हाकिमको अवतार कस्तो हुन्छ? देख्नुभएको छ? अपवाद बाहेक खाइलाग्दो जीउडालमा चिटिक्क पहिरन आकर्षणयुक्त भएर हिँड्छन् हाकिमहरु। हाकिम भन्नाले सरकारी वा प्राइभेट संस्था वा कार्यालयका माथिल्लो तहका मान्छे। कोट-पाइन्ट, सुनौलो घडी, औंठीमा सजिएर अनि अत्तरको बास्ना फिजाउँदै कार्यालयमा छिर्छन्। सबैभन्दा अबेला छिर्छन्।
आफू आसिन हुनपर्ने कुर्चीमा गएर देश, परदेश र राजनीतिका गफहरु छाँट्छन्। अपवाद बाहेक हाकिमहरु यस्तै नै हुन्छन्। आफू बस्ने अफिस वा कार्यालय जतिसुकै नै फोहोर होस्, कार्यालय सहयोगी नआएर वा बिरामी भएर नबढारिएको फोहोरमा कुचो लगाउन समेत हाकिमलाई आफ्नो मर्यादाले दिंदैन। अझ हाकिम भन्ने पद र ओहोदाको अहमले त दिँदै दिँदैन।
फोहोर अफिसमा नै हप्तौं बस्न बरु हाकिम राजी हुन्छ तर सफा गर्ने उसको फुर्सद हुँदैन वा मनसाय रहँदैन। वा हाकिम सानो काम गर्दा आफूलाई सानो भइने फुच्चे विचार बोक्दछ। खैर! जे होस् कुचो लाउन नसक्ने हाकिमका बारेमा आज चर्चा गरौं।
चिकित्सकका रुपमा सरकारी कार्यालयमा काम गर्न थालेको एक वर्ष नाघ्यो। कहिलेकाहीँ हाकिम हुने अवसर पनि जुट्छ त कहिले हाकिमका व्यवहारमाथि प्रश्न उठाउने अवसर। स्वास्थ्य बाहेकका अन्य सरकारी वा प्राइभेट कार्यालयमा जाँदा पनि हाकिमका उठ्ने-बस्नेदेखि लिएर अन्य गतिविधि देख्ने अवसर मिलेको छ।
यी तिनै हाकिम हुन् जो आफ्नो पालन पोषणदेखि लिएर हुर्काइ, बढाइ र पढाइ हुँदासम्म, इच्छाहरु पूरा नहुन्जेलसम्म एकदम भुइँमान्छे भएर बाँचेका हुन्छन् तर जब पद पाउँछन् र उच्च श्रेणीको कुर्चीमा बस्छन् तब आफूभन्दा तलकालाई मान्छे गन्दैनन्।आफूले पूरा नगरेको जिम्मेवारीको दोष पनि आफूभन्दा तलका कर्मचारीको टाउकोमा थोपर्छन्। जागिरको खोजमा भौंतारिएका अनेकौं माथि स्वाभिमान गिर्ने हर्कत गर्दछन्। त्यसैले त भनिन्छ नि आफ्नो विगत भुल्नु हुँदैन भनेर।
कहीँ-कहीँ त हाकिम यस्ता पनि हुन्छन् जो आफ्नो व्यक्तिगत इगोसँग साना कर्मचारीको हुर्मत लिन्छन्, तर्साउँछन्, थर्काउँछन्। भए/नभएका बेइज्जत गरी सबैका सामुन्ने नाकमुख देखाउन नहुने बनाउँछन्। कोही राजनीतिक प्रतिशोध लिन्छन्। कोही आफूभन्दा बर्ता जान्ने भएको भन्दै खसालेर बोल्छन्। जब हाकिम आफ्नो पदको गरिमामा कायम रहन सक्दैन, ऊ विस्तारै लज्जाबोध भएर नांगो हुन्छ।
हाकिमहरु कतिपय त कदर गर्न लायकका पनि हुँदैनन्। आफ्नो स्वार्थलाई एकमात्र ध्येय बनाउँछन्। आफ्नो आँखा छल्न खोज्ने बाठा कर्मचारीलाई बरु माफी दिन्छन् अनि सोझा-साझामाथि शोषण गर्छन्। अझ घरायसी प्रयोजनका लागि कार्यालयका कर्मचारीहरु लैजाने पनि गर्छन्। बिहे भोज, भतेर रहेछ भनेर घरमा सबका भाँडा धुन, लुगा धुन, घर सफा गर्न हाकिमले कार्यालय सहयोगीहरु लाने पनि गर्छन्।
