सायद पूर्णिमाको दिन जस्तो लाग्छ, एकाबिहानै बाहिरबाट ढोका ढकढक गरेको आवाज आयो। हतारहतार ढोका उघारें, आफ्नै जेठाजु र जेठानी दिदी आएका रहेछन्।
आश्चर्य नै भयो, सितिमिति मेरो घरमा जेठाजु र जेठानी आउँदैनथे, आज त बिहानै दुवै जना आएका रहेछन् , के रहेछ त्यस्तो खास ?
मनमनै गम खाएँ एकैछिन। फेरि अर्को मनले भन्यो, यिनीहरू के विशेष कामको लागि आउँथे र ? केही नयाँ काम नपरी त आउने मान्छे पक्कै होइनन्।
होस्। मनलाई एकातिर अल्मलाएर आतिथ्यता दर्शाएँ, ओहो एकाबिहानै आउनुभएछ, दाजु दिदी भित्रै बसौं न।
दुवै जना भित्र पसे, सामुन्नेमा भएको सोफा देखाउँदै दुवै जनालाई बस्न भनें।
'तपाईंहरू बस्दै गर्नुस् म चिया पकाउँछु है।'
म भान्सातिर जान लाग्दै थिएँ, जेठानीले रोकिन्।
ए शिलु पर्दैन ... पर्दैन ... चियासिया त खाँदै गरौंला नि हामी त अर्कै कामले आएका हौं।
अँ साँच्चि नानीहरू उठेका छैनन् ?
अरू कुरा केही पनि नसोधी नानीहरूको बारेमा जेठानीले सोधेपछि एकैछिन त बिलखबन्धनमा परेजस्तै भयो।
'छैन त दिदी। नानीहरू यति बिहानै के उठ्थे र? स्कुल बिदाको दिन हुने हो भने त मौका पाउँदा आठै पो बजाउँछन्।'
'ओहो हो र ?' निकै अनौठो मानेजस्तै गरिन्।
'मस्त निद्रामा होलान्, सुतेका नानीहरूलाई उठाउने कुरा पनि भएन, फेरि तिम्रो जेठाजुलाई अफिस जानुपर्छ, मलाई त केही थिएन दिनभरि घरै बस्ने हो। उहाँलाई ढिलो हुने भो। ठूलो बाबा,आमा आउनु भाको छ भनिदेऊ न उठिहाल्छन कि!'
जेठानीले फेरि प्रश्न गरिन्।
खास के काम रहेछ मेरा छोरीहरूसँग ? न खुलेर कुरा गर्छन् ? न आफूले नै सोध्न भएको छ तिमीहरूलाई अरू बेला नचाहिने मेरा छोरी आज बिहानै किन चाहियो भनेर।
जेठाजुले मुख फोरे। खासमा कुरा के हो भने नि शिलु, आज हामी दुवै जनाको ब्रत हो, आज पूर्णिमा भन्ने त थाहा पाएकी हौली। ब्रतको दिन घरका आफ्ना कन्यालाई टीका नलगाई, आफ्ना कन्याहरूको गोडा नढोगी के पानी खानु भनेर उठेर नुहाइधुवाइ, पूजापाठ गरी यहाँ आइहालेको नि। हुन त छिमेकीका छोरीहरू पनि आफ्नै अगाडि छन्। आफ्नै भाइका छोरी हुँदाहुँदै के अर्काका छोरी पुज्नु भनेर यहाँ आएको नि।
दुइटा छोराका धनी जेठाजु, आज ब्रतको दिन मेरा छोरी खोज्न आइपुगेछन्।
मनमा धेरै कुरा खेले, जे जे भए पनि आखिर छोरी त काम लाग्ने रहेछन् भन्ने पनि लाग्यो। मनमा जे भए पनि देखाउने कुरा भएन।
'ए उसो भए एकैछिन बस्नुस् म नानीहरूलाई उठाइदि हाल्छु।'
नानीहरूलाई झक्झकाएर उठाएँ। दुवै जना मुख धोएर ठूलोबाबा आमा भएको ठाउँमा आए, नमस्कार गरे।
अरू बेलामा खासै मतलब नगर्ने भए पनि दशैंमा, औंशी, संक्रान्ति, सानातिना चाडवाडमा छोरीहरूलाई बोलाउने, खुवाउने, दक्षिणा दिने गर्थे। आज पनि पूर्णिमा रहेछ, त्यो पनि सानोतिनो चाँडै भयो छोरीहरूको लागि।
दुवै जनाले दुवै छोरीलाई काखमा लिए। टीका लगाइदिए, दक्षिणा दिए, गोडामा ढोगे, आशीर्वाद दिए, एक एकवटा खेलौना पनि ल्याइदिएका रहेछन् हातमा थमाइदिए।
'ल हामीलाई ढिलो भयो लाग्यौं है।' दुवै जना बिदा भए।
दुवै जना बाहिरिए पनि मनमा अनेक प्रश्नहरू खेल्न थाले। म दोस्रो पटक आमा बन्दा त्यही छोरी त पाएकी हो के हेर्न जानु ? भनेर नाक खुम्चाउने मेरा जेठाजु, जेठानी मेरै छोरीको गोडा ढोग्न किन आइपुगे ? कान्छि दश, र ठूली बाह्र वर्षका छन्। दुवै छोरी बुझ्ने भएका छन्। उनीहरूमाथि आफन्त र समाजले गर्ने विभेदको सानोतिनो सुइँको पाइरहेका हुन्छन्, बेलाबेलामा आफैं अनुभूति पनि गरेका हुन्छन्।
