विश्वभर २० करोड हाराहारी आप्रवासी छन्। तीमध्ये एकतिहाई दक्षिण एसियाली छन् भने दक्षिण एसियामा पनि भारत सबभन्दा माथि छ। तर कोभिड सुरू भएपछि आप्रवासी प्रवेशमा ठूलो परिवर्तन देखिँदैछ।
आप्रवासीबारे हालसालै संकलन गरिएको तथ्यांकअनुसार कोभिडयता ३७ वटा राष्ट्रमा आप्रवासीको प्रवेश इतिहासकै सबभन्दा कम देखिएको छ। यसले ती राष्ट्रको जनसंख्या वृद्धिदरमा प्रत्यक्ष असर परेको तथ्यांकले देखाउँछ।
उदाहरणका लागि, सन् २०२० मा जर्मनीको जनसंख्या वृद्धिदर शून्य रह्यो जुन गत एक दशककै कम हो। त्यसै वर्ष अस्ट्रेलियाको जनसंख्या वृद्धि पहिलोपटक नकारात्मक (शून्यभन्दा कम) रह्यो जुन सन् १९४५ पछिकै सबभन्दा कम हो।
यी तथ्यांक हेर्दा कयौं विकसित देशको जनसंख्या वृद्धिदर त्यहाँको आप्रवासी संख्याले निर्धारण गर्छ भन्ने देखिन्छ। आप्रवासीको घनत्वमा आधारित जनसंख्याको प्रभाव उक्त देशको सामाजिक तथा आर्थिक गतिविधिमा पर्छ भन्ने विभिन्न अध्ययनले देखाएका छन्।
नेपालको करिब तीन करोड जनसंख्यामध्ये लगभग २०-२५ प्रतिशत देशबाहिर छ। पश्चिमा राष्ट्रहरूमा जाने अधिकांश नेपाली अध्ययन निम्ति बाहिरिएका हुन्। हाम्रो सामाजिक तथा पारिवारिक संरचनाले विदेशमा रहेका लाखौं नेपालीमा देश फर्किने सपना अटुट छ। तर देशको राजनीतिक बेथिति र अन्य कारणले स्थायी रूपमै स्वदेश फर्किने निर्णय गर्नु त्यति सजिलो छैन। फर्किन चाहनेहरूका लागि पनि सामूहिक वा एकल रूपमा मिलेर केही गर्न, विदेशमा सिकेका ज्ञान बाँड्न र आपसमा सहयोगको हात बढाउन एउटा बलियो सञ्जालको आवश्यकता छ।
यही आवश्यकता हेरेर लगभग तीन वर्षअघि 'नेपाल फर्कौं महाअभियान' सुरू गरिएको थियो। यो महाअभियानको उद्देश्य नेपाल फर्किन चाहने र फर्केकाहरूको बलियो सञ्जाल बनाउने र आफ्नो परिस्थितिले फर्किन असजिलो भएकाहरूलाई सञ्जालमा जोड्ने हो।
भौगोलिक तथा जनसंख्या हिसाबले नेपाल सानै देश भए पनि यहाँबाट गएका आप्रवासीहरू विकसित देशहरूमा उल्लेख्य छन्। विकसित देशको सभ्यता, संस्कृति र आर्थिक व्यवस्थापनको संघर्षमा अभ्यस्त भइसकेका नेपालीहरूलाई सबै कुरा छाडेर फर्किन सजिलो छैन। फर्किने हुटहुटी भने अधिकांशमा भेटिन्छ।
व्यवहारिक रूपमा हेर्दा एक्लै फर्केर केही गर्न सजिलो पनि छैन। कयौं साथीहरूले नेपाल फर्केर मिलिजुली केही गर्न सकिन्छ कि भन्ने अवसर खोजिरहेका छन्। यसमा आइपर्ने चुनौती र समाधानका उपायबारे विश्वभर छरिएर रहेका नेपालीहरूसँग विमर्श गर्ने र सबैलाई एउटै सञ्जालमा जोड्ने उद्देश्यले हामीले 'नेपाल फर्कौं महाअभियान' सुरू गरेका हौं।
गत ३०-४० वर्षयता द्रुत गतिमा विकासको फड्को मार्न सफल कयौं राष्ट्रले विकसित देशमा बसोबास गर्ने आफ्ना नागरिकलाई स्वेदश फर्काउन पहल गरेको हामीले पाएका छौं। यसका लागि ती राष्ट्रले विदेशमा उच्चशिक्षा, सिप र अनुभव हासिल गरेका आफ्ना नागरिकलाई सरकारी तहबाटै फिर्ता बोलाएर देश विकासमा समाहित गर्दै आएका छन्।
यसको एउटा उदाहरण भारत नै हो। भारतमा औद्योगिक जग बसाल्न विदेशबाट फर्केका नागरिकले ठूलो भूमिका खेलेको मानिन्छ। विदेशमा सिकेको सिप र अनुभवसहित फर्केका भारतीय नागरिकको ठूलो संख्याले आफ्नो देशलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्न सफल भएको छ।
