१८ जेठ, २०७८।
समयलाई सेतो बादलले छेकेको छ। म सेतो बादल देखिरहेको छु। प्रकाश रेस्टुरेन्टको कुर्चीमा बस्दै थियो। प्रकाश सापकोटा मेरो कलेजको जुनियर भाइ। मेडिसिनको रेसिडेन्ट, डाक्टर।
म उसको कथा सुन्न आएको स्रोता। कुर्चीमा बसेपछि उसले फेरि भन्यो- ‘आठ घण्टा भयो दाइ पिपिईमा बसेको। पसिनाले निथ्रुक्क कपडा तपाईंले देख्न पाउनु भएन। नुहाएर आएको।’
ऊ भन्दै थियो- ‘आजकाल त पिपिईको यति बानी परिसकेछ कि पिपिई त सामान्य ज्याकेट जस्तो लागि सक्यो।’
प्रकाश सामान्य हुन खोज्दै फेरि भन्यो- ‘अवस्था बेहाल थियो दाइ तर समयले नै रहेछ बादल हटाइदिने।’
‘समय होइन, तिमीले हो बादल हटाउने,’ म भन्दै थिएँ।
‘म होइन दाइ, हामी भन्नुस्,’ प्रकाश ऊसँग आएको साथीलाई इसारा गर्दै भन्दै थियो। साथी कुर्चीमा बस्दै थियो, भन्यो- ‘महामारी एकले व्यवस्थापन गर्न सक्ने भए महामारीको महा निकालिदिए भइहाल्यो नि।’
हामी हाँस्दै कुरा गर्दै थियौँ। खाजा आउँदै थियो। प्रकाश सुनाउँदै थियो। क्लान्त समयका सुरुका दिन थिए।
म पहिला ती आमालाई सम्झन्छु। दोस्रो लहरकी पहिलो बिरामी। उहाँ इन्डोस्कोपी (मुखबाट पाइप छिराएर पेटको जाँच) गर्नुपर्ने भएर आउनु भएको थियो। नियमित जाँच गर्दा उहाँलाई कोरोना लागेको पुष्टि भयो।
उहाँलाई अक्सिजन चाहिने भएको थियो। पहिलो संक्रमण भएको बेला हामीले अस्पतालको बर्थिङ सेन्टरलाई (प्रसूति कक्ष जो पाँच तलाको छ) कोरोना वार्ड बनाएका थियौँ। आमा सिकिस्त हुँदै जानु भएकाले उहाँलाई प्रसूति कक्षको कोरोना वार्डमा छुट्टै राखियो।
त्यसको दुई, तीन दिनमा संक्रमण उच्च हुन थाल्यो। बिरामीहरुको आवागमन बढ्न लाग्यो। कोभिड लागेर चार/पाँच दिन भएका बिरामीहरु अस्पताल भर्ना गर्नपर्ने भएर आउन लागे। पाँच जना बिरामीहरु भएपछि हामीले त्यहाँका कोठाहरु व्यवस्थित बनाउन लाग्यौँ।
दुई, तीन दिनमा हामीले बनाएका शय्याहरु सबै भरिए। राताराता उक्त पाँच तलाको भवन खाली गरेर ६० शय्या बनायौँ। यही बेला देशले कोरोनाको बिरामी धान्न नसकिने भनेर लकडाउन गरेको थियो। हामीले बनाएको ६० बेड तीन दिनमा भरियो।
हाम्रा संघर्षका दिन आउँदै थिए। ती शय्यामा भरिएका बिरामीहरु त भर्खर रोगको सुरुका दिनमा थिए। उनीहरुलाई अझै १०/१२ दिन शय्या चाहिने हुन्थ्यो। बिरामी आउने मात्र थियो। निको भएर जाने बिरामीहरु थिएनन्।
११ औँ दिनमा त झनै अवस्था बिग्रियो। अक्सिजन चाहिने बिरामीहरु बढे। अक्सिजन चाहिने मात्रा बढ्यो। १५ लिटरभन्दा बढी अक्सिजन चाहिने बिरामीहरु धेरै आए। धेरैलाई सघन उपचार कक्ष (आइसियू) चाहिने भएको थियो। हामीसँग जम्मा पाँच वटामात्र थियो।
