हालै क्लबहाउसमा साथीहरूले एउटा विषयमा छलफल चलाएका थिए- सद्गुरु र रामदेवहरू को हुन्?
त्यस्तो छलफलमा कथित बाबाहरूका पक्षधरकै बहुमत हुन्छ भन्ने मेरो अपेक्षा थियो। उनीहरूका पक्षधर र विरोधीबीच चर्काचर्की होला भन्ने पनि लागेको थियो।
तर जति छलफल मैले सुन्न भ्याएँ, त्यतिमा उनीहरूका आलोचकको स्वर नै चर्को सुनियो। अनि समर्थकहरू निकै रक्षात्मक देखिए। पेचिलो बहस पनि भयो तर अभद्र बहस भएन। घन्टौं चलेको त्यो बहसलाई यहाँ पूरै समेट्न त सम्भव छैन नै, बाबाहरू र बाबा प्रवृत्तिविरूद्ध आएका विविध विचारहरू समेट्न पनि कठिन छ।
तर उनीहरूको समर्थनमा आएका कुरा भने बारम्बार दोहोरिएकाले तिनको सार खिच्न सजिलो छ। त्यो छलफलमा स्वघोषित ‘सद्गुरु’ जग्गी वासुदेव र ‘योग गुरु’ भनिने रामदेवको प्रतिरक्षामा आएका मुख्य तर्क र प्रश्न यस्ता थिएः
तिनका केही खराबी वा गलत अभिव्यक्ति टिपेर दुवै जनाका राम्रा पक्ष अवमूल्यन गर्न पाइन्छ?
उनीहरू गलतै हुँदा हुन् वा उनीहरुमा ‘दम’ नहुँदो हो त एमआइटी र अक्सफोर्डजस्ता प्लेटफर्ममा उनीहरू कसरी बोल्थे?
उनीहरूका लाखौं, करोडौं समर्थक छन्, ती के सबै मूर्ख हुन्?
पूर्वीय सभ्यताका योग र आयुर्वेदजस्ता आविष्कारको विश्व जगतमा प्रचार गरेकोमा हामी त उनीहरूप्रति कृतज्ञ हुनुपर्ने होइन र?
जग्गी वासुदेवबारे नबुझीकन रामदेव, राम रहिम र आशाराम बापुजस्ता मानिसहरूकै कित्तामा राखेर किन चर्चा गर्ने?
महिनावारी बार्ने चलनको पक्षमा जग्गीले दिएका तर्कहरूको बचाउ गर्दै एक जनाले कथा हाले- आजभन्दा सय वर्षअगाडि भारतमा लाखभन्दा बढी बाघ थिए। अनि मन्दिरहरू जंगलको बीचमा हुन्थे। महिनावारी भएका महिला ती मन्दिरमा जाँदा रगतको वासना सुँघ्दै बाघले आक्रमण गर्न सक्ने भएकाले महिनावारी भएका महिलालाई मन्दिर जान निषेध गरिएको हो।
यी तर्क सुनेर मलाई खास अचम्म लागेन किनकि यी सर्वथा नयाँ थिएनन्। तर भारतको अहिलेको अतिवादी दक्षिणपन्थी सत्ता संस्थापन र त्यसका प्रवक्ताको भूमिकामा रहेका जग्गी र रामदेवको आलोचनामा आएका केही तर्कह मेरा लागि पनि नयाँ थिए।
बाबाहरूको 'फासीवादी' साइनोः
केही साथीहरूले भारतमा दक्षिणपन्थी हिन्दु अतिवादको बचाउ गर्ने र विभेदकारी सिएए–एनआरसी (सिटिजनसिप अमेन्डमेन्ट एक्ट र नेसनल रजिष्टर अफ सिटिजन्स) को औचित्य पुष्टि गर्ने जग्गी वासुदेवको कामलाई फासीवादी भने। व्यक्तिका रूपमा जग्गी वासुदेवलाई फासीवादी भन्न मिल्छ भन्ने मलाई त्यस अगाडि लागेको थिएन। यद्यपि उनका कुरामा नश्लभेदको गन्ध आउन थालेपछि मैले उनलाई सुन्न छाडेको थिएँ।
चार,पाँच वर्षअगाडि मलाई एक जना श्रद्धेय गुरुले एउटा किताब उपहार दिनुभएको थियो- इनर इन्जिनियरिङ। लेखक थिए जग्गी वासुदेव। तर किताबको बाइलाइन थियो सद्गुरु।
