पहिले आफ्नै दुखेसो। एक जना पुरूष महोदयले सोध्नुभयो, 'ओहो, म्याडम तपाईंको अहिलेसम्म बढुवा भएको छैन ?'
प्रतिउत्तरमा जवाफ फर्काएँ, 'हजुर भएको छैन।'
ती महोदयको फेरि प्रश्न थपियो, 'तपाईंको पहिले नै नाम निस्कन पर्ने थियो, किन निस्किएन।'
एकैछिन रोकिएर फेरि जवाफ फर्काएँ, 'हो हजुर मेरो नाम पहिले नै निस्कनु पर्ने थियो, बढुवा पहिले नै हुनुपर्ने थियो, माथिल्लो ओहोदामा पहिले नै पुग्नुपर्ने थियो तर ...। यो सबै हुनको लागि समय अनुसार कर्म पनि गर्नुपर्ने रहेछ जुन मबाट जोडतोडका साथ हुन सकेन, वा गर्न सकिएन भनौं न। तपाईंले भनेकै आधारमा प्रश्न काट्नेले प्रश्न काटिदिएको भए! जाँचकीले नम्बर दिएको भए त उहिले नै बढुवा भइसक्नुपर्ने थियो।'
ती महोदय मसँगै सरकारी सेवामा प्रवेश गरेका थिए तर मभन्दा दुई तहमाथि पदोन्नति भइसकेको थियो।
एउटै कार्यालय नभए पनि कहिलेकाहीँ भेटघाट भइरहन्थ्यो।
उनी अझ माथिल्लो तहको तयारीमा जुटेको उनका प्रस्तुतिले देखाउँथे।
एक जना महिला जो अविवाहित थिइन्, उनलाई इंगित गर्दै मलाई अर्को प्रश्न गरे, 'तपाईंले थाहा पाउनु भएको छ कि छैन, तपाईंभन्दा पछि सेवामा छिरेकी, ती बहिनी त अफिसर भइछन् नि।'
महोदयलाई जवाफ त जसोतसो फर्काउनै पर्ने भयो, 'हो हजुर ती बहिनी जसको घरमा, अफिसमा पढ्नेभन्दा अर्को काम छैन। यतिको बेलामा पनि नाम निकाल्न सकिएन, पढिएन भने त कहिले पढिएला र ? पढ्ने मान्छेको नाम निस्कन्छ यो के अनौठो भयो र ? भलै सबै पढ्नेहरूको नाम ननिस्किएला, उनको पढाइ लेखाइ पुगेछ निस्कियो।'
ती बुझक्की महोदय आफू माथिल्लो ओहोदामा पुगेको तुलना मसँग गरिरहेका थिए। आफूलाई भित्रभित्रै निकै भाग्यमानी ठानेका थिए।
खैर के छ र सँगै मसँगै सेवा प्रवेश गरेकी महिला जहाँको त्यहीँ छ म ऊ भन्दा दुई तह माथि पुगिसकेँ, उ मेरो स्थानमा आइपुग्दा चार तहमाथि त कसो नपुगौँला ? उनको आत्मरत्ति निकै माथिल्लै ओहोदामा पुगेको भान आफैंलाई भइरहेको थियो।
उनीसँग मेरो कुनै प्रतिस्पर्धा पनि छैन, थिएन र हुँदैन पनि जो प्राकृतिक रूपमा पनि सम्भव छैन र व्यवहारिक रूपमा त झन हुने कुरै भएन।
ती महोदयलाई भन्न चाहन्छु, तपाईंजस्तै पुरूष कर्मचारीहरू कति गर्व गर्नुहुन्छ समकक्षी महिलाभन्दा माथिल्लो ओहोदामा पुग्न पाएकोमा तर मजस्ता धेरै महिला छौं जसलाई भित्रदेखि यो गर्छु र ऊ गर्छु भन्ने हुटहुटी हुन्छ तर परिस्थिति आफूले सोचेजस्तो हुँदैन र बन्दैन पनि।
