शिक्षा भनेको कसैको सिद्धान्त, विचार वा धारणा घोक्नु मात्र होइन। शिक्षा भनेको सिर्जनात्मक र समालोचनात्मक क्षमता अभिवृद्धि गर्ने माध्यम हो। नेपालको सन्दर्भमा सबैका लागि गुणस्तरीय शिक्षाको समान पहुँच अभिवृद्धि गर्न सरकारी र गैरसरकारी तवरबाट पनि विभिन्न प्रयासहरु हुँदै आएको पनि पाइन्छ।
तर धरातलीय यथार्थतामा भन्दा देखासिकी र लहडमा निर्माण गरिएका शैक्षिक कार्यक्रमहरुले अपेक्षाकृत शैक्षिक उपलब्धी हासिल हुन सकिरहेको भने पाइँदैन। हाम्रो संविधानमा नै आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य हुने तथा माध्यमिक शिक्षा निःशुल्क हुने व्यवस्था छ। यसो भन्दै गर्दा व्यावसायिक तथा प्राविधिक धारतर्फको शिक्षा आधारभूत वर्गको पहुँचमा पुर्याउन सक्दा मात्र रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्न सकिन्छ।
साधारण शिक्षालाई पनि व्यवहारिक र व्यावसायिक जीवनसँग आवद्ध गर्ने गरी सिकाइको नयाँ मोडल आत्मसात गर्न आवश्यक हुन्छ। तर, नेपालमा प्राविधिक शिक्षा गरिब जनताका छोराछोरीले पढ्न सक्ने खालको सस्तो र शुलभ छैन। सिटिइभिटीको सम्बन्धनमा सञ्चालनमा रहेको ३ वर्षे (एसइई पछिको) कार्यक्रममा ३ लाखभन्दा बढी शुल्क लाग्ने गरेको छ। १८ महिने कार्यक्रम पनि खर्चिलो छ। यो गरिब जनताको पहुँचमा छैन।
अन्य तहको शिक्षा पनि पूर्णतः निःशुल्क बनाउन सकिएको छैन। रोजगारमूलक शिक्षा भनेको गुणस्तरीय शिक्षा हो। र, गुणस्तरीय शिक्षा भनेको उत्पादनमा जोड दिने शिक्षा हो भनेर पनि अर्थ्याउने गरेको पाइन्छ। जीवन निर्वाहका लागि आवश्यक ज्ञान, सीप, अभिवृत्ति तथा समालोचनात्मक चेत विकास गर्न सघाउने शिक्षाको रूपमा पनि रोजगारमूलक शिक्षालाई विश्लेषण गर्ने गरिन्छ।
व्यक्तिको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, बौद्धिक विकास गर्दै दैनिक जीवनलाई सुखी एवम् स्तरीय बनाउन निश्चित सीपहरूको विकास गर्न दिइने शिक्षालाई गुणस्तरीय शिक्षा भन्ने प्रचलन स्थापित छ। व्यक्तिको जीवनमा आइपर्ने विविधखाले समस्याहरूलाई बुद्धिमत्ता तथा तार्किक किसिमले समाधान गर्न सक्ने जीवनोपयोगी सीप विकास गर्न सहयोग गर्ने शिक्षा अहिलेको आवश्यकता हो।
तर, विद्यालयमा पढाइने तोकिएका पाठ्यपुस्तकहरु भित्रका कति विषयवस्तु सिकारुले जान्यो या जानेन भनेर शैक्षिक गुणस्तर पहिचान गरिने कर्मकाण्डी मूल्यांकनबाट समग्र शिक्षण सिकाइको वास्तविकता पहिचान गर्न सकिँदैन। यस्तो शिक्षण सिकाइबाट रोजगारी र स्वरोजगारीको क्षेत्र फराकिलो बनाउन सकिने कुरै भएन।
पाठ्यक्रम प्रारूप, २०७६ ले गुणस्तरीय शिक्षाभित्र विद्यार्थी भर्ना, निरन्तरता र उत्तीर्णता जस्ता कुराहरू समेटिएको हुन्छ भन्ने उल्लेख गरेको छ। गुणात्मक शिक्षाअन्तर्गत व्यक्तिमा असल गुणको विकास, नैतिक चरित्रको विकास, अनुशासन, विनयशीलता, अन्तरशक्तिको सन्तुलित र प्रगतिशील विकास, शरीर, मन र आत्माको सबैतिरबाट विकास, अरूलाई बुझ्ने र कामलाई सम्मान गर्ने जस्ता पक्षहरू समेटिन आवश्यक हुन्छ।
एजुकेसन इन्टरनेसनलले गुणस्तरीय शिक्षाअन्तर्गत गुणस्तरीय शिक्षक, गुणस्तरीय अध्ययन/शिक्षण सामग्री र गुणस्तरीय शैक्षिक वातावरण समेटिनु पर्ने कुरामा जोड दिएको छ। अहिले हाम्रा शैक्षिक संस्थाहरूले सिकारुको रुचि र चाहना ख्यालै नगरी थोपरेको शिक्षामा कति गुणस्तरीयता छ?
