सुरू सायदै भएको छैन होला, अब सुरूआत गर्नुपर्छ कि भन्ने लागेको छ।
स्वीडेनबाट थोरै समय बिदामा नेपाल बस्दाको मेरो अनुभव त्यस्तै रह्यो। समाचार, अखबार, सहर र गाउँ चारैतिर राजनीतिको रस पसेको र गढेको देख्दा मलाई त्रास पनि उत्पन्न भयो। किनभने सबैतिर भिन्नैभिन्नै नेताहरूको गुट बनाइएको रहेछ। हरेक कार्यक्रम या सामाजिक कार्यक्रमको भेटघाटमा पनि एउटा पार्टीका नेता बोलाएपछि अर्को नजाने, कति मानिस यो कार्यक्रममा सहभागी भए भनेर होडबाजी नै चल्ने रहेछ। भाइचाराको सम्बन्ध, सामाजिक सद्भाव, मेलमिलापको हाम्रो संस्कृति राजनीतिले छताछुल्ल बनाएको रहेछ।
देशका मुख्य अखबार र समाचार पनि नेताका दिनचर्या वर्णनमा व्यस्त देखिए। जता जोसुकैलाई भेटे पनि राजनीतिको कुरा निस्किहाल्ने। सरुवा रोगजस्तो, टिकटकजस्तै भाइरल बनिरहेको रहेछ हाम्रो नेपालको राजनीति। स्वतन्त्र नागरिक भन्ने व्यक्तिहरू त दिनभर टन्टलापुर घाम या विशाल झरीमा या कठ्यांग्रिदो जाडोमा काम गरेर जीवनयापन गर्न बाध्य भएका कामदार र किसानबाहेक अरू कोही छैनन् जस्तो लाग्यो।
विश्वका अन्य राष्ट्रका नेतालाई कोरोना निर्मूल पार्ने भ्याक्सिनको चिन्ता छ। वातावरण प्रदूषणबाट कार्बनडाइअक्साइड कम बनाएर पृथ्वीको तापक्रम कसरी कम गर्न सकिन्छ भन्ने चिन्ता छ। गरिब र धनी बीको दुरी कसरी कम गर्न सकिन्छ भन्ने चिन्ता छ। क्यान्सर जस्ता प्राणघातक रोग निर्मूल पार्न कसरी सकिएला भन्ने चिन्ता छ। सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग मानवजातिका लागि कसरी गर्न सकिएला भन्ने चिन्ता छ। अनि यो पृथ्वीका सबै प्राणीका लागि दीर्घकालीन विकास कसरी सम्भव होला भन्ने चिन्ता छ।
हाम्रो नेपालमा भने होडबाजी नाराबाजीको छ। कसले कति ठूलो जुलुस निकाल्न सक्छ, ठूलो आमसभा या महाधिवेसन गर्छ, चुनाव जित्छ, पार्टी फुटाउँछ, कसले न्यायालय, कर्मचारी संगठन, व्यवसायी सबैलाई कब्जामा लिएर राजनीतिक दास बनाउँछ, देशभक्ति हुँ भनेर नारा-जुलुस लगाउँछ, कुन पार्टीका कति सदस्य छन्, मिडियामा सबभन्दा चर्को र झर्किलो स्वरमा कराएर बहस गर्न सक्छ, आदिआदि।
क्रान्ति र व्यवस्था परिवर्तनका नाममा अहिलेसम्म आफ्ना दाजुभाइ र दिदीबहिनीसँग लड्नुबाहेक खासै उपलब्धि नेपालमा भएको जस्तो मलाई लागेन। पुर्खाले पसिना बगाएर ठिक्क पारिदिएको भूमिलाई मरभूमि बनाएर भए पनि राज गर्न पाएका छन् हाम्रा राजनीतिज्ञले।
राजनीतिक चरित्र पनि यस्तो खेल बनेको छ कि एउटा दल र नेता देशभक्ति, अर्को दल र नेता देशद्रोही। कोही राजावादी, कोही राष्ट्रवादी, समाजवादी, लोकतन्त्रवादी, साम्यवादी, जनवादी, संविधानवादी, हिन्दुवादी, मार्क्सवादी-लेनिनवादी अनि कोही माओवादी। अब त जसले जे गर्ने त्यहीबादी।
