साधारणबीच असाधारण हुनु र भेटिनुको खुसी नै बडो अचम्मित हुँदो रहेछ। यहीँ असाधारण खुसी भेटेकी थिएँ कुमार मोहनबहादुर शाही राजा महेन्द्रका ज्वाइँ अर्थात पूर्व राजपरिवारका सदस्य हुन् भन्ने थाहा पाएपछि।
म सामान्य व्यापार गरेर बसेकि छु। मेरो निम्ति पसलमा आउने ग्राहक सबै उस्तै लाग्ने नै भयो। मेरो पसल शुभारम्भ गरेको तीन महिना जति भएको थियो। बिहानै पसलमा आएर थुप्रै सामान एकैपटक किनेर लाने व्यक्ति को हुन् मैले चिनिनँ।
उनले अर्कोपटक आएर पनि सामान लगे। उनी बेलाबेलामा आएर किनमेल गरिरहे। उनीसँग एउटा लेखकका रूपमा हाम्रो परिचय भयो। उनी सामान लिन आउँदा सामान्य कुराकानी हुन्थ्यो।
कुराकानीका क्रममा उनले भने, ‘सुमनजी म गीत लेख्छु, ब्याटमिन्टन र टेनिस खेल्छु।’
मैले भनेँ, ‘अहो ! हामी दुबै कलम र शब्दहरूलाई माया गर्ने रहेछौं। म पनि गीत र कविता लेख्छु। हजुरले लेख्नु भएका गीत तथा कविता प्रकाशित छन् भने पाउँ न!’
‘हुन्छ सुमनजी, म फेरि आउँदा तपाईँलाई मेरो गीतको सिडी ल्याइदिन्छु’, उनले भने।
ग्राहकका रुपमा पसलमा आएका उनलाई गीतकारका रूपमा चिन्दा मलाई खुसी लाग्यो। भनें, ‘हुन्छ नि हजुर।’
वि.सं. २०२९ सालमा रेडियो नेपालमा कुमार बस्नेतको स्वरमा रेकर्ड भएको गीत ‘वर्षा के हो गृष्म के हो...’ बोलको गीतका गीतकार उनै रहेछन्।
यसरी मैले उनलाई एउटा गीतकारका रुपमा चिनेँ। उनले आग्रह गरे, ‘सुमनजी मेरो संग्रहालय छ एकपटक हेर्न आउनुस् है!’
‘हस् समय मिलाएर आउँछु।’
उनले निम्तो दिएको धेरै भैसकेको थियो। दोस्रो लहरको कोभिडले सबै बन्द जस्तै थियो। मलाई उनले आफ्नो मोबाइल नम्बर दिएका थिए। मैले पनि मेरो नम्बर दिएकी थिएँ। तर लामै समय कुराकानी भएन।
दसैंपछि एक दिन फेरि उनी मेरो पसलमा आए। कोभिडले आफू अस्वस्थ भएको कुरा बताए। म आफू पनि कोभिडको लडाईं लडेर निस्किएको कुरा उनलाई सुनाएँ।
केही सामान किनेर हिँड्ने बेला फेरि उनले भने– ‘सुमनजी संग्रहालय हेर्न कहिले आउनु हुन्छ ?’
‘म छिट्टै आउने छु।’
अब भने संग्रहालय हेर्ने खुल्दुली बढ्यो। के को संग्रहालय भनेर विस्तृत सोधेकी थिइनँ। मैले एक जना साथीलाई संग्रहालय हेर्न जाऔं भनें। उनी तयार भए।
अर्को दिन शाहीलाई फोन गरेर भनेँ, ‘म संग्रहालय हेर्न आउँछु। हजुरको लोकेशन पाउँ न।’
लोकेशन अनुसार हामी काठमाडौंको कलादीस्थित शोभागृहमा पुग्यौं। त्यहाँ पुग्नु अघि साथीले उनी राजाको ज्वाईँ हुनुपर्छ भने ।
मलाई अचम्म लाग्यो।
यति साधारण व्यक्ति पूर्व राजपरिवारका सदस्य?, म खुसी भएँ कलमको हाम्रो परिचय देखेर।
यात्रा आफैंमा सुन्दर हुन्छ। लाग्छ, जीवनको यात्रा अर्थपूर्ण बनोस्। हुन त सृष्टि पनि प्रत्येक दिनको एकपटक रक्ताम्य साँझ सहेर अस्ताएको हुन्छ। त्यो साँझलाई टुलुटुलु चिहाएर हेर्दै अर्को प्रहरको उषा लिएर जन्मने पर्खाइमा प्रत्येकको हरेक एकदिन बितेको हुन्छ। त्यो हरेक दिनका पाइलासँग सबै पाइला सहज भएर जोडिन त आउदैनन् तर कहिलेकाहीँ सोचे भन्दा फरक ढंगले यात्रा जोडिन पुग्दा जिन्दगीको यात्रा साँच्चै नै सुन्दर लाग्ने रहेछ ।