हाम्रो व्यवस्थापन र सीपको परीक्षा सुरु भएको थियो। हामीले बनाउन सकिने कक्षहरुलाई व्यवस्थापन गरेर आइसियू बनाएका थियौँ। त्यो बेलासम्म हामीहरु सात जना डाक्टर र नर्सहरुमात्र वार्डमा छिर्ने गरेका थियौँ। हामी मेडिसिन र यनेस्थेसीया (बेहोस बनाउने) विभागका मात्र थियौँ।
स्वास्थ्यकर्मीको मात्रा बढाउनु पर्ने थियो। प्रत्यक दिन कम्तीमा १९ जनाको टोली बनायौँ। अरु विभागका साथीहरु पनि बोलायौँ। अक्सिजन कन्सन्ट्रेटरको प्रयोग गर्न लाग्यौँ। सिलिण्डरको हाहाकार भइरहेको बेला थियो। हाहाकारमा अनेकन व्यवस्था र उपाए लगाउनु पर्छ।
हामीले एक सिलिण्डरबाट दुई जनालाई समेत दिने व्यवस्था गर्यौं। त्यतिन्जेलसम्म हाम्रो बेडहरुको सङ्ख्या १०० पुगिसकेको थियो। थप २०/२५ जना बिरामीहरु थपिए। संक्रमणको चाप थेग्न सक्नेभन्दा बढी थियो। घर फर्कनेभन्दा भर्ना हुने बिरामीहरु धेरै थिए। बेडहरु भरिएका थिए।
बेडहरुभन्दा बिरामीहरु धेरै थिए। तर पनि अस्पताल आएका बिरामीहरुलाई यतिकै घर फर्काएको मलाई याद छैन। फोनहरु आउथ्यो। हामी बेड छैन भन्थ्यौं। कोही सक्नेहरु अर्को अस्पताल लान्थे। कोही त सकिएन भन्दै हाम्रै अस्पतालमा आउँथे।
बिरामीहरु डिस्चार्ज गर्ने समय भएको थिएन। कोही बिरामीहरु स्थिर भएका थिए। बिग्रदो अवस्थाका थिएनन्। ती स्थिर भएका बिरामीहरुलाई २५ वटा कोभिड बेडहरु बनायौँ। वार्डहरु मिलाउन, बनाउन र सम्रग्रमा कोभिडको व्यवस्थापन गर्न अस्पतालले एक समूह (टिम) बनाएको थियो। अझै छ।
सिनियर सर, म्यामहरु अनि अस्पताल व्यवस्थापनका सरहरुको राम्रो सहयोग मिलेको छ। संकटमा केही कमजोरीहरु पक्कै हुन्छन् तर सबैको प्रयासले हो हामीले अग्रपंक्तिमा रहेर काम गर्न सकेको।
म भन्न सक्छु यदि मेरो परिवारको कोही बिरामी परेको भए म यही अस्पतालमा लेराउने थिएँ। यति भनिरहँदा प्रकाशका आँखा तिखा भएका थिए।
अस्थिर वार्ड थियो त्यो समय। मानिसहरु स्या स्या गरेको आवाज बाहेक केही सुन्न सकिँदैन थियो। हरेक बेडबाट बोलावट आउँथ्यो। हरेक बेडका बिरामीहरु सास फेर्न कसरत थिए। हामीसँग पर्याप्त अक्सिजन थिएन।
हरेक बेडमा आमा-बाहरुको प्रयास देख्दा खै के हुन लागेको आभास हुन्थ्यो। भावुक हुने समय थिएन। समवेदनाहरु शून्य थिए। बिरामीहरु सास फेर्न सक्दैन थिए, हामीलाई सास फेर्न फुर्सद थिएन।