लोकतन्त्र भन्ने र पार्टी र राजनीति गर्ने धरातल राष्ट्रलाई बनाउने अभियानले नेपाललाई अपार सफलता मिलेको छ। त्यसैले आजभोलि व्याप्त राजनीतिक भाइरस सबैको रगतरगतमा पसिसकेछ। कोरोनाजस्तै सरुवा रोग बनिसकेको छ।
हजारौं नेपालीको भोको पेट, स्कुल जान नपाएका बालबालिकाको पीडा, उपचार खर्च नपुगेर सानैमा मर्नुपर्दाको बेदनाका चिच्याहट, सडक दुर्घटना मा अकालमा ज्यान गुमाउनुको बाध्यता र मानवअधिकारको आधारभूत जिम्मेवारीका बारेमा छलफल मात्र होइन, दिमागमा अलिकति सोच्नेसम्म पनि क्षमता राजनीतिक भाइरसले उडाइसक्यो। आज नेपालको राजनीतिले नेता, कार्यकर्ता, कर्मचारी, न्यायलय, पत्रकार, शिक्षक, विद्यार्थी, व्यवसायीदेखि गाउँगाउँका कामदारलाई पनि गहिरो दलदल परेको खाल्डोभित्र पारिसकेको छ।
नेपालको राजनीतिक चहलपहल, कुर्सी बहस र युद्ध सुन्दै गरेको पनि जान्ने-बुझ्ने भइकन ३० वर्ष बितेछ।
म सानो भए पनि लहैलहैमा कति नारा जुलुसमा निस्किएँ। जिन्दावाद र मुर्दावाद या त मसाल जुलुस भन्थे, देश डुब्यो र देश बनाउनुपर्छ भन्थे।
प्रसंग नारा जुलुसबाट सुरू गरौं।
त्यतिखेरदेखि नै हाम्रो समाज टुक्र्याइएका थिए। जनता कसैलाई सामन्त शोषक या कसैलाई गरिब सर्वहारा भनिन्थे! नेताको आदेश आउँथ्यो, अब आमसभा, कोणसभा गर या मसाल जुलुस निकाल। माओवादी युद्धबेला शिक्षाहरू सबै बुर्जुवा बनाइए। अनि सरकार या मुलुकको शासन सबै निरंकुशता र सामन्तमा परिणत गरिदिए। धेरै विद्यालय, कलेज त्यतिखेर पार्टीमय बनेका थिए। विद्यालयमा ठूला ताल्चा लगाइए। अनि के पढ्नु, के जागिर खानु?
मरीमरी काम गर्यो, शिक्षक बनेर महिना मरेपछि तलब पाम् न भनेर हात जोड्नुपर्ने। तर पनि तलब नपाउने बाध्यता। अनि विदेश पलायन भयो भन्दै आफूलाई राष्ट्रप्रिय नेता र बाहिरिएकालाई पलायनवादी र राष्ट्रघातीको उपहास र उपहार।
तीन दशकपछिको मेरो देश अनि मेरो समाजको हालत ठ्याक्कै एउटै छ।
हो, गाउँगाउँमा केही बाटा, पुल र केही अग्ला घर बन्न थालेका छन्। तर जनताको आवश्यकता र देशको वास्तविक राजनैतिक व्यवहारमा केही परिवर्तन देखिएको छैन। आधुनिकीकरण बढ्दै जाँदा, समयसँगै देशको विकास हुँदै जान्छ। यो स्वाभाविक प्रक्रिया हो। केही गर्दै नगरी राजनीतिक धरातलमा टेक्न गाह्रो हुने भएकाले विकास र समृद्धिका काम फाट्टफुट्ट भइराखेको पाइन्छ।
जस्तो, जुन क्षेत्रमा चुनाव जितिन्छ, त्यहाँ केही न केही सबैले देख्ने गरी ठूलो काम गरौं र अरू दसौं वर्षसम्म राजनीतिको कसी आफ्नो हातमा ल्याऊँ भन्ने नेताहरूको मानसिकताले देशलाई र जनतालाई केही हदसम्म फाइदा नै गरेको छ।
