झण्डै महिनादिन अघिको कुरा हो, निद्रैमा उठेर काममा पुगिसकेको थिएँ।
कफीको चुस्की लिँदै भँगेराका गुँड चहार्ने मेरो काम। हाम्रो अध्ययनमा पर्ने करिब १३० वटा जति गुँड छन्। तिनमा जुन महिनाको मध्यतिर चल्लाहरू धेरै हुन्छन्।
म चरालाई ब्यान्ड लगाउन लाग्दै थिएँ। अध्ययन क्रममा चरा चिन्न सजिलो होस् भनेर उनीहरूको खुट्टामा ब्यान्ड लगाइन्छ। यसलाई 'रिनिङ' पनि भनिन्छ।
त्यो सानो ब्यान्डका मसिना नम्बर पढ्दै गर्दा मेरो फोनमा मेसेज आयो।
मेसेज पढेर म टोलाएँ। छेउमा भएकी साथीले म टोलाएको देखेर सोधिन्, 'के भयो?'
अनौठो मेसेज आयो, त्यो पनि नचिनेको नम्बरबाट।
'के मेसेज हो त्यस्तो? सोध्न मिल्छ भने?'
मेसेजले त मात्र 'डु यु वान्ट सम स्प्यारो चिक्स' (चल्ला) भनेको छ।
'ह्वाट? हाहा!'
नम्बर कसको हो थाहा छैन। झन् अचम्म!
मैले को रहेछ भनेर ट्रुकलरमा नम्बर खोज्न मात्र लागेको थिएँ, उताबाट म यो हो है भनेर मेसेज आयो।
कुरा के रहेछ भने, मेरो एक साथीको साथीले उसको घरमा रहेको एउटा भँगेराको गुँड घर सफा गर्ने बेला नजानेर खसालेछ। पोथीले गुँड खसेको देखेपछि छाडेर गइछ। अब के गर्ने भन्ने पत्तो नभएपछि मलाई सोध्न मेसेज गरेका रहेछन्।
मैले भँगेराको अध्ययन-काम गर्ने भएकाले सक्दो सुझाव दिएँ।
यसको केही दिनपछि ट्वीटरमा एक जना दाइले मेसेज गर्नुभयो। उहाँको घरमा त्यसरी नै एउटा तोपचराको गुँड खसेछ। केही गर्न सकिन्छ कि भनेर सोध्नुभयो।
मलाई चराबारे सोध्ने यी दुई जना मात्र होइनन्। बेलाबेखत अरूहरूले पनि चरा र गुँड कसरी जोगाउने भनेर सोधिरहन्छन्। अहिले झन् चराहरूको प्रजनन मौसम। हरेक साल यो समयमा यस्ता मेसेज आइरहेका हुन्छन्।
नेपाली समाजमा चराको अन्डा वा चल्ला छुन हुँदैन, छोइदिए माउले छाडेर जान्छ भनिन्छ। मैले पनि सानोमा धेरैपटक यही सुनेको थिएँ। जब म चराबारे पढ्न थालेँ, अझ चरामै काम गर्न थालेँ, बल्ल थाहा भयो, त्यो एउटा भनाइ मात्र रहेछ। त्यो तथ्यमा आधारित होइन।
धेरैजसो चराले गुँडबाट झरेको अवस्थामा चल्ला-अन्डा बोकेर पहिल्यैको ठाउँमा राख्न सक्दैनन्। सायद त्यसैले छोडेर जान्छन्। त्यही देखेर मान्छेले चल्ला वा अन्डा छोए चरा भाग्छन् भन्ने अनुमान गरे। अन्डा चलाउँदा फुट्ने, चल्लालाई असुरक्षा हुने भएकाले पनि भनिएको होला कि!
जे भए पनि अन्डा-चल्ला छुनै हुँदैन भन्नु चाहिँ सही होइन। चरामा काम गर्ने, अझ चल्लामै काम गर्ने अध्येताले हरेक दिन चल्ला छोइरहेका हुन्छन्। चल्लाको तौल वा आकार नाप्नुपर्ने हुन्छ। उनीहरूले हरेक दिन चलाउँछन्। अर्काले छोएका अन्डा वा चल्ला माउले छाडेर जाने भए त उनीहरूबारे अध्ययन गर्नै गाह्रो हुन्थ्यो।
हामी धेरैजसो मानिस चरा र चल्ला देखेर भावुक बन्छौं। तर धेरैलाई तिनको रक्षा गर्नै आउँदैन। हामीले कसरी चरा, तिनका गुँड, अन्डा र चल्लाको सुरक्षा गर्न सक्छौं भनेरै मैले यो लेख लेखेको हुँ।
तपाईंले कतै चल्ला अलपत्र परेको देख्नुभयो भने के गर्न सक्नुहुन्छ त?