त्यसअगाडि ओशो रजनीशले त्यो शब्द बारम्बार प्रयोग गरेको मैले सुनेको थिएँ। सद्गुरुको उनको सूचीमा अष्टवक्र ऋषि, गौतम बुद्ध र महावीरजस्ता मानिस हुन्थे। दुनियाँमा धेरै मानिसले धेरैलाई सद्गुरु मान्छन् तर आफैंले आफैंलाई सद्गुरु मान्ने उनी मलाई अनौठो लागेका थिए।
तर पनि त्यो किताबले मलाई राम्रै प्रभावित गर्यो। युट्युबमा रहेका उनका भिडिओहरू सुनेपछि म झनै प्रभावित भएँ। ‘धर्ती र आकाशका सबै विषयमा बोल्न सक्ने यस्तो मानिस पनि हुन्छ है’ भनेर आश्चर्यचकित पनि भएँ।
तर हरेक प्रश्नको उत्तर दिन तम्सिने र गज्जबको अंग्रेजी भाषा कौशल भएका जग्गीका केही कुराले मलाई झसंग बनाए। जस्तो कि हिन्दुबाहेकका धर्मबारे उनको नकारात्मक धारणा। अझ विशेषगरी जब भारतको भाजपा सरकारका दमन र विभेदकारी कामबारे प्रश्न उठ्थे, उनले वाक्पटुतापूर्वक कुरा घुमाइघुमाइ सत्ता संस्थापनको बचाउ गर्थे। गलत कामको सीधा सीधा गरिने बचाउभन्दा यस्तो धूर्त बचाउ झनै खतरनाक हुन्छ भन्ने मलाई लाग्यो।
त्यसपछि मैले उनलाई सुन्न बन्द गरेँ तर उनीबारेका समाचार पढिरहन्थेँ- वातावरण विनाश, वृक्षारोपणको हौवा, कर छली, आदि विषयमा। विभेदकारी नागरिकता कानुनविरूद्ध भारतभर प्रदर्शन भएका बेला उनले पहिले ‘त्यो कानुन मैले पढेको त छैन तर....’ भनेर त्यसको समर्थनमा लामो व्याख्यान दिएपछि उनी व्यापक विवादमा आए।
ती कानुनी व्यवस्थाले स्थापना गर्न खोजेको नागरिकको धार्मिक तहीकरण जर्मनीमा हिटलरले गरेको त्यस्तै प्रयोगको आधुनिक संस्करण हो भनेर व्यापक बहस भयो। फरक मत राख्ने विद्यार्थीलाई देशद्रोही दर्ज गर्ने मोदी सरकारको यत्नलाई जग्गीले सार्वजनिक रुपमा मलजल गरे। जेएनयुदेखि कश्मीरसम्मका सरकारका विरोधीको उछितो काढे। यसरी नरेन्द्र मोदी र जग्गी वासुदेवहरूलाई फासीवादसित जोड्ने क्रम तीव्र भएर गयो।
पूर्वीय सभ्यताको प्रचार कि सभ्यताका नाममा व्यापार?
त्यसबाहेक जग्गी र रामदेवलाई पूर्वीय सभ्यताका प्रवक्ता जसरी चित्रण गरिएकोमा धेरै साथीहरूले आपत्ति जनाए। योग र आयुर्वेदलाई दक्षिण एसियाभन्दा बाहिरसमेत लोकप्रिय बनाउनमा उनीहरूको भूमिका रहे पनि यी विषयमा तिनको एकाधिकार छैन। निस्वार्थ रूपमा योग र आयुर्वेदको विकास र बिस्तार गर्न लागेका अरू धेरै मानिस छन्।
योग र आयुर्वेदको आडमा उनीहरूले सिर्जना गरेको व्यापारिक साम्राज्य, त्यो व्यापारमा व्याप्त गुणस्तरको अन्योल र पारदर्शिताको अभावलाई लिएर धेरै जनाले उनीहरुको आलोचना गरे। भारतबाट जोडिएका नेपालीभाषी साथीहरूले बाबाहरूको व्यापारका लुकेका धेरै अँध्यारा पाटाहरू उजागर गरे।
खास गरी कोभिड महामारीका बेला रामदेवले कोरोनिल नामक चक्की बनाएर त्यसलाई बेच्न जुन हर्कत गरे, त्यो चर्चायोग्य छ। कोरोनिललाई विश्व स्वास्थ्य संगठनले मान्यता र १५० देशमा बेच्ने लाइसेन्स दियो भनेर रामदेवले बारम्बार टेलिभजनमा गएर भने, जबकि विश्व स्वास्थ्य संगठनको कार्यक्षेत्रमै त्यस्तो काम पर्दैन। उनले आधुनिक औषधि विज्ञानलाई ‘ड्रग माफिया’ र ‘मेडिकल टेरोरिजम’सम्म भन्न भ्याए।
