संसारभरि दिने वा अरूलाई सहयोग गर्ने प्रचलन धेरै अगाडिदेखि चल्दै आएको हो। सामाजिक सद्भाव कायम राख्न पनि सक्नेले नसक्नेलाई सहयोग गर्न आवश्यक छ। यदि यो भावनामा कमी आउने हो भने हाम्रो समाज झनै कुरूप देखिने छ।
हुन् त् काम गरेर प्राप्त गरेको रकमको निश्चित प्रतिशत सरकारलाई कर दिने प्रचलन पनि यही सामाजिक उत्तरदायित्वको सिद्धान्तमा आधारित छ। तर विभिन्न कारणले सरकारले मात्र समाजको सही व्यवस्थापन गर्न नसकिने देखिएको छ। दिएर मात्रै समस्याको समाधान नहुने भएकोले यो दिने प्रक्रियामा पनि परिवर्तन हुँदै आएको छ।
अशक्तलाई दिन अनिवार्य हुन्छ तर सक्नेले आफ्नो शक्तिलाई उत्पादनमा जोड्न सकियो भने त्यसले समाजमा ठूलो फड्को मार्न सक्छ। व्यवसाय धेरै सम्पति हुनेहरूले मात्रै गर्ने हो भन्ने धारणा पनि बिस्तारै परिवर्तन हुँदै आएको छ। थोरै लगानीमा पनि धेरै प्रकारका व्यवसाय गर्न सकिने हुन्छ तर त्यति पैसा पनि जुटाउन नसकिने अवस्था छ।
भएको जायजेथा बैंकमा राखेर पाउने ऋण केही कारणले व्यवसाय फस्टाउन सकेन भने बेघरबार बन्न परेको थुप्रै उदारहण छन्। नाफा हुनेभन्दा तिर्नुपर्ने ब्याज बढी हुँदा व्यवसाय फस्टाउन सक्दैन। गरिबी निवारणलाई व्यवसाय बनाउन खोजिए पछि सधैं दिने र लिने दुवै धनी बन्न सक्दैन।
काममा फुर्सद हुँदा प्राय म केही पढ्ने लेख्ने वा कहिलेकाही फोनमा हुन्छु। साथीहरु बेला बखत सोध्छन् के मा व्यस्त हो भनेर । सकेसम्म भन्ने कोशिश पनि गर्छु । यस्तै क्रममा एक जना गोरा साथीले आफ्नो छोरी पनि स्वयंसेवी बनि अफ्रिकाका विभिन्न देशमा गएको बतायो। उनले सामाजिक रुपान्तरण विषयमा अध्ययन गर्दैछिन् आफूले बचाएको केही पैसा त्यहीँ उद्धेश्यमा खर्च गरिरहेको बताए। छोरीकै सिफारिसमा आफूले पनि केही पैसा एउटा संस्थामार्फत दिँदै आएको बताउँदै त्यसको वेवसाइड देखायो। मैले उत्सुकता साथ हेर्नेनै भएँ।
३० अगस्ट २०१९ को दिन थियो। दुई हप्ता पछाडि मेरो जन्म दिन थियो। मैले पनि तुरुन्त आफ्नो नाम रजिस्टर गरे। जन्म दिनको बेला अनावश्यक खर्च कटाएर कुनै न कुनै प्रकारले सक्ने जति केही सामाजिक काम गर्ने बानी बसाएका छौ। मलाई यो काम शुरू गर्न दुई साता कुर्ने धैर्यता रहेन।
केयर इन्टरनेशनलको ‘लेण्ड विथ केयर’ यो अभियान अप्रिल २०१० देखि शुरू भएको रहेछ। हालसम्म संसारका १०० भन्दा बढी राष्ट्रमा गरिबी हटाउने उद्धेश्यले सन् १९४५ देखि सञ्चालित यो अमेरिकी संस्था हो। युद्वले संसार तहस नहस भएको बेला शुरू भएको यो संस्थाले त्यतिबेला ‘केयर प्याकेज’ भनेर अति आवश्यक सामग्री युरोप पठाएको थियो। बेलायतले सन् १९५५ मा पहिलो पटक यस्तो सहयोग प्राप्त गरेको थियो।
