म एक वर्ष, एक महिना लामो सुदूरपश्चिम बाजुरा कोल्टीको जागिर छोडेर तिहार बिदामा काठमाडौं आएको थिएँ। बाजुराबाट बिदा हुँदै गर्दा दुर्गम ठाउँमा गएर पनि चिकित्सकीय सेवा दिन पाएकोमा आकाशजस्तै मन शान्त थियो अनि पृथ्वीजस्तै विशाल थियो छाती।
अनेक पहिरोहरु छिचोल्दै राजीनामाको पत्र बुझाउँदा म आवाजविहीन त पक्कै थिएँ, कल्पनाको जगतबाट लाखौं कोष पर धकेलिएको पनि थिएँ। आँखाहरुमा बेग्लै चहलपहल थिए मेरा। जीवनमा दुर्गम भेगको मिठो-नमिठो दुवै आभास बोकेर फर्किएको थिएँ। अझ उतैका बासिन्दालाई त्यो कष्ट ज्युँका त्युँ छ। जे-जे सकेँ गरेँ होला, नसकेको गरिनँ होला भन्ने अनेक आशंकाका लहरहरुबीच चुपचाप मैले बाजुरा छोडेँ। अनि गण्डकी प्रदेशको आफ्नै छिमेकी जिल्ला कास्कीको दुर्गम भेग थुम्सिकोट रोजेँ, अबको यात्राका लागि।
काठमाडौंमा तिहारको रौनक सिद्दिसकेको थियो। चिसो, कष्ट र कठ्यांग्रिँदा विपत्तिहरु काठमाडौंका मझेरीहरुमा मौजुद हुन तमतयार थिए। कठमाडौंबाट थुम्सिकोटका लागि निस्कँदा पोका पुन्तुराहरु पनि टन्नै थिए। कार्तिक २३ गते मंगलबारका दिन म पोखराका लागि माइक्रो चढ्न बसपार्क पुगेँ। सोमबारको साइत राम्रो हुने जनाउ दिंदै आमाले भन्नुभएकाले मैले साइत पनि सारेको थिएँ।
बिजी मल अगाडि आउनसाथ पोखरा जान तमतायर माइक्रोमा चढेँ, त्यो पनि चालक दाइको साइडमा। अगाडिको सिट पाएर म पनि मख्ख थिएँ। एकजना लेडिज पनि हुनुहुन्थ्यो। म झ्याल तिर थिएँ। माइक्रोको गति उच्च नै हुन्छ त्यसमाथि अर्को कुनै प्रतिस्पर्धी अगाडि पछाडि भए भने त मान्छे हाल्ने होडबाजीमा रफ नै चलाउने गर्छन्। यस्तै भयो त्यो दिन। थानकोट ओर्लिसकेपछि मलेखुमा मान्छे भेट्टाउन अति नै अन्धाधुन्द माइक्रो चलाए चालक दाइले। दाइ पनि के भन्नु, उमेरले मभन्दा सानै देखिन्थे।
मुग्लिन कट्यो, आँबुखैरेनी पनि कट्यो। खानीखोलामा खाना खाने ठाउँमा आएपछि अर्को दाइ माइक्रो चलाउन आए। ती दाइले केही हदसम्म सेफ चलाएका थिए। डुम्रेमा पनि टन्नै मान्छे हालेसँगै माइक्रो भरिएको थियो। त्यसपछि हामी सबै दमौली हुँदै पोखराको यात्रामा थियौं।
घडीमा दिउँसोको एक बजेको थियो। कास्की जिल्ला प्रवेश गरेसँगै केही भत्किएको सडक पार गरेपछि हल्का उकालो काट्नेबित्तिकै गाडीमा सानो आवाज आयो। केही बिग्रिएको जस्तो थियो आवाज। अचानक चालक दाइले 'ब्रेक फेल भयो' भने। अनि सह-चालक दाइलाई 'ढुंगा हाल् ढुंगा हाल्' भनेर अह्याइरहे र आफू स्टेरिङ घुमाएर आइरहेका गाडी रोक्न हातले इसारा दिए।
