विस्तारै मासु खान छोडेको ६ वर्ष २ महिनापछि ठयाक्कै खान छोडेको चार वर्ष पुगेछ। तर यो बीचमा अनेक खालका प्रश्नहरुको चारै हजार पटक जवाफ दिनु पर्यो होला।
'तैले मासु किन नखाको?'
'मासु खान छोडेको कति भो?'
'मासु ठयाक्कै छोडेको हो र?'
'के-केको मासु छोडेको नि?'
'कुनै रोगले खान नमिल्ने भएर होकि?'
यस्तै के-के हो के-के।
मुखले त यी प्रश्न गर्नेहरुले मनमा भने 'बजिया, मख्खिचुस रहेछ, केको मासु खान्थ्यो, साग भात खाएर गर्जो टार्दो हो' पनि भन्दा हुन्। झन् दारु पनि खाँदैन भन्नेहरु त ठाडै खनिन्छन्।
मेरो मासु नखाने, दारु नखाने र तास खेल्न नजान्ने (नखेल्ने नै होइन) बानी थाहा पाएपछि एकजना भाइले त सोझै भने, 'तपाईं घर बाहिरको दुनियाँमा बसेर जागिर गर्नु हुन्छ। समाजसँग मिलेर काम कसरी गर्नु हुन्छ? तपाईंलाई यस्तो काम गर्न त गाह्रो होला है।'
ती भाइले मेरो भलो चिताएरै भनेका हुन्, तर मलाई मनमा 'म यो धर्तीको मान्छे नभई अर्कै ग्रहको एलियन पो रहेछु क्यारे! भन्ने लाग्यो।
मैले मासु नखानुलाई कतिले नाटक गरेको भन्ठान्छन्। अनि भन्छन्, 'आ… आज त खाइदिनुस् हो।'
तीन पटक त कस्तो पर्यो भने आफूलाई एकदम मान सम्मान गर्ने आफन्त चिनारुले अलिक घरानियाले डिनर भन्ने खालको खाना खान बोलाए साँझको समयमा।
खान खान बसेपछि के भन्छन्, 'तपाईंलाई (अझ कसैले त 'हजुरलाई' पनि भन्छन्) भनेर पियोर लेकको जडीबुटी खाएको खसीको मासु ल्याएर पकाएको छु।'
कसैले 'पियोर लोकल भाले काटेर पकाएको' भन्छन्। म रुनु कि हाँस्नु हुन्छु र भन्छु, 'हजुरले कति धेरै सम्मान गर्नु भो, त्यसको लागि धन्यवाद। तर हजुर, म मासु खान्नँ ल।'
'अहो! किन होला? आज खाइदिउँ हजुर, अरु तरकारी नै छैन।'
एक पटक घरभन्दा परको गाउँमा डेरा गरेर बस्ने एकजना विद्यालय पढाउने सरकोमा बास बस्न गइयो रातको समयमा। त्यो दिन त्यो गाउँमा एउटा स्थानीय चाड रहेछ, ती सरले त्यहाँबाट मेरो लागि भनेर एक किलो पियोर खसीको मासु ल्याउनु भएछ।
मैले मासु खान्न भनेपछि भन्नु भो, 'कोठामा मुसुरोको दाल र आलु बाहेक केही छैन, म बजार तिर गएर केही तरकारी पाउँछ कि लिएर आउँछु।'
यति भनेर 'पर्दैन, पर्दैन' भन्दाभन्दै टर्चलाइट बालेर तरकारी खोज्न जानु भो। तरकारी त के पाइयोस्, बरु बाटोमा सुर न तालसित नाच्दै हिँडिरहेको एउटाटा ट्वाँकेले 'मेरो छोरीलाई जाँचमा किन फेल गरिस् मास्टर, त्यसको बिहे नै गर्न गाह्रो भो। आज तँलाई हिसाब किताब नगरी छोड्दिनँ' भनेर धन्नै भकुरेनछ।
विचरा, सातो पुत्लो गएर फर्के। खाना खाने बेला ग्लानीले पग्लिँदै भने 'तरकारी नै पाइएन सर, बल्ल बल्ल आउनु भएको पाहुना तपाईंले नुन खुर्सानी हालेको खान नहुने भए म मासु मज्जाले पखालेर फेरि पकाइदिन्छु सर, खानुस्।'