हामीहरु पिपिई लगाएर ६ देखि ८ घण्टा ती शय्याहरुमा घुमिरहेका हुन्थ्यौँ। हामीहरुले दिन सक्ने अक्सिजन र केही औषधिहरुमात्र थिए। हामी हाम्रो नियमित राउन्डमा सबै जाँचहरु गर्थ्यौं।
कहिलेकाहीँ त हामी ६ जना रेसिडेन्ट (मास्टर्सको विद्यार्थी) डाक्टरमात्र हुन्थ्यौँ। दिनमा दुई चोटी राउन्ड अझैपनि लिइरहेका छौँ। अझै पनि संक्रमण निको भइसकेको छैन। केही आरामको सास लिन पाएको मात्र हो।
कहिलेकाही सोच्छु। म केको लागि काम गरिरहेको छु? मेरो इमानको लागि? मेरो अहमको लागि? मेरो सन्तुष्टिको लागि? कि मेरो रेसिडेन्सीको लागि? होइन! म आफै आफ्नो उत्तर दिन्छु।
म त ती स-साना धन्यवादहरुका लागि काम गरिरहेको छु। ‘धन्यवाद!’ कोही म हिँडिरहेको कोरिडोरको छेउमा हुत्याएर जान्छ। कसैकी आमा दुई हात जोडेर उभिइरहनु भएको हुन्छ। कहिले बिरामी छोराको बाबा बाटोमा भेटिनुहुन्छ।
उहाँहरुको धन्यवादमा म आफ्नै बा-आमाको झल्को पाइरहेको हुन्छु। म प्रस्ट थाहा पाउछु। उहाँका आँखामा म आफू छोरा बनेको देखेको हुन्छु। मानिसको ओठले धोका दिनसक्छ तर मानिसको आँखाले हर शब्द प्रस्ट बोल्छ।
केही थोपा आँसुले मास्कमा बाटो बनाउँदै हुन्छ। म उहाँहरुको मास्कले ढाकेको अनुहार भित्र चिहाएर भन्न सक्छु। म उहाँको छोरा बचाइदिने। कर्मले बनाएको छोरो।
कुनै धन्यवाद सुनाउँदै गरेका हातहरुमा सामलहरु हुन्छन्। अस्पतालको मूल ढोकाबाट टाढिँदै गरेका, निको भएर घर फर्कँदै गरेका हातहर हुन्छन्। हो, यही दिन देख्न मैले दुःख गरेको। यही दिन देख्न हो मैले डाक्टरी पढेको। पहिला डराएपनि अब मेरा बा-आमा मदेखि गर्व गर्नुहुन्छ। मेरो जिद्दीमा गर्व गर्नुहुन्छ। हो, यही दिन देख्न मैले जिद्दी गरेको।
पिपिई लगाएर नचिनिने भएको मेरो अनुहारलाई पनि धन्यवादले नमस्कार गर्छ। आफ्नो दिनभरिको दुःख सुनाएर कसैले परायालाई आफ्नो बनाउँछ। मलाई आफ्नो बनाउँछ। आशा निकै सानो भइसकेको छ आजकाल।
ती दाइहरु, ती दिदीहरु, ती बाहरु, ती आमाहरु एक पटक गएर बोलिदिँदामात्र संसार भरिको उत्कृष्ट उपचार पाएको हाँसो मुस्कुराउँछन्। म सोच्छु मैले के दिएको छु? केवल एक मुठी सास। सायद न्यानो माया पनि।
म उहाँहरुकोमा बारम्बार जान्छु। दिनमा दोस्रो पटक पनि जान्छु। आउँछु म मेरो वार्डमा, दोस्रो पटक पनि आउँछु। हरेक पटक आउँदा अन्य सामान्य बिरामीहरुलाई दिने उपचारभन्दा बढी लिएर आउँछु। म आउँछु भन्ने उहाँहरुलाई आशा थिएन। सायद अन्य अस्पतालका किस्साहरु सुनेर ज्ञानी भएको हुनहुन्छ उहाँहरु।