हामी यात्रुले त्यो दृश्य कसरी सहन गर्न सक्यौं होला। म आफैंलाई सपना हो कि विपना छुट्याउन मुस्किल परिरहेको थियो। पत्याउनै गाह्रो त्यो घटना जति पटक उल्लेख गरे पनि विश्वास हुने छैन। तर त्यो सत्य थियो र भयावह थियो भोग्नेहरुका लागि। भर्खर उकालो उक्लिएको र स्पिड ज्यादै स्लो भएकाले माइक्रो हुत्तिन पाएन। अझ दाहिने तिरको साइडमा खोलानाला र भिरपाखाहरु थिएनन् र त भगवानले जोगाए।
तैपनि बाटोबाट साइड लाउँदा-लाउँदै पनि कुन ढिस्कोमा गएर ठोक्किने हो र ज्यान जाने हो भर थिएन। जोखिम त तब भयो जब चालक दाइ आफ्नो ज्यान जोगाउन ढोका खोलेर हामफाले। त्यसपछि सयौं बारुलाले मेरो टाउकोमा टोकेजस्तो भयो। मेरा आँखा तिरमिराए। के गर्ने, के नगर्ने सोच्नै सकिनँ। अनि हत्त न पत्त ढोका खोलेर म पनि हामफालेँ। त्यसको केही क्षणमा नै पछाडिको ढोकाबाट सहचालक दाइ पनि हामफालेर माइक्रोलाई कुनातर्फ धकले। बल्लतल्ल एउटा ढुंगोमा गएर माइक्रोको पांग्रा अड्कियो र त १५ जना सकुशल रहे, त्यो दिन।
त्यो अकल्पनीय सत्यबाट भर्खर उत्रिएर हामी सबै यात्रु एकछिन ओझेलमा सुस्तायौं। जीवनका मिठा-मिठा गफ गर्यौं। हातमा स-साना चोट थिए। कसैका आँखाबाट आँसु बगिरहेका थिए। परिवार बाल-बच्चासहित आएकाहरु भगवानको नाम लिंदै बच्चाहरु सुमसुम्याउँदै थिए।
फेरि त्यही माइक्रो चढ्ने साहस कसैको थिएन। सह-चालक दाइ रत्तिभर विचलित थिएनन्। कहिलेकाहीँ यस्तै हुन्छ भन्दै हाम्रा सामानहरु ओराल्दिंदै थिए। हाम्रो ग्रह बलियो रैछ भन्दै यात्रुहरु खुसी साटासाट पनि गर्दै थिए। म भने एकचित्त थिएँ। आफ्नो चोट ग्रस्त हातलाई आफैंले चुमेँ अनि आफू भित्रको व्यग्र करुणालाई एकछिन स्पर्श गरेँ।
त्यहाँबाट हामी पोखरासम्म अर्को गाडीमा आयौं। विजयापुरबाट मैले थुम्सीकोट जाने गाडी समातेँ। गाडीभर अनि ओछ्यानको निद्राभर मैले आफूलाई धन्य-धन्य मान्दै जीवन मृत्युको परिकल्पना गरिरहेँ।
त्यो दिन मृत्युसँग साक्षात्कार गरेर फर्किएको थिएँ, आँखै अगाडि। मृत्यु शान्त र गम्भीर मुद्रामा देखापरेको थियो। मृत्युको ओठमा मृदु मुस्कान पनि थिएन न त मुखारविन्दमा वाग्धारामय मन्त्रहरु उच्चारित थिए। सेता फूलका बुट्टाहरु युक्त भएर सेतै वस्त्रमा स्निग्ध सफा थियो मृत्युको स्वरुप। मृत्यु पुकार्नेहरु बिरलै हुन्छन् तर कसैको पर्खाइमा मृत्यु जरुर बस्दो हो, चौतारीमा चोक-चोकमा अनि दुर्घटना स्थलहरुमा।
