म विश्वविद्यालय जाँदै थिएँ। मंगलगडी चोकनेर पुग्दा मैले एउटा दृश्य देख्न पुगेँ। जसकारणले मेरा पाइलामा गतिरोध उत्पन्न भयो र ती क्रमशः कमकम हुँदै रोकिन पुगे।
९ बजेको घाम चर्केर लागेको थियो। ९ बजेको हतारो पनि व्यापक रुपमा सडकमा यत्रतत्र फैलिएको थियो। मैले के देख्न पुगेँ भने फलफूल राख्ने ठाँउको ठिक विपरीत साइडमा दुइटा रिक्सावाल आ-आफ्ना रिक्सामाथि बसेका थिए।
कोही ग्राहक आएका थिएनन। उनीहरुलाई ग्राहक नआएकोले भन्दा पनि अर्कै कुराले अत्यास बनाएको थियो। त्यो केले थियो भने मोबाइलले।
एउटाको हातमा मोबाइल थियो। एन्ड्रोइड मोबाइल थियो त्यो। ऊ सेल्फीको पोजमा मोबाइल अघि लगेर क्यामारा मिलाइरहेको थियो। अनि अर्को पोज दिएजस्तो गरिरहेको थियो। सेल्फी खिच्न खोजिरहेको रिक्सावाल घरी यता हेर्थ्यो। घरी उता हेर्थ्यो।
उसले सेल्फी खिच्न नजानेको हाउभाउ प्रष्ट देख्न सकिन्थ्यो। अनि उसको पछाडि अर्को रिक्सामा बसेको रिक्सावाल जो पोज दिन खोजिरहेको थियो, ऊ पनि घरी यता हेर्थ्यो घरी उता हेर्थ्यो।
'मान्छेहरुले हेरिरहेका त छैनन्!' वाला त्रासभाव उसको मुहारमा, आँखामा, शरीरको ढाचाँमा प्रष्ट देख्न सकिन्थ्यो। मुख्य चोकमा सेल्फी खिच्न नजान्दाको संकोच र निर्धक्क पोज दिन नसक्दाको संकोच। योभन्दा डरलाग्दो संकोच के हुनसक्छ?
उसले मोबाइल गोजीमा राख्यो। त्यसपछि भने उनीहरु ग्राहक कुरी बस्न थाले।
यही मौकामा यसो वरपर हेर्छु, कसैको ध्यान यस दृश्य तर्फ छैन। कसैका पाइलामा गतिरोध उत्पन्न भएको छैन। कुनै पनि दृश्य तबमात्र देखिँदैन वा कुनै पनि पाइला तबमात्र गतिरोध उत्पन्न भएर रोकिँदैन जब उक्त दृश्य कसैलाई अचम्म, अनौठो, अजीव वा असामान्य लाग्दैन।
हो, हुन त तर यतिखेरको भाइरल समयमा कसैका लागि योभन्दा गतिलो खुराक के हुनसक्ला र कसरी नभएको? यो प्रदर्शनीको जमनामा योभन्दा खुला प्रदर्शनी अर्को के होला र किन नभएको?
टाइम पास गर्न सकस भएर बसेका मनुवाहरुका लागि योभन्दा कामुक दृश्य के होला र किन नभएको? हाँस्न बिर्सिएकाहरुलाई योभन्दा स्ट्यान्ड-अप कमेडी अर्को के होला र किन नभएको?
आफू के-के न हुँ, मैले के-के न गरेको छु, मैले लगभग सबथोक जानेको छु, मैले नजानेको के पो नै छ र, जस्ता अहम क्लब हाउस होकि के हाउस तिर पोख्ने युवापुस्तालाई योभन्दा ठूलो यथार्थको धरातल के होला र किन नभएको?