एकैछिन त्यो चल्ला वरिपरि कतै गुँड छ कि भनेर खोज्नुहोला। तपाईं पुग्न सक्ने ठाउँमा रहेछ भने चल्लालाई हातले विस्तारै छोपेर उसकै गुँडमा छाडिदिनुहोस्।
कतिपयलाई भावुक भएर चल्ला घर लैजाऊँ भन्ने लाग्ला। तर नलैजानुहोस्। सबभन्दा उपयुक्त भनेको माउलाई नै चल्ला हुर्काउन दिनु हो।
चल्लाबाट उड्न सक्ने चरा हुन धेरै दिनको फरक हुँदैन। आठ दिनको फरकमा त्यो चल्लामा धेरै फेरबदल आउँछ। जसका लागि उसका आमाबाले दिनभरिजसो खुवाएर बस्नुपर्छ। कम्तीमा पनि हरेक घन्टा उनीहरूलाई खुवाउनु पर्छ, त्यो पनि कीरा-फट्यांग्रा मात्रै।
त्यति सानो चल्लालाई पनि कीरा-फट्यांग्रा नै चाहिन्छ। धेरैजसो चराले अरू अन्न-बिउ खुवाउँदैनन्। कीरा मात्र खुवाउँछन्। त्यो उसको अभिभावकले बाहेक अरूले गर्न सक्दैन। दुई/तीन दिनका चल्लालाई कीरा-फट्यांग्रा खोजेर घन्टैपिच्छे खुवाउन पर्ने भएकाले हामीबाट त्यो लगभग असम्भव हुन्छ। त्यसैले सबभन्दा राम्रो काम सकेसम्म गुँडमै चरा फिर्ता राखिदिने हो।
यदि केही पखेटा आइसकेको चरा भेट्नुभयो भने?
त्यसलाई चाँहि नियमित रूपमा अलि ठूला केही कीरा खुवाएर जीवित राख्न सकिन्छ।
ठूलै चरा अलपत्र वा घाइते भेटियो भने के गर्ने?
धेरै जसो माइग्रेसनका बेलामा चराहरू थाकेर वा कुनै भवनमा ठोक्किएर खसेको पाइन्छ। त्यस्तो चरा भेट्दा पहिलो विकल्प नजिकैको चरा वा जनावर पुनर्स्थापना केन्द्र छ भने त्यता लैजानु हो।
त्यस्तो केही नभए चरालाई एउटा कागजको बाकसमा हालेर कतै तातो ठाउँमा राख्नुहोला। चरालाई बोकेर बाकसमा हाल्दाबाहेक धेरै नचलाउनू। सुरक्षित ठाउँमा राखेपछि सानो टोकरीमा चिनीपानी हालेर नजिकै राखिदिनू। बक्सालाई माथिबाट पातलो कपडाले छोपिदिनू। यति गरेपछि त्यो चरा धेरै आत्तिँदैन। थाकेर वा भित्ता वा झ्यालमा ठोक्किएर झरेको रहेछ भने पछि उड्न सक्छ।
पखेटा भाँचिएका रहेछन् भने पुनर्स्थापना केन्द्र नै लैजानुपर्ने हुन्छ। त्यहाँ पुर्याउन नसक्दासम्म त्यही बाकसमा राख्न सकिन्छ।
कहिलेकाहीँ हावा वा केही कुराले गुँड खसालिदिएको हुन्छ। वरपरि हेर्नुभयो भने त्यो गुँड कहाँ थियो भनेर केही चिह्न भेटिन सक्छ। त्यो ठाउँमा गुँड लगेर नझर्ने गरी राखिदिँदा हुन्छ।
अनि कतै गुँड खस्नै लागेको देख्नुभयो भने त्यसलाई मिलाएर टेको लगाएर अड्याइदिन सकिन्छ।
मैले चराबारे अध्ययन गर्छु भन्नेबित्तिकै चराबारे अनेक प्रश्न मलाई सोधिएको अनुभव छ। कतिले आफ्नो घर वरिपरि आउने चराबारे त कतिले अरू चराबारे सोध्छन्।