म किन नआउने मेरो घर? घर त त्यहाँ हुन्छ जहाँ आत्मीयता हुन्छ। जहाँ आमाको ममता हुन्छ। यी वार्डका कोरिडोरहरुमा मैले धेरै आमाहरु भेटेको छु। कोभिडले बनाइदिएको। मैले दिन रात बिताउने मेरो वार्ड जहाँ म मेरो घरभन्दा बढी समय बिताएको हुन्छु। मेरो घरमा म बारम्बार आउँछु।
मेरो मन ढक्क गर्वले फुल्छ। मेरा बिरामीहरुले बिरामीका कुरुवाहरुले अक्सिजनका लागि त्यति धेरै दौडादौड गर्न परेको छैन। अनि म आफै कसैप्रति कृतज्ञ हुन्छु। ती अक्सिजन ल्याइदिने मेन्टेनेन्सका दाइभाइहरुप्रति। ती ढाड दुखाउने गह्रुंगा सिलिण्डर खस्रो बाटोमा बोकेर ल्याइदिनेहरुप्रति। दिन रात नभनि अक्सिजनका चुहिएका पाइपहरु बनाइरहने कर्मठ हातहरुप्रति।
को, कहाँ, कहिले नायक बन्नसक्छ थाहा हुँदैन। लाग्छ हरकोही नायक बन्नसक्छ। केवल ठिक समय र ठिक स्थानको आवश्यकतामात्र हो।
ज्ञानी हर कोही ज्ञानी देख्छ।
फूल हर कोही फूल।
म सबतिर नायक देख्छु।
मेरा बिरामीहरु पनि।
म केवल उभिएर उहाँहरुलाई उपचार गरिरहेको छु। मेरो उपचार सामान्य छ। मेरो ज्ञान सामान्य छ। म सामान्य छु। म भगवान होइन न कुनै जादुगर हुँ। हुँ त केवल सेतो कोटे डाक्टर। सायद भगवानको हात।
आखिरमा सन्तुष्टि रहेछ सबथोक। कमसेकम हामीले हाम्रा बिरामीहरुलाई मध्यम प्रकृतिको रोगबाट गम्भीरमा जान दिएका छैनौँ।
‘फेरि आउनु भयो तपाईंहरु!’ वार्डमा छिरेकोमात्र थिएँ एक बिरामी आमाले भन्नु भयो। सायद उहाँलाई दिनमा तेस्रो चोटि पनि डाक्टर आउछन् भन्ने अपेक्षा छैन। उहाँलाई सास फेर्न गाह्रो भयो भनेर म फेरि कोरोना वार्ड छिरेको थिएँ। उहाँ कति ज्ञानी हुनुहुन्छ भने मलाई देख्ने बित्तिकै आँसु बगाउनु हुन्छ।
मैले उहाँलाई गरेको खासै केही हैन। उहाँका कुरा सुनिदिएको मात्र हो। उहाँ मलाई देख्यो कि हौसिनु हुन्छ। धेरै आशिष दिनहुन्छ। मेरो आयुपनि तपाईंलाई लागोस् भन्नु हुन्छ। उहाँको छोरी उहाँलाई अङ्गालो हाल्दै थिइन्।
कृतज्ञताको नजर फाल्दै भन्छिन्- ‘आमा सधैँ तपाईंहरुकै कुरा गरिरहनु हुन्छ। साना-साना बाबु-नानीहरुले आफ्नो ज्यानको माया मारेर हामीलाई सेवा गरेका भन्नु हुन्छ।’
‘डाक्टरहरु भगवान भनेको यस कारण रहेछ,’ आमा फेरि रुन थाल्नु भयो।
म एकटक प्रकाशको कृति सुनिरहेको थिएँ। ऊ एकछिन मौन बन्यो। उसको साथीलाई फोन आएको थियो। ऊ कोरोना वार्डतर्फ गइसकेको थियो। खाजापनि खान सकेन विचराले। दौडिहाल्यो। उसको पनि कथा सुन्ने मेरो इच्छा अधुरै रह्यो। फेरि कुनै दिन।