जब हामी पुग्यौं कुमार शाहीले मुल गेटमा बस्ने पालेलाई पहिल्यै जानकारी गराएका रहेछन्। त्यसैले हामीलाई सरासर भित्र लगियो। गेटबाट भित्र छिरेपछिको ठूलो कोठा आफैंमा संग्रहालय जस्तो लाग्यो। सोफै सोफा, साँच्चैका जस्ता चरा, मूर्ति आदि राखिएको रहेछ।
त्यो ठूलो कोठा भित्र अझै अर्को कोठा त्यहाँ पनि सोफाहरू थिए त्यो भन्दा अझै भित्रको तेस्रो कोठामा तीन वटा कक्ष। ती मध्ये पहिलो र दोस्रो कोठामा खेलजगतसँग जोडिएका र तेस्रो कोठामा शिकारसँग जोडिएका सामाग्री सजाएर राखिएको रहेछ।
उमेरमा उनी राम्रा खेलाडी रहेछन्। त्यसैले पहिलो र दोस्रो कोठामा खेलसँग जोडिँदा पाएका सम्मान पत्र, पदक, ब्याच, खेल खेल्दा लगाइएका कपडा, जुत्ता, खेल सामाग्री र बिदेशमा प्रतिनिधित्व गर्दाका खेलसँग सम्वन्धित तस्बिर सजाइएको छ। त्यस्तै तेस्रो कोठामा सिकार खेल्दा प्रयोग गरिएका हतियार, जन्तुको खोपडी, छाला, चराहरूको सिंगै शरीरलाई पुनर्संरक्षण गरि बनाइएका अवशेष र जन्तुका छालाबाट बनाइएका सुन्दर जुत्ता, कपडा आदि संरक्षित छन्।
हुने बिरुवाको चिल्लो पात भनें झै उनले १३ वर्षको उमेरदेखि नै ब्याटमिन्टन खेलेका ब्याटहरू संग्रहित गर्न सुरु गरेका रहेछन्। उनलाई थाहा थिएन होला एकदिन उनले संग्रह गरेका सामाग्री संग्रहालय बन्ने छ भन्ने कुरा।
जब त्यहाँ पुगेँ र संग्रहालय हेरेँ अचम्मित भएँ। मैले बल्ल उनको पूर्ण परिचय पाएँ। उनी बहुआयामिक मान्छे रहेछन्। खेल जगतमा आठ/ नौ वर्षको उमेरदेखि फुटबल खेल्न सुरु गरेका शाहीले आफ्ना सहपाठी फुटबल खेल्दा दुर्घटनामा परेपछि बुबाको अनुरोधमा फुटबल खेल्न छाडेर ब्याटमिन्टन खेल्न सुरु गरेका रहेछ्न्।
‘जब मैले १३ वर्षको उमेरमा ब्याटमिन्टन खेल्न सुरु गरेँ मैले बुबाको सुन्दर बगैंचा मासेर ब्याटमिन्टनको कोर्ट बनाएँ’, उनले रमाइलोसँग सुनाए।
उनी अझै सम्झन्छन्, ‘मैले कोर्ट बनाउनुअघि बुबाले मलाई यो बगैंचा मासेर कोर्ट बनाए बापत के उपलब्धि दिन्छस् भन्नु भो। मैले निरन्तर खेलमा लागेर विभिन्न देशको प्रतिनिधित्व गरेर उहाँलाई देखाएँ।’
‘यति सुन्दर बगैंचा थियो कि, दरबारबाट समेत फूल लिन हाम्रो बगैचामा आउँथे’, उनले सुनाए।
एकतमास उनका कुरा सुनिरहेँ। मलाई उनको कुरा सुन्दा अझै सुनिरहुँ जस्तो निकै रमाइलो लाग्यो।
म लेखन, कविता र गीतमा चासो राख्ने मान्छे त्यसैले मैले उनलाई सोधें–, ‘हजुर यो लेखन कार्यमा लाग्न कसरी र कोबाट प्रेरित हुनु भयो?’
‘स्कुले जीवनमा हुँदा कसैले केही शब्द भन्यो कि, मनमा गढ्थ्यो अनि त्यहीँ शब्दहरू टिपेर राख्थेँ पछि त्यही शब्द मेरो कविता र गीत बन्थ्यो तर मेरो शुरुको लेखन कविता नै थियो’, उनले लेखन यात्राबारे बताए।
मलाई खुल्दुली भयो उनको दरबारसँग कसरी सम्बन्ध गाँसिन पुग्यो? मैले नसोधी रहन सकिनँ, ‘तपाइँको विवाह कति सालमा भयो?’
