गत वैशाखमा मेरो एक जना साथी आमा बन्नेवाला थिइन्।
उनको पहिलो सन्तान छ वर्षकी छोरी थिइन्। पहिलो सन्तान छोरी भएकोले पनि होला दोस्रो पटक आमा बन्ने खबर थाहा पाएलगत्तै परिवार, आफन्त, छरछिमेकी, संगी साथीले 'यसपालि त छोरा पाउनुपर्छ है' भन्थे रे....बेलाबेलामा साथीले सुनाउँथिन्।
कति पटक त आफन्तले मुख फोरेरै भन्थे रे, 'हिजो अस्पताल गएको होइन ? जाँच गरेको होला नि, के छ भनेर ? छोरै छ होइन त ?' साथी मौन बसिदिन्थिन रे।
'मलाई लिंग पहिचान गर्नु अपराध हो भन्ने थाहा छ, सन्तान दुईमा एक पक्कै जन्मिन्छ कि छोरा हुन्छ कि छोरी, सबै कुरा राम्रो छ मात्रै भनेको छ डाक्टरले' साथीको यो कुरामा आफन्त मुन्टो बटार्थे।
काठमाडौंकी रैथाने भए पनि साथीको आफन्त, छिमेकीको सोच हाम्रा गाउँका हजुरआमाको जति पनि नभएको छनक बेलाबेलामा उनका भोगाइले देखाउँथे।
कतिपटक सासूले नातिको कामना गर्दै पूजा लगाएको उनलाई याद छ, कहाँकहाँ भाकल छ रे सासूको भन्ने पनि सुनेकी थिइन्।
वरपरका आफन्तलाई पनि आफ्नो भन्दा बढी तिनै साथीको चासो हुन्थ्यो मानौं उनले यो समाजको लागि, समाजको नाक राखिदिनको लागि, आफन्तको शिर उँचो बनाउनको लागि जसरी भए पनि दोस्रो पटक छोरी पाउनु हुँदैन।
साथी भने निकै बुझकी थिइन्। उनी निकै आर्दशका कुरा गर्थिन् पहिलेदेखि नै। कसैले विभेदका कुरा निकाल्यो भने सातो लिन्थिन्।
'तिमी छोरा भएर के गरेका छौं आफ्ना बाउआमालाई ? आखिर गाह्रो पर्दा जसका बाउआमालाई पनि छोरी चाहिन्छ, मेरै दाजुभाइ कहाँकहाँ हुन्छन्, बुवाआमालाई बिसन्चो हुँदा नजिक मै छु, पुग्ने म नै हुँ। म छोरी भए पनि सबै कर्तव्य निर्वाह गरेकी छु। मेरी आमा भाग्यमानी हुन् जसले मजस्ती छोरी जन्माइन्।'
उनका यस्ता कुरा सुनेर दोस्रो पटक प्रतिप्रश्न कसैले गर्दैनथे।
'मलाई सन्तानमा विभेद छैन, मेरा श्रीमान पनि छोरा र छोरीमा विभेद गर्दैनन्' उनी सुनाइरहन्छिन्।
उनको सिद्धान्त थियो - परिवारमा दुई सन्तान चाहिन्छ। चाहे छोरा-छोरी हुन्, चाहे छोरी-छोरी होऊन् वा छोरै-छोरा किन नहोऊन्। यही कुरा अनुभूति भएरै दोस्रो पटक आमा बन्न लागेको बताउँथिन्।
वैशाखको पहिलो साता उनीसँग कुराकानी भएको थियो।
आफूलाई अलि गाह्रो भएकोले अफिस नगएको बताएकी थिइन्।
वैशाख दोस्रो साता उनी आमा भएको खबर सामाजिक सञ्जालबाट देखें। लगत्तै फोन गरी हालें। कोरोनाको महामारीले प्रत्यक्ष भेट्न असमर्थ भए पनि फोनबाट सबै जानकारी लिएँ, बधाइ दिएँ।
'भाग्यले छोरा जन्मिन्छन् रे हेर साथी सौभाग्यले मात्रै छोरी जन्मिन्छन् भन्छन्, सायद भगवानले मलाई दोस्रो पटक पनि सौभाग्यशाली आमा बन्ने अवसर दिनु भएको हो कि के हो खै ?' साथी दंग थिइन्।
दोस्रो सन्तानको रूपमा घरमा लक्ष्मीको आगमन भएको खुसीयालीमा छरछिमेकमा मिठाइ, लड्डु बाँडेछन्, सबै आफन्तलाई फोन गरेर छोरी जन्मिएको जानकारी दिएछन्।
तेस्रो, चौथो दिन बित्दै गयो। एक-कान, दुई-कान अनेकन कुराहरू गुन्जिन थाले।
‘छोरा हुनुपर्ने, दोस्रो पटक पनि छोरी नै भएछ है, भाग्यमा छोरी नै लेखेको रहेछ कहाँबाट छोरा हुन्थ्यो र ? सासूले पूजा गरेर नाति मागेर मात्रै कहाँ हुन्थ्यो र ? दुई जनाको जागिर छ, यत्रो सम्पत्ति छ, जतिसुकै पैसा कमाए पनि के गर्नू ? यो सम्पत्ति खाने छोरा खै त ?'