हो महोदय, म तपाईंको दाँजोमा उत्रन सकिनँ किनकि तपाईं बिहे गरेर श्रीमतीलाइ घरको धन्दा गराएर किताब फिजाउनुहुन्छ तर म घरको धन्दा सकाएरमात्रै किताबको दर्शन गर्न पाउँछु।
तपाई बच्चा जन्माएकी श्रीमतीलाई घर, माइतीमा पठाएर आनन्द एकचित्त भएर अध्ययनमा लाग्नुहुन्छ तर म बच्चाकी आमा भएर घर अफिस धाउँछु।
तपाईं खाना पाकेन भन्दै अर्डर चलाएर पढ्न बस्नुहुन्छ, अध्ययन गर्नुहुन्छ तर म, खाना पकाएर, खुवाएर, सारा काम धन्दा सकाएर, बच्चा निदाएको मौका छोपेर किताबको दर्शन गर्न पाउँछु।
तपाईं घर, अफिस, जहाँ पनि देश दुनियाँको खबरमा एकदम अभ्यस्त हुनुहुन्छ, सारा नयाँ, पुराना पुस्तक पढेर पानी पार्नु भएको हुन्छ तर म, बजारमा नयाँ किताब आएको सुइँको पनि पाउँदिनँ।
तपाईं भोलिको परीक्षा आनन्द मनले दिन पाउनुहुन्छ तर म भोलि बच्चा बिरामी नभइदिए हुन्थ्यो। कम्तीमा जाँचमा त सहभागी हुन पाइन्थ्यो भन्ने मनोदशाबाट भोलिको प्रतीक्षा गर्छु।
अनि तपाईं र मबीच कसरी समान प्रतिस्पर्धा होला र खै ?
तपाईंकी श्रीमती त मबीच भन्नुभयो भने त कम्तीमा सुहाउँला तर सिधै मसँग दाँजेर आफूलाई महान ठान्ने प्रयास नगर्नुहोला।
कतिपय व्यवहारिक कुराले कतिपय प्राकृतिक कुराले नै तपाईंभन्दा म धेरै पछाडि छु चाहेर पनि तपाईंको दाँजोमा उत्रन सक्दिनँ।
मनमा त लाग्छ नि कोही पुरूषभन्दा कम छैन, उनीहरूले जति पढ्न लेख्न जति पनि सकिन्छ तर यसो भनिरहँदा सानी छोरीले मम्मी मम्मी भनिरहन्छे, उसको मातृवात्सल्य खोसेर तपाईंसँग प्रतिस्पर्धा गर्ने हिम्मत आउँदैन।
मेरा कति जना साथीहरू चार पाँच महिनाका नाबालक बच्चा माइतीमा आमाको जिम्मा लगाएर पढे।
मलाई यतिसम्म निष्ठुरी आमा बन्न मन लागेन।
यता करियरको चक्करमा लागेकी आमाले बच्चाले दूध खान खोज्दा दुहेर फाल्नु परेको छ, उता बूढी आमाले दूध खान खोजेर रोएको सानो बच्चालाई भैंसीको, गाईको दूध खुवाएर प्राण धानिदिनु परेको छ।
हो यस्ता कठोर मन भएका आमाहरूले प्रगति गरेका छन्, मै हुँ भन्ने पुरूषलाई पनि पछारेका छन्। स्वयम् यस्ता महिलाका श्रीमानले नै साथ दिएका छन्। तर मेरो हकमा यो कुरा लागू हुँदैन।
बच्चालाई अधिकार खोसेर आफ्नो करियर बनाउने उद्यम मेरो वशको कुरा परेन।
अर्को कुरा,
परिवार सबैभन्दा ठूलो कुरा हो मेरो हकमा। जब परिवार नै हुँदैन, परिवारका सदस्य नै आफ्ना लागि प्रिय हुँदैनन् भने फगतको करियर, ओहोदाले केही गर्दैन। कतिपय यस्ता पात्रहरू पनि देखेकी छु, परिवारमा सिन्को नभाँच्ने, कसैसँग राम्रो सम्बन्ध नराख्ने, सम्बन्ध राम्रो बनाउन नखोज्ने तर पदीय हिसाबमा भने निकै लोभ लाग्दो देखिने... यो देखावटी पद चाहिँदैन।