'होइन सर, मुसुरोको दाल छँदै छ, मलाई भातसित त्यही दिनुस्। मलाई मुसुरोको दाल बहुत मन पर्छ' भनेँ। मनै त के पर्थ्यो र, तर नाटक गरेँ।
सरले चित्त नबुझेर आलुको भुजुरी तयार गरेर दुई ठाउँमा भात पस्के। खाने बेला सरको आँखा भने आफ्नो बटुकोको मासुमा भन्दा मेरो भागको मुसुरोको दाल तिर परिरहन्थ्यो।
एक पटक मलाई अत्यन्त सम्मान गर्ने मेरो छात्रको गाउँमा गएँ। मेरो छात्रले पल्लो गाउँबाट मेरो लागि भनिकन कालिजको मासु ल्याएछन्। त्यहाँ खाना खाने मान्छे धेरै थिए। उनकी आमाले सबैलाई भात पस्किन्। तर म आफ्नो छोराको प्रिय गुरु भएकोले त्यो कचौरा भरिको कालिजको मासु मेरो भातको थाल अगाडि राखिदिइन्।
मैले बडो बिनम्रतापूर्वक मासु नखाने कुरा अनुरोध गरेँ। अब पर्यो फसाद, अरुलाई दिउँ, कसलाई दिउँ, सबैलाई त्यो मासु नपुग्ने, नदिउँ के भनेर त्यो बटुकोको व्यवस्थापन गर्ने। मेरो छात्र भातै खान छोडेर मेरो मुखमा ट्वाँ परेर हेर्न लागे।
मेरो लागि त्यत्रो सम्मानपूर्वक ल्याइएको कालिजको झोलसित भात खान छोडेर फुका दाल भात खानु पर्दा मलाईभन्दा मेरा आतिथेयलाई गाह्रो भएको प्रस्टै बुझ्न सकिन्थ्यो।
पछिल्लो घटना भने म अहिले भएकै सहरको हो।
मेरी गाउँ तिरकी एउटी बहिनी यो सहरमा बिहे गरेर आएकी रहिछन्। मसँग भेटगाट र चिनजान भएपछि ती बहिनीले खाना खान बोलाएको बोलाइ थिइन्। एकदिन दिउँसो फोन गरेर 'बहिनी, म आज भरे पक्कै तिम्रोमा खाना खान आउँछु है' भनेँ।
त्यही दिन के-के काम पर्यो कुन्नी, बेलुकी बहिनीकोमा खान खान जाँदा एकदम ढिलो भयो। अरुलाई खाना खुवाइसकेर बहिनी र ज्वाइँ मात्रै केही नखाई मलाई पर्खेर बसिरहेका रहेछन्।
म पुग्नासाथ ज्वाइँले बहिनीलाई खाना पस्किन आदेश गर्दै गफ लगाउन थाले, 'दाइ, हजुरलाई भनेर लेकबाट ल्याएको पियोर खसीको मासु खोजेर ल्या'को। अहिलेसम्म हजुरलाई पर्खेर बसिरा'को।'
म भने रुँ कि हाँसुँ भएँ। बिस वर्षपछि भेटेको दाइलाई फुका भात र आलु अनि आफू बुढाबुढी पियोर खसीको मासु भात खान पर्दा बहिनीलाई गला लागे जस्तो भो। ज्वाइँ पनि मेरो मुखमा हेर्दै भात निल्न लागे, खाउन्जेली फिटिक्कै बोलेनन्।
'दाइ, आज हजुरलाई बिजोगको खान्की खुवाइयो। हजुरले माछा खा'नी कुरा था' भा'को भए माछै ल्याउँथेँ।'
मासु अस्वीकार गर्नुको कारण सम्बन्धमा स्पष्टिकरण दिने क्रममा माछा र अन्डा खाने कुरा बताएको थिएँ।
'अर्को दिन आउनु होला दाइ, म माछा ल्याउँछु' बहिनीले भनिन्।
'जाम् दाइ, म हजुरलाई डेरैमा पुर्याइदिन्छु' ज्वाइँले मोटरसाइकल स्टार्ट गरे।
घरीघरी मासुका परिकार सहितको खाना वा भोजमा निम्तो आइरहने हुँदा र त्यसैले अप्ठ्यारो पनि परिरहन्छ। आफन्तहरुलाई यो जानकारीले सजिलो भए पनि होटेलहरुमा पर्ने अप्ठ्यारोबाट कसरी बच्ने होला भन्ने कुरा अझै दिमागमा फुरेको छैन।