त्यस्ता मनगढन्ते र सफेद झुट बोल्दा पनि रामदेवले खासै बदनामी भोग्नु परेन। कारणः उनको पतन्जलिका उत्पादनले दिने ठूलो विज्ञापनका कारण भारतका प्रमुख मिडियाले उनको आलोचना गरेनन्। बरू हरेक अर्धसत्य र झुटलाई जस्ताको तस्तै प्रसारण गरे। प्राइमटाइमका समाचारको समयलाई रामदेवको निःशुल्क विज्ञापनका लागि छाडिदिए। परिणाम भारतभर कोभिडका कारण अक्सिजन र आइसियु बेडको अभावमा मानिसको बिचल्ली हुँदा रामदेवले आधुनिक औषधि विज्ञानलाई गाली गरेर बसिरहेका थिए।
तर जब भ्याक्सिन लगाएका आठ सयभन्दा बढी डाक्टर भारतमा कोभिडका कारण मरेका भनेर रामदेवले भनेको भिडिओ सार्वजनिक भयो, त्यस्तो अफवाहले भ्याक्सिन नलिने मानिसको संख्या बढ्ने र भ्याक्सिन नलिएकै कारण ठूलो संख्यामा मानिस मर्न सक्ने भनेर उनको चर्को विरोध भयो। चिकित्सकले उनलाई देशद्रोही घोषणा गरेर कारवाही गर्नु पर्ने माग समेत गरे।
कोभिड महामारीभरि रामदेवले यो रोग र त्यसको उपचारबारे जेजति उट्पट्याङ बयान दिए, त्यसको सार एउटै थियोः एलोप्याथीका औषधि र भ्याक्सिनको भर छैन, पतन्जलिको कोरोनिल किन र खाऊ। त्यो बयानका कारण कति मानिसको मृत्यु हुन्छ भन्ने कुरासित उनको कुनै सरोकार थिएन, खाली आफ्नो व्यापार कति बढ्छ भन्नेमा मात्रै थियो।
कसैले यस्ता गतिविधिबाट रामदेवले पूर्वीय सभ्यतालाई माथि उठाइरहेका छन् भन्ने विश्वास गर्छ भने उसलाई ‘राम राम’ मात्रै भन्न सकिन्छ।
बाबाहरूको अपराध साइनोः
बाबाहरूका अपारदर्शी जीवन भए र यस्तै विभिन्न आरोप लागे भन्दैमा जग्गी र रामदेवहरूलाई राम रहिम र आशाराम बापुकै दर्जामा राखिनु हुँदैन भन्ने धेरैलाई लाग्छ। खासगरी जीवनमा आफूले नभेटेका अनेक प्रश्न जग्गी वासुदेवबाट भेटेको ठान्ने मध्यमवर्गीय युवाहरूका विचारमा उनी खोटरहित नभए पनि अपराध प्रमाणित भएका अरू भारतीय बाबाभन्दा फरक हुन्।
उसो त अरू कुनै पेसाका विख्यात मानिस एकै खालका नभएजस्तै बाबाजी बनेर मुक्ति र स्याम्पू एकसाथ बेच्नेहरू पनि सबै एकै खालका हुँदैनन्। बाबा भन्दैमा सबैलाई एउटै डालोमा राखेर हेर्नु पनि हुँदैन।
तर जग्गीकी श्रीमतीको मृत्यु र रामदेवका गुरु स्वामी शंकरदेवको बेपत्ता अवस्थाबारे उठेका धेरै प्रश्न अद्यापि अनुत्तरित छन्। यी प्रकरणमा उनीहरू दोषी प्रमाणित भएका छैनन् तर तिनमा उठेका प्रश्नको जवाफ दिएर पारदर्शितालाई बल दिने काम दुवैले गरेका छैनन्।
रामदेवले त उनीबारे उठेका विवाद र प्रश्नहरू उल्लेख गरेर लेखिएको एउटा किताबलाई नै अदालत पुगेर प्रकाशन हुनबाट रोकिदिएका थिए। त्यो किताबमा उल्लेख भए अनुसार एकपल्ट जनसत्ता पत्रिकाका संवाददाता सुनिल पाण्डेले रामदेवलाई सोधे- यदि उहाँ (शंकरदेव) तपाईंको बाबुजस्तो हो भने (उनी बेपत्ता भएपछि) तपाईं किन आउनुभएन?