‘धेरै आँसुहरु देख्न पाएँ दाइ,’ प्रकाश भन्न लाग्यो, ‘धेरै खुसीका आँसुहरु छन्। खुसीका आँसुहरुले पनि मन पगाल्ने रहेछ। कहिले अनायासै मन गद्गद् हुने र आँखाको आँसु टिलपिल भएको आफैलाई थाहा नहुने। पिपिईभित्र सासको बाफ चस्मामा यसै भरिएको हुन्छ। धुलमिल हुन्छ दृष्यहरु त्यसमाथि आँसु आउन खोज्छ।’
कुरुवाहरुका आँखाहरु देख्दा पनि अपार स्नेह पाउछु दाइ। आफ्नै दाइ-दिदीहरु जस्तो लाग्छ। मेरो गाउँ पनि त यो अस्पतालबाट नजिक छ। मेरै आफन्तहरुपनि त आउनु भएको छ। खुसी लाग्छ। उहाँहरुलाई त्यति अक्सिजन खोज्दै भौतारिँदै दौडन परेको छैन। हामीले धेरै हदसम्म व्यवस्थापन गर्न सकेका छौँ। मेन्टेनेन्सका दाइ-भाइहरुलाई जति धन्यवाद दिए पनि पुग्दैन।
धन्यवाद त म हरेक बिरामीहरुलाई पनि दिन्छु जो हरेक पल संघर्ष गरिरहेका छन्। ३३ प्रतिशत अक्सिजन भएका बिरामीहरु पनि निको भएर घर फर्केका छन्। व्यक्तिको सफलता असफलताको मूल श्रेय उही व्यक्तिलाई जान्छ। सहयोगीहरु त केवल सहायकमात्र हुन्।
एक ३३ वर्षको केटालाई देख्दा भने मनले अपार सन्तुष्टि पाउँछ। ऊ सातौँ दिनमा सास फेर्न गाह्रो भयो भनेर आएको थियो। उसलाई लामो समयसम्म अक्सिजन (सिप्याप) दिन परेको थियो। ऊ लामो समयपछि निको भएर घर गएको देख्दा मन गर्वले ढक्क फुल्छ। यस्ता धेरै उदाहरणहरु छन्। ३० दिनसम्मको आइसियू बसाइपछि पनि निको भएर घर गएका धेरै छन्।
कुरुवाहरुको पनि प्रयासकको प्रशंसा गर्न पर्छ। केही बिरामीको सफलता असफलता कुरुवाहरुको प्रयासमा पनि निर्भर भएको छ। कहिले काही अस्पतालको अक्सिजन लाइन बिग्रने, चुहिने भइरहेको हुन्छ। चौबिसैँ घण्टा निरन्तर लागिपरे पनि कही न कतै फुस्किहाल्दो रहेछ। आखिर व्यक्तिको पनि त सीमितता छ।
६० लिटर अक्सिजन दिनु है भनेर जाँच गरेर आएको बिरामीलाई पिपिई खोलेर कोठामात्र पुग्न पाएको हुँदैन फोन आउँछ। मेसिन जोड्न नसक्दा अक्सिजन घटाउन परेको हुन्छ। घटाउँदा पीडा हुन्छ दाइ।
हाम्रो अस्पतालमा पनि महामारीका धेरै कहानीहरु छन्। मृत्युका कहानी पक्कै राम्रो हुँदैन। एकै परिवारका धेरैलाई सिकिस्त बनाएको छ। कोरोना नलाग्ने लागेपनि केही नहुने परिवारपनि धेरै छन् तर कुनै परिवारको त बालबच्चा हेरिदिने वयस्क कोही बाँकी छैनन्।
हजुरबा, बा र छोरा क्रमशः गएको देखेको छु। सँगैको खाटमा दाजुभाइहरु गएको देखेको छु। भाइ अर्को अस्पतालमा मृत्यु भइसकेको छ, दाइलाई यहाँ थाहा छैन। दाइ निरन्तर भाइको बारेमा सोधिरहनु हुन्छ। श्रीमान् निरन्तर श्रीमतीको बारे सोधिरहेको हुनुहुन्छ। कहिलेकाहीँ त वार्ड रुवाइले भरिएको हुन्छ। कोरिडोरबाट हिँड्न सक्दिनँ। दुःखको खबर त कसरी सुनाउनु खै?