जान नमाने लोभ ज्यादा देखाउने गर्छन्। हाकिमका रवाफ अपत्यारिलो हुन्छ। मुस्कान पनि तिखो हुन्छ, कहाँनेर छेड्छ पत्तै हुँदैन। सभ्यता र सु-संस्कृतिको विज्ञापन गर्न ऊ जान्दै जान्दैन। नखरा र फेसनले मान्छेलाई आँछु-आँछु पारेर पवित्र दूधले नुहाए झैं चोखिन्छु सोच्छ। पैसाका लागि भगवानको उपासना गर्न पछि नपर्ने हाकिमहरु आफूभन्दा माथिका हाकिमहरुको ज्युँ-ज्युँ गर्छन्। ताल परे जुत्ता चाट्छन्।
हाकिमका घाँटीमा प्राणमात्र झुन्डिएको हुन्छ तर कार्यालय समयमा पुग्नुपर्छ भन्ने एउटा चेतना झुन्डिएको हुन्न। कोही अपवादहरु भने भयंकर राम्रा पनि हुन्छन् तर अक्सरमा यस्तै मनोवृत्ति छ।
हाकिमहरु त कार्यालयको आदर्श हुनुपर्छ। भेट्दा नि ओहो! महापुरुष नै भेटेजस्तो, संगत गर्न पाए हुन्थ्यो जस्तो व्यवहार देखिनुपर्छ। न सिर्जना, न कल्पना, न भावनामात्र तहको घमण्डले केको हाकिम? कताको मुखिया? आफूभन्दा तल्लो तहकै भए पनि उमेरले जेठो हुनुहुन्छ भने आफूले नै सुरुमा नमस्कार गर्दा के बिग्रन्छ? आदार गरेर विनम्र आग्रह पूर्ण तरिकाले काम गरिदिनुस् न भन्दा के हाकिमको तलब घट्छ र?
'पानी ले त, चिया पका त!' भन्नुको साट्टो घुमाउरो हिसाबले 'कस्तो पानी प्यास लागेको थियो अनि हजुरले कति मिठो चिया पकाउनुहुन्छ नि है?' भनेर आग्रह सहितको कार्य पनि त लगाउन सकिन्छ। आफू बस्ने कुर्ची, टेबल अनि कोठा त कार्यालय सहयोगी नआउँदा, नभ्याउँदा आफैले कुचो लाउन पनि त सकिन्छ। कि कोट पाइन्टमा धुलो लाग्छ? वा प्रतिष्ठामा दाग? यी सबै भ्रम हुन्। गर्ने बानी परेपछि आफूले खाएको चियाको कप पनि आफैलाई धुम्-धुम् लाग्छ। नगरुन्जेल मात्र हो म ठूलो, यो काम गर्न हुन्न! यो मात्र गर्न पर्छ! भन्ने त।
कार्यालय सहयोगी पनि त मान्छे हुन्। कहिलेकाहीँ बिरामी हुन सक्छन्। बिदा चाहिन सक्छ। चाडबाड उसलाई पनि त आउँदा हुन्। घरभरि काम उसका पनि थुप्रिएका होलान्। बालबच्चा होलान्, घुम्न जान मन लाग्ला। अनि के तपाईं आफू हाकिम भए भन्दैमा एकदिन पनि सहयोगी बिना बाँच्न सक्नुहुन्न? आफ्नो लुगा आफैले धुने हैसियत राख्नुहुन्न? तपाईंको अल्छीपनाले हद गरिसकेको हुन्छ अनि त पदको अहम र अल्छीपनाको ककटेल भएपछि के चाहियो र? सबै धन्दा एकातिर थन्काएर आफू मोबाइलमा व्यस्त भयो बस्यो।
मपाईंको मोहनीले तपाईंको आत्मा बिगार्न सक्छ हाकिम साब। अत्याचारको शिकार अरुलाई बनाउँदा आफ्नो बानी बिग्रन सक्छ। त्यतिमात्र होइन, घृणाको पात्र बन्नुहुन्छ तपाईं बिनासित्ती। त्यसैले सानो-सानो काम गर्दा ठूलो मान जोगाउन सकिन्छ। कहिल्यै मिठो चिया बनाएर कार्यालय सहयोगीलाई पिलाउनु भएको छ? एकोचोटि पिलाउनुस्! अनि कति तारिफहरु कानेखुसी हुन्छन् पत्तै पाउनुहुन्न।
