हाम्रो नेपाली समाजमा जति मान, सम्मान र इज्जत डाक्टर, पाइलट, ईन्जिनियर पेसामा पाइन्छ त्यति सम्मान शिक्षण पेसामा पाउन मुस्किल छ। अझ भनौँ भने शिक्षक पेसालाई त हाम्रो देशमा वैकल्पिक पेसाको रुपमा राख्ने गरेका छन्। यस पेसालाई अहिलेका युवा पुस्ताहरुले एक बोझ र आत्मा सन्तुष्टि नमिल्ने काम अनि पेसाको रुपमा लिने गरेका छन्।
हामीले शिक्षक भन्नेवित्तिकै सरकारी विद्यालय वा निजी विद्यालयमा व्यक्तिहरुलाई बुझेका हुन्छौँ। तर, फेलो शिक्षक भन्ने शब्द हामी थोरै मात्रले सुनेका हुन्छौँ। के हो फेलो शिक्षक भनेको र फेलो शिक्षकले कस्ता-कस्ता कामहरु गर्नुपर्छ भन्ने कुराहरु।
अहिले हाम्रो देशमा पनि शिक्षामा गुणस्तर ल्याउन र शिक्षा क्षेत्रमा विकास गर्नको लागि देशका विभिन्न ठाउँहरुमा फेलो शिक्षक पठाउने गरेका छन्। जसको कारणले शिक्षा क्षेत्रमा थोरै परिवर्तन आएको हामीले देखेका छौँ।
शिक्षा क्षेत्रमा काम गर्नको लागि विभिन्न संघ-संस्थाहरुले माग अनुसारको फेलो शिक्षकको व्यवस्था गरी शिक्षा क्षेत्रमा काम गरिरहेका हामीले समाचारहरुमा पनि सुनेका छौँ र देखेका छौँ।
मसँग एउटा निजी विद्यालयमा निमावि तहसम्म पढाएको अनुभव भएको हुनाले मलाई पनि शैक्षिक क्षेत्रमा परिवर्तन हेर्न मन भएको र म आफै सामाजिक कार्यको विद्यार्थी भएको हुनाले एउटा सामाजिक संस्थामा फेलो शिक्षकको लागि दरखास्त दिएको केही महिनामै छनौटमा परेको थिएँ।
छनौटमा परिसकेपछि मैले उक्त सामाजिक संस्थाबाट प्रदान गरिने १४ दिने तालिम लिएँ र २०७८ साल वैशाख महिनाको ५ गते आइतबारको दिन संखुवासभा जिल्लाको लागि नियुक्ति पत्र हातमा लिएँ। संस्थाको करार सम्झौता पत्रमा हस्ताक्षर गरेँ र त्यसको भोलिपल्ट अर्थात वैशाख ६ गते सोमबारको दिन म लगायत अन्य सात जना साथीहरु काठमाडौँको विभिन्न ठाउँहरु पार गर्दै संखुवासभाको यात्रा सुरु गर्यौँ।
संखुवासभा जिल्लामा पुगिसकेपछि आ-आफूले काम गर्ने क्षेत्रमा पुगेर सम्बन्धित विद्यालयको व्यवस्थापन समितिका व्यक्तिहरु, सम्बन्धित विद्यालयको प्रधानाध्यनपकसँग बैठक बसी आफूले गर्ने कामको जिम्मा लिई कामको सुरु गरियो।
समाजमा र आफूले काम गर्ने कार्य क्षेत्रमा आफू फेलो शिक्षक हुँ भनेर परिचय दिन पाउँदा मलाई धेरै खुसी लागेको थियो र आफूले आफूलाई धेरै भाग्यमानी पनि ठानेको थिएँ।
विद्यार्थीहरु आफूसित हाँसिखुसी लेख्न, पढ्न आउँदा अनि अभिभावकहरुको मायाको साथसाथै अभिभावकहरुसँग गरेको कुराकानीले पनि आफ्नो मनमा भएको आधा दुःख र पिरमर्का भागेर जान्थ्यो।