घरमा बूढी हजुरआमा हुनुहुन्छ, म पढ्छु तपाईं यो काम गर्नुस् भन्ने हिम्मत ममा हुँदैन। घरको सारा काम बूढी आमैलाई जिम्मा लाएर मैले आर्जन गरेका ख्याति, पदको, गरिमाको के अर्थ ? सानी छोरी छ, उसलाई रुहाएर, उसको आमाको काखमा बस्ने अधिकार समेत खोसेर मैले आर्जन गर्ने पदको के अर्थ ? सकेसम्म, भएसम्म र आफूले भ्याएसम्म गर्ने हो, गर्ने कोसिस गर्ने हो तर कसैसँग तुलना गरेर, दाँजेर, तौलेर भने पक्कै पनि होइन।
यो मेरोमात्रै होइन सायद धेरै महिला कर्मचारीको साझा पीडा हो जस्तोा लाग्छ।
कतिपय महिलाहरू परीक्षा हलमा भेटिँदा रातभरि अस्पतालमा आफन्त कुरेर सिधै जाँच दिन आएको बताउँछन्। कोही बच्चा बिरामी भएर जाँचै दिन नपाएको दुखेसो गर्छन्।
कोही परिवारमा आफन्त हुँदाहुँदै पनि साथ, सहयोग नपाएर जाँचै दिन पाउँदैनन्। अझ कोही कोही त पढ्ने मन हुँदाहुँदै पनि छोराले कमाएकै छ, किन जागिर खानुपर्ने, जाँच दिन पर्दैन भनेर बीचैमा मन मारेका पनि भेटिन्छन्।
जे होस एकाद अपवाद बाहेकका महिलाहरूको साझा समस्या, साझा पीडा र भोगाइ यही नै हो।
म भविष्यमा यस्तो हुन्छ, उस्तो हुन्छु भन्ने रंगीन सपना सजाएका युवतीहरू बिहेपछि सोंचेझैं जिन्दगी रैनछ... भन्दै चित्त बुझाउन विवश छन्।
जागिर गरिरहेकाहरू बिहेपछि जागिर गुमाउन बाध्य हुन्छन्। घरपरिवारका कारण, जेनतेन जागिर गर्न पाए भने त्यो पनि गुमाउँछन् बच्चा जन्मिएपछि रोजगार दिने कार्यालयका कारण।
अधिकांश प्राइभेट अफिसमा काम गर्ने महिलाहरूको जागिर बच्चा नहुन्जेलसम्मको लागि मात्रै हो।
एक जना बहिनीको भोगाइ बताउतै छु जसले आम युवतीको प्रतिनिधित्व गर्छ।
नाम सदिक्षा, उसको इच्छापनि निकै माथिल्लो स्तरको थियो। भविष्यमा कि वकिल बन्ने या त न्याय सेवाको अधिकृत बन्ने उसको निकै ठूलो सपना थियो।
यही सपना पूरा गर्नकै लागि बि.ए पढी र बिएल पनि पास गरी। बहिनी पढाइमा निकै तेज थिइन्। जतिखेर भेट हुँदा पनि उसमा बेग्लै किसिमको उत्साह हुन्थ्यो, दिदी, म यस्तो बन्छु, उस्तो बन्छु। उसको आत्मविश्वासको चाङ लागिहाल्थ्यो।
उसका संगीसाथीहरू पनि निकै हौसाउन्थे। सदिक्षाले दुईपटक नासुमा नाम पनि निकालिन् तर अपशोच अन्तर्वार्तामा नाम निस्किएन। अन्तर्वार्तामा नाम ननिस्किएपनि ऊ सितिमिति हिम्मत हार्नेवाला केटी थिइन।