सन् २०१७ मा भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिङ्गो रावतले 'सेल्फी फ्रम माई भिलेज' (मेरो गाउँबाट सेल्फी) भन्ने अभियान सुरू गरेर देशका अन्य भाग तथा विदेशमा रहेका आफ्ना प्रदेशवासीलाई आफ्नै गाउँको विकासमा आबद्ध गर्ने जमर्को गरेका थिए। उनको यो अभियानपछि आफ्नै गाउँ फर्केका कयौं व्यक्तिले गाउँमै फोटो खिचेर 'यो विदेशको सुन्दर ठाउँ होइन, मेरै गाउँ हो' भन्ने सन्देश सामाजिक सञ्जालहरूमा सम्प्रेषण गरे।
विदेशबाट आफ्ना नागरिकलाई फर्किन आह्वान गर्नेमध्ये इजरायल पनि एक हो। चीनले पनि केही वर्षदेखि 'थाउजेन्ड ट्यालेन्ट प्रोग्राम' (हजारौं प्रतिभावान कार्यक्रम) को सुरूआत गरी दक्ष जनशक्ति भित्र्याउन युद्ध स्तरमा काम गरिरहेको छ। उक्त कार्यक्रमले विश्वका सबै मुलुकमा रहेका चिनियाँ नागरिकलाई स्वदेश फर्कन प्रेरित गर्छ। मौका पनि दिन्छ। यसले स्वाभाविक रूपमा दक्ष र अनुभवी हजारौं चिनियाँ नागरिक स्वदेदेश फर्कने क्रम जारी छ। उच्चशिक्षा, सिप र अनुभवप्राप्त विदेशीहरू पनि चीनतर्फ आकर्षित भइरहेका छन्।
नयाँ-नयाँ प्रविधिसहितको बदलिँदो विश्व परिवेशलाई हेर्दा अहिले संसारको कुनै पनि कुनामा रहेर कुनै पनि संस्था र व्यक्तिसँग जोडिन गाह्रो छैन। अहिलेको पुस्ता देशप्रेमका नाममा आफ्नै देशमा सीमित रहन चाहँदैन। झन् नेपालको बेथिति र राजनीतिक अस्थिरताबीच भावनामा बगेर स्वदेश फर्किहाल्न त्यति सजिलो छँदै छैन। त्यसैले नेपाल फर्केका र फर्किन चाहनेहरूलाई कुनै परिस्थितिवश वा आफ्नो रोजाइले विदेशमै बसेर सहयोग गर्न चाहने व्यक्तिहरूसँग जोडेर बलियो सञ्जाल बनाउनु अहिलेको आवश्यकता हो।
सान फ्रान्सिस्कोस्थित क्यालिफोर्निया विश्वविद्यालयमा सहप्राध्यापकका रूपमा कार्यरत डा. तारा सिग्देलले विश्वको जुनसुकै ठाउँमा रहेर आफ्नो मातृभूमिका लागि काम गर्न सकिने र यसका लागि नेपाल फर्कौं महाअभियानले ब्रेन-चेनको परिकल्पना अघि बढाउनुपर्ने बताएका छन्। एकल होस् वा सामूहिक रूपमा, आफ्नै देशमा केही गर्न चाहने नेपालीहरूलाई विश्वभरिबाट यहाँका विकास गतिविधिमा समाहित गराउन ब्रेन-चेनको परिकल्पनाले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ।
नेपाल फर्कौं महाअभियानले स्वदेश फर्किन चाहने र फर्किसकेका व्यक्तिहरूका साथै आफ्नो परिस्थिति वा रहरले विदेशमै रहेर पनि नेपालको निम्ति सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई जोडेर सञ्जाल निर्माण गरिरहेको छ। यसले विश्वभरि छरिएका नेपालीहरूको सिप र अनुभवलाई सजिलैसँग आफ्नै गाउँठाउँमा सदुपयोग गर्न वातावरण निर्माण हुनेछ भन्ने हाम्रो विश्वास छ।
कल्पना गरौं, नेपालका स्थानीय जनप्रतिनिधिले नेपाल फर्कौं महाअभियान वा यस्तै सञ्जालमार्फत् आफूलाई आवश्यक पर्ने सिप, अनुभव र नीति-निर्माणमा विश्वभरिका नेपालीलाई सहभागी गराउन सुरू गर्ने हो भने स्थानीय निकायको रूपान्तरण गर्न त्यति कठिन पक्कै हुने छैन।
साथै, विदेशबाट फर्केका नेपालीहरूले देशको जुनसुकै कुनामा रहेर पनि विश्वभरिका नेपालीसँग छलफल गर्ने वातावरण निर्माण गर्ने हो भन्ने यसले आफ्नै ठाउँमा फर्केर केही गर्न चाहने नेपालीहरूलाई सिप, स्रोत, अनुभव र आत्मविश्वास दिलाउन सहयोग गर्नेछ।