एकजना बिरामी, १५ दिन अस्पतालमा राखेपछि ठिक हुँदै थिए। अस्पतालका बेडहरुमा बिरामीको चाप उस्तै थियो। अब घरमै अक्सिजन लगाएर उपचार गर्ने निर्णय गरेका थियौँ। एक लाख १५ हजारको अक्सिजन कन्सन्ट्रेटर किन्न लगाइयो।
पैसा छैन भन्दै थिए। भोलिपल्ट किनेर पनि लिएर आए। ऋण गरेर किनेका रहेछन्। डिस्चार्ज हुने दिनमा बिरामीकी श्रीमती ह्वा ह्वा गरेर रुँदै थिइन्। श्रीमान् त बिहान बितिसक्नु भएको रहेछ।
सबभन्दा बढी त एक २५ वर्षको भाइलाई बचाउन नसक्दा मन कुटुकुटु खान्छ दाइ। अझैपनि उसको सम्झना छ। हरेक बिरामीमा म उसको अनुहार देख्छु। त्यसकारण हरेक बिरामीहरुलाई मेरो सक्दो दिने गरेको छु।
मेरो गाउँको भाइ थियो। सानोमा गाउँ जाँदा काफल टिपेर ल्याइदिन्थ्यो। सहरबाट चकलेट ल्याइदिनु है भन्थ्यो। कहिले ठूलो भएछ? कोरोना लागेको सात दिनमा अक्सिजन चाहिने भएर आएको थियो। हाम्रो प्रयासले केही काम लागेन। मेरै आँखाअघि गयो। उसको बाबाले मलाई स्कुलमा पढाउनु हुन्थ्यो। उहाँलाई उत्तर दिन सकिनँ। उसले दिएको काफल सम्झँदा आँसु झर्छ, दाइ।
‘यस्तो समवेदना निकै छन्।’
म प्रकाशको अनुहार निरन्तर हेर्दै थिएँ उसको मुहार मलिन थियो। अर्को समय अनायासै मुस्कुरायो। ऊ हाम्रो कुर्ची तर्फ आउँदै गरेको केटो देखाउँदै थियो। ‘यो भाइ देख्दा ती सबै बिर्सन्छु म।’
२४/२५ वर्षको केटो हुनपर्छ। ऊ प्रकाशलाई नमस्कार गर्दै थियो।
‘तपाईंलाई कथा चाहिएको हैन। यो भाइलाई सोध्नुस्’ प्रकाश मलाई इसारा गर्दै थियो।
प्रकाशको इसारा पाएपछि कुर्चीमा बस्दै केटो भन्न लाग्यो- ‘यस्तो पो अस्पताल।’
मेरो ओठमात्र मुस्कुरायो। पूर्ण हाँस्न सकिनँ। एक-एक बिरामीका लागि हामी हरेक कर्मचारीले धेरै त्याग गरेका छौँ। हामीलाई आर्थिक प्रोत्साहन छैन। परिवार वियोग छ। हाँस्ने माहोल छैन।
अस्पतालको भित्री पीडा त हामीलाई थाहा छ। तर यो केटो त यसरी भन्छ कि हाम्रो अस्पताल पूर्ण छ। सबै सन्तुष्ट छन्। आखिर मानिसको के आशा छ र के पाउँछ त्यसमा उसको विचार निर्माण हुने रहेछ।
केटो भन्दै थियो- ‘आठ घण्टा अर्को अस्पतालमा बसेको १४ हजार लियो। गरेको केही होइन। बेडमा बसेको मात्र हो। धुलिखेल अस्पतालमा नौ दिन बसेँ एक रुपयाँ पनि लागेन। डाक्टरहरु पनि बिहान-बेलुका नियमित आउने। वार्डमा एक दुई डाक्टर सधैँ भइरहने। खानाको व्यवस्था छ। कुनै अस्पतालमा पनि यति धेरै कर्मचारी छैनन्।’
ऊ यसरी सुनाउँदै थियो कि लाग्छ ऊ अरु सबै अस्पतालहरु चहारेर निरीक्षण गरेर आएको छ। सायद उसले साथीभाइहरुको अनुभवबाट आफ्नो धारणा बनाएको होस्।
हामी बारा खाँदै थियौँ।
‘डाक्टर साप तपाईंलाई नै भेट्न भनेर यहाँ आएको। आज घर जाने।’