काम सुरु गरेलगत्तै केही समयपछि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहर विश्वमा लगायत हाम्रो देश नेपालमा पनि महामारीको रुपमा फैलिएको हुनाले र नेपालमा पनि बन्दाबन्दी गर्ने भएको हुनाले र अब आफ्नो काम घरबाटै इन्टरनेटको माध्यमबाट गर्ने भन्ने सूचना पाएपश्चात म लगायत हामी सबै कार्यक्षेत्रबाट काठमाडौँ फक्यौँ र अनलाइन मार्फत पढाउन र कार्यालयको काम गर्न थाल्यौँ।
कोरोना भाइरसको कारणले गर्दा भएको बन्दाबन्दीको कारणले रेडियो कार्यक्रम हाम्रो कक्षा हप्तामा ६ दिन (आइतबारदेखि शुक्रबारसम्म) संचालन गरेको छ। म आफूले पनि रेडियो कार्यक्रम हाम्रो कक्षा मार्फत कक्षा ६, ७, ८ को विद्यार्थी भाइबहिनीहरुलाई रेडियो मार्फत नेपाली विषय पढाउन पाउँदा आफूले आफैलाई धेरै भाग्यमानी व्यक्ति र भाग्यमानी शिक्षक ठानेको छु।
रेडियो कार्यक्रमले बालमैत्री कक्षा संचालनको लागि पहिला कसरी (स्क्रिप्ट) खाका तयार पार्ने अनि त्योअनुसार कसरी आफ्नो स्वर रेकर्ड गराउने र आफ्नो स्वरमार्फत रेडियोमा कसरी कक्षा संचालन गर्न समेत सिकाएको छ जुन मेरो लागि अनि मेरो जीवनको लागि यो पहिलो काम र पहिलो अनुभव थियो।
यस फेलो कार्यक्रम मार्फत कसरी प्रभावकारी संचार गर्ने, कसरी मासिक रिर्पोटिङ गर्ने भन्ने कुरा अनि कसरी विज्ञान प्रविधिसँग सम्बन्ध राख्दै आफ्नो कामलाई कसरी अगाडि बढाउने भन्ने कुरा पनि फेलोसिपले सिकाएको छ।
शिक्षा क्षेत्रको विकासको लागि स्थानीय सरकार, प्रदेश सरकार, राजनीतिक दल र देश चलाउने सरकारले विभिन्न नीति नियम बनाउनु पर्छ अनि बनाएका नीति नियमहरुलाई सहज र सरल ढंगमा आफूले पनि पालना गर्नुपर्छ र अरुलाई पनि पालना गर्न लगाउनुपर्छ।
सुगम तथा दुगर्म गाउँको साथसाथै शिक्षक अभाव भएको विद्यालयहरुमा पर्याप्त मात्रामा फेलो शिक्षक, शिक्षिकाहरुको व्यवस्था गर्नुपर्छ र उनीहरुलाई बेलाबेलामा पुनर्ताजगी तालिमको पनि व्यवस्था मिलाउनु पर्छ।
अन्तः शिक्षक पेसालाई हेर्ने नजरलाई परिवर्तन गरौँ। शिक्षकप्रति गरिने सोच, विचार र भावना अनि दृष्टिकोणमा परिवर्तन ल्याइ आफू पनि अगाडि बढौँ र समाजलाई पनि अगाडि बढाऔँ।
जे-जस्तो भएपनि फेलो शिक्षक भएर संखुवासभा जिल्लाको मादी नगरपालिका आहालेस्थित श्री सिंहभगवती आधारभूत विद्यालयमा फेलो शिक्षक भएर काम गर्न पाउँदा र त्यस ठाउँको रहनसहनको साथसाथै अन्य विशेष कुराहरुबारे जानकारी लिन पाउँदा खुसी लागेको छ।