'आहा! कस्तो राम्रो ठाउँ, लौन मेरो एउटा फोटो खिच्देऊ' पहिलो वाक्य उसले जुन उकालो लाग्दै गर्दा भनेको थियो।
दुई घण्टाको लगातार उकालो अनि स्या-स्या र फ्या-फ्या भएको अवस्थामा उसले 'धेरै हैन एउटै फोटो खिच्देऊ न' भन्दा नि खुब रिस उठेको थियो मलाई। केही नबोली उसको फोन लिएर खिचिदिएँ तर एउटा हैन २/३ वटै जसमा एउटा हल्लिएको र दुई वटा ठिकै आएको रहेछ। किनकि मैले खिचेको फोटो प्रायः अरूलाई मन पर्दैन, त्यसैले नि होला मलाई फोटो खिच्दिन साह्रै झ्याउ लाग्छ।
यात्रा गर्दै गर्दा थुप्रै अन्जानहरू भेटिन्छन् र निकै छोटो समयको लागि किन नहोस् यसरी बोल्छन् कि मानौँ पहिलेदेखि चिनेका हुन्छन्। कोही त यतिसम्म नि हुन्छन् कि तीन पुस्तेसम्म सोध्न भ्याउछन्। तर पनि म हाँसेरै प्रतिक्रिया दिन्छु किनकि उनीहरूसँग दोहोरो भेट हुन अलि कठिन नै थियो।
उकाली/ओराली, थकाइ मेट्न बसिएको उहीँ चौतारी अनि ती सुन्दर दृश्य ओहो! साँच्चै नै आन्दमय थिए। याद बनेर आउन सफल भएको थियो उहीँ सिक्लेसको यात्रा। जिन्दगीमा थुप्रै यात्राहरू गरिन्छ जसमध्ये कुनै सामान्यमा पर्छन् भने कुनै अविस्मरणीय बन्न पुग्छन्। मेरो लागि पनि सिक्लेसको यात्रा अविस्मरणीय नै बन्न पुग्यो किनकि यात्रालाई यादगार बनाइदिने कोही भेटेको थिएँ उहीँ उकालीमा।
पहिलो पटक उसले फोटो खिचिदिने आग्रह गर्दा मैले त्यस बखत फोटोलाई मात्रै ध्यान दिएँ। मान्छेलाई भने राम्रोसँग नियालिनँ। जब घाम अस्ताउँदै गयो र साँझ पर्न थाल्यो म र मेरो टोली फटाफट खुट्टा लम्काउँदै होम स्टे तर्फ लम्कियौँ। किनकि हामी बिहानैबाट पैदल यात्रालाई अङ्गाल्दै अघि बढेका थियौँ र करिब ७ बजे तिर होम स्टेमा पुग्यौं।
दिनभरिको थकान अनि साथमा भोक, ओहो! कति बेला पुगौँ र खाएर आराम गरौँ जस्तो भएको थियो। होमस्टे पुगेको लगभग एक घण्टापछि खाना खानतर्फ लाग्यौं। जब खाना खान भान्साघरमा गएर गुन्द्रीमा के बसेका थियौँ पल्लो छेउबाट 'हेल्लो मेरो फोटो खिचिदिने गर्ल' भन्ने वाक्य ट्याक्क मेरो कानमा पर्यो।
टाउको मोडाउँदै उता हेरेँ। एकछिन त लाग्यो 'मैले फोटो खिचिदिएको यही मान्छे हो र?' एकछिन आफैलाई प्रश्न गरेँ र 'हजुर' भनेर हाँसेर प्रतित्रिया दिएँ। खाना खाएर लुपुक्क सुत्न मन लागेको बेला उताबाट एकछिन बिबिक्यू गर्ने र आगो ताप्दै रमाइलो गर्ने हो भन्ने वाक्य गुनगुनाउन थाले। अर्को वाक्य आयो फेरि 'हो हो, त्यसै गर्नी हो। घरी-घरी यस्तो दिन कहाँ आउँछ र!' त्यसपछि मैले नाई भन्नु बेकार थियो र गएँ उहीँ नाचगान तर्फ।