पाठ्यपुस्तकमा राखिएको प्रश्नहरुको उत्तर पनि पाठ्यपुस्तकबाटै लेख्नुपर्ने परीक्षामुखी र गृहकार्यमुखी शिक्षणसिकाइले सिकारुको सिर्जनशीलतालाई निस्तेज पारिरहेको वास्तविकताबारे बेखबर हुनु राम्रो होइन। सिकारुलाई चिन्तन गर्ने, प्रश्न सोध्ने, सम्भावानाहरुको खोजी गर्ने परियोजना केन्द्रित क्रियाकलाप गराउन सक्दामात्र सैद्धान्तिक ज्ञानलाई व्यवहारिक सीपमा ढाल्न सकिन्छ।
अहिलेको शिक्षामा सिकारुको ज्ञान, सीप र अभिवृत्ति सिकारुको लब्धांकपत्रमा मात्र खोजिन्छ। सिकारुको सन्तुष्टिमा होइन। सिकारुको व्यवहार र आचरणमा पनि होइन। सिकारुमा विकास भए नभएको सीप र सिर्जनामा पनि होइन। अभिभावकीय मानसिकताले पनि शिक्षाबाट प्राप्त हुने प्रतिफललाई के कसरी र कुन सन्दर्भमा व्याख्या गर्ने भन्ने कुरा निर्धारण हुने गरेको देखिन्छ।
रोजगारमूलक शिक्षा ज्ञान सीपले सुसज्जित, परिवर्तित मनोवृत्ति भएको, परम्परागत मूल्य र मान्यताप्रति सचेत नागरिक उत्पादन गर्ने बलियो आधार पनि हो। यस्तो शिक्षाले स्वरोजगार सिर्जना गर्न सघाउँछ। उद्यमशील बनाउँछ। परम्परागत पेशाप्रति रुचि जगाउँछ। गुणस्तरीय शिक्षाबाट उत्पादित जनशक्ति रोजगार बजारका निम्ति उपयोगी, सिर्जनात्मक, दक्ष, नैतिक आचरण, अनुशासित, सामाजिक आचरण भएको सक्षम नागरिक उत्पादनसँग सम्बन्धित हुन्छ।
अधिकत्तर अभिभावकहरूले आफ्नो बालबालिकाका लागि शैक्षिक संस्था छान्दा त्यसमा उपलब्ध सुविधा र त्यसले दिने नतिजालाई हेर्ने गरेको पाइन्छ। व्यक्तिको सर्वाङ्गीण विकासमा मद्धत गर्ने शिक्षा गुणस्तरीय शिक्षा हो। रोजगारी र स्वरोजगारको अवसरलाई फराकिलो पार्ने शिक्षा अहिलेको आवश्यकता हो।
नैतिक आचरण, अनुशासन, सुसंस्कृत व्यवहार, संस्कार, संस्कृति, सभ्यता, सीप र सिर्जनासहितको सामाजिक सद्भाव विकास गर्न सक्ने शिक्षा नै सारमा गुणस्तरीय शिक्षा हो जसले व्यक्तिलाई आफ्ना जीवनयापनको उचित क्षेत्र पहिचान गरी त्यसमा लाग्न उत्प्रेरित गर्दछ। र, रोजगारीको लागि चाहिने सक्षमता अभिवृद्धि गर्दछ। राष्ट्रिय शिक्षा नीति २०७६ मा शिक्षालाई रोजगारमूलक बनाउने सन्दर्भमा मुख्यतयाः निम्न उद्देश्यहरु राखेको पाइन्छः
गुणस्तरीय माध्यमिक शिक्षामा सबैको निःशुल्क पहुँच सुनिश्चित गर्दै सिर्जनशीलता, रचनात्मकता, अध्ययनशीलता, सकारात्मक चिन्तन र सदाचार जस्ता गुण सहितको प्रतिस्पर्धी, सीपयुक्त एवं उत्पादनशील जनशक्ति तयार गर्नु।
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका अवसरहरूलाई व्यापक विस्तार गरी सबै इच्छुक नागरिकहरूका लागि समावेशी एवं समतामूलक पहुँच स्थापित गर्दै देश विकासका लागि योग्य, सक्षम, सीपयुक्त र उद्यमशील जनशक्ति तयार पार्नु।
ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माणका लागि उच्च शिक्षाको पहुँच र गुणस्तर अभिवृत्ति गरी विभिन्न क्षेत्रहरूमा सक्षम नेतृत्व प्रदान गर्न सक्ने योग्य, दक्ष, वैज्ञानिक, नवप्रवर्तनात्मक, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी र अनुसन्धानमुखी मानव संशाधन विकास गर्नु।
उल्लिखित उद्देश्यहरु पूरा गर्न सीपमूलक शिक्षामा जोड दिँदै सिकारुलाई शिक्षासँगै उत्पादन कार्यमा लाग्ने वातावरण सिर्जना गर्न आवश्यक हुन्छ। यसको लागि नेपाल सरकारले प्रत्येक पालिकामा कम्तिमा एउटा प्राविधिक विद्यालय स्थापना गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ। तर, प्राविधिक शिक्षामा आधारभूत वर्गको सहज पहुँच सुनिश्चितता गर्न तिनै तहको सरकारको समन्वयात्मक सहयोग बाञ्छनीय हुन्छ।
उच्च शिक्षातर्फ कृषि तथा पशुविज्ञान, वनविज्ञान, चिकित्सा शास्त्र, इन्जिनियरिङ लगायतका विभिन्न क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन गर्ने कार्यलाई थप व्यापक बनाउन आवश्यक छ। सिटिइभिटीले सञ्चालन गर्ने प्राविधिक शिक्षा तथा सीपमूलक तालिमका कार्यक्रमहरु मागमा आधारित र सर्वसुलभ बनाउनुपर्ने हुन्छ।
यसरी सीपमूलक शिक्षाको पहुँच विस्तार गर्दै सिकाइसँगै उत्पादनलाई जोड्ने कार्यलाई अझ व्यवस्थित गर्न सके शिक्षाको माध्यमले रोजगारी र स्वरोजगारीको क्षेत्रलाई फराकिलो बनाउन सकिने देखिन्छ। विद्यालयीय शिक्षालाई सैद्धान्तिक रटानमा मापन गर्ने परम्पराको अन्त्य गर्दै सिकाइलाई दैनिक जीवनसँग जोड्ने र सिकारुलाई उद्यमशील बनाउने सन्दर्भमा पनि विभिन्न विकल्पहरुको खोजी गरिनु पर्दछ।
सीप, सिर्जना, व्यावसायिक दक्षता अभिवृद्धि गर्ने खालको शिक्षाको व्यवस्थापन गर्दै परिश्रमी र स्वावलम्बी नागरिक तयार गर्ने प्रकृतिको शिक्षाको विकास गर्न सके रोजगारीको क्षेत्रलाई बढाउन सकिन्छ। यसको लागि नागरिक स्वयमको भूमिका र अग्रसरता पनि महत्वपूर्ण हुन्छ।
अहिले हामीलाई रोजगारमूलक शिक्षासँगै नैतिक आचरण र असल संस्कार सिकाउने शिक्षाको खाँचो छ जसले व्यक्तिलाई कर्तव्यबोध गराउन सकोस्। जीवन जिउने कला सिकाओस्। विदेश जान उक्साउने होइन बरु स्वदेशमै उद्यम गरी आर्थिक लाभ लिन उत्साहित गरोस्। उत्पादन बढाउने आत्मनिर्भर र निर्भिक नागरिक तयार पार्न सकोस। उद्यमशील र परिश्रमी बन्ने कुरामा उत्प्रेरित गरोस।
शिक्षाको माध्यमले सबै वर्ग र समुदायको आत्मसम्मान र आत्मविश्वास विकास गर्न सक्नुपर्छ। मानव सभ्यतालाई उच्च प्राथमिकता दिने शिक्षा आफैमा गुणस्तरीय शिक्षा हो। यस्तो शिक्षा रोजगारमूलक पनि हुने भएकोले देशलाई विभिन्न क्षेत्रमा चाहिने आवश्यक जनशक्ति उत्पादन गर्ने गरी शिक्षा र तालिमलाई व्यवस्थित गर्न सक्नुपर्दछ। यसो गर्न सकियो भने शिक्षाको माध्यमले रोजगारी र स्वरोजगारको क्षेत्र पहिल्याउन सकिन्छ।