तीमध्ये यस्तै अलपत्र परेका चरा, गुँड वा अरू चरालाई पनि कसरी सहयोग गर्ने भनेर सोध्ने धेरै छन्। चराबारे पढ्नेहरू त धेरैजसो चराप्रेमी नै हुन्छन्। तर अरू मानिसलाई पनि चरा मन पर्छ। कतिलाई आफ्नो घर वरिपरि वा घरमै आएर चरा बसिदेओस् भन्ने पनि लाग्छ। नेपाली समाजमा गौंथली वा यस्तै चराले आफ्नो घरमा गुँड बनायो भने फलिफाप हुन्छ भन्ने चलनै छ।
तपाईंहरूलाई थाहै होला, चराका गुँड एकै प्रकारको हुँदैन। प्रत्येकको डिजाइन तिनीहरू आफैं गर्छन्। कतिपयलाई गुँड बनाउन सजिलो ठाउँ चाहिन्छ। जस्तो रूखको प्वाल, घरको कुना वा बाकस।
मानिसको घर वरिपरि आउने, त्यहीँ बस्न रूचाउने चराका लागि घरमै गुँड बनाइदिने हो भने तिनीहरूलाई सजिलो हुन्छ। गाउँघरमा परेवाका लागि काठको बाकस बनाएर राखिदिने चलन छ। म बस्ने घरमा एउटा प्वाल भएको ठाउँमा उल्लूका लागि काठको सानो गुँड बनाइदिएका छौं। यता मैले अध्ययन गर्ने ठाउँमा भँगेराका लागि त्यस्तै खालका बाकस बनाइएका छन्।
कस्तो चराका लागि कति नापको कस्तो गुँड बनाइदिने भनेर गुगलतिर खोज्ने हो भने पनि भेटिन्छ।
चरालाई हामीले अरू सहयोग पनि गर्न सक्छौं। तिनीहरू आउने ठाउँसम्म अन्न/खानेकुरा राखिदिन सक्छौं। कतिपय मरेका कीरा पनि सम्हालेर चरा आउने ठाउँमा फ्यालिदिए हुन्छ। गर्मीमा घरको छत, कौसी वा आँगनमा पानीको भाँडा राखिदिनुभयो भने निकै मद्दत हुन्छ।
मान्छेको वृद्धि र विकासले चराको जनसंख्यामा असर पक्कै पारिरहेको छ। तर हामीले थोरै ख्याल गर्यौं भने तिनको संरक्षण गर्न सक्छौं। हामीलाई सिधै थाहा हुँदैन तर यिनीहरू हाम्रो पर्यावरण राम्रो बनाउन काम गरिरहेका हुन्छन्।
अन्तिममा एउटा कुरा मलाई भन्न मन लाग्यो। अचेल भँगेरा हराउँदै गएका छन् भनेर कति मानिसले ट्वीटरतिर चर्चा गरेको देख्छु। म सानो छँदा घरको भित्तामा इँटा निस्केको प्वालमा टन्नै भँगेरा बसेको याद आउँछ। आजकल किन हराए भन्ने कुरा पनि त्यसैसँग जोडिएको छ।
भँगेराहरू 'क्याभिटी नेस्टर्स' हुन्। अर्थात् तिनीहरू पहिल्यै भएका वा बनेका प्वाल वा केही बाकसमा गुँड बसाउँछन्। समयअनुसार हाम्रा घरका बनावट र संरचना बदलिँदै गए। घरमा प्वालहरू हराउँदै गए। त्यसैले भँगेरा पनि हराउँदै गएका हुन्।
घरमा मान्छे धेरै नजिकै नपर्ने ठाउँमा स-सानो बक्सा बनाइदिने हो भने भँगेराहरू पक्कै फर्केर आउनेछन्!
(लेखक घिमिरे नर्थ डाकोटा स्टेट युनिभर्सिटीमा प्राणीशास्त्रमा विद्यावारिधि गर्दैछन्। उनको अध्ययनको क्षेत्र, वातावरणीय दबाबले भंगेराका चल्ला वृद्धि र तिनको आयुमा पर्ने असरबारे हो।)
ट्वीटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)