फेरि गोजीबाट मोबाइल झिक्छ। चलाएजस्तो गर्छ। पुनः सेल्फीको पोजमा मोबाइल अगाडि लिएर क्यामरा मिलाउन थाल्छ। उसको पछाडिको रिक्सावाल यो पटक पोज दिन इच्छुक देखिँदैन। फोहोरको थुप्रोमा हेर्दा ऊ क्यामरामा देखिदैनथ्यो। त्यसैले ऊ फोहोरको थुप्रोमा हेर्न थाल्छ।
सेल्फी खिच्न खोजिरहेको रिक्सावाल आफै हाँस्छ। जुन हाँसो कति पनि स्वभाविक लाग्दैन। ऊ हाँसाको आकार बदल्छ। यसैगरी ऊ पोजका अनेक प्रकार बदल्छ। एकछिनपछि फोहोरको थुप्रोमा हेरिरहेको रिक्सावाल पनि विस्तारै कर्के नजरले लुकेर क्यामरामा हेर्न थाल्छ। तर झट्टै यताउता हेरिहाल्छ।
'मान्छेहरुले हेरिरहेका त छैनन!' वाला त्रासभाव उसको अनुहारमा अहो! कति चाँडो पो सलबलाई रहेको छ। जति चाँडो त नसा नसामा रगत सलबलाई रहेको छैन। कसैले हेरिरहेका छैनन् भन्ने थाहा पाएपछि ऊ फेरि क्यामरामा लुकेर हेर्दै पोज दिन थाल्छ।
म ट्वाल्ल परेर हेरिरहेको थिएँ। विस्तारै पाइलाहरु चल्न थाले। बढ्न थाले। विश्वविद्यालय पुगुन्जेल त्यै दृश्य सम्झिरहेँ। घर फर्किंदाखेरी पनि सम्झिरहेँ। त्यसपछिका हरेक दिनहरुमा सम्झिरहेँ। विस्तारै सोचमग्न हुँदै पनि गएँ।
एक्काइसौँ शताब्दी। विज्ञान र प्रविधिको युग। फेसबुक, टिकटक, इन्स्टाग्राम, टुइटर, इमो, क्लब हाउस, गुगल, भाइबर, टेलिग्राम, युट्युब, जिमेल जस्ता एपहरुले राज गरेको समय। यो समयमा एउटा रिक्सावाल सेल्फी खिज्न सकिरहेको छैन। अनि अर्को रिक्सावाल निर्धक्क पोज दिन सकिरहेको छैन।
जाबो सेल्फी खिच्न नसक्ने र पोज दिन नसक्ने दृश्य कसका लागि पो हेर्नलायक दृश्य हुन्थ्यो र हेर्थे त! अनि यता म भने यो शताब्दीकै गम्भीर दुघर्टना सम्झेर निरास भएको छु। बडो चिन्तित भएको छु।
आजभोलि पनि मंगलगढी चोक भएर गुज्रँदा एउटै कुरा सोचिरहेको हुन्छु। जो सेल्फी खिज्न जानिरहेको थिएन, उसले खिच्न जान्यो होला? अनि अर्को जो पोज दिन सकिरहेको थिएन उसले निर्धक्क पोज दिन सक्यो होला?
उक्त दृश्यमा सोचमग्न हुँदासम्म त खासै सकस भएको थिएन। विस्तारै सताउँदै गएपछि सकस हुन थाल्यो। मलाई के कुराले सताउँदै गयो भन्दा त्यहाँ त्यत्रो भिड थियो। कसैले पनि देखेनन्। कसरी अरु कसैले देखेनन्? अनि मैलेमात्र देखेँ। कसरी मैले मात्र देखेँ? उक्त दृश्य मेरो भ्रम पो थियो कि!
हुन पनि त्यो दिनपश्चात मैले ती दुई रिक्सावालहरुलाई कहिले पनि देखिनँ। सायद त्यो दृश्य भ्रम नै थियो। भ्रम भए त ठिकै छ तर सत्य भएको भए?
मेरो सहरको चोकबाट हराएर ती दुई रिक्सावाल कहाँ गए होलान् त? उनीहरु सायद तपाईंको सहरको चोकमा आएका हुन सक्छन्। जसरी उनीहरु अर्को सहरको चोकबाट हराएर मेरो सहरको चोकमा आएका थिए।
उनीहरु मेरो सहरको चोकमा आएको बखतमा मैले महसुस गरेँ कि यो पोस्टमोर्डन विश्वमा एउटा मोबाइलले भुइँमान्छेको दिनचर्यालाई कसरी सखाप पारिदिएको छ।
यो हतसम्म सखाप पारिदिएको छ कि ग्राहक नआएको बखत आज चुलो बल्ने हो कि होइन भनेर चिन्ताग्रस्त हुने उनीहरु सबथोक भुलेर मोबाइलको मायावी दलदलमा नमज्जैले अल्झेका छन्। सेल्फीमा भुलेका छन्। पोज कसरी दिने भन्ने चिन्तामै फसेका छन्।
मैले महसुस गरेँ कि सेल्फी खिच्न जानेका हामीले खासमा आफ्नो मनको सेल्फी खिच्यौँ? मनभित्रका वेदना, संवेदनाका सेल्फी खिच्यौँ? मानवताको सेल्फी खिच्यौँ? आँसु बन्नलाई उसले गरेको संघर्षको सेल्फी खिच्यौँ?
कसैप्रति प्रेम वा घृणा भाव जागृत गराउने रसायनको सेल्फी खिच्यौँ? हामीले सेल्फी खिच्न त खिच्यौँ तर खिच्नुपर्ने कुराहरुको सेल्फी कहिल्यै खिच्यौँ? मैले राम्रैसँग आभाष गरेँ अह! हामीले कहिल्यै खिचेनौँ।
मैले यो पनि महसुस गरेँ खासमा हामीले बचाउन पर्ने जिन्दगी बचाएका छौँ? अनि बचाएको जिन्दगी बाचेका छौँ? हो, सोच्न त सोचिरहेका छौँ तर सोच्नु पर्ने कुराहरु सोचिरहेका छौँ? भन्न त भनिरहेका छौँ तर भन्नुपर्ने कुराहरु भनिरहेका छौँ? हिँड्न त हिँडिरहेका छौँ तर हिँडनै पर्ने बाटोतिर हिँडिरहेका छौँ?
तपाईं पनि ती रिक्सावाल तपाईंको सहरको चोकमा आएको बखत यी र यस्तै कुराहरु महसुस गर्नुहोला है? ती दुई रिक्सावाल अवश्य आउनेछन्। ती विश्वका हरेक देशमा आउनेछन्। हरेक देशका चोक, गल्लीमा आउनेछन्। तपाईं पर्खिबस्नु होस्। पर्खिनु हुन्छ नि?