व्यक्तिले राजनीतिलाई कसरी प्रयोग गर्दछ, जसरी उसले बुझेको हुन्छ। पेसा व्यवसायका रुपमा राजनीतिलाई अपनाउँदा त्यस व्यक्तिको पहिलो प्राथमिकता जीविकोपार्जन हुन्छ, सेवाका रुपमा अपनाउँदा प्राथमिकता सेवामूलक हुन्छ।
पेसा गरेपनि सेवा गरेपनि माध्यम राजनीति नै हुन्छ। दुवैले जीविका यसैबाट गर्दछन्। तर फरक यति मात्र हो, पेसाका रुपमा मात्रै राजनीति बुझेकाले अर्थलाई पुँजी बनाउँदछन् र आफ्नो व्यक्तित्व नष्ट गर्दछन्।
सेवाका रुपमा बुझेकाले यसबाट उपलब्ध अर्थले जीविका गर्दछन् साथै व्यक्तिगत व्यक्तित्वलाई मर्यादामा राखेर व्यक्तित्वलाई पुँजीका रुपमा रुपान्तरण गर्दछन्।
व्यक्तिको राजनैतिक व्यक्तित्व जसलाई व्यक्ति स्वयमले आफ्नो क्षमता, प्रतिभा र इमान्दारिताले निर्माण गर्दछ। यही व्यक्तित्वले जनताका विषयमा रहेर राजनैतिक मुद्धाका आधारमा निर्माण गरिएको विश्वास, सद्भाव, अठोट र निष्कर्षसहितको परिणामका आधारमा राजनैतिक पुँजीको निर्माण गर्दछ।
राजनीतिक पुँजी, कुनै पनि राजनीतिक व्यक्तित्वको एक मात्र पुँजी हुने गर्दछ। जनताबाट व्यक्तित्वले आर्जन गरेको सद्भाव, विश्वास, प्रभाव र क्षमता नै राजनीतिक पुँजी हुने गर्दछ। राजनीतिक पुँजी निर्माण भएका व्यक्तित्वहरु नै कुशल नेता, राजनेता वा कहलिएका नेताका रुपमा प्रस्तुत हुन्छन्।
यस्ता नेतृत्व क्षमता भएका व्यक्तिसँग आफनो प्रष्ट विचार हुन्छ, वर्चस्व कायम रहेको निर्वाचन क्षेत्र हुन्छ, जनतामा उच्च प्रभाव रहन्छ, साथै सार्वजनिक मुद्धालाई सफलतापूर्वक स्थापित गरी माग बमोजिमको परिणाममा पुर्याउने क्षमता राख्दछन्।
कुनै पनि नेताका लागि राजनैतिक पुँजी नै उसको जनमत प्राप्त गर्ने एक मात्र आधार हुने गर्दछ। साथै हुनुपनि यही पर्दछ तर विडम्बना आज राजनीतिमा पुँजीको स्थान आर्थिक पुँजीले लिएको छ।
निर्वाचनमा टिकट पाउनेदेखि निर्वाचन जित्नका लागि गरिने खर्च यस्तै आर्थिक पुँजी हुनेले गर्दछन्। वर्तमान राजनैतिक अवस्था हेर्ने हो भने राजनैतिक पुँजीको प्रयोग गरी निर्वाचित हुने नेता अपवादमा पर्दछन्। यसको परिणाम निर्वाचित भएर पनि संसद, सरकारले जनभावना अपेक्षित कार्य गर्न सक्दैनन् र अन्त्यमा भ्रष्टाचारमा संलग्न रहन्छन्।
राजनीतिक पुँजीयुक्त नेताको जन्म नभएसम्म विकास, निर्माण लगायतका स्थानीय राजनीतिक सम्बन्धित कार्य होस् वा राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिमा असर पार्ने कुनै कार्य तुलनात्मक रुपमा गहन हुन सक्दैन।
हाम्रो जस्तो विकासन्मुख राष्ट्रले राष्ट्रभित्रका आन्तरिक समस्याहरुको नेतृत्व लिन सक्ने नेता पाउँदैनौँ भने, हाम्रा नेताबाट अन्तर्राष्ट्रिय स्तरमा नेतृत्व प्रदान गरेर राष्ट्रिय स्वार्थका बारेमा अन्तराष्ट्रिय व्यक्तित्वका रुपमा नेतृत्व प्रदान गर्ने क्षमता भएका नेता पाउन मुस्किल छ।