‘२०२७ सालमा’, उनी मुस्कुराए।
मैले फेरि प्रश्न तेर्साएँ, ‘दरबार भित्र वैवाहिक सम्बन्ध कसरी गाँसिन पुग्यो?’
उनी भन्दै गए, ‘एकैचोटि विवाहको सम्बन्ध भएको होइन। मेरो बुबालाई दरबारमा सरकारले साह्रै मन पराई बक्सन्थ्यो र बुबाको उहाँसँग राम्रो सम्बन्ध थियो। दरबार जाँदा बुबा एक्लै जानु हुन्थेन। कि म, कि मेरो माइलो भाइले लिएर हिँड्थ्यौं। बुबा बिरामी हुँदा महेन्द्र सरकारले नै आफ्नो खर्चमा दुई पटक दिल्ली दूताबासमा राखेर उपचार गराईबक्स्यो। यसरी हाम्रो सम्बन्ध नजिक थियो र मेरो विवाहको सम्बन्ध गाँसिन पुगेको हो’, उनले सुनाए।
म अवाक उनको कुरा सुनिरहेको थिएँ।
संग्रहालय हेर्दा प्रत्यक्ष खेल र सिकार हेरेको अनुभूति भईरहेथ्यो। मलाई प्रत्येक पलका तस्बिरहरूले एक एक गरि बिगत सुनाइरहे झैं लागि रहेथ्यो।
उनी खेल जगतका उत्कृष्ट खेलाडी। ब्याटमिन्टन, टेवल टेनिस, लन टेनिस र कुशल शिकारी पनि रहेछन्।
उनले अनेक सिकार गरेका रहेछन्। त्यो मध्ये २०३२ सालमा नुमनाङमा गरेको शिकारले नेपाली नोटमासमेत स्थान पाएको रहेछ! नुमनाङमा झारलको सिकार गरेका शाहीको शिकारको चित्र त्यतिबेला पचासको नोटमा अंकित हुन पुगेछ।
उनको संग्रहालयमा विभिन्न ठाउँमा जाँदाका तस्बिरहरू सजाएर राखिएको छ।
तस्बिर हेर्ने क्रममा उनले एतिहासिक तस्बिरहरूको समेत चर्चा गरे।
राजा वीरेन्द्र, राजा ज्ञानेन्द्र र स्वयं उनी पोखराको फेवातालमा डुंगा सवार गरिरहेको तस्बिर जेठ १९ को घटना हुनुअघि माघमा खिचिएको रहेछ। उनले चर्चा गरिरहँदा राजा वीरेन्द्र आँखै अगाडि झलझली सम्झनामा आइरहे। मैले अरू केही सोध्न सकिनँ।
उनको संग्रहालय मौन भएर पनि एक जिवित संवाद गरिरहेको थियो। अन्त्यमा मैले एउटा जिज्ञासा फेरि तेर्स्याएँ।
‘हजुरले यति मेहनतका साथ सारा सामग्री सुरक्षित ढंगले राख्नुभएको छ अब यी सबै सामाग्रीलाई हजुरको शेष पछि कसले कसरी स्याहार गर्ला त?’
उनले भने, ‘गुड कोइश्चन, ओलम्पिक कमिटीले मागेको छ। तर मैले जसरी त्यहाँ कसले स्याहार्ने त्यै भएर म त दिन्नँ भनेर दुर्गा प्रधानलाई भनें।’ (दुर्गा प्रधानकि, ध्रुब्र प्रधान?)
‘म पछि मेरो छोराले त स्यार्हाला तर नाति पनातीले के गर्लान् भनेर हामी सल्लाह गरिरहेका छौं, उनले भने, ‘यहीँ घरमा राख्ने कि, स्टेट प्रोपर्टी गरेर दिने भन्नेबारे घर सल्लाह गर्दैछौं।’
जीवन एक संगम, समय र फूल जस्तै त हो नि। कसैसँग भेटिनु, वर्तमानसँग रमाउनु र मिठो सपना सजाएर भबिष्य खोज्नु सार्थकता हो। समय चिन्न सकिएन र यदि फूल नै फुल्न सकेन भने त जीवन हुनुको अर्थ नै के रह्यो र? त्यसैले विगत अर्थात हिजोको समयले कैयन कुरा सिकाएर जान्छ कति कुरा मनमा अटाएर जान्छ भने कति कुरा यसै अलप भईदिन्छ। मनमा अटाइएका कुरा नै कलमबाट पोखिन्छन् र फेरि मनमा बस्न आइपुग्छन्।
नेपाल र नेपालको खेल जगतलाई चिनाउने गरि व्यक्तिगत संग्रहालय बनाउने ७८ वर्षिय कुमार मोहनबहादुर शाहीको दिर्घायुको कामना।
सबै तस्बिरहरू- सुमन थापा