दैनिक जीवनमा उपयोगमा आउने शिक्षा जीवन उपयोगी शिक्षा हो जहाँ सैद्धान्तिक रटानभन्दा व्यवहारिक अडानको गुञ्जाइस हुन्छ। यसले जीवन सहज बनाउँछ। आइपर्ने समस्यालाई कुशलतापूर्वक समाधान गर्न मद्दत गर्छ।
जीवन उपयोगी शिक्षाले व्यक्तिलाई व्यवहारिक तथा व्यावसायिक जीवनमा चाहिने सीप र सक्षमता प्रदान गर्दछ। समस्या पहिचान गर्न मद्धत गर्छ र समाधानको उपयुक्त विकल्प सुझाउँछ। व्यक्तिलाई समसामयिक ज्ञान आर्जन गर्न, सीप र सक्षमता प्राप्त गर्न अग्रसर गराउँछ। र, योग्य, दक्ष एवं विवेकशील नागरिक तयार गरी सभ्य र विकसित समाज निर्माण गर्न सहयोग पुर्याउँछ।
जीवन उपयोगी शिक्षा आफैमा व्यवहारकुशल सीपसहीतको ज्ञान दिने शिक्षा पनि हो। व्यक्तिगत तथा पेसागत जीवनलाई थप सरल र कामयावी बनाउन सीप सिकाउने शिक्षा जीवन उपयोगी शिक्षा हो। व्यक्तिले जीवनमा झेल्नुपर्ने समस्याको सही पहिचान गरी समाधानको तरकिव सुझाउने सीप प्रदान गर्नु यसको मुख्य ध्येय रहन्छ।
यस्तो शिक्षा मानवहितमा क्रियाशील बनाउन उक्साउने खालको हुन्छ। परिश्रमी र स्वावलम्बी नागरिक तयार गर्ने प्रकृतिको हुन्छ। नैतिक आचरण र असल संस्कार सिक्न र सिकाउन अभिप्रेरित गर्ने प्रकृतिको हुन्छ। नकारात्मक सोच हटाइ आलोचनात्मक चेत विकास गर्न उत्प्रेरित गर्दछ। कर्तव्यबोध गराउँछ।
जीवन जिउने कला सिकाउँछ। चुनौतिका बीच अवसरको खोजी गर्न क्रियाशील बनाउँछ। समस्याको कालो बादलमा रुमलिन होइन, सम्भावनाका निलो गगन नियाल्न उत्प्रेरित गर्छ। आत्मनिर्भर र निर्भिक नागरिक तयार गर्नु जीवन उपयोगी शिक्षाको प्रमुख लक्ष्य रहन्छ।
मितव्ययी जीवनशैली आफैमा एक जीवन उपयोगी सीप हो। यो जीवन उपयोगी शिक्षा पनि हो। मित्यव्ययी जीवनशैली सहज र सरल जीवनयापनको तरिका हो। आधार पनि हो। यसले तडक-भडक एवम् देखासिकीको लागि अनावश्यक खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दछ। आफ्नो हैसियत, क्षमता र आम्दानीको सापेक्षतामा जीवन जिउने अभ्यास गर्न उत्साहित गर्छ।
अर्थशास्त्रीहरुले मानवीय आवश्यकतालाई अनिवार्य आवश्यकता, आरामदायी आवश्यकता र विलासिताको आवश्यकता भनेर तिन क्षेत्रमा वर्गिकरण गरेको पाइन्छ। मितव्ययी जीवनशैलीको प्रत्यक्ष सम्बन्ध आर्थिक व्यवस्थापनसँग रहेको हुन्छ। अनिवार्य आवश्यकताहरु व्यक्तिको पहिलो प्राथमिकताभित्र पर्छ।
यी दैनिक जीवनको लागि नभइ नहुने पक्षहरु हुन जसको अभावमा जीवन चल्नै सक्दैन। जस्तो कि गाँस, बास र कपास। अर्को शब्दमा भन्दा बाच्नको लागि खाना, बस्नको लागि घर र शरीर ढाक्नको लागि कपडा व्यक्तिको प्रथम र अनिवार्य आवश्यकताहरु हुन्।