पछि सन् १९८५ देखि भने बेलायत आफै यो संस्थाको बलियो खम्बा बन्न पुग्यो। आफ्नै सक्रियतामा बेलायतले विश्वभरि नै बिभिन्न क्षेत्रमा काम गरिरहेको छ। शायद सहयोगबाट मात्रै गरिबको जीवन परिवर्तन हुन सक्दैन भन्ने नवीन सोचसहित विश्वका केही देशहरूमा माइक्रो फाइनान्सको अवधारणा विकास हुँदै गर्दा यो संस्थाले पनि त्यता तिर आफ्नो पाइला चालेको हुनुपर्छ।
‘केयर इन्टरनेशन युके’ले अहिले १२ वटा देशमा गरिबी हटाउने नयाँ उपायसहित उत्पादन प्रक्रियामा क्रान्तिकारी फड्को मारिरहेको छ ।
थोरै पैसा नभएको कारण धेरैले चाहेर पनि आफ्नै काम गर्न सकिरहेको हुँदैन । केही गर्छु भन्ने योजना आँट र संकल्प भए पनि त्यसलाई मूर्त रूप दिन आर्थिक पक्षले अवरोध खडा गरेको हुन्छ। स-साना घरेलु काम स्थानीय रूपमा संकलन, उत्पादन र वितरण गर्न सकियो भने पनि दूर दराजका गाउँहरुका धेरै समस्या समाधान हुने गर्छ।
विशेष त महिला केन्द्रित उत्पादनमुलक काम गर्न सकियो भने धेरै मात्रामा सफलता हुने तथ्याङ्कले पनि प्रमाणित गरेको छ। स्थानीय रूपमा व्यवसाय गर्न चाहनेबाट आफ्नो योजनासहित कति लागत लाग्छ त्यसको लागि निवेदन प्राप्त भए पछि आवश्यक जाँच पड़ताल पछि त्यसको जानकारी वेवसाईडमा सार्वजनिक गरिनेरहेछ।
आफूले रोजेको व्यक्तिलाई १५ पाउण्डका दरले जति जनालाई पनि दिन सकिन्छ। मागिएको पैसा पूरा भए पछि त्यसलाई सबै लगानी भएको कोलममा राखिदो रहेछ। पहिलो पटक मैले तीन जनालाई सहयोग गरेँ। त्यसबाहेक संस्था सञ्चालनमा सहयोग गर्न चाहनेले थप सहयोग गर्न सकिने हुँदा मैले पहिलो पटक १० प्रतिशत ४.५० पाउण्ड दिएँ। यो दिनैपर्ने बाध्यकारी भने हैन। आय आर्जन भएपछि दामासाहीले सबैलाई त्यो पैसा फिर्ता दिने रहेछ तर कुनै ब्याज भने तिर्न पर्दैन। बिना ब्याजको लगानी । नाफा बाड्न पनि नपर्ने ।
मैले शुरुमा तीन जना छान्दा शायद राजनीतिक पृष्ठ भूमिका कारण दिल दिमागमा सधै पेरू रहिरहेको हुँदा दुई जना त्यहाँबाट र एशियन भएकोले फिलिपिन्सलाई छानेको हुनुपर्छ। उनीहरू मध्य दुई जनाले तोकिएको समयभन्दा अगाडि पटक पटक गरी मेरो लगानी फिर्ता गर्यो।
गत वर्ष फेरि मेरो जन्म दिनको छेका तिर अर्को दुई जनालाई त्यो फिर्ता आएको पैसा दिएँ। त्यस बेला पनि एक पेरू र अर्को ईक्वेडरकोलाई दिएछु। पैसा जम्मा हुँदै गएकोले आठ महिना अगाडि मलावी र पाँच महिना अगाडि पाकिस्तानको ठूलै समूहलाई दिएँ। यसपालि जन्म दिनको दिन त्यहाँ जम्मा भएको पैसामा ३६ पाउण्ड थपेर फेरि पाकिस्तान, जाम्बिया र भियतनामीलाई दिएँ। यो संस्थालाई थप तीन पटक गरी जम्मा १२. ७५ पाउण्ड सहयोग गरेछु।