राजनीति र राजनीतिज्ञहरूले देशलाई आशा नै आशा देखाएर केबल निराशा दिएका छन्। राजनीतिको जालो फिँजाएर हरेक निर्वाचनमा आश्वासनको भरमा सत्ता र शक्ति लिन्छन्, अनि फेरि राष्ट्रप्रेमी बन्छन्।
दिनदिनै स्कुल जाने खर्च नभएर पढ्न नपाएको एक बालकको कथा सुन्न या उपचार खर्च नपुगेर गुहारिरहेको विज्ञापन सुन्न या बालिकाहरूको बलात्कार/हत्याको चिच्याहट सुन्न या छोराछोरी निजी स्कुलमा पढाउँछु भनेर खाडीको तातो घाममा काम गर्न दिनहुँजस्तो बाहिरिने सयौं युवाको वास्तविकता बुझ्न वा अस्पतालै पुग्न नपाई जीवन गुमाउनुपरेको खबर सुन्न फुर्सद छैन हाम्रा राजनीतिज्ञलाई।
अलिकति पनि दया-माया नभएजस्ता मान्छेहरू सत्ताको वरपर घुमिरहेका छन् र घुमिरहने छन्। थालमा राखिदिएको माछा खान पल्किएको मान्छेले फेरि बल्छी बोकेर माछा मार्न जाला कि भनेर आश गर्नु बेकार छ।
जनताले पाँच वर्षका लागि अविर-माला लगाइदिन्छन् र आफू फेरि गहिरो हिलोमा गाडिएजस्तै दबिइरहन्छन्। पाँच वर्ष पुग्न लागेपछि फेरि तिनै नेताले हिलोबाट निकाल्छन्, अलिअलि सफा गरिदिन्छन्। चुनाव सकिनेबित्तिक्कै जनतालाई फेरि फाल्दिने त त्यही दल्दलमै हो। हामी नेपालीले पनि त्यही हिलोमा रमाउन सिकिसकेका छौं।
धेरै युवा देश बनेन, देश बनाउँछु भन्दै भगवान राम नै बनेजस्तो चिच्याइरहेका छन्। जनता उपचार खर्च पुगेन, छोराछोरी पठाउन, काम पाउन सकिएन र शान्ति, सुरक्षा मिलेन भनेर चिच्याइरहेका छ्न। फेरि पनि तिनै नेताहरूको भाषण सुन्नेबित्तिकै हो न हो सबै दु:खका दिन नस्ट भएर, सुन्दर प्रकाश छर्ने बिहानी भोलिपल्टै आइहाल्छ, गरिबी अन्त्य हुन्छ र यो अन्धकारभित्र डुबेका नराम्रा विपनाबाट मुक्त पाइन्छ भन्ने कुरामा तिनै नेतालाई विश्वास गर्दै फूलमाला लिएर तम्सिरहेका हुन्छौं।
हुन पनि के गर्नु, नेता र राजनीतिक दल बिना नागरिकता र मृत्युदर्ता पनि हुन छोडिसक्यो। त्यसैले आदर्शका कुरा गर्न छाडौं, त्यही राजनीतिको कुरा गरौं। अरूको पेट भरियोस् नभरियोस्, राजनीतिक दलाल बनेँ भने कम्तीमा मेरो र मेरो परिवारको पेटसम्म त पाल्न सक्छु।
यो खोज, अनुसन्धान, नवीनता र विज्ञान हाम्रो नेपालीको संस्कृति होइन, पश्चिमा मुलुकको हो। त्यसैले राष्ट्रवादी नेपाली एकजुट भएर यो चलिरहेको राजनीतिक संस्कारको संरक्षण र प्रबर्द्धन गर्न अघि बढिरहने पो हो कि!
(पेसाले स्वास्थ्यकर्मी लेखक थापा सिन्धुलीका हुन् र हाल स्वीडेनमा विद्यावारिधि गरिरहेका छन्।)
ट्विटर @DipRajThapa2