'दिदी यता हेर त। गौतम अंकल आन्टी त फेसबुकको फोटोमा कति राम्रा भर्खरका देखिएका। उनीहरू ४६ र ४४ वर्षका भए पनि अंकलले तालु खुइलेको टाउकोलाई क्यापले छोपेर टाइट टिसर्ट लगाएर फोटोमा त वास्तविक उमेरभन्दा पन्ध्र वर्ष कम देखिनु भएको छ। आन्टीको त झन् कुरै नगर ४४ वर्षमा पनि भर्खरकी केटीजस्तो देखिनु भाछ घुँडाघुँडा सम्मको छोटो फ्रक लगाएर। फोटो खिच्दा ब्युटी एप प्रयोग गरेर अनुहारमा भएको कालो दाग धब्बा चाउरी केही पनि देखिएको छैन।'
म भान्साको काममा भुलिरहेको बेला बहिनीले भान्सा कोठामै मोबाइल फोन मतिर तेर्साउँदै भनी।
'ठिकै भनिस् भर्खरका देखिएका मात्र वास्तविक त होइन नि,' मैले मुस्कुराउँदै भनें।
'तिमी र भिनाजु त गौतम अंकल आन्टीभन्दा पनि म्याचुयर्ड देखिन्छौ फेसबुकको फोटामा। तिमीहरूको उमेर दस वर्ष कान्छो भएर के गर्ने!'
'हो हामीहरू भन्दा अंकल आन्टी नै जवान देखिनुहुन्छ तर फेसबुकको फोटोमा भन्न छुटाइस् तैंले।'
'फोटोमा त फोटोमा नै हो नि। आजकल यस्तो कोरोना समयमा प्रत्यक्ष भेटघाटभन्दा पनि सामाजिक सन्जालमा नै हो भेटघाट हुने। तिमीहरूले पनि यस्तै जवान देखिने फोटो राख भनेको'
'मन छैन ३६ वर्षमा १६ वर्ष देखिन। म १६ वर्षको हुदाँ नै १६ वर्षको देखिइसकेँ। आज ३६ वर्षको हुँदा ३६ वर्षकै देखिन चाहन्छु। भोलि ६४ वर्षको हुँदा ६४ वर्षको देखिन खुसी हुनेछु। उमेरसँग डराउनु पर्ने किन? उमेरसँग डराउने त आत्मविश्वास नभएका मान्छे हुन्। हरेक मानिस आफ्नो वास्तविक उमेरभन्दा बुढो देखिन नचाहनु त स्वभाविक नै हो तर पचास वर्षे उमेरमा पच्चिस वर्षे देखिन किन पर्यो? अनि बहिनी तैंले भने जस्तो फेसबुकमा १५/२० कम उमेर देखिने भए तिमीहरूको फोटो २० वर्ष कम देखिएर भर्खर बामे सर्ने बच्चाको जस्तो देखिन्छ होला है’ बहिनी हाँस्दै अर्को कोठामा गई।
म आफ्नो काममा लागें।
एकदिन म कोठामा बसेर फेसबुक हेर्दै थिएँ। त्यही बेलामा फोनमा म्यासेज आएको घन्टी बज्यो।
कलेज पढ्दाको साथीको फ्रेन्ड रिक्वेस्ट आएको रहेछ। प्रोफाइल चेक गरेर हेरेँ।
मेरो साथीसँग नाम थर मिले पनि अनुहार मिल्न गाह्रो भयो। म्युचल फ्रेन्ड धेरै भएको कारणले कलेज पढ्दाको मेरै साथी करुणा हो कि भनेर ध्यान दिएर हेरें।
कलेज छुटेको दश वर्षमा दश वर्ष परिपक्व देखिनु पर्नेमा ऊ त झन् दश वर्ष कम देखिएकी थिई।
हल्का काली साथी पत्याउन गाह्रो हुने गरी गोरी देखिएकी थिई। फेसबुकको फोटोमा। फोटो जुम गरेर हेरें। उसको चिउँडोको कोठी देखिन्छ कि भनेर। उसलाई निकै सुहाउने मकैको गेडा जत्रो कोठी त गायब।
उसको अन्य फोटा, फोटो खिच्दा पोज दिने तरिका, उसले फेसबुकको प्रोफाइलमा उसले उल्लेख गरेका स्कुल कलेजको आधारमा ऊ मेरी साथी करुणा नै हो भन्ने नब्बे प्रतिशत पक्का भयो।
फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरें। अनि तुरून्तै उसलाई मेसेन्जरमा फोन गरें। एक घन्टी जान नपाउँदै फोन उठ्यो। उसले खुसी हुँदै मेरो हालखबर सन्चो विसन्चो एकै सासमा सोधी।
उसले हेलो भनी नसक्दै यो मेरो साथी करुणा नै हो भन्ने म सय प्रतिशत विश्वस्त भएँ।
ओईऽऽऽ मान्छे परिवर्तन भए पनि स्वर त जस्ताको तस्तै। अनि तेरो त्यो चिउँडो कोठी खै त?
