हामी सोच्छौँ छोराछोरी जन्मेपछि अभिभावक बन्यौँ। अभिभावक त्यस्तो खँदिलो र गर्भिलो शब्द हो जसले बच्चा जन्माउँदैमा अभिभावक बन्न छुट दिँदैन। अभिभावक त्यो हो जसले छोराछोरीलाई प्रयाप्त समय दिन्छ, लगानी गर्छ अनि संस्कारमा हुर्कन मद्धत गर्छ।
भनिन्छ, बच्चालाई तपाईंले दिने उपहारभन्दा समयको निकै महत्व हुन्छ। धेरैले भनेको सुनिन्छ बालबालिका राष्ट्रका खम्बा हुन्। कसै-कसैले भन्छन् बच्चामा लगानी गर्नुपर्छ। अभिभावक ती बालबालिकाका खम्बा वा लगानीकर्ता मात्र हैनन्, उनीहरुका रचयिता पनि हुन्।
बच्चालाई कस्तो बनाउने भन्ने कुरा अभिभावकको हातमा हुन्छ। बच्चा सफल र समृद्ध हुन अभिभावक पनि शिक्षित र सचेत हुनुपर्दछ। कम्तीमा शिक्षाको महत्व बुझेको हुनुपर्दछ। बच्चा जन्माउँदैमा अभिभावक बनिँदैन। बाआमा चाहिँ बनिन्छ। वा आमा बन्नु र अभिभावक बन्नु फरक कुरा हो। सबै बा-आमा अभिभावक नबन्न सक्छन्।
अधिकांश अभिभावकहरु आफ्ना छोराछोरीको रिजल्ट बिग्रनु वा सप्रनुको कारण हैन परिणाम हेरेर प्रतिकृया दिने गर्दछन्। परिणाम राम्रो भए खुसी हुने र परिणाम बिग्रिए दुखी हुने। अभिभावकको ठूलो संख्याले कहिल्यै कारण हेरेन। परिणामको सतहमा बहकिँदै छोराछोरीलाई श्राप दिनु आफ्नो कर्तव्य सम्झी रहे।
परिणाम सप्रनु वा बिग्रनुमा के विद्यार्थीको एकल दोष हो? पढ्ने वा शिक्षा आर्जन गर्ने खेलको खेलाडी के विद्यार्थी एक्लै हो? यसमा शिक्षक-अभिभावकको कुनै भूमिका छैन। विद्यार्थी सफल वा असफल हुनुमा उसको व्यवहार मात्रै छैन, यसमा अभिभावक-शिक्षकको पनि उत्तिकै दोष रहेको हुन्छ। अभिभावक-शिक्षकको व्यवहार परिवर्तन नभएसम्म विद्यार्थीको भविष्य परिवर्तन सम्भव छैन।
बालबालिकालाई घरबाटै कमजोर बनाइन्छ। उसको नकारात्मक र कमजोरी मात्रै औँल्याइन्छ। उसमा भएको प्रतिभा घरमै हराएको हुन्छ अनि हामी उसको प्रतिभा स्कुलबाट खोजिरहेका हुन्छौँ। बच्चाले नपढेर हैन, पढ्न नजानेर असफल भइरहेका हुन्छन्। सफल विद्यार्थीका लागि लेखाइ सीप जत्तिकै पढाइ सीपको पनि आवश्यकता पर्दछ।
घरमा बालबालिकालाई संस्कारभन्दा बढी सकस दिइरहेका हुन्छौँ। शिक्षाको तात्पर्य बलजफती विचार लाद्ने नभई अन्तर्निहित क्षमताको विकास गर्ने हो। निजी विद्यालयका अभिभावक हेर्यौं भने जहिल्यै व्यस्त। जागिर, व्यापार यस्तै यस्तै काममा व्यस्त उनीहरु पैसा जति पनि लगानी गर्न तयार हुन्छन्। तर बालबालिकालाई पैसा हैन समय र आइडिया चाहिएको हुन्छ।