उसको डिस्चार्ज हुने दिन रहेछ। ऊ खुसी हुँदै प्रकाशलाई धन्यवाद दिँदै नमस्कार गर्दै बाटो लाग्यो।
ऊ गएको बाटो हेर्दै प्रकाश भन्न लाग्यो- ‘यो भाइ भाग्यमानी रहेछ तर सबै छोराहरु यसरी भाग्यमानी छैनन्। वार्डमा एक छोरो छ भेट्यो कि आखाबाट आँसु झारौला झैँ गर्छ।'
‘मानिस आत्मीय मानिसको अघिमात्र आफ्नो बह पोख्छ। सायद उसले तिमीलाई आफ्नो ठानेको छ। हरेक डाक्टरको सफलता उसले बनाउन सक्ने आत्मीय बिरामीहरुको संख्यामा भर पर्छ,’ मैले भनेँ।
प्रकाश भन्न लाग्यो- त्यो छोरो कोरोनाले सिकिस्त भएको रहेछ। ऊ बिरामी हुँदा उसकी आमा हरेक दिन उसलाई भनेर अनेक दबाई, सुप, खाना लिएर कोठामा आउदिरहिछन्। भो नआउनु भन्यो नमान्ने। १५ दिन उपचार गरेपछि सोह्रौं दिनमा आमालाई रोगले समात्यो। अक्सिजन ६० मा पुग्यो (सामान्य मानिसमा ९५ देखि १०० सम्म हुन्छ)। आमा अहिले आइसियूमा छिन्।
'मैले आमालाई रोग सारेँ' भन्दै छोरो हरेक दिन भक्कानिन्छ।
प्रकाश फेरि एकछिन मौन बन्यो। फिस्स हाँस्यो। उसका ओठमात्र च्यातिए। यस्तो लाग्दै थियो उसमा मन जड भएको छ। ओखर भएको छ। बाहिर ढुंगा छ। समयले कमलो मनलाई ढुंगाको च्यादर ओडाइदिएको छ। समवेदना स्थिर भएको छ।
हामी कुरा गरिरहेको रेस्टुरेन्टको अर्को टेबलको कुर्चीमा केही मेडिकल अफिसर र रेसिडेन्टहरु आएर बसे। प्रकाशले एक बहिनीलाई देखाउँदै भन्यो- यो बहिनी पनि निकै रुन्चे छे। बिरामीको कुरुवाहरु रोयो कि आफूपनि घ्वा घ्वा रोइदिन्छे।
ती डाक्टर बहिनी होइन होइन भनेर प्रतिवाद गर्दै थिई। म सोच्दै थिएँ- किन हुन सक्दैन? यस्ता डाक्टरहरु पनि त प्रशस्त छन्। आखिर भावनाको पुञ्ज न हो शरीर। कहिले बगिदिन्छ थाहा हुँदैन। पीडा त पर्नेलाई हुन्छ। जसलाई परेको हुन्छ उसले बुझेको हुन्छ। तर कोही हुन्छन्। जो अर्काको पीडामा पनि थामिन सक्दैनन्।
प्रकाश फेरि भन्दै थियो- ‘वार्डमा अझैपनि २९, ३०, ३१ दिन बस्ने बिरामीहरु छन्।’
‘किन घर नगएका त उनीहरु? के निको भएको छैन?’ मैले सोधेँ।
तपाईंले घर जा भन्नु भनेको मर्न जा भनेको जस्तो हो भन्छन् दाइ। के गर्ने? घर रोशी गाउँपालिका। दुर्गम ठाउँ। निकै पर। मानिस जानै अप्ठ्यारो छ, कसरी यत्रो सिलिण्डर बोकेर लानु? एक लगिहाले पनि अर्को लान अर्को महाभारत छ।
अस्पताल आउन एउटा महाभारत सकाएर आएका बिरामीहरु अब फर्कदा उनीहरुलाई आफ्नो गाउँको विकटताको सामना गर्ने सामर्थ छैन। यो त एक सफल उदाहरण सुन्न पाएँ।
म सोच्न लाग्छु। यो महामारीमा विकटले कतिको ज्यान लिएको छ होला? हामीलाई त सुगमको उदाहरण लिँदैमा फुर्सद छैन। हामीलाई हाम्रो कथा लेख्दैमा फुर्सद छैन। दुर्गमका कथाहरु कसले लेखिदिने? कसले भनिदिने? कसले हेरिदिने?
