'के गर्दैछौ हौ काठमाडौँ बसेर?'
'पढ्दै छु।'
'हैन, अझै पढाइ सकिएको छैन?'
अचम्म मान्दै सोध्ने आफन्तभन्दा बढी त म आफैँ हैरान छु कि मेरो पढाइ अहिलेसम्म किन सकिएको छैन?
समयले सबै प्रश्नको जवाफ दिँदै जाँदा यसको पनि उत्तर पाउँछु म। पढाइ, लेखाइ, सिकाइ जीवनभर चलिरहने प्रकृया हो। यी त भए दार्शनिक कुरा। अब तथ्यगत कुरा गरौँ।
म आजभन्दा करिब दश वर्ष अगाडि काठमाडौँ छिरेकी थिएँ। पढाइको हिसाबले स्नातकोत्तर सकियो। तर रहर त हो। विद्यार्थी जीवन रहुन्जेल परीक्षा सकिएको दिनबाट पुस्तक हेर्दिनँ भन्ने लागे पनि जब स्नातकोत्तर सकियो तब जीवन शून्य शून्य भए जस्तो भान भयो। मनमा प्रश्न आयो 'अब के त?'
आफूले जानेको सीप भनेकै पढ्न लेख्न मात्र हो। फेरि कानुन संकायमा आफूले पढ्न सुरु गरेर पढाउन पनि सुरु गरियो। सुरुका वर्ष सजिलै बिते। सजिलो यस अर्थमा कि त्यसबीच त्यस्तो उल्लेखनीय बाधा आएनन्। तर समय क्रमसँगै हरेक कुरा आए जो यहाँ उल्लेख गर्न उपयुक्त म ठान्दछु।
वर्षकै हिसाबले भन्ने हो भने म ०७४/०७५ को कानुस संकाय स्नातक तहमा भर्ना भएको विद्यार्थी। तर प्राविधिक कुरा जेसुकै भए पनि त्रिवीको शैक्षिक क्यालेन्डर के कस्तो छ, रही आएको छ यहाँ उल्लेख गर्न जरुरी सायद नहोला।
र, वर्तमान हाल सोध्ने नै हो भने दोश्रो वर्षको परीक्षा सकेर तेश्रो वर्षको परीक्षाको पर्खाइमा म लगायत उक्त वर्ष भर्ना भएका करिब बाह्र हजार विद्यार्थी छन्। समयक्रमलाई नै जोड्ने हो भने हामीभन्दा अर्को वर्ष अध्ययन गर्न चाहनेहरुले चाहेर पनि समयमा भर्ना हुन सकेनन्।
कारण त्यही पुरानै! आफूले अध्यापन गराउँदै आएको विद्यार्थीहरुको कुरा गर्ने हो भने पनि समयमा हुँदै आएको एनइबीको परीक्षा गत वर्ष मात्र पनि नौँ महिना ढिला गरिएको थियो। र यस वर्षको परीक्षाको विषयमा त हामी सबै जानकार नै छौँ। धेरै विद्यार्थी परीक्षाको सूचनासँगै राजधानी छिरे र पुनः परीक्षा नहुने सूचनासँगै घर फर्किने कि यतै बस्ने भन्ने कुरामा अझै अन्यौल छन्।
पहिले घटना क्रमलाई नै जोड दिउँ, स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीको पुरानो र नयाँ गरेर दुई तह भैसक्दा मात्र त्रिवीले हालसालै परीक्षा लिन सफल भयो।
यहाँ कारणहरु जेसुकै किन नहोस्, सहज परिस्थिति रहँदा समेत पनि त्रिवीको शैक्षिक क्यालेन्डर यसै पछाडि नै धकेलिएको थियो, र अहिले झनै मिठो बहाना जरुर मिलेको छ।
त्रिवीलाई छोडौँ, राष्ट्रिय परीक्षा बोर्डलाई नै हेरौँ। निर्णय लिन कति असक्षम भन्ने कुरा गत वर्ष र अहिलेको वर्षलाई हेरे पनि हुन्छ। गत वर्ष कक्षा ११ को परीक्षा १२ कक्षा पुगिसकेर पनि मध्य तिर लिन भनेर सूचना आयो। जबकि ती विद्यार्थीहरुले कक्षा १२ पनि लगभग आधाभन्दा बढी पढिसकेका थिए।
त्यस्तो अवस्थामा कक्षा ११ को पुनः परीक्षा दिनुपर्दा तिनको मनमा के बित्यो, त्यो तिनैमा सीमित छ। अहिले आएर पनि हेर्ने हो भने ती नै ब्याचका विद्यार्थी हुन् जस्को परीक्षा श्रावण ३१ गतेबाट सञ्चालन हुने कुरा थियो र हाललाई सो परीक्षा स्थगित गरिएको छ।