कतिपय होटेल रेस्टुरेन्टमा पस्यो, साहुजी मख्ख पर्दै मेनु पठाउँछन्। बियर अर्डर लिन टेबलमै आइपुग्छन्। मासुको कुनै पनि आइटम मेरो अर्डरमा पर्ने कुरा भएन। मासुसँगै पिउने सोमरस र त्योसँगै तानिने चुरोट पनि मेरो माग सूचीमा पर्ने कुरा आएन।
अनि साहु पक्षका सबैजनाले खिस्स मुख फाले जस्तो लाग्छ। सधैँ बास बस्ने गरेको एउटा होटेलका साहुजीले राति बास बसेर भोलिपल्ट हिँड्ने बेला मुखै फोरेर भने, 'आ सर, तपाईंको पनि के हिसाब गर्नु, जम्मा हजारोडा रुपियाँ पनि पुगेन।'
मैले हजारको नोट दिएँ र फिर्ता पैसा कति हो सोध्दै नसोधी 'बाँकी भए कामदारलाई दिनु है' भनेर टाप कसेँ। अर्को पटक त्यो होटेलमा फेरि बास पाइएला कि नपाइएला भन्ने सन्देह मनमा छँदै छ।
कतिपय होटेलमा त मासु र दारु नखानेलाई काम गर्ने केटाले समेत हेप्दा रहेछन्। 'पर्दैन पर्दैन' भन्दा भन्दै पनि झोला चेपेर कोठा तिर दगुर्ने केटाले भात खाने बेला थप खाना र तरकारी दाल मागेको सुन्या नसुन्यै गर्छन्।
त्यसो त मासु नखाने बानीले गर्दा कति कुरा त राम्रै पनि भएको छ, त्यो पनि बताइहालुँ।
अचेल आफन्त साथीभाइ कहाँ विशेष निम्तो पाएर जाँदा उनीहरुलाई मासु भात पाकेको बेला मेरो लागि माछा पाक्छ। कस्तै नभए पनि अन्डा त पाक्छ पाक्छ। किनभने म माछा र अन्डा खान्छु भनेर मेरा धेरै निकटवर्तीहरुलाई जानकारी भैसकेको छ।
माछा वा अन्डा भएन भने पनि तरकारीमा पनिर वा च्याउ त हुन्छ नै हुन्छ। भातसित च्याउ वा पनिरको तरकारी खान पाउँदा 'भाग्यमा लेखेकै रे'छ' जस्तो पनि लाग्छ कहिलेकाहीँ। सबैभन्दा गजब त के भने मासु नखाने भएपछि त कुनै पनि साथीले दारु वारु खान कर गर्दो रहेनछ।
मासु खानेलाई 'ला ला, अलिकति मात्रै भए पनि खा' भनेर घ्वाल्ल गिलासमा दारु भर्दिने साथीले पनि मासु नखाने मजस्ता एकलकाटे देख्दा बितिक्कै 'हामी त खान लाइयो केरे, तपाईं के खानुन्च' भन्दै सर्लक्क अर्को टेबलतिर सर्छन्। र 'साहुनी, यता ह्वालाई जुस र अमलेट ल्याइदिनुस् त' भन्छन्।
पैसा तिर्ने बेला भने मासु र त्यसको साथी खाने र नखानेको भागमा बराबर पर्ने गर्छ। सके त बढी नै पर्ला। तर कतिपय साथीभाइ भने दिउँसै खुसुक्क बेलुकाको योजना बनाउँछन् र साँझ परेपछि 'तेल्लाई नबोलाम्, बोलायो भने त झ्याउ हुन्छ' भनेझैँ गरी खुसुक्क गल्ली भित्र छिर्छन्।
र मलाई पनि टन्टै साफ, खुसुक्क दाल भात खाएर टाइममै गएर घुप्लुक्क सुत्छु।
खासमा मैले मासु खान किन छोडेँ र खान छोडेपछि के-के फाइदा भयो भन्ने कुरा बताउन खोजेको, कुरा त कहाँ कहाँ पुगेछ। ती दुई कुरा थाहा पाउन त यो लेखको अर्को भागकै प्रतिक्षा गर्नु पर्ने भयो।