मानिस एक सामाजिक र चेतनशील प्राणी हो। उसले खराब, असल, राम्रो,नराम्रो कुराहरु छुट्याउन सक्छ। यही गुणहरु मानिसमा भएको हुनाले र उसमा चेतना भएको हुनाले मानिसलाई सामाजिक र चेतनशील प्राणी भनिन्छ। सामाजिक सद्भाव बिना मानिस समाजमा बस्न सक्दैन र सामाजिक सहयोग बिना मानिसले समाजमा एक्लोपनको महसुस गर्छ।
हाम्रो नेपाली समाजमा भन्ने गरिन्छ नि, श्रीमान्-श्रीमती भनेका एउटै रथका दुई पाङ्ग्रा हुन् र सुख-दुःख साटासाट गर्ने सहयात्री पनि हुन्। कुनै परिवार पितृसतात्मक छन् भने कुनै परिवार मातृसतात्मक छन्।
अहिलेको समय भनेको विज्ञान र प्रविधिको समयको साथसाथै विज्ञान र प्रविधिले छलाङ मारेको समय पनि हो। हामीले हाम्रो सोचाइमा अनि महिलाहरुप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु जरुरी छ।
एकदिनको कुरो हो, राम (नाम परिवर्तन) घरमा आफ्नो लुगा आफैले धुँदै थियो। त्यही क्रममा घरमाथिको छिमेकी अन्टीले देख्नुभएछ र रामलाई सोध्नु भएछ, 'आज किन तिम्रो लुगा तिमी आफैले धोएको? घरमा बुहारी नानी छैन कि क्या हो?'
यी प्रश्नहरुको प्रतिउत्तरमा रामले भन्यो, 'हैन अन्टी, आफ्नो काम सकुन्जेल आफैले गर्नुपर्छ।'
यो उत्तर रामको मुखकाट सुनिसकेपछि छिमेकी अन्टी एकछिन अक्क न बक्क पर्नुहुन्छ र उहाँले आफ्नो घरको सदस्यहरुका साथै अन्य छिमेकीलाई पनि भन्नु भएछ 'फलानोको श्रीमती (बुहारी) त कति धेरै भाग्यमानी!'
मलाई अर्को एउटा कुरा पनि बाँड्न मन लाग्यो, एकदिन राम र उसकी श्रीमती खाना खाएर घरधन्दा गर्ने क्रममा रामले भाँडा मस्काउँदै थियो। उसकी श्रीमतीले त्यही भाँडाकुँडा पखाल्दै थिइन्।
यही देखेर छिमेकी अंकलले 'आहा! कति राम्रो सुहाएको, श्रीमानले भाँडा मस्काउने श्रीमतीले पखाल्ने' भन्दै गलल्ल हाँस्दै घरतिर पस्नुभयो र भन्नुभयो 'फलानोको श्रीमान् र श्रीमतीको जोडी क्या सुहाएको।'
श्रीमतीहरुले घरमा काम गर्न नसक्ने हुँदा, उनीहरुलाई केही गाह्रो-साह्रो र अप्ठ्यारो अवस्था तथा परिस्थितिमा काम सघाउने श्रीमानहरुको बाध्यता नभई कर्तव्य हो भन्ने धारणा हामीले राख्नु जरुरी छ।
के विवाहित श्रीमानहरुले घरमा आफ्नो काम जस्तै- आफ्नो लुगा आफै धुने, आफूले खाएको थाल आफै माझ्ने जस्ता काम गर्दा र घरको घरधन्दामा श्रीमतीलाई काम सघाउँदा त्यो श्रीमानको श्रीमती धेरै भाग्यमानी हुन्छन् हो? अनि के श्रीमतीलाई काम सघाउने श्रीमान् हाम्रो नेपाली समाजमा हाँसोको पात्रका रुपमा उसको परिचय बन्छ हो?
के भाग्यमानी श्रीमतीहरुले मात्रै घरमा काम सघाइदिने श्रीमान् पाउँछन् हो? श्रीमानले श्रीमतीको घरायसी काममा सघाउँदा अनि श्रीमतीलाई उपहारस्वरुप कुनै उपहार श्रीमतीलाई दियो भने त्यो श्रीमान् हाम्रो समाजमा जोइटिङ्ग्रे हुन्छ हो?
धन्य छ मेरो नेपाली समाज र यहाँको मानिसहरुको सोचाइमा। पहिला हामी आफू बदलिन सक्यौँ भने मात्र हामीले हाम्रो समाजलाई बदल्न सक्छौँ। समाजलाई विकास गर्नको लागि एकआपसमा सहयोग गरी, हातेमालो गरी अगाडि आफू पनि बढौँ र अरुलाई पनि बढाऔँ।