रेस्टुरेन्टमा केही हजार खर्च गर्न तयार हुने अभिभावकका हात आफ्नै छोराछोरीको शिक्षामा लगानी गर्दा काप्ने गर्छन्। बसेर पढ्ने ठाउँ खोज्नुस्, कतै भेटिँदैन तर पिउने ठाउँ घर घरै हुन्छन्। अबको सम्पत्ती रुपैयाँ पैसा मात्र हैन आत्मबल,आत्मविश्वास र सकारात्मक सोच पनि हो। बालबालिकामा जति धेरै लगानी हुन्छ, त्यसको 'रिटर्न' पनि त्यति धेरै हुन्छ।
अभिभावकले केटाकेटीका लागि तीन प्रकारले अभिभावकत्व गरिरहेका हुन्छ। सुरुमा सम्झाउने, त्यसपछि थर्काउने अनि हिर्काउने। सम्झाउँदा अर्थात् फकाउँदा नमान्नेलाई थर्काउने। थर्काउँदा अर्थात् गाली गर्दा नमान्नेलाई हिर्काउने। अधिकांश अभिभावकले पार गरेको अभिभावकत्वको चरण हुन् यी। सम्झाएर वा थर्काएर वा हिर्काएर जसरी हुन्छ बालबालिका आफ्नो नियन्त्रणमा आवस् भन्ने अभिभावकको चाहना हुन्छ।
सबै अभिभावकको चाहना मेरो बच्चाले परीक्षामा धेरै नम्बर ल्यावस् भन्ने हुन्छ। विद्या वा ज्ञानको लागि हैन, सर्टिफिकेटका लागि पढाइरहेका छौँ। ए प्लस वा ए ग्रेडका लागि। सर्टिफिकेट शैक्षिक मापनको स्तर मात्रै हो, ज्ञान मापनको स्तर हैन। हामीले ग्रेटनेसमा हैन, गुड मार्क्समा विश्वास गर्यौं। हामीले ज्ञान हैन, शिक्षा मात्रै दियौं।
बच्चा जन्मेपछि धेरै कुरा आमाबाट सिकेको हुन्छ। त्यसकारण आमाले गर्ने व्यवहार उसको बालमस्तिष्कले ग्रहण गरिरहेको हुन्छ। बच्चालाई आमाले दिने शिक्षा नै आमा शिक्षा हो। यो शिक्षा बालबालिकाले घरमा र केही समय बालविकास केन्द्रमा लिने गर्दछन्।
त्यसैले बालविकास केन्द्रहरु विद्यालयका अन्य कक्षाहरु यस हिसाबले पनि फरक छन् कि त्यहाँ बालबालिकाले पढ्ने हैन, सिक्ने गर्दछन्। शिक्षाको जग बालविकास केन्द्र हो। हेरेर, छामेर स्पर्श गरेर अध्ययन गर्ने यस समयमा उनीहरुका लागि समय र पुँजी दुवैको लगानी जरुरी रहन्छ।
५ वर्ष पार गरेपछि विद्यालय शिक्षाका लागि तयार हुन्छन्। आमा शिक्षा तथा बालविकास कक्षाबाट सिकेका संस्कारका आधारमा विद्यालय शिक्षाका लागि तयार उनीहरु मनोवैज्ञानिक रुपमै शिक्षाका लागि तयार भएपछि मात्रै शिक्षण सिकाई कृयाकलापमा सक्रिय सहभागी हुन सक्छन्।
जसरी शिक्षकले विद्यालयमा पठनपाठन गराउँदा खेल्ने भूमिका महत्वपूर्ण मानिन्छ त्यसैगरी अभिभावकले उसका छोराछोरीका लागि दिने समय, गर्ने रेखदेख र लगानी उत्तीकै महत्वपूर्ण मानिन्छ।
विद्यार्थीहरु विद्यालयमा ६ घण्टा रहन्छन् भने उनीहरुको बाँकी १८ घण्टा घरमै बित्ने गर्दछ। घरमा भएको सिकाई वातावरण उसको जीवनको कोषेढुंगा हुने गर्दछ। घरमा औपचारिक शिक्षाका साथसाथै अनौपचारिक शिक्षा पनि विद्यार्थीहरुले ग्रहण गरिरहेका हुन्छन।