कक्षा ११ कै कुरा गर्ने हो भने पनि विद्यार्थी र शिक्षकबीच चिनाजानी नभई नै अब पनि कक्षा १२ सकिने स्थिति देखिँदै छ। यसरी गुमनाम कोही विद्यार्थीले शैक्षिक प्रमाणपत्र मात्र बोकेर जानुपर्ने दिन पनि नआउँला भन्न सकिन्न। नाउँको कुरा छोडौं, अनलाइनबाट सुरु भएर अनलाइनमै सकिएको विद्यार्थीले व्यवहारिक कुराहरु सिक्ने अधिकारबाट त यसै पनि वञ्चित रहे नै, सँग-सँगै कक्षा कोठामा आफूलाई निर्धक्क भएर प्रस्तुत गराउने क्षमताको पनि ह्रास भएर गयो।
भर्खरै आएको एसइईको नतिजा पश्चातको स्थितिलाई नै हेर्ने हो भने पनि धेरै विद्यार्थी र अभिभावक अन्यौलमै छन्। कलेज भर्ना गराउने सवालमा समेत अब ती अनलाइन कक्षा र आफ्ना नानीहरुले त्यसबाट उठाउन नसक्ने फाइदाहरु सम्झेर तिनका अनुहार बेरंग भएको स्पष्ट देख्न सकिन्छ।
कुराहरु धेरै ठूला भएको पनि देखियो, सुनियो। सबैले शैक्षिक गुणस्तरको कुरा गरेको पनि सुनियो, देखियो। गुणस्तरकै कुरा गर्ने हो भने त यस्ता पुस्ता जन्मिरहेका छन् जसलाई नेपाली भाषा बोल्न राम्रैसँग आउँछ, तर लेख्न र बुझ्न गाह्रो लाग्दछ।
परीक्षा हल भित्र रहँदा एक विद्यार्थीलाई शब्दको अर्थ लेख्न नआएको देखेर मैले त्यसको जवाफ सिकाएकी थिएँ, भलै त्यो मर्यादा बाहिरको कुरा थियो। तर अचम्म त त्यसबेला लाग्यो कि उसलाई मैले भनेको शब्द त लेख्नै आउँदैन।
गत वर्षबाट परिवर्तन भएको शैक्षिक पाठ्यक्रममा सामाजिक शिक्षा राखिनुलाई सकरात्मक रुपमा लिएकी छु मैले। नत्र नेपाली विषय मात्र एक विषय राख्ने र पहिले जस्तै विज्ञान संकायलाई १२ मा र मानविकी व्यवस्थापनलाई ११ मा मात्र पढ्न लगाउने हो भने भाषा अब केवल मान्छेका मुखारविन्दमा मात्र सीमित हुन्थे होला।
कोरोनाले केही शान्ती दिएपछि र अन्तत: परिवर्तित पाठ्यक्रम नै लागु हुने भन्ने कुराको अन्तिम निर्णय आइसकेपछि एकदिन कक्षाका केही विद्यार्थीहरुको गुनासो आयो। गुनासो सुनुवाइको क्रममा थाहा भयो कि सामाजिक शिक्षा विशुद्ध नेपाली भाषामा पढ्नु पर्ने भएकोले बुझिएन।
मलाई मेरा साथीले भनेको याद आयो 'हामी त्यस्ता पुस्ता हौँ, जसलाई न नेपाली भाषा राम्रोसँग आउँछ न त अङ्ग्रेजी नै।' एक हिसाबले भन्ने हो भने अहिलेको पुस्ता 'ज्याक अफ अल, मास्टर अफ नन्' को पुस्ता भने पनि हुन्छ। मलाई ती मान्छे देखेर दया लाग्छ, जसले अङ्ग्रेजी जानेकोमा गर्व गर्दछ अनि सँगसँगै नेपाली नजानेकोमा पनि।
यी त भए प्रतिनिधि घटना मात्र, तर यस्ता धेरै कुरा छन् जो बाहिर आएको छैन। यस्ता घटना उल्लेख गर्दै गर्दा के राम्रा विद्यार्थी साँच्चीकै सकिए त? भन्ने प्रश्न पनि मनमा उठ्न सक्छ। त्यसो पनि होइन, भर्खरै मात्र एमबिबिएसमा उच्च श्रेणीमा आएका विद्यार्थीका अन्तर्वार्ताहरु हेर्दा मनमा हौसला पलाएर आउने पनि गर्दछ।
तर समग्रमा हेर्ने र भन्ने हो भने निर्णायकहरुको निर्णय लिने स्थितिमा असक्षमता र त्यसलाई ठ्याक्कै असर गरिदिने अहिलेको परिस्थितिले गर्दा देशको भोलिको कर्णधार मानिएका युवाहरुको अवस्था भने साँच्चीकै विकराल देख्दछु म।