'त्यो कोठी त मैले बिए सकिने बित्तिकै' फालें।
'कोठी त फालिस् फालिस् छाला पनि काढिस् कि क्या हो? गोरी देखिन्छेस् त फेसबुकको फोटोमा। पहिलाको जमाना जस्तो फोटो हेरेकै भरमा दुलही रोज्ने भएकी भए त केटो राम्रैसँग फस्ने रैछ। कलेज छोडेको दश वर्षमा म दश वर्ष बुढी भएँ तँ त झन् भर्खरकी। कति उज्याली देखिएकी हो।'
'त्यो त ब्युटी एपको कमाल हो नि साथी'
'फोटो राम्रो आओस् भन्ने चाहनु स्वभाविकै हो। तर राम्रोको लागि फरक नै आओस् भन्नु त अति भएन र? फेसबुकको फोटो साथीहरूले सजिलै चिनुन् भनेर राखेको हो कि नचिनुन् भनेर?'
हामी दुवै जना निकै बेर हाँस्यौं।
एक जना साथीले संग्रहालयमा घुम्न गएको फोटो फेसबुकमा राखेकी थिइन्। मलाई त्यो संग्रहालय पहिलादेखि नै जान मन लागेको भएर के कस्तो रैछ भनेर बुझ्न साथीलाई फोन गरेँ।
'कहाँको भित्र गएर हेर्नु। बाहिर साइन बोर्ड नजिकै उभिएर फोटो खिचें। फेसबुकमा तुरून्तै पोस्ट गरें। म त्यो ठाउँमा गएको छु भन्ने पार्यो भैहाल्यो नि अरूलाई।'
साथीको जवाफले म दंग परेँ। आफू घुम्नुभन्दा पनि अरूलाई आफू घुमेको छु भनेर देखाउनु पो पर्ने रैछ!
आजभोलिको इन्टरनेटको जमानामा मानिसहरूले सामाजिक सञ्जालको प्रयोग गर्नु स्वभाविक नै हो तर हुने भन्दा देखाउने होडबाजीले समाजमा विकृति बढाउँदै लगेको देखिन्छ।
आफूसँगै भएको मानिसलाई पनि मुखले बोलेरभन्दा फेसबुकमा लेखेर शुभकामना दिने, पारिवारिक जमघट उद्देश्य आत्मीयता बढाउनुभन्दा पनि अरूलाई देखाउन आयोजना गरेकोजस्तो गरेर अनावश्यक धेरै फोटा फेसबुकमा फोटो पोस्ट गर्ने, गहना कपडा लगायत अन्य फोस्रो आडम्बर देखाउने गरी फोटो राख्ने। अनि लाइक र कमेन्टको पैंचो लगाउने र तिर्न हतार!
हामीहरू कुनै पनि ठाउँमा घुम्न जाँदा त्यो ठाउँमा घुमेर बुझेर त्यस यात्राको आनन्द लिनुभन्दा पनि फेसबुकमा फोटो पोस्ट गर्नको लागि हामी घुमेको हौं जस्तोगरी कहाँनेर फोटो खिच्दा राम्रो आउँछ हाम्रो ध्यान त्यही हुन्छ। आफूले जान्न बुझ्नको लागि भन्दा पनि फेसबुकमा फोटै राख्ने उद्धेश्यले घुमेको जस्तो। कार्यक्रममा जाँदा पनि आफूले ध्यान काममा भन्दा साँझ फेसबुकमा पोस्ट गर्ने फोटोको तयारी गरिराखेका हुन्छौं।
विश्वव्यापीकरणको आजको जमानामा हाम्रा साथीभाइ मात्र होइन घरपरिवारका सदस्य पनि देशमा विदेशमा छरिएर रहेका छन्।
यस्तो बेलामा सामाजिक सञ्जालको सही प्रयोगले हामी एक अर्को हाल खबर बुझ्न मात्र होइन एक अर्कामा आत्मीयता कायम राख्न, विभिन्न प्रकारको सहयोगको आदान-प्रदान गर्न, ज्ञान आर्जन गर्न, कमाउन,रमाउन सहज बनाइदिएको छ।
आफ्ना हालखबरको बारेमा साथीहरूलाई जानकारी दिन सामाजिक सञ्जालमा फोटा एवम् भनाइ राख्नु पक्कै पनि राम्रो कुरा हो तर घुम्न जाँदा घुम्ने कुरालाई, कुनै कामको सिलसिलामा कामलाई, सभा सेमिनारमा भाग लिन जाँदा ज्ञानलाई, पारिवारिक जमघटमा आत्मीयता र भेटघाटलाई प्राथमिकतामा राखौं।
हामीले सामाजिक सञ्जालको दुरूपयोग गरेर फेसबुकको फोटो आधा साँचो, आधा झूटो भन्ने अवस्था ननिम्त्याऔं। देखावटीभन्दा वास्तविकतालाई प्रोत्साहन गरौं।