धादिङ जिल्ला। बेनिघाट रोराङ गाउँपालिका। सलाङघाट बजार। बजारको पल्लो कुना। एकान्त ठाउँ। एउटा होटल।
होटल बाहिर चाउचाउ, बिस्कुट पाउने अर्को एक थान पसल। छेउमा काँक्रा, फलफूलको नाङ्ले पसल। परपरसम्म न अरू होटल, न पसल।
पोखराबाट काठमाडौं उक्लिँदै गरेको बस। बसभित्र दोहोरी गीत एक तमास। मन्त्रमुग्ध तीन दर्जन यात्रु। खाजा, नास्ता समय। पेटमा भोक, गाडीमा ब्रेक। यात्रु तितरबितर।
होटलमा उसको प्रवेश। पहिले भएर फ्रेस। यस्सो मेनु हेर्दै भन्छ- भेज मःमः नै बेस्।
किचन ब्वाइको फ्रिजतिर प्रस्थान। तल मासु, छेउछेउमा चाउमिनका पोका, त्यहीँ तरकारी, त्यहीँ माछा राखेको। मांसाहारी र शाकाहारीको सगोल फ्रिज। अलग-अलग हुनुपर्छ भन्ने मापदण्डको मजाक!
होटल साहुलाई के मतलब? उपभोक्तालाई के थाहा? किचन ब्वाइलाई के चासो?
फ्रिजबाट रेडिमेड मःमका केही डल्ला टपक्क, बफ्याउने भाँडोमा थपक्क, मःमः पस्किएर टेबलमा राख्दै थचक्क, वेट्रेस बाटो लाग्छिन् लसक्क।
तात्तातो मःमले मुख रसक्क। खान सुरू सर्लक्क। केही बाइटपछि मटर दाना टोकेको अनुभूति। एकछिनमा आलुको टोकाइ। मःममा मटर र आलु!
पूरा कन्फ्युजन। यार, मःम हो कि समोसा! स्टिम गरेर मात्र, तारेको भए कन्फर्म समोसा।
मन लागी-नलागी दुई डल्ला खाइसक्दा पेट रित्तै-रित्तै, मन भरिए-भरिएझैं। बेकारमा खाएकोमा पश्चाताप। पश्चातापमै दुई सय तिराए। ठगिएको विश्वास। कसैले सोध्ने, फिडब्याक लिने, गुनासो सुन्ने नो चान्स।
होटलभित्र त हावा पनि खान अमन। फुत्त बहिर्गमन। मःमले स्वाद बिगारेकोले के खाऊँ, के खाऊँ भएको अवस्था। छेउको पसलतिरको सोकेसमा सजाइएका पानी, कुरकुरे, लेज, बिस्कुट, सफ्ट ड्रिंक्स, इनर्जी ड्रिंक्स, फ्रुटी, दालमोठ, चाउचाउ, चकलेट, गुट्खा, चुरोट कस्ता कस्ता।
दामको मोलमोलाइ। बीसको पानीलाई तीस! पचासको लेज असी 'देज'! सयको डेरी मिल्कलाई एक सय पचास 'मिल्का'!
तिर्खा पनि मेटिने, स्वाद पनि फेरिने! एक बोतल फेन्टा प्लिज।
यसको कति?
'एक सय।'
सत्तरी लेखेको छ त!
साहुजी स्ट्रेट शैलीमा, ह्या दाइ! ल्याङ नगर्नु न। उता जानु नकिन्ने भए।'
सोध्न नि नपाइने अरे (मनमनै विरोध)।
ब्रह्मलुटको तरिका फेला परेझैं महशुस। अघि माइक्रोमा बजेको गीत अब कानैमा घन्किन सुरू- लुट्न सके लुट कान्छा, लुट्न सके लुट। अरू देशमा पाइँदैन...।
अपहेलित महशुस।
निद्राले च्याप्न लागेको बेला गाडी यहाँ नरोक्या भए हुने। यही एउटै होटल भएको ठाउँमा नल्याएको भए हुने। ल्याइहालेको थियो, कम्तीमा साहु-साहुनीको बोली त मिठो भएको भए हुने।
चित्त बुझाउन गाह्रो।
होटल र बाहिरपट्टिको पसललाई फर्किएर हेर्न पनि अरूचि। हाइवेका यस्ता होटलमा दोहोर्याएर नआउने वाचा।
हुन त यसपालि पनि आफैं आएको होइन। ल्याइएको हो। पछि पनि ल्याइनेछ। कहाँ रोकिने भन्ने उसको बसको कुरा होइन। यो त 'बस' को कुरा हो। बस जहाँ रोकिन्छ, त्यहीँ केही खान बस्नुपर्छ। नत्र भोकभोकै टार्नुपर्छ।
लाइन होटल भनिने होटलको सेवाबाट ग्रस्त उसको मनमनै नाराबाजी- हाइवेका होटलः हाय हाय!