जबसम्म राजनीतिक पुँजीयुक्त नेताको जन्म हुँदैन तबसम्म राष्ट्रिय राजनीतिलाई अन्तर्राष्ट्रिय जगतमा हाम्रा अधिकारहरुका निम्त नेतृत्व पाउन सकिँदैन। नेतृत्वलाई पूर्वाग्रह रहित स्वीर्कानु पर्दछ।
राजनीतिक पुँजीयुक्त नेताले पक्षपात रहित राष्ट्रिय हित र स्वार्थमा कार्य गर्दछ। नेपालको आजसम्मको नेतृत्वको इतिहासमा राजा महेन्द्र र विपी कोइराला बाहेक त्यस क्षमताका नेता उदाएका छैनन्। व्यक्तिबाट नै व्यक्तित्व निर्माण हुँदै, नेतृत्वको उदय हुने विषय हो।
राजनीतिक पुँजी यही समाजबाट प्राप्त गर्ने विषय हो, यसलाई कुनै पनि राजनीतिज्ञले जन्मसिद्ध वा विरासतका रुपमा लिएर आएका हुँदैनन्। व्यक्तिले कसरी आफ्नो सोचलाई योजनमा बदलेर आफ्नो क्षमताको विकास गर्दै नेतृत्व लिन्छ र राजनैतिक पुँजीका आधारमा निर्णय गर्ने स्थानमा आफ्नो व्यक्तित्वलाई पुर्याउँदछ भन्ने उदाहरण चीनको पार्टी निर्माण र नेतृत्व चयनको पद्धतिलाई हेरेर सिक्न सकिन्छ।
अमेरिका जस्ता विकसित राष्ट्रहरुमा नेताहरुले निर्वाचन अभियानका मार्फत जनतासँग प्रत्यक्ष आफ्ना राजनीतिक पुँजीको तुलनात्मक बहस प्रस्तुत गर्दछन्। चुनावी अभियानका बखत आफ्ना राजनीतिक पुँजीको प्रर्दशन गर्ने उपयुक्त समय र स्थान नेता गणलाई हुने गर्दछ।
यस बखत आफ्ना राजनीतिक पुँजीलाई दाज्ने तथा आफूलाई चाहिने राजनीतिक पुँजी संकलन गर्ने अवसरका रुपमा प्रयोग गर्दछन्। विकसित प्रजातन्त्र भएका राष्ट्रमा नेताहरु राजनैतिक पुँजीका आधारमा चुनावमा भिडछन् र यही पुँजी देखाएर मत माग्दछन्।
जति धेरै राजनीतिक पुँजीमा आधारित नेता जन्मछन् त्यति नै प्रजातन्त्र बलियो, सफल र सुदढ भएर जान्छ। हामीले राजनैतिक पुँजीलाई बुझ्नु जरुरी छ। राजनीतिक पुँजीलाई प्रायःले समयका आधारमा गणना गर्दछन्। तर त्यस्तो मूल्यांकन सही होइन।
उदाहरणका लागिः लामो राजनीतिक जीवन बिताएर खासै उल्लेखनीय त परै जावस् माखो नमार्ने नेता कहलाइन्छन्। यतिका वर्षदेखि पार्टीमा आवद्ध भएको भनेर पार्टी सदस्यता नविकरण गर्दै व्यथित समय देखाएर, उमेर कटाएर त्यसलाई राजनीतिक पुँजी कायम गर्न खोज्दछन्।
राजनीतिक पुँजी लामो समय राजनीतिमा रहँदैमा आर्जन हुने विषय होइन। सिंगापुरलाई हालको विकासित सिंगापुर बनाउने श्रय पाएका ‘ली कुवान यु’ जीवनको लामो समय आफनो पेसा वकालत व्यवसाय गरेर आफ्नो परिवारको भरण पोषण गरी आफ्ना जीवनका दायित्वहरु आफ्ना सीप, पेसाका माध्यमबाट परिपूर्ति गरी त्यस पश्चात मात्र राजनैतिक जीवनमा प्रवेश गरेका थिए।
व्यवसायिक जीवन व्यतीत गरे पश्चात मात्र राजनीतिक जीवनमा प्रवेश गरेका उनी, सिंगापुरमा राष्ट पिताका रुपमा कहलिन्छन्। यसर्थ समय व्यतीत गर्नु पुँजी प्राप्ती होइन, तर प्राप्त समयमा कसरी र केका लागि समय व्यतीत गरियो भन्ने मूल कुरो हो।