शिक्षक त सहजकर्ता मात्रै हो, अर्को शब्दमा भन्दा मेन्टर। मेन्टरको काम बाटो देखाइदिने हो, मेहनत त विद्यार्थी स्वयमले गर्ने हो। विख्यात दार्शनिक प्लेटोले बाल्यकालको शिक्षालाई बालबालिकाको कल्पनालाई परिमार्जन गर्ने र किशोरावस्थाको शिक्षा तथ्य विज्ञान र दर्शनद्वारा तर्कशक्ति प्रखर गर्ने शिक्षा भनेका छन्।
शिक्षा प्राप्त गर्दा आँखा, नाक, कान, जिब्रो छाला जस्ता ज्ञानेन्द्रिय तथा हात, खुट्टा, दिमाख जस्ता कर्मेन्द्रियहरुलाई सक्रिय बनाउनु पर्दछ। हामीले अहिले लिइरहेको शिक्षा त्यस्तो छ त? भनिन्छ कैयौं किताबले नदिएको ज्ञान एउटा यात्राले दिन्छ।
हामीले जुन मोडेलमा पढ्यौँ त्योभन्दा अर्को मोडल पनि हुन्छ भन्ने हाम्रो मनले स्वीकारेन। त्यसैले हाम्रा बाबु बाजेले पढेको मोडेलमै हाम्रा छोरानातीले पढ्दै छन्। स्विमिङ हेरेर सिकिँदैन, त्यसको लागि नदी वा पोखरीमा पौडनै पर्छ। यस्ता कैयौं पढाइहरु छन् जसलाई हात-खुट्टा प्रयोग गरेरै सिक्नु पर्छ।
परीक्षामा असफल हुनेहरु प्रयोगमा सफल भएका छन्। हामीले लेखेर दिने कुरालाई मात्रै परीक्षा भन्यौँ। प्रयोगलाई कहिल्यै परीक्षा मान्न तयार भएनौँ। कैयौं यस्ता मेकानिकल माइन्डहरु पनि हुन्छन् जसले लेखेर हैन, गरेर पुष्टी गर्छन्।
परीक्षामा फेल हुनेहरु बिग्रेका घडी, मोबाइल मात्र हैन, गाडी समेत सहजै बनाउन सफल हुन्छन्। यस्तो सफलतालाई हामी परीक्षा मानेनौँ र उनीहरुलाई शिक्षित पनि मानेनौँ।
निरन्तरताले ठूला ठूला लगानी र वौद्धिकतालाई पनि जितेको हुन्छ। शिक्षकले अध्ययन अनुसन्धानमा निरन्तता दिनुपर्छ। शिक्षकलाई बदलिन प्रविधिले धेरै कुराको सिर्जना गरेको छ। हामी भने विद्यालयमा शिक्षकको दरबन्दी भएन भनेर कराइरहेका छौँ।
अब दरबन्दी हैन प्रविधिको प्रयोग गर्न लागि परौँ। योजना बनाउन फेल खायौं भने जीवनमा पनि फेल भइन्छ। शिक्षकको भेरिफाई अभिभावक र विद्यार्थीले गरिरहेका हुन्छन्।
निष्कर्ष शिक्षकले हैन, अभिभावक र विद्यार्थीले दिइरहेका हुन्छन्। शिक्षा व्यक्तिको व्यक्तित्व विकास मात्र हैन, राज्यको सेवा गर्ने एक उपयोगी माध्यम पनि हो। त्यसैले शिक्षाको भार राज्यले लिनुपर्छ।
नेपालका कैयौं विद्यालयहरु राजनीतिले लथालिङ्ग भएका छन् भने राजनीति बन्द भएका कैयौं विद्यालयहरु सप्रिएका पनि छन्। सरकारी शिक्षण संस्थाहरुमा पढाइ छाडेर राजनीति गरिन्छ। श्वास, खाना जस्तै पढाइ पनि छोड्ने विषय होइन। शिक्षा पर्खिने विषय होइन। शिक्षा प्राप्त गर्ने कुरा भोलि हैन, आजै हुनुपर्छ।