आवेशमा जेसुकै भने पनि जिन्दगी यही बाटो ओहोरदोहोर गरेर काट्नु छ। अर्कोपटक यही बाटो हिँड्दा बिर्सिसक्ने छ। तर न कथा फेरिनेछ, न व्यथा। ऊ फेरि नारा लाउने छ- हाइवेका होटलः हाय हाय।
हाइवेका होटल भनेर संसारभर सबै हाइवेका होटल भन्न खोजेको होइन। हाम्रो देशैभरका राजमार्गका सबै होटलतर्फ संकेत पनि होइन।
पोहोर थाइल्यान्ड जाँदा हाइवेको होटलमा सफा ठाउँ। माछा आफैं पोलेर खाने प्रबन्ध। सबै कुराको मूल्य प्रष्ट टाँसिएको। बेलाबेला सोध्न आइपुग्ने 'वेट्रेस'। मिठो खाना खाएको एकएक तस्वीर उसको दिमागमा थाइ एअरवेजभन्दा बेतोडले दौडिन्छन्।
खैर! त्यो विदेशको कुरा।
नेपालमै पनि भीमदत्त पन्त राजमार्गको भात्काँडा, मेची राजमार्गको राँके, महेन्द्र राजमार्गको लमही, दाउन्ने, चन्द्रनिगाहपुर जस्ता ठाउँ सम्झिँदा पृथ्वी राजमार्गका, रामपुरका, गोरुसिंगेका अधिकांश होटलको मनपरी बिर्सिने बहाना भयो उसलाई।
हाइवेमा दैनिक गुड्ने बस, माइक्रो बसका हजारौं हजार यात्रुका लागि मसिनो चामल। हरियो साग। झानेको दाल। काँक्रा, मूला, गाँजरको ग्रीन सलाद। चट्ट चटनी। एक टुक्रा कागती। मांसाहारीलाई ताजा मासु। शाकाहारीलाई गोरस।
'आहा! कति मिठो पेट त भरियो, मन भरिएन' टाइपको स्वादिष्ट भोजन त 'सम्झिनेऽऽऽ, पाऽऽऽनी छम्किने'। चर्को मूल्य। बासी खाना। धूलो बसेको नछोपिएको खानेकुरा। 'एक्स्पायर' सामानको प्रयोग। रुखो व्यवहार। कर्कश बोली। चर्को नुन, कडा खुर्सानी। तेलाम्मे परिकार। निर्विकल्प ठाउँ। मानौं, यी सबै हाइवेका 'लाइन होटल'का सर्वमान्य सिद्धान्त हुन्।
कैदीलाई बरू सम्मानजनक व्यवहार गरिन्छ। लाइन होटलमा ग्राहक बन्न जाने यात्रुलाई सिधै भनिन्छ,
-लाने भए लानुस्, नत्र भीड नगर्नुस्, बाटो लाग्नुस्।
-ओ दाइ! पहिले यता आएर पैसा तिर्ने, अनि आउँछ खानेकुरा!
उपभोक्ता स्वास्थ्यमाथि खेलवाड गर्ने हाइवेका केही 'होटल'का कामदारदेखि मालिकसम्मको व्यवहारले आधी भोक ठाउँको ठाउँ मर्छ। बाँकी आधी दुई चम्चा मुखमा परेपछि।
ऊ सोच्छ- कस्ता कस्ता तन्त्र ढलिसक्दा नेपालमा 'हाइवेका अधिकांश होटलको लुटतन्त्र' वर्षौंदेखि फस्टाएकै छ।
केही राम्रा पनि छन् तर अधिकांशले दिने सेवाको गुणस्तरमा मनोनानी छ। अधिकांशले ढाड सेक्ने गरी लिने चर्को मूल्य। केहीले मुटु दुख्ने गरी बोल्ने झर्को बोली। केहीले सारा मापदण्ड भत्किने गरी खुवाउने गुणस्तरहीन खाना। यिनै हर्कतले राजमार्गमा राज्यको उपहास भएको, कानुनको धज्जी उडेको, प्रशासनको खिसीटिउरी भएझैं लाग्छ उसलाई।
अनि उपभोक्ताको?
उपभोक्ताको वर्गीय शोषण छ। बालुवामा सुन पाउन सजिलो होला, हाइवेमा नठगिएको यात्रु पाउन त्योभन्दा कठिन।
हाइवे मनपरीतन्त्रको जननी होला- पृथ्वी हाइवे। दोस्रोमा महेन्द्र राजमार्ग। जहाँ ठाउँठाउँमा यात्रु नमज्जाले ठगिएका छन्। कहिलेकाहीँ यी राजमार्गका परिकल्पनाकार वा निर्माता अर्कै दुनियाँबाट हेरेर उपभोक्ता, यात्रुलाई दिनदहाडै ठग्ने व्यवसायको बीउ आफ्नै पालामा वा आफ्नै पहलमा रोपिएकोमा पछुताउँदा हुन्। हाइवे लुटतन्त्रको श्रीवृद्धि देख्दा ग्लानि हुँदो हो।
हाइवे लुटतन्त्रका नानाथरी कारण छन्। मुख्य यी पाँच।
पहिलो, लाइन होटलले गाडी स्टाफलाई दिनुपर्ने राजसी खाना।
दोस्रो, गाडी रोकेवापत गुरुजीलाई दिइने कमिसन।
तेस्रो, अनुगमन, निरीक्षण र कारबाहीको न्यूनता।
चौथो, उपभोक्ता सचेतनाको कमी।
पाँचौं, कामदार, घर जग्गाको महँगो भाडालगायत होटल सञ्चालनमा हुने अन्य खर्च।
भूमिका कसैको मुख्य होला, कसैको गौण। तर कारण यिनै हुन्। यो लुटतन्त्र अन्त्य त्यतिबेला सम्भव छ, जतिबेला राज्य जाग्छ। यात्रु सचेत हुन्छन्। व्यावसायिक नैतिकता फस्टाउँछ। नत्र उनीजस्ता यात्रु भनिरहने छन्- हाइवेका होटलः हाय हाय!
(लेखक उपाध्याय धादिङका सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत छन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)