यात्रामा भेटिएको अन्जान पनि चिनजान गर्ने सोचले मेरो छेउको कुर्सीमा बस्दै मलाई 'सुन न, आजको यात्रा कस्तो भयो? तिमी ग्रुपमा आएको रहेछौं है? अनि तिम्रो यहाँ पहिलो पटक हो?' यस्तै यस्तै प्रशन सोध्दै गयो ऊ। घर, बसाइ, पढाइ, परिवार, यात्रा यी सबैको बारेमा हामीले गफ गर्यौं र यत्तिकैमा १०:३० भैसकेको रहेछ। 'अब त सुत्नु पर्छ, भोलि बिहान घुम्नु पनि छ' भन्दै म गएर सुतेँ। सुत्नुअघि एउटै प्रश्न आयो, हैन त्यत्रो कुराकानी भयो तर त्यो मान्छेले मेरो नाम नै सोधेन। थाहा पाइसकेर हो कि! ह्या जेसुकै होस् भन्दै सुतेँ।
भोलिपल्ट बिहानीपख सूर्यको किरणसँगै सुरू भयो दिन र हामी ब्रेकफास्ट गरेर घुम्न निस्कने भनेर बेलुकानै प्लान बनाएका थियौँर। त्यसै गर्यौं पनि। होमस्टेबाट निस्किएर केही पाइला पर पुगेपछि उहीँ आवाज आयो तर फरक वाक्यमा, 'गुड मर्निङ लक्ष्मी जी।'
'गुड मर्निङ' भन्दै हामी गाउँसँगै अवलोकन गर्यौं र यसपालि भने फ्रेस मुडमा भएकाले उसको फोटो धेरै र राम्रो खिचिदिएँ। ऊ सोलो ट्रिपमा आएको रहेछ। यसअघि पनि धेरै नै ठाउँ पुगिसकेको बतायो जुन उसका औँलामा पनि नअटाउने ठाउँहरू थिए। ऊ टुरिजमको विद्यार्थी रहेछ र उसले दुई वटा विषयमा पनि मास्टर्स गरिसकेको रहेछ। उसका कुराहरू र उसका गफमा पनि केही सन्देशमूलक कुरा मिसिएकै हुन्थे। जे होस ऊ अरूभन्दा भिन्न लाग्यो र साथमा अलिअलि गफाडी पनि।
यात्रा त अनेकौँ गरिन्छ तर नसोचेको यात्री बीच बाटोमा भेटिनु र आफूलाई अरू माझ चिनाएर केही सकरात्मक छाप छोड्न सक्नु सामान्य कुरा भने होइन। हो, मेरो सिक्लेसको यात्रालाई उसले थप यादगार बनाइदियो र भोलिपल्ट हामी घर फर्किने क्रममा लाग्न थाल्यौँ। यताउता सामानहरू मिलाउन थाल्यौँ। त्यत्तिकैमा ढोका बाहिरबाट लक्ष्मी भन्ने आवाज आयो।
आवाज उसको नै थियो। ऊ अर्को ठाउँको लागि त्यही बाटो हुँदै जाने रहेछ जसको कारण ऊ हतारमा थियो। जाँदै गर्दा उसले एउटा पाना मलाई दिएर गयो जुन थुप्रै शब्दहरूले भरिएका थिए। टेक कियर, बाई भन्दै ऊ आफ्नो अर्को गन्तव्यतर्फ लम्कियो।
मैले भने त्यो पाना नहेरी पकेटमा राखेँ। म र मेरो टोली पनि त्यहाँबाट बिदा भएर निस्कियौँ। हामीलाई त्यहाँ एकदम राम्रोसँग बिदा गरियो, टीका र सबैको हातमा फूल राखेर। साँच्चै नै त्यहाँ बसिन्जेलसम्म एकदम पारिवारिक माहोलको अनुभूति भयो।
घरमा आएपछि उसले दिएको पाना खोलेर हेरेँ जहाँ सम्मानपूर्वक लेखिएको थियो- 'लक्ष्मी जी, धेरै धन्यवाद मेरो यात्रालाई रमणीय बनाउनको लागि। योपालि भने मलाई सोलो ट्रिप झैँ लागेन। अर्को कुरा, खास म रिसर्च गर्दै त्यस ठाउँको बारेमा रिपोर्ट बनाउँछु र त्यस रिपोर्ट भित्र कहीँ कतै हजुर पनि पर्नु हुन्छ, अवश्य पढ्नु होला है' भन्दै सबै डिटेल्स लेखिएको रहेछ। अन्तिममा सानो हाँसेको चित्र थियो।