आफू साढे नौ बजे नै अफिस पुगेर आफ्नो कोठा आफै बढार्नु भएको छ? आजैदेखि सुरु गर्नुस्। आफू भित्रको अहम् सुकेका पातजस्तै झरेर जानेछन्। एउटा मिर्मिरेमा उदाएको शुद्ध मान्छेजस्तै हुनुहुनेछ तपाईं। आफ्ना कर्मचारीलाई अगाडि हिंडाएर आफू पछि-पछि हिंड्न जान्नुभएको छ? तपाईंका जत्रा ठूला नहोलान् भलै तर साना भएनि अरु कर्मचारीको उपदेश सुन्नुभएको छ कहिल्यै? आफूबाट गल्ती हुँदा शिर निहुर्याएर तहले साना कर्मचारीसँग पनि कहिल्यै माफी माग्नु भएको छ? एकचोटि गर्न तयार हुनुस्। आफू हदैसम्मको लचक भएर खँदिलो हुने प्रयत्न गर्नुहोस्। छुट्टै प्रतिभाले तपाईंको मुहार ज्योति झैं बल्नेछ।
कार्यालयको तपाईं माथिल्लो मान्छे हो तर प्रमुख मान्छे होइन। सबैको महत्व आ-आफ्नो हुन्छ। कोही एकजना हटाउँदा उसको अभाव देखिन्छ भने कसरी ऊ महत्वपूर्ण नहुन सक्छ र? त्यसैले सबैको कामको सम्मान गर्न सिक्नुपर्छ। सबैको भावनाको कदरले नै एकता कायम हुन्छ। मै हुँ सर्वश्रेष्ठ भन्ने भावले इग्नोर मात्र भइन्छ। एकलकाटे भावले प्रतियोगिता जितिन्छ होला तर मनहरु जितिन्न।
कुनै कार्य गर्ने मान्छे चै राजाजस्तो अनि कुनै कार्य गर्ने रैतिजस्तो, एउटै कार्यालयमा स्वर्ग र नर्क सिर्जना नगरौं। कामहरु बाँडीचुँडी गरौं। प्रतिफलमा हिस्सेदारी सबैलाई बनाऊँ। फोहोर उठाउने वा पुछा लाउनेले मात्र त्यो काम गर्नपर्छ, अरुले गर्न हुन्न भनेर भेदभाव नगरौं। परेको खण्डमा हाकिम पनि कार्यालय सहयोगीको भूमिकामा ओर्लिंदा पदको गरिमा सगरमाथाभन्दा उचो होला तर घट्दैन।
यसले गतिलो न्यायको प्रशिक्षण पनि दिन्छ। बोलेरभन्दा गरेर देखाउन सके सिक्ने मान्छेले पनि चाँडै सिक्छन्। अनि त सबै कर्मचारीमा जवाफदेहीताको लहरो गाँसिन्छ। कोही चाँडै नै कार्यालय छोडेर भाग्ने कर्मचारी छ भने उसकै अघि हाकिम पाँच बजेसम्म बस्दिए भने एउटा लाजले पनि काम गर्छ अनि ऊ आइन्दा भाग्न सक्दैन। तर हाकिम नै तीन बजे भाग्न थाले भने कार्यालय अस्तव्यस्त हुन्छ।
कर्म सत्य रहे जहाँ पनि सुन्दर प्रकाशन हुनसक्छ। कर्महरुद्वारा नै मानव प्रेरणा जागृत गराउन सकिन्छ। कर्ममार्फत मानिसले वस्तुगत रचनाको अध्ययनद्वारा दिव्य चैतन्य, दिव्य सौन्दर्य र दिव्य ज्ञानद्वारा समाजमा स्पष्ट संकेतहरु व्यक्त गर्न सक्नुपर्छ। चाहे त्यो ठूलो होस् वा सानो, कर्ममा मन पूर्ण रुपमा समर्पित हुनुपर्छ। आत्मप्रकाशन स्वरुप हामीले गर्ने कर्महरु इन्द्रीयग्राह्य भएर धर्तीमा ओर्लिनुपर्छ र व्यवहारिक अन्वेषण प्राप्त गर्न सक्नुपर्छ।
यस्तै कर्महरुद्वारा मानवताको पक्षपोषण गर्ने र जीवनमा बाँच्ने आशाहरु सञ्चार गर्ने हो। यही कर्मलाई अनुसरण गर्दै सत्यको अभिप्रायसहित विवेक र भावनाको समिश्रणमा अटाउने पात्र नै मानव हुन्। हाकिम पनि मानव नै हुन् र कार्यालय सहयोगी पनि मानव तर कर्मका आधारमा विभेद गरिनु हुँदैन र अरुका कर्मप्रति सम्मान र आफ्ना कर्मप्रति आत्मस्वीकारोक्ती राख्नुपर्दछ।