समस्या त दुर्गमको मात्र होइन। उच्च घरनाका बा-आमाको पनि छ। कोरोनाले जे गरेको समान गरेको छ। जात भात वर्ग समुदाय, धनी गरिब भनेर छुटाएको छैन।
बा मलाई इसाराले बोलाउँदै हुनुहुन्थ्यो। उहाँ कपी कलम माग्दै हुनहुन्थ्यो सायद। कलम दिएपछि उहाँ लेख्न लाग्नु भयो- ‘अक्सिजन त पाएँ डाक्टर साप! तर खान पाइनँ। खानाको पनि व्यवस्था गरिदिन पर्यो।’
भएको थियो के भने बालाई हर समय अक्सिजनको उच्च मात्रा चाहिरहने। मुखभित्र पाइप जोडेर अक्सिजन दिइरहेको छ। पाइप निकाल्यो कि अक्सिजनको मात्रा ६० मा पुग्ने, स्वास्थ्य जटिल हुने।
केही समय अक्सिजन राम्रो भएर यत्तिकै बसेको बिरामी अर्को समय पुक्लुक ढलेको प्रशस्त उधाहरण देखेका छौँ हामीले। उहाँलाई त हर समय अक्सिजन चाहिने प्रस्ट थाहा नै छ। जहिले जेपनि हुनसक्छ। बालाई खाना खुवाउन निकै प्रयास गर्न परेको थियो।
अर्को लेखाइले भने मेरो मन कुटुक्क खायो। प्रकाश मलाई उसको मोबाइलमा आएको मेसेज देखाउँदै थियो। म जस्ताको तस्तै सार्दै थिएँ।
‘डाक्टर प्रकाश, म कुञ्जाराम बुबाको छोरी। डाक्टर तपाईंले हामीलाई धेरै सहयोग गर्नु भयो। हाम्रो बुबालाई तपाईंहरुले आफ्नै जस्तै गरेर केयर गर्नु भयो। थ्यांक यू डाक्टर, थ्यांक यू सो मच। तपाईंको धेरै प्रगति होस्। भगवानले तपाईंको सबै इच्छा पूरा गरोस्। थ्यांक यू।'
केको लागि बाँच्नु छ?
केको लागि मर्नु?
डाक्टर भएर
हे जिन्दगी
के गर्दै छु?
कसलाई के दिएको छु?
कुञ्जाराम बा अब यो संसारमा हुनु भएनछ।
म उसको मोबाइल पढेर भावुक हुँदै थिएँ। प्रकाशसँगैको टेबलमा बसेर खाजा खाइरहेका भाइहरुलाई भन्दै थियो।
‘हिँड केटा हो फेरि कोरोना वार्ड जाउँ।’
‘अझ थप एमबिबिएस डाक्टर राख्न पर्यो। मेरा साथीहरुलाई एकदिन बिराएर अस्पताल आए हुने, म भने सधैँ अस्पताल आइरहन पर्ने।’ हाम्रो कुरा सुनिरहेको भाइ गुनासो गर्दै थियो।
जुनियर रेसिडेन्ट भाइपनि आनाकानी गरिरहेको थियो।
‘यसरी रेसिडेन्सी गरिन्छ,’ प्रकाश सम्झाउँदै थियो। आखिरमा उसको निर्देशन टार्न नसकेर सबै प्रकाशको पछि पछि लागे। म उनीहरु गएको हेरिरहेको थिएँ। उसले केही कथाहरु छुटाएको आभास भयो।
आइसियू नमिलाइदिएको भन्दै एक कुरुवाले उसलाई हात हालेको थियो। विचराले नभएको आइसियू कसरी मिलाइदेवस्! उसलाई थर्काउने र गाली गर्ने केही मानिसहरु मैले आफैले देखेको थिएँ।
ऊ त एक प्रतिनिधि पात्र न हो। ऊ एकमा म सारा अग्रपंक्तिका सेवकहरु देखिरहेका थिएँ। वास्तविक जीवनका नायकहरुलाई सलाम गरिरहेको थिएँ।