अहिलेसम्मको रिपोर्ट यसरी पठाएको रहेछ । जम्मा ऋण दश पटक गरी ४४ जनालाई दिँदा १८५ परिवार सदस्यसहित जम्मा २३३ लाई सहयोग सहित चार जनाले जागिर पनि पाएछन्। मेरो खल्तीबाट गएको ८५.५० मा १२. ७५ संस्थालाई सहयोग पछि बाँकी भएको पैसा १० जनालाई दिँदा १५० लगानी भइसकेको र ३.५३ अझै खातामा बाँकी देखिन्छ।
मैले यो कुरा खासै धेरैलाई भनेको थिइनँ। दुई महिना अगाडि जीवन संगिनी मिनुलाई सुनाउँदा उनी पनि ज्यादै प्रभावित भइन्। आफूले दिएको पैसा खातामा आएपछि फिर्ता लिने वा फेरि अरूलाई सहयोग गर्ने त्यो आफ्नो खुशी गर्न सकिन्छ।
अर्को काम गर्ने ठाउँमा एक जना पाकिस्तानी साथी छ। उसँग काम गर्दा मैले यो संस्थाबारे सामान्य कुरा निकाल्दा उसले तुरुन्त उसको देशमा सञ्चालन भईरहेको दुई वटा संस्थाबारे कुरा सुनाउँदै वेब साइड देखायो। केही दिनको लागि मलाई काम पुगिहाल्यो । यो कुरा चलेको पनि झण्डै दुई वर्ष नै भइसकेछ।
यो बीचमा हाम्रो पूरा ध्यान अर्को अभियानमा केन्द्रित भयो जसलाई ‘नव निर्माण’ भनियो। २२ देशका १०१ साथीबाट एक लाखको दरले जम्मा भएको पैसा बैंकमा नै छ। कोरोना, राजनीति फेरि अहिले एनआरएन चुनाव लगायत धेरै कारण र मुख्य त हामी नेतृत्व गर्नेले आँट गरेर जोखिम लिन नसकेको कारणले ठोस काम भने हुन सकेको छैन। तर यसबीचमा हामीले धेरै सरसल्लाह, सम्पर्क र सहकार्यका धेरै सम्भावनाहरु अध्ययन गरेका छौं।
नेपालमा रहेका कतिपय जिम्मेवार साथीको मेहेनत र उत्साहलाई हामीले मूर्त रूप दिन सकेका छैनौं। हुन त हामीले शुरुमा नै दुई वर्ष भित्र केही गर्नु पर्छ भनेका थियौं। तर सोचेको भन्दा धेरै समय अगाडि पैसा जम्मा भएकोले केही गरी हालौं भन्ने पनि अलि छिटो नै भयो। केही कानुनी प्रक्रियाले लामो समय लिएकोले पनि हामी अलि निष्क्रिय भएको जस्तो देखियो। हामीले शुरुमा नै पब्लिक कम्पनी बनाउने र कम्तीमा १००० जनाको समान सहभागी गराउने तयारी गरेको तर त्यो धेरै नै महोत्वाकांक्षी देखियो र त्यस बीचमा खर्च नै धेरै हुने हुँदा बरु थोरै बाट योजना अनुसार सक्नेले अलि थप थाप गरेर केही गर्नुपर्छ भन्ने निष्कर्षमा भर्खरै आईपुग्यौं। विश्वास छ केही समय भित्र हामीले कुनै योजना तय गर्नेछौं।
अहिले नेपालमा धेरैले नयाँ नयाँ प्रविधिबाट सानो ठूलो व्यवसाय गर्दै आएको छ। सेतोपाटीले त ‘नेपाली ब्रान्ड’ भनेर छुट्टै शीर्षक नै राखेर निरन्तर रुपमा जानकारी दिँदै आएको छ। ती सबै खबरहरू युट्युवमा देखाइने दृश्यहरु प्राय सबै हेर्ने गरेको छु।