रामदेवले भने- म अमेरिकामा (योग) शिविर चलाइरहेको थिएँ।
पाण्डेले फेरि सोधे- घरको कुनै सदस्य बेपत्ता भएको भए त जो कोही पनि फर्किने थियो, हैन र?
रामदेवले भने- उहाँ जीवितै भएको थाहा भएको भए म आउने थिएँ।
पाण्डे- उसो भए उहाँ मरेको भनेर तपाईंले स्वीकारेको हो?
त्यसपछि रामदेवलाई महसुस भयो कि उनको बोली चिप्लिइसक्यो र उनी आफैंले शंकरदेवलाई बेपत्ता बनाएको वा हत्या गर्न लगाएको भनेर लाग्दै आएको आरोपलाई त्यसले झनै बल पुर्याउने भयो। उनी मौन रहे।
नेपालमा बहस किन?
बाबाहरूका विरोधीहरूको तर्कलाई जित्न नसकेपछि क्लबहाउसमा उनीहरूका समर्थकले बारम्बार सोधे- संसारका करोडौं मानिसले मान्ने बाबाहरूबारे नेपाली जम्मा भएर कटाक्ष गर्नुको के तुक छ? यस्ता चर्चाले उनीहरूलाई केही फरक पार्दैनन् भन्ने ती साथीहरूको मत थियो।
जवाफमा ‘हिटलरका पनि त करोडौं समर्थक थिए, मानिस सही वा गलत भन्ने कुरा उसका भक्तहरूको संख्याले निर्धारित गर्दैन’ भन्ने जवाफ बारम्बार आइरह्यो।
त्यसबाहेक पनि दुई कारणले नेपालमा यस्ता बहस भइरहनु जरुरी छ।
एक त भारतीय बाबाहरूकै पनि नेपालमा बलियो प्रभाव छ, बहकाव र व्यापार दुवैको क्षेत्रमा। आजभन्दा ६ वर्षअगाडि यस्ता खुला र छरपस्ट बहस सुन्न पाएको भए म आफैं जग्गी बासुदेवबाट केही समय पनि सम्मोहित हुने थिइनँ। अहिले हुने यस्ता बहसले अरू धेरै युवा साथीहरूलाई बाबाहरूको बौद्धिक र व्यापारिक शिकार हुनबाट बचाउन सक्छन्।
दोस्रो, नेपालभित्रै अनेक खोल ओढेका बाबाहरूको कमी छैन। जग्गी वासुदेवले आफूलाई पोपसित तुलना गर्दै आफूलाई जग्गी नभई सद्गुरु भनेर पुकार्न लगाएझैं नेपालमा पनि रामबहादुर बमजनले आफूलाई बुद्धभन्दा पनि माथि भएको दाबी गर्थे। उनका आपराधिक कर्तुत सार्वजनिक हुनुअगावै धेरैले उनका आश्रममा बलात्कार र हत्या भोगिसकेका छन्। राज्यले अहिलेसम्म उनलाई न्यायको कठघरामा उभ्याउन सकेको छैन।
उनका आपराधिक गतिविधिबारे समयमै राज्य र मिडियाले पारदर्शिता कायम गर्न सकेको भए हजारौं मानिस उनको पछाडि लाग्नबाट रोकिन्थे र त्यस्ता अपराध हुनै पाउँदैनथे।
भ्रष्ट राज्य संयन्त्र र अनैतिक चिकित्सकहरूको आडमा बलात्कार आरोपमा पक्राउ छलेका कृष्णबहादुर गिरी ‘सिद्धबाबा’बाट पीडित हुनेले अझै न्याय पाएका छैनन्। केही वर्षअगाडि नेपालमा हिन्दु राष्ट्र ब्युँताउने निरर्थक प्रयासमा एउटा बाबाले आफ्नै सहयोगीलाई गोली हान्न लगाएर धार्मिक विद्वेष फैलाउने प्रयास गरेका थिए।
नेपालमा समेत आश्रम रहेका पाइलट बाबा केही महिनाअगाडि मात्रै ठगी मुद्दामा भारतमा पक्राउ परेका छन्। अख्तियारका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्की लगायत नेपालका धेरै उच्च पदस्थ व्यक्तिहरू अद्यापि उनका भक्त छन्।
यसरी कथित धर्मगुरु वा बाबाहरुबारे हुने तर्कसंगत विमर्शले समाजलाई धेरै अपराध र दुर्घटनाबाट बचाउन सक्छ। अनि उनीहरूले देशको कानुन नै हातमा लिएर कब्जा गर्ने गरेको जंगल र जमिनलाई पनि अतिक्रमणबाट रोक्न सक्छ।