हातका धर्सैधर्साहरुमा कहाँ छ कुन्नी जीवन र मृत्युको रेखा? तर मान्छे काल नआइकन मर्दो रेहनेछ। मृत्युबाट मुक्त भएको यो अवसरलाई प्रेम र सानिध्यताको स्वर्णीम अवसरका रुपमा सबै यात्रुले लिन्छन् नै होला। जुन भक्तिभाव आरती र दीपहरु जलाइयो भगवानको नाममा ती फेरि बढ्छन् होला।
यसअघि पनि कोल्टी बाजुराबाट नेपालगञ्ज वा धनगढी आउनलाई, हवाई जहाज चढ्दा मलाई असाध्यै डर महसुस हुन्थ्यो। जब हवाई जहाजले डाँडाहरु उक्लिँदै लामो उचाइ लिन्थ्यो, त्यति मात्र होइन बादल भित्र छिर्दा सात्तो नै लाने गरेर कम्पनहरु समेत सिर्जित हुन्थे, म भने होस गुमाएर बसेको हुन्थेँ।
मृत्यु झन् डरलाग्दो हुँदै गएको अहिलेको परिवेशमा पनि मानिसहरु आत्महत्या गर्न तम्सिन्छन्। के आफ्नै ज्यानको समेत माया नलाग्नुको अवस्था दयनीय छैन र? गरिबी र घरेलु हिंसाका शिकार भएका नारीहरु प्रायः दुर्गम भेगमा आत्महत्या तर्फ लाग्छन्। तर खै! निस्सार जिन्दगीमा सार खोज्न नसक्नु पनि त एउटा भूल हो जस्तो लाग्छ।
मलाई त मलामी र आर्यघाट जान समेत खासै मन लाग्दैन। मृत्युबाट टाढै बस्न खोज्छु, रुचाउँछु। अझ भनूँ धेरै बाँच्न मन छ मलाई। आर्यघाटको मुस्लो धुँवाले त्यसै-त्यसै निस्सासिन्छु। फुत्केर कतै भागौं जस्तो लाग्छ। जिन्दगीको उत्सव मनाउनेहरुको भिडमा पुगौं जस्तो लाग्छ। म सुखले बाँच्न सक्ने, सकेको दान दिने र आफूसँगै अरुको मुहारमा समेत हाँसो ल्याउने प्रयत्नमा छु।
धेरै विकट गाउँहरु डुलेको छु। अझै पनि डुल्न बाँकी छ। एक सरो लुगा, एक छाक भात र मैला ओड्ने ओछ्याउने हुँदा-हुँदै पनि मानिसहरु ढुंगेयुगजस्तै ओडारहरुमा जीवन बाँचेकै छन्। अनि यी जीवन्त चित्रहरु पावर पोइन्टमा देखाएर सोल्टी होटलमा गरिबीको बखान गर्ने देखेर मलाई रिस उठ्छ। यी जो-जो पनि संस्था छन् उनीहरुले आफ्नो पद, पेसा र नामको त बद्नाम गर्छन् नै अझ त्योभन्दा भयानक कुरा मृत्युलाई सहजै जितेर बाँचेकाहरुलाई गिज्याउँछन् पनि।
म त मस्तसँग मलाई दिएका र अगाडि आएका हरेक कुरालाई भोग्दै, चाख्दै र स्वाद लिँदै हिँडेको छु। मलाई सुदूरपश्चिम, कर्णाली हुँदै गण्डकी प्रदेशसम्ममा सेवासँगै घुम्न पाउनु सौभाग्य भएको छ, स्वर्गीय अनुभूति भएको छ। कति सडक दुर्घटनाहरु भएका छन् सुदूरपश्चिम र कर्णालीमा! कतै डराएरै पो म बसेको भए,अवसरविहीन हुन्थेँ होला।