छोरीको न्वारान आउन्जेलसम्म यस्ता दर्जनौं कुरा आमाबुवाले सुने।
एक जना आफन्तले त मुखै फोरेर भनिन रे, 'हाम्रा पालामा जस्तो हो र ? जन्माउने बेलासम्म केही थाहा नहुने ? अहिले त तीन महिनामा सबै चेकजाँच गर्ने प्रविधि आएका छन्, पहिलो छोरी भएपछि आफूले पो विचार पुर्याउनु पर्छ त! बेलैमा चेक गराएर फाल्न पनि नसक्ने कस्ता बाउआमा हुन खै ? जति ठूला गरे पनि, अहिले जति आर्दशका कुरा गरे पनि छोरो भनेको छोरै हो, एउटा छोरा नभएको घर के घर ?'
यस्ता अनेकन कुरा सुन्दा पनि साथीले कुनै प्रतिक्रिया जनाइनन्।
'हामी जो भर्खर जन्मेको छोरीका बाउआमा हौं, जब हामीलाई आफ्ना दुई छोरी दुई आँखाका नानी समान छन् भने अरूले टाउको दुखाउनुको केही तुक छैन,’ उनले सुनाइन्।
उनीहरू दुई जना आफ्ना दुई छोरीलाई असल संस्कार दिने, राम्रो शिक्षा दिने र छोरा र छोरीबीचको विभेद हटाउन सिकाउने प्रण गरेका छन्। जब जन्म दिनेलाई नै यी यावत कुरामा चासो छैन, विभेद गर्न चाहँदैनन् भने समाज र आफन्तले किन जर्बजस्ती विभदेको पाठ लाद्न खोज्छन् ?
जो जसलाई चासो र सरोकार हुनुपर्ने हो उसलाई चित्त बुझेको छ भने अरूलाई किन त्यही कुराको पीरले खाएको पच्दैन, रातमा राम्रोसँग निद्रा पर्दैन ? हामी अर्काको किन यति विधि चासो र चिन्ता गर्छौं ? आखिर भगवानले दिएका सुन्दर उपहार भनेर छोरीलाई किन चिनाउन सक्दैनौं ? हुन त सबै दोस्रो सन्तानको रूपमा छोरी जन्माएका बाउआमा मेरी यी साथी जस्ता बुझकी छैनन् र हुँदैनन् पनि।
जन्माउने आमाले समेत दोस्रो पटक पनि छोरी जन्माउनुपर्दा छोरीको मुखै हेर्न नचाहने, छोरी रुँदा पनि स्तनपान नगराउने गरेका कैयन उदाहरण अस्पतालमा आफन्तको कुरुवा बस्दा आफ्नै आँखाले देखिएको छ।
यस्तो अवस्था आउनुको पछाडि समाज र आफन्तको छोरीप्रति हेर्ने नजर दोषी छ।
छोरा होस् या छोरी तर संस्कारी र असल होस् भन्ने हामीले सम्झेनौं, वा सम्झन कोसिस नै गरेनौं। अपराधी होस्, भ्रष्टाचारी होस्, कुनै दुष्कर्म किन नगरोस् तर छोरा नै हुनुपर्छ भन्ने मानसिकताबाट अघि बढेपछि त्यसको परिणाम के हुन्छ ? अहिले यी साथीको छोरी दुई महिनाकी भई।
मुखमा हेरेर हाँस्ने भइसकी। अबोध बच्चाले मुस्कुराउँदा पनि आफन्त मुस्कुराउन नसक्ने कस्तो दमित मानसिकता ?