केही दिन अगाडि मात्रै मैले यो जम्मा भएको पैसा हामी आफैं योजना बनाएर व्यवसाय गर्नुभन्दा राम्रो काम गरी रहेकासँग नै मिलेर त्यही व्यवसाय बढाउँदा पो राम्रो हुन्छ कि भन्ने सोच्दै थिएँ। तर खै किन हो एक्कासी मलाई त्यो पाकिस्तानी साथीले भनेको संस्थाको सम्झना आयो। यो संस्थाले सन् २००१ मा दुई जनालाई दश दश हजार बीना ब्याजको कर्जा दिएर शुरू गरेको थियो। मुसलमान धर्म अनुसार ब्याज लिनु हराम मानिने हुँदा बिना ब्याज ऋण दिने सोचको प्रयोग भएको थियो। त्यसताका नजिकैको बंगलादेशमा भएको ग्रामीण अभियानको केही प्रभाव पाकिस्तानमा पनि पर्न लागेको थियो । तर त्यो भन्दा फरक ढंग बाट सफल प्रयासको उपाय स्वरूप यो संस्थाको जम्मा भएको रहेछ। अहिले उनीहरूले प्रतिव्यक्ति बढीमा ५० हजार दिने गर्छ।
मैले सोचेँ हामीले पनि २५ हजारसम्मको अभावमा कसैले व्यवसाय गर्न नसकेको भए त्यस्तो व्यक्तिको सहि पहिचान गर्न सकियो भने अहिले नै ४०० व्यक्तिलाई उद्यमी बनाउन सहयोग गर्न सकिने रहेछ। छाती ढक्क फुलेर आयो साथीसँग कुरा गर्न पर्छ कि जस्तो पनि लाग्यो। तर म रोकिए हैन जुन उदेश्यले पैसा जम्मा भएको हो त्यही गर्नु पर्छ । बरु यसबाट आम्दानी भएर मुनाफा हुन थाले पछि केही गर्न सकिन्छ भन्ने लागेको छ ।
डाक्टर अमजद सकीबले सरकारी नोकरी कालमा गरिबीको कारण समाजको अति दुःखद अवस्थालाई नजिकबाट देखेका थिएँ। पञ्जाव रूरल सपोर्ट प्रोग्राममार्फत गाउँमा ऋण् दिने काममा उनी संलग्न थिए। दश हजार ऋण लिएका एक महिलासँग यति पैसाले के हुन्छ भनी सोध्दा अहिले मेरा बच्चाहरुले दिनको एक छाक मात्रै खाना खान पाएका छन् अब यो ऋणको सहयोगले उनीहरुलाई दुई छाक खाना दिन सक्ने छु भन्ने जवाफ ले उनलाई अति नै प्रभाव पार्यो। उनका अर्का मित्र डाक्टर कामरान शामशसँग मिलेर यस्तो अवस्था लाई सुधार गर्न के गर्न सकिएला भन्ने अनुसन्धान गर्न थालेँ।
दिएको पैसा खाएर सकिने तर ब्याजसहित सावा तिर्न कसरी सम्भव हुन्छ? गरिबी हटाउन गरिएको लगानीमाथि ब्याज लगाएर कसैले सम्पति कमाउन व्यवसाय गर्नु उचित होइन बरू जीवनयापनका विविध उपायहरु खोजी गरी उत्पादनमा लगाउन सकियो भने मात्र वास्तवमा गरिबी निवारण हुन सक्छ बन्ने निष्कर्षमा पुगेका थिए।
मुस्लिम धर्म अनुसार कर्ज-स -हसान जसलाई ‘सुन्दर ऋण’ को रूपमा व्याख्या गरिएको छ। त्यसैलाई मूल मन्त्र मानेर ‘अखुवत’ संस्थाको जन्म भएको थियो। नेपालीमा ‘भातृत्व’ भन्ने भाव आउने यो शब्द ‘मवखत’ सँग पनि मिल्दोछ। प्रोफेट मुहम्मद मक्काबाट मदिना जाँदै गर्दा बाटोमा सबैले देखाएको भातृत्वलाई यो संस्थाले आत्मसाथ गरेको छ। शुरूमा दुई जना साथीले जम्मा गरेको २० हजार रूपैयाँ दुई जनालाई ऋण दिएर शुरू भएको यो संस्था सन् २००३ मा मात्र कानुनी रूपमा संस्थागत भएको थियो।