सिकाइका थुप्रै माध्यम हुन सक्छ। हुन्छ पनि। अझ यहाँ भन्ने हो भने सकरात्मक सोच तर्फबाट भन्दा 'कम्तीमा प्रविधिको कारण अनलाइन कक्षा भए पनि पढ्न र पढाउन पाएका छौँ' भन्न सकिन्छ। तर यसले ल्याएको असरहरु हाललाई न्यून देखिए पनि दूरदराजमा भयानक देख्दछु म।
अहिले चर्चामा रहेको परीक्षा खारेजीको चलन देख्दा घरिघरी उदेक पनि लागेर आउँछ। आफूले तीन वर्षिय स्नातक तहलाई पढेको पाँचौँ वर्ष लाग्न लाग्यो। उता आफूले पढाएको भाइबहिनिको दुई वर्षीय प्लस टु तीन वर्षिय लाग्न लाग्यो।
हामी भित्र भएका धैर्यहरु सकिन लागे, तर अझै पनि निर्णायक मण्डलीहरुको निर्णय लिने क्षमतामा भने वृद्धि भएको देखिएन। जीवन प्रकृया हो, यसमा परिवर्तनहरु आइरहेन भने जीवन उदेक लाग्दो जरुर बन्दछ। यसरी निर्णय समयमा नलिने र परीक्षाकै लागि तड्पिरहने हो भने अबको पुस्ता केवल मानसिक रोगी बाहेक अरु बन्ने सम्भावना कम देखेँ।
धेरै विद्यार्थीहरुले सामाजिक सञ्जालको प्रयोग भनौँ या दुरुपयोग गरेर विभिन्न 'ह्यास ट्याग' मार्फत परीक्षा रोक्न दबाब दिइरहेका छन्। तर यसले भविष्यमा पर्न जाने असर बारे उनीहरु खुदले सोचेका छैनन् र सम्बन्धित निकाय जसले परीक्षा बारे जिम्मेवारी लिएका छन् उनीहरुले पनि! हरेक क्षेत्रमा प्रवेश गर्न आवश्यक पर्ने शैक्षिक प्रमाणपत्र लिनलाई गरिएको यो पर्खाइहरु, अनि परीक्षा मिति तोकिएर पनि सारिएका यी घटनाहरुले मानसिक तनाव शिवाय केही दिएको भने छैन।
परीक्षा सारिनु मात्र समयस्याको समाधान पक्कै होइन, बाँचे परीक्षा दिउँला हामीलाई ज्यान प्यारो छ भन्नेहरुले एकपल्ट ती उमेरका हदबन्दी कुरिरहेकाहरुलाई सोधौँ। लाहुरे हुने सपना बोक्ने तर उमेरको हदबन्दीले नेटो काटिरहेकालाई देखौँ, शैक्षिक प्रमाण पत्र हात परेदेखि सरकारी सेवामा प्रवेश गर्ने थिएँ भन्ने अवसर कुरेर बसेका तर उमेरले फेरि नेटो काटेर सेवा प्रवेशको लागि असक्षम बन्दै गरेका जमातलाई हेरौँ।
हेरौँ यस्ता थुप्रै अरु वर्गलाई पनि। अनि बल्ल भनौँ कि परीक्षा रोकिनु समस्याको समाधान हो या होइन भनेर। गत वर्षकै एमबिबिएसको प्रवेश परीक्षा भर्खरै भएको देखियो। तीबीच कतिले त पढाइको सपना पनि बिर्से होलान्। यस्ता यस्ता प्रतीनिधि घटनालाई हेरौँ र भनौँ परीक्षा सर्नु अन्तिम विकल्प होइन।
विकल्प अरु पनि छन् जसलाई लागु गर्ने हिम्मत गरौँ। बरु सकिन्छ भने भ्याक्सिनको मात्रामा जोड दिउँ। अनि बजार निस्किँदा जसरी निस्फिक्री भएर निस्किरहेका छौँ, परीक्षाको हल भित्र पनि ती रेस्टुरेन्ट भित्र रहँदा हामीलाई केही नभए जस्तै गरेर बस्ने हिम्मत गरौँ।
भविष्यमा आइपर्ने विकराल परिस्थितिलाई अहिलेबाट नै रोकौँ। शैक्षिक क्षेत्र राज्यको अभिन्न अंग हुँदा हुँदै पनि आवश्यक ध्यान नपुगिएको देखिएको छ। त्यसतर्फ कसरत गर्न दबाब दिउँ।
क्लब हाउसमा परीक्षा सम्बन्धी कुरामा विरेन्द्र सर भन्नु हुन्थ्यो- अब हस्यास ट्याग क्यान्सिलएग्जाम (#CancelExam) होइन, अब ह्यास ट्याग गिभदिभ्याक्सिन (#GiveTheVaccine), ह्यास ट्याग टेकदिएग्जाम (#TakeTheExam) को राखौँ र भनौँ कि वि आर रेडी फर एग्जामिनेसन।