नेतासँग कति राजनीतिक पुँजी छ, त्यसले उसका लागि समय उपलब्ध गराउँदछ। त्यो समय भनेको निर्वाचित भएर पाएको समय हो, यसलाई कार्य अवधि मान्न सकिन्छ।
नेताको जस्तै पार्टीको पनि राजनैतिक पुँजी हुन्छ। यसै पुँजीलाई भज्याएर पार्टीले आफ्ना मत परिणामहरुलाई सुधार गर्दछ। कुनै पनि पार्टीको घोषणापत्र राजनैतिक पुँजी संकलनका लागि तयार पारिएको चेक बुक हो भने त्यस घोषणापत्र अनुरुपको कार्य सम्पादन गर्नु त्यस चेकलाई राजनीतिक पुँजीमा परिर्वतन गर्नु हो।
नेपालमा क्रियाशील पार्टीहरुले पनि यसै गर्दछन्। पार्टीहरुले यसै गरेर हालसम्म मत परिणाम पाइरहेका छन्। उदाहरणका लागि एमालेको वृद्ध भत्ता कार्यक्रम, आफनो गाउँ आफै बनाउँ, नेपाली कांग्रेसको गरिबसँग विश्वेश्वर कार्यक्रम, समाजवादी चिन्तन, मधेसवादी पार्टीको पहिचानको मुद्दा आदि।
पर्टीले यसै संकलित पुँजीका आधारमा मत प्राप्त गर्ने हो। नेताको राजनीतिक पुँजी उसका जीवनकालमा चुनाव जित्नका लागि खर्च गर्दछ भने पार्टीको राजनीतिक पुँजी पार्टीसँगै रहन्छ। पार्टीको राजनीतिक पुँजीले दोहोरो फाइदा पुर्याउँदछ। पहिलो त्यस पार्टी स्वयमका लागि, दोस्रो आवद्ध नेताका लागि।
विश्वव्यापी रुपमा हेर्ने हो भने यसरी राजनीतिक पुँजीका आधारमा नेता कहलिन्छन्, पार्टी निमाण हुन्छ। यस्ता पुँजीयुक्त नेता र पार्टी अनुरुप विकसित राष्ट निर्माणको खाका तयार हुन्छ।
विश्वमा केही उल्लेखनीय उदाहरणका लागि, ली कुआन यु सिंगापुर, मार्ग्रेट थ्याचर बेलायत, महाथिर मोहमद मलेयिा, देङ साऊ पोङ चीन (यद्धपि देङ साऊ पोङ, कहिल्यै पनि चिनियाँ कम्युनिष्ट पार्टीको प्रमुख रहेनन् साथै उनी राष्ट प्रमुख भएर पनि कार्यभार सम्हालेनन् तर चीनको आर्थिक उन्नति, प्रगति सहित आजको आर्थिक रुपमा सम्पन्न चीन बन्नुमा उनको अग्रणी एवं उल्लेखनीय योगदान रह्यो) लाई लिन सकिन्छ।
समग्रमा राजनीतिक पुँजी नभएका वा नबनाउने नेताबाट कुनै आशा गर्न सकिँदैन। राजनीतिक पुँजीभन्दा व्यक्तिगत द्रव्य पुँजी बनाउने नेतालाई राज्यसत्ता सुम्पिदा राष्ट्रको मात्र नभई अन्तर्राष्ट्रिय छवि समेत खराब रहन्छ।
यसैगरी राजनीतिक पुँजी नबनाउने पार्टीलाई एउटा गुट वा स्वार्थी समूहको भिड मात्र मान्न सकिन्छ। यस्ता पार्टीहरुले राष्ट र जनताका हितभन्दा असामाजिक तत्वहरुको पृष्ठपोषण गर्ने, विभाजनकारी एजेन्डा प्रस्तुत गर्ने र जातीय राजनीति गर्ने लिप्सा बोकेका हुन्छन्।
तसर्थ आजको आवश्यकता भनेको राजनीतिक पुँजीयुक्त नेता, कार्यकर्ता र यस्ता नेता, कार्यकर्ताहरुले निमार्ण गरेको पार्टी हुनु पर्दछ। आजको समयमा हामीलाई राजनीतिक नेता र पार्टीको राजनीतिक पुँजीको आवश्यकता छ।
(लेखक अधिवक्ता तथा कृषि अधिकारकर्मी हुन्।)