साथीले दिदी बहिनीको फोटो फेसबुकमा राखिरहन्छिन्। बहिनी काखमा राख्दा दिदी दंग परेकी हुन्छे।
कान्छी छोरीको नाम देवी लक्ष्मीका अनेकन नाममध्येको एक नामबाट जुराएका छन् रे उनीहरूले अद्धिती। 'भन्नेले जे सुकै भनून्, त्यो हाम्रो लागि टाउको दुखाइको विषय होइन, हामी हाम्रा दुई जना छोरीको उज्जवल भविष्यको चासो र चिन्ता गर्छौं, कसले के भने भन्ने कुराको चासो लिने हाम्रो दायित्व होइन।'
एउटा बच्चा त्यो पनि छोरीमात्रै जन्माएर सन्तानको रहर पूरा भएको बताउने बाउआमालाई पनि यो समाजले राम्रो नजरले हेर्दैन। छोरा भए त हो भन्न हुन्थ्यो, एउटा छोरीलाइ सर्वोश्व ठानेर चित्त बुझाउने कस्तो सोच हो ? पछि थाहा पाउँछन्।
चिनजानका आफन्तहरू कोही एक सन्तान छोरी मै खुसी छन्, छोरा र छोरी दुबै उनीहरूको लागि त्यही छोरी हो भने समाजलाई बिनाकारण टाउको दुखाउनुपर्ने के जरूरी ? जन्माउने बाउआमा एउटा छोरीमा सबैथोक देख्छन्। त्यही छोरीको उज्जवल भविष्यको लागि सम्पूर्ण त्याग गर्न सक्नै आँट गर्छन् भने समाज र आफन्तजन किन खुसी हुन सक्दैनन् ? अर्काको खुसीमा सक्छौ भने खुसी होऊँ, खुसी बन्न सिक, कम्तीमा खुसी बन्न सक्दैनौं भने कृपया अर्काको खुसीमा बेखुसीको छाल उचाल्ने हर्कत नगरौं।
सन्तान नभएका आफन्तलाई सोधेर हेरौं त, उनीहरूको लागि छोरा चाहिएको हो कि छोरी ? सन्तान नभएकाहरूलाई बोध हुन्छ छोरीको महत्व। बिहे गरेको सत्र वर्षपछि एक जना आफन्तको छोरी जन्मियो। सत्र वर्षपछि पाएकी छोरी कुनै बहुमूल्य उपहारभन्दा कम छैन उनीहरूको लागि। सँगैका साथीभाइका छोराछोरी प्लस टु पढ्ने भइसक्दा जन्मिएकी आफ्नी छोरी देखेर खुसी यो जोडीको मन्द मुस्कान हेर्दा थाहा हुन्छ छोरीको महत्व कति रहेछ भन्ने कुरा।
जसलाइ सरोकार र चासो हुने हो, जसले जानकारी राख्नुपर्ने हो, उसलाई केही दु:ख मनाऊ छैन भने अरूले त्यो दु:खको भारी किन बोकिरहन्छन् ? कम्तीमा अरू खुसी छन् भने खुसी बन्न सिकौं न।
आखिर सन्तान हो नि , लिंग विभेद किन गर्नुपर्यो ?
अन्त्यमा, प्यारी साथी जसले महान सोच र विचार राखेर समाजको, परिवारको सामु हिम्मत जुटाएकी छौ तिमी जस्ता धेरै छोरीका आमाहरूको यस्तै पवित्र विचार आओस् ताकि दोस्रो पटक जन्मिएकी छोरीले गर्वले छोरी भएको आभाष गर्न पाऊन्।
छोरीकी आमालाई फेरि पनि बधाइ छ। तिमी खुसी छौ, दुनियाँको ठेक्का लिने दायित्व तिम्रो होइन। भन्छन् आफू भलो त जगत भलो भनेर...।