कतिपयले मानवीय आवश्यकतालाई जीवनरक्षा सम्बन्धी आवश्यकता, कार्यक्षमता बढाउने आवश्यकता र सामाजिक मान, सम्मान र प्रतिष्ठा सम्बन्धी आवश्यकताको रुपमा पनि स्वीकारेको पाइन्छ। यी आवश्यकताहरु पूरा गर्न हामीले सीप सिक्नुपर्छ।
सिर्जनशील बन्नुपर्छ। बुद्धि र विवेकको प्रयोग गर्नुपर्छ। परिश्रम गर्नुपर्छ। अवसर र सम्भावनाहरुको पहिचान गर्नुपर्छ। मितव्ययीता अपनाउनु पर्छ। सारमा भन्दा जीवन उपयोगी शिक्षालाई आत्मसात गर्नुपर्छ।
सामाजिक संस्कार, मूल्यमान्यता तथा चाडपर्वहरु मनाउँदा अनावश्यक गतिविधिहरु गर्नुभन्दा पनि आवश्यकीय पक्षहरुमा मात्र ध्यान दिन जरुरी हुन्छ। विकृति र कुसंस्कार, देखासिकी र अस्वस्थ प्रतिश्पर्धाहरु जस्ता पक्षहरुलाई निरुत्साहित गर्नु पर्छ। यसबाट समाज र आफ्नै जिन्दगी निरश र बेकार हुन्छ भनेर बुझाउनु पर्छ। बुझ्नु पर्छ।
जनचेतनाको माध्यमले। सामाजिक थिति र स्थापित नीतिको परिपालनाले। जन्म संस्कार, मृत्यु संस्कार तथा वैवाहिक र अन्य समारोहरुमा बढी खर्च गर्ने प्रवृत्ति पनि नेपाली समाजमा बढ्दो छ। यस्ता क्रियाकलापहरुले मितव्ययी जीवनशैलीलाई चुनौति दिइरहेको पाइन्छ।
अर्कोतिर आरामदायी आवश्यकताहरु पूरा गर्न हामीले विलासी जीवनशैली अपनाउनुभन्दा पनि जीवन सहज र सरल बनाउन आवश्यक न्यूनतम कुराहरुमा बढी ध्यान पुर्याउन आवश्यक हुन्छ। यस्तो संस्कारको हामी स्वयम्ले पालना गर्नुपर्छ।
हाम्रा बालबालिकाहरुलाई अनुकरण गर्ने वातावरण सिर्जना गर्नु पर्छ। हाम्रा काम र दैनिकीलाई सहज र सरल बनाउन सूचना तथा प्रविधिसँग सम्बन्धित सामग्रीहरु चाहिन्छ। बासस्थान तथा दैनिक उपयोगमा आउने सामग्रीहरुको व्यवस्थापन गर्नुपर्ने हुन्छ।
यी कार्यहरुको व्यवस्थापन गर्दा बढी खर्चिलो र भड्किलो भन्दा पनि आवश्यकतालाई सम्बोधन गर्न सक्ने र आर्थिक रुपमा किफायती हुने सामग्रीहरुमा ध्यान दिन जरुरी हुन्छ। विलासी आवश्यकता व्यक्तिको पहिलो प्राथमिकता होइन। यस्ता कुराहरुले व्यक्तिको कार्यक्षमता बृद्धिमा पनि खासै ठूलो योगदान दिँदैन।
देखासिकी र समाजमा ठाँट देखाउने तथा रवाफिलो बन्ने शोख र लहडले फजुल खर्च गरी विलासिताका समानहरुको उपयोग गर्ने प्रवृत्ति पनि पछिल्ला दिनहरुमा बढेको देखिन्छ। यसले आर्थिक व्यवस्थापनलाई पनि असर गर्दछ।
अनुत्पादक क्षेत्रमा गरिने खर्चले अन्ततः आर्थिक संकट नै निम्त्याउने हो। एकजना व्यस्त शिक्षक वा प्राध्यापकलाई मोटरसाइकल कार्यक्षमता सदुपयोग गर्न आवश्यक बस्तु हुन सक्छ। कतिपय सन्दर्भमा यो अनिवार्य जस्तै आवश्यकता पनि बन्न पुग्छ। र, यो आरामदायी आवश्यकता पनि हो।
उसले एउटा सामान्य मोटर साइकलको उपयोगबाट आफ्नो समयलाई सही व्यवस्थापन गर्न सक्छ। तर, घर नजिकै विद्यालय वा क्याम्पस पढ्ने एउटा विद्यार्थीको लागि मोटरसाइकल विलासिताको आवश्यकता हुन सक्छ। उसलाई मोटर साइकल नहुँदा पनि खासै फरक नपर्न सक्छ।