अहिले पाकिस्तानको सबै क्षेत्रमा करिब आठ सय वटा सम्पर्क कार्यालय सञ्चालित छन् । संसारका धेरै देशहरूमा यसको शाखाहरू मार्फत सहयोग संकलन गर्दछन्। अहिले सम्म झण्डै पचास लाख नागरिकले १४० बिलियन पाकिस्तानी रूपैयाँ (झन्डै नेपाली एक खर्ब?) ऋण प्राप्त गरेको छ। ३०१ स्कूल र तीन वटा कलेज सञ्चालनमा छन्। कपडा बैंक र स्वास्थ्य चौकीमार्फत सेवा प्रदान गर्दै आएको छ।
शुरुमा ऋणको लागि निवेदन दिन दुई सय दस्तुर तोकिएको छ। निश्चित ब्याज नतोकिए पनि आपसी सहयोगको लागि १ प्रतिशत ऐक्षिक सहयोग भने पनि ऋणीले खुशी भएर आफूले कमाएको केही हिस्सा यो संस्थामार्फत आफूजस्तै आवश्यक पर्ने हरुलाई सहयोग गर्न दिने गरेका छन्।
आपतकालिन, विवाह, स्वास्थ्य, शिक्षा, ब्यवसाय, बैकल्पिक, कृषिलगायतको शीर्षकमा ऋण प्राप्त गर्न सकिन्छ। बैंकले पनि धितो राखेर ऋण लिने धेरैले पैसा नतिर्ने हुँदा निश्चित प्रतिशत खराब ऋण भनेर छुट्याइएको हुन्छ। तर यो संस्थाको ऋण फिर्ताको दर ९९.९ प्रतिशत छ। पाकिस्तानको ग्रामीण जीवनलाई माथि उठाउने काममा यो संस्थाको महत्वपूर्ण भूमिका रहेको छ। माइक्रो फाइनान्सको इतिहासमा यो संस्थाले थप उपलब्धि प्राप्त गरेको छ।
हामी नेपाली पनि अरूलाई सहयोग गर्न पाउदा खुशी हुन्छौ। विशेषत आपत् बिपतका विभिन्न घडीहरुमा तुरुन्तै धेरै सहयोग जुटाउँदै आएका छौ। कुनै न कुनै सामाजिक संस्थाहरु मार्फत सक्दो सहयोग गर्दै आएका छौ। विदेशबाट लाश पठाउँदा होस् वा विदेशको जेलबाट छुटाउन होस्, औषधि उपचार गर्न अथवा कसैलाई पढाउन, भुइँचालो, बाढी पहिरो, आगलागी, महामारीहुँदा मात्रै होइन कुनै रियालिटी शोमा आफूलाई मनपरेको कलाकारलाई जिताउने अभियान पनि चलाउँछौ। समग्रमा भन्दा दिने विषयमा हामी दानी नै मान्नुपर्छ।
यो हाम्रो स्पिरिटलाई उत्पादनसँग जोड्न सकिएला कि नसकिएला भनेर साथीहरुसँग मिलेर केहि प्रयासहरु भएका छन्। अरु धेरैले धेरै प्रकारका प्रयासहरु गरेका होलान्। यसबारे कुरा गर्दा खै नेपाल हो होला र? गर्न सकिएला? सम्भव होला र? सबैको विदेश जाने चाहना हुन्छ कसले गर्ला भन्ने नै बढी टिप्पणी हुने गरेको पाइन्छ।
बंगलादेश, पाकिस्तानलगायत थुप्रै देशमा हुनसक्ने अनि नेपालमा हुँदैन भन्ने हो भने हामीले हाम्रो सामाजिक धरातललाई डोजर नै लगाउन पर्ने हुन्छ। अन्यथा यो सम्भब छ र हुन्छ पनि। केही दिन अगाडि युट्युब हेर्दै गर्दा भारतीय पूर्व रास्ट्रपति अब्दुल कलामले तीन विषयमा कसैसँग कहिले पनि कुरा नगर्नू भनेको भिडियो हेर्न पुगेछु। शुरुमा त् किन यस्तो भनेको होला भन्ने लागेको थियो तर अहिले त्यो सत्य हो जस्तै लागेको छ। उनका अनुसार आफ्नो सफलताको राज, समस्या र सपनाबारे कसैलाई पनि नभनेको राम्रो! यसबारे स-विस्तार कुनै बेला ब्याख्या गर्नेछु अहिलेलाई यत्ति नै!