त्यही भएर पोहोरसाल ठूलो बाबाको छोरालाई तिहारमा टीका लगाउन गएनन्, दिदीले बहिनीलाई टीका लगाइदिए।
पटक-पटक 'तिम्री आमाले एउटा भाइ पाउन सकिन, तिहारमा कसलाई टीका लाउछौ ?' यही प्रश्न सुन्दासुन्दा हुर्किएका छोरीहरू आमाको खुसीको लागि भए पनि तिहारका एकअर्कालाई टीका लगाउँछन्।
'आमा, ठूलो बाबाको छोराले भन्दा धेरै प्रगति गर्छौ, तपाईंलाई छोराको कमी हुन दिन्नौ' भन्दै ढाडस दिन्छन् छोरीहरू।
बाआमा दुवैका प्यारा छन् छोरीहरू। जेठाजु, जेठानीले जतिसुकै खिसी गरे पनि श्रीमानबाट साथ र सहयोग पाएको छु। यही खुसीको कुरा हो मेरो लागि। श्रीमानले कहिले पनि यी दुई छोरीलाई भेदभावको दृष्टिकोणले हेरेनन्।
जेठाजुका दुई छोरा छन, साना गफ गर्दैनन् उनीहरू। 'यत्रो सम्पत्ति छ, यी छोरी बिहे गरेर गएपछि कसले खान्छ ? एउटा छोरा पनि नभएको घर के घर ? एउटा आँखाको केही भर हुन्छ र ?' बेलाबेलामा निकै ताना मार्छिन् जेठानी।
'आफू त मरे पनि सिधै स्वर्गमा पुगिन्छ, यत्रो सम्पत्ति भएर के गर्नु शिलु ? मरेपछि दागबत्ती दिने कोही छैन।'
गर्भको बच्चा चार पाँचपटकसम्म चेक गरेर, छोरा छ कि छैन ? ढुक्क नभएसम्म गर्भ तुहाएको कुरा कसले भन्दिने ? दुवै जना छोराका भक्तजस्तै हुन्। जेठानीले चोथौ पटकमा मात्रै छोरा पाएको कुरा उनकी आफ्नै बहिनीले सुनाएकी थिई।
जब छोरी भएको थाहा हुन्छ अनि अपरिचित ठाउँमा जाने, गर्भपतन गराउने काम पटक-पटक गरे।
पाँचौं पटकमा पहिलो बच्चा छोरा जन्मियो। दोस्रो बच्चा पनि छोरै जन्मियो। भाग्यमानीलाई खातैखात, अभागीलाई पुर्पुरोमा हात भन्छिन् बेलाबेलामा।
सहरमा बसेको, शिक्षित भनेर के गर्ने ? सोच हाम्रा हजुरआमाको पालाको भन्दा गुर्जेको भएपछि। जेठाजु त लोग्ने मान्छे भए, उनीहरूको सोच अलिकति पुरूषवादी त हुन्छ नै तर आफैं छोरी भएर जन्मेकी जेठानीले समेत आफ्नो गर्भलाई छोरी भएकै कारण चार चार पटकसम्म मरुभूमी बनाइन्, उजाड बनाइन्।
अहिले तिनै जेठाजु जेठानी हप्तैपिच्छे ब्रत बस्छन्, पूजापाठ लगाउँछन, मन्दिर जान कहीँ बाँकी छैन। पून्यका काम निकै गर्छन्। अझ चाखलाग्दो कुरा त के हो भने मेरो सानी छोरीको न्वारानमा समेत दुवै जना आएनन्। के के न भएजस्तो न्वारान खान के जानु भनेर आएनन् रे भन्ने कुरा अर्कैको मुखबाट सुनियो।
खैर, केही छैन। उनीहरू नआए पनि मेरी छोरीको न्वारान भयो, न्वारान भएको पनि दस वर्ष भइसक्यो। उनीहरूलाई यस्ता कुरा सुनायो भने मन दुखाउँछन्। एकदम सकारात्मक कुरा मात्र भन्न खोज्छु तर कताकताबाट भेउ पाइहाल्ने रहेछन्।
'आमा, तपाईंले किन लुकाउनु भएको ? हामीलाई मावलको हजुरआमाले भन्नु भा को', .... यस्तो उस्तो सबै कुरा ओकल्छन्।
केही बोल्न मन लाग्दैन। बस यत्ति भन्न चाहन्छु गर्भका अवोध छोरीलाई छोरी भएकै कारण धर्तीमा पाइला टेक्न नदिने तपाईंहरू नै, छोरी भएपछि स्वर्गमा बास नपाउने पनि तपाईंहरू नै, छोरीमात्रै जन्माएपछि मर्दा नजल्ने तपाईहरू नै, छोरी भएपछि सम्पत्ति खाने मान्छे कोही नपाउने पनि तपाईंहरू नै फेरि तपाईंको ब्रत, पूजाआजाको लागि कन्याहरू किन चाहिन्छ ?