घोडा चढ्ने त लड्छ नि एकपटक किन नाम ननिस्किएला ? जसरी पनि नाम निकाल्छु भन्ने उसको हिम्मत थियो।
उसको नाम निस्किएन तर उसँगै जाँच दिएकी सहोदर कान्छी बहिनीको नाम निस्कियो ।
सँगै पढेका दिदीबहिनीमध्ये बहिनीको नाम निस्कियो। दिदीको नाम ननिस्किँदा परिवारभित्रै र वरपरको छरछिमेक, समाजमा दिदीबहिनीको क्षमता तुलनाको पहाड बन्न थाल्यो।
अरूले जे भने पनि बहिनीले दिदीलाई ढाडस दिन्थी एक न एक पटक नाम निस्कन्छ भनेर तर अरूलाई यो पचेन। अरूलाई के भन्नु आफ्नै बुवाआमालाई पचेन। नाम ननिस्केपछि परिवारले उसको बिहे गर्दिने टुंगो लगाए। परिवारको अघि उसको केही चलेन।
सरकारी अधिकृतसँग उसको बिहे भयो।
उसले अझै पनि केही गर्न सकिन्छ कि भन्ने झिनो आशा संगालेरै बुहारी बनेकी थिई। श्रीमानको पोष्टिङ भएको स्थान राजविराजमा ऊ पनि सँगै गई। उसमा पढ्ने जिजिविषा अझै मरेको थिएन। श्रीमान पनि समान फिल्डको भएका कारण केही सहज हुने अनुमान गरेकी थिई। तर बिहे गरेको एक वर्षमा ऊ आमा बनि।
पहिलो बच्चा जन्मेको तेस्रो वर्षमा फेरि अर्को बच्चाकी आमा बनि। अब ऊ श्रीमानको पोष्टिङ भएको स्थानमा होइन कि घर परिवारसँग लालाबाला हुर्काएर बस्न थाली। मास्टर पढ्ने, सरकारी अधिकृत हुने, वकिल बन्ने आँटिली सदिक्षाको दैनिकी घरपरिवार चलाउने, बच्चा हुर्काउने, तिनै बच्चा पढाउने गर्दैमा बित्न थाल्यो।
'अब त म चाहेर पनि पढ्न सक्दिनँ दिदी, बच्चा पढाउन अहिले सहरमा बसेकी छु तर बच्चाको हेरचाह गर्नुपर्यो, श्रीमानलाई अफिसको लागि तयारी गर्दिनुपर्यो, बुढी सासूआमा हुनुहुन्छ उहाँको हेरचाह गर्नुपर्छ, बच्चा सुतेको बेलामा घरको सरसफाइ गर्नुपर्यो। अब आफ्नो जागिर छैन भनेपछि आफन्तका काम सबै मेरो थाप्लोमा आउँछन्, यसो गर्देऊ उसो गर्देऊ, कसैलाई हुन्न भन्न सक्दिनँ। हुन त बाहिरबाट अरूको नजरबाट हेर्दा म बेकामे त हुँ नि, मेरो जागिर छैन तर मेरो पीडा कसलाई थाहा छ र ? कति इच्छा मारेर एउटी महिलाले जिन्दगी बिताउनुपर्ने रहेछ। बिहे गरेसँगै मेरो करियरको अध्याय सकियो।' बहिनीले आफ्नो अँध्यारो विगत सम्झँदै सुस्ताई। करियर जोगाउन लाग्दा परिवार बिग्रन्छ भन्ने डर, परिवार हेरौं, परिवार सपारौंभन्दा करियर डामाडोल हुने रहेछ। बुहारी भएपछि सदिक्षा बहिनी आफ्नै सपनासँग हारी।
कतिपय परिवारमा बिहे गरेपछि महिलाको भाग्य चम्किएको छ। परिवारको साथ र सहयोगले महिलाहरू आफ्नो क्षेत्रमा चम्किएका छन् तर सबैको भाग्यमा यस्तो कुरा कहाँ लेखिएको हुन्छ र ?