तर, सूचना प्रविधिको विद्यार्थीको लागि ल्यापटप वा कम्प्युटर तथा इन्टरनेटको सहज पहुँच अनिवार्य आवश्यकता जस्तै हो। यसको प्रयोगबाट विद्यार्थीले आफ्नो सिकाइलाई सरल र सहजमात्र बनाउँदैन बरु थप व्यवस्थित पनि बनाउन सक्छ।
अनिवार्य/आधारभूत आवश्यकता, आरामदायी आवश्यकता तथा विलासिताको आवश्यकता परिपूर्ति गर्ने सन्दर्भमा पक्कै पनि हामीले आफ्नो आर्थिक अवस्थालाई विशेष ध्यान दिनु पर्ने हुन्छ। सम्पन्नता भौतिक वस्तुमा प्रदर्शन गर्ने कुरा होइन, यो त इमानदारिता, सरलता, भद्रता, शालीनता तथा कार्यक्षमतामा प्रस्तुत गरिनु पर्दछ। सैद्धान्तिक निर्देशनबाट होइन, व्यवहारिक प्रयोगबाट।
बालबालिकाहरुलाई मितव्ययी जीवनशैली तथा मितव्ययी आर्थिक व्यवस्थापनप्रति सचेत गराउन जीवन व्यवस्थापन सीप आवश्यक पर्छ। समय व्यवस्थापन, स्वव्यवस्थापन, व्यैक्तिक तथा अन्तरव्यैक्तिक सीप जस्ता व्यवहारकुशल सीप चाहिन्छ।
बालबालिकाहरुको आधारभूत आवश्यकता, आरामदायी आवश्यकता र विलासिताको आवश्यकता पहिचान गरी ती आवश्यकताहरुको प्राथमिकीकरण गर्न पनि व्यवहारकुशल सीपको आवश्यकता पर्दछ। यो आवश्यकता पूरा गर्न जीवन उपयोगी शिक्षा महत्वपूर्ण हुन्छ।
आधारभूत आवश्यकताहरुलाई पहिलो प्राथमिकतामा राखी ती आवश्यकता पूरा गर्न क्रियाशील हुने र उपलब्ध स्रोत, साधन एवम् सम्भावनाको जगमा क्रमशः आरामदायी आवश्यकता पूरा गर्नतर्फ क्रियाशील हुन अग्रसर गराउन जीवन उपयोगी शिक्षाको अहम् भूमिका रहन्छ।
जीवनलाई सहज र सरल बनाउन खानपान, आराम, मनोरञ्जन तथा व्यायायमलाई दैनिक जीवनको एक अभिन्न पक्षको रुपमा स्वीकार्ने र अनावश्यक खर्च कटौतीलाई विशेष ध्यान दिनुपर्ने हुन्छ। आफ्नो क्षमता, हैसियत र आवश्यकताबीच सन्तुलन कायम गर्दै आर्थिक व्यवस्थापनमा सचेत रहनु मित्यव्ययी जीवनशैलीको उदाहरण हो जुन जीवन उपयोगी शिक्षाबाट सम्भव हुन्छ।
जीवन उपयोगी शिक्षाले हामीलाई मितव्ययी जीवनशैली सिकाउँछ। जीवन सहज र सरल बनाउँछ। देखासिकी र लहडमा हामीले हाम्रो मुख्य कर्म र दायित्व भुल्यौँ भने यसले हामीलाई जिन्दगीभर दुःखी तुल्याउँछ। विलासी जीवनशैली क्षणिक हुन्छ। कतिपय अवस्थामा यस्तो जीवनशैली विभिन्न दीर्घरोग र अस्वस्थ जीवनको कारकका रुपमा पनि आउने गर्छ।
जीवनको सार्थकता ज्ञान आर्जन र मान आर्जनमा खोजिनु पर्छ, विलासिता र धन आर्जनमा होइन भन्ने वास्तविकतालाई स्वीकार्दै मितव्ययी जीवनशैलीलाई जीवनको आदर्श मान्न हामीलाई जीवन उपयोगी शिक्षाले निर्देशित गर्दछ। यस अर्थमा पनि मितव्ययी जीवनशैलीका लागि जीवन उपयोगी शिक्षा आवश्यक हुन्छ।