छोरीहरू किन चाहिन्छ ? छोराहरूलाई टीका लगाएर खान सक्नुहुन्न र ? छोराको गोडामा ढोगेर ब्रत पूरा गराउन सक्नुहुन्न र ? घर पूजामा पाँच कन्याको लस्कर लगाएर, कलश बोकाएर उनीहरूलाई किन अघि लाउनुहुन्छ ? छोरालाई लाउँदा हुन्न र ? गर्भका छोरी तुहाएर भए पनि संसार देखेका मेरा छोरीको खाँचो देख्दै, उनीहरूलाई खोज्दै मेरो घरसम्म पाइला राखेका मेरा आधुनिक जेठाजु जेठानीको ब्रत पूरा होस्। मनले चिताएको पूरा होस बस यतिमात्र भन्न चाहन्छु।
प्रिय मित्रले सुनाएको कहानीले निकै कौतुहलता पनि बढायो।
गफैगफमा उनले यो कुरा सुनाएकी थिइन्। उनको यो कुरा लेखमार्फत् उजागर मन लाग्यो। किनकि यो भोगाइमा वास्तविकता लुकेको छ, सत्यता लुकेको छ र अधिकांश महिलाको जीवनको साझा पीडा पनि लुकेको छ। जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यसखाले पीडा भोगेका छन् उनीहरूलाई थाहा हुन्छ यसखाले घटनाको वास्तविकता।
हुन त हामी आधुनिक जमानाका कुरा गर्छौं,आफूलाई आधुनिक ठान्छौं तर छोरालाई कति महत्व दिन्छौं भन्ने कुरा हाम्रा भोगाइले, हाम्रा व्यवहारले प्रस्ट पार्छन्।
मेरा कतिपय साथी, आफन्तलाई सबभन्दा पहिले हाम्रा सन्तान हुन्, सन्तान भएपछि मात्रै छोरा र छोरीको कुरा आउँछ भन्दा मलाई उडाएको पनि पाएँ।
उसका एउटा छोरा, एउटी छेरी छँदैछ, हाम्रो पीडा के थाहा ? अर्कालाई उपदेश दिन त सजिलो छ नि भन्दै खिसी गर्नेहरू पनि छन्। म आफैं छोरी भएर यतिको कलम चलाउन सक्छु। आफ्ना आवाज उठाउन सक्छु, दुई चार शब्द बोल्न सक्छु, दुई चार अक्षर पढ्न सक्छु भने मैले जन्माएकी छोरीले मैले भन्दा धेरै गर्न नसके पनि कम्तीमा मैलेजति कसो नगर्ली भन्ने मलाई लाग्छ।
अहिलेको जमानामा, शिक्षा र अवसर पाउने हो भने कुनै पनि छोराभन्दा छोरी कम छैनन् र हुँदैनन् पनि। गर्भका छोरी मारेर ब्रत सफल बनाउन कन्या खोज्ने हर्कत नगरौं।
गर्भदेखि सम्मान गर्न सिके पो तपाईंको ब्रत, जपतप सफल होला त महोदय ? भ्रुण हत्याको पाप कटाउन कति पूजापाठ गर्नुहुन्छ ? कति ध्यान, जप गर्नुहुन्छ ? जतिसुकै तामझाम गर्नुस् तपाईंको वास्तविकता त्यही हो जुन तपाईंबाट अपराधीको शैलीमा पटक पटक भइसक्यो।
औंशी पूर्णिमामा कन्या पुज्ने होइन गर्भमा अंकुराउन लाएको मुनालाई निमोठ्ने काम नगर्नुस्।
आखिर कहीँ न कहीँ, कतै न कतै, कहिले काहीँ आक्कलझुक्कल छोरीको खाँचो त पर्ने रहेछ। शिलुका जुठाजु जेठानीको जस्तो हर्कत कसैको नहोस्।
छोरीको सम्मान होस्, छोरी भएकै कारण गर्भमा मारिने क्रम रोकियोस्। विशेष परिस्थितिमा खोजीखोजी पुज्ने होइन। छोरी भएर शानले बाँच्न पाइयोस्।
भनिन्छ नि, भाग्यमानीको छोरा हुन्छ, शौभाग्यले मात्रै छोरी जन्मिन्छ।