कोभिड महामारीको दोस्रो लहर केही मत्थर हुने संकेत देखिए पनि संसारभर यसका अरू लहर र खोपले दिने इम्यूनिटी अनि यसका सम्भावित औषधिको चर्चा भइरहेको छ।
प्रस्तुत छ, प्राप्त वैज्ञानिक प्रमाण र मेडिकल इन्डेक्स्ड जर्नल प्रकाशनको आधारमा यिनै केही सान्दर्भिक तथ्यको हालसम्मको निचोड।
१. के हो कोभिड लहर?
कुनै पनि महामारीमा लहर भन्नाले समय अन्तरालमा ठूलो भौगोलिक क्षेत्रमा संक्रमित/प्रभावित संख्या निश्चित बिन्दुसम्म बढेर चुलिने र त्यसपछि पुन: मत्थर हुँदै जाने प्रवृति बुझिन्छ। ठ्याक्कै परिभाषा नभए पनि यसको नाम महामारीको संक्रमितको वृद्धि ग्राफको रेखाङ्क (जुन ठूलो संख्यामा बढेको बेला चुलिएर तरंग (wave) आकृति बन्छ) सँग सम्बन्धित छ।
महामारीले प्रभावित पार्ने संख्या र त्यसको समय वर्ष भरी एकनासको नभई बेलाबेला हलक्क बढ्ने र बिस्तारै तल्लो बिन्दुमा आई फेरि बढ्ने हुन्छ।
२. के-के तत्वले निर्धारण गर्छ लहरको आगमन?
अधिकांश: यस्ता लहर अर्थात् संक्रमणको विस्तृत फैलावट भाइरसमा आएको उत्परिवर्तन (Mutation) (जसले नयाँ भेरियन्ट अर्थात् परिवर्तित रूपको भाइरस जन्माउँछ), वातावरण, ऋतु/मौसम, मान्छेको रोगप्रतिरक्षा (इम्यूनिटी), खोप, मानव आचरण र संक्रमण-चेनजस्ता तत्वले निर्धारण गर्छन्।
स्वभावत: महामारी (pandemic) विश्वभर भए पनि यसका लहर फरक फरक भौगोलिक स्थानमा फरक फरक बेला आउने गर्छ। माथि भनिएका तत्वकै कारण यसको समय, तीव्रता र घनत्व पनि अलग ठाउँमा अलग हुनसक्छ।
३. के हो त तेस्रो लहर?
नेपाल, भारत, बेलायतलगायत संसारका थुप्रै देशमा कोभिडका ठुल्ठूला दुई लहर (ग्राफ-पिक) आइसकेका छन्। केही युरोपेली देशमा दोस्रो लहर धेरै पहिले मत्थर भयो भने नेपालमा दोस्रो लहरका संक्रमित संख्या भर्खर अलि ओरालो लाग्ने संकेतमा छ। अब यो लहरको संक्रमित संख्या तल्लो साबिक बिन्दुमा पुगिसकेपछि पुन: अत्यधिक सक्रमित बढेमा त्यो हाम्रो निम्ति तेस्रो लहर हुनेछ।
४. के तेस्रो लहर आउनसक्छ?
महामारीमा कुन ठाउँमा के कति र कस्तो लहर आउँछन्, यो कसैले दाबी गर्न सकिने कुरा होइन। माथि (बुँदा २) मा भनिएझैं थुप्रै तत्वले यसमा भूमिका खेल्छ। ब्रिटेनमा गत साता लगातार ३ हजार भन्दा बढी संक्रमित देखिएपछि त्यहाँ तेस्रो लहरको लागि तर्क आएका छन्।
त्यहाँ तीमध्ये ३८ प्रतिशतभन्दा बढी इन्डियन भेरियन्टबाट भएको पाइएको छ। दक्षिण कोरियाले तेस्रो लहर र हङकङले चौथो लहर सामना गरिसकेको छ। युरोपका थुप्रै देश (फ्रान्स, जर्मनी) तथा उत्तर अमेरिकी देश (क्यानाडा) पनि कोभिडका पुन: आउने लहरसँग जुधेका छन्। तसर्थ कोरोनाका अझै लहर आउनसक्छन् भनेर हामी त्यसका लागि तयारी गर्नुपर्ने र सावधानीलाई निरन्तरता दिनुपर्ने देखिन्छ।
ती अब आउने लहर दोस्रो जत्तिकै या योभन्दा कम वा बढी बलिया हुनेछन् भन्ने कुरा अहिल्यै भन्न सकिन्न। तर युके या इन्डियन भेरियन्टजस्तै बढी संक्रमण क्षमता भएको भाइरस-रूप आएमा लहर झन घातक हुनसक्छ।
उत्परिवर्तन (Mutation) ले भाइरसलाई कम असरदार बनाउन पनि सक्छ, झन बढी हानिकारक बनाउन पनि सक्छ। तर दुनियाँमा अधिकांश व्यक्ति खोप लगाइसकिएका या भर्खर संक्रमित भएका भएमा, सामाजिक दुरीलाई ध्यान दिईरहेमा र मास्क प्रयोग जारी रहेमा स्वभावत: यसको प्रभाव कम हुनेछ।
५. के नयाँ लहर बच्चामा बढी हुनेछ?
अति कम बच्चामा एम.आई.एस.सी. (MISC) भए पनि मुल रूपको कोरोनाभाइरसको तत्कालिन प्रभाव बच्चामा कम देखिएको थियो। कोभिड कारण बाल मृत्यु प्रतिशत ०.०२% देखि २% सम्म छ। नेपालमा (यो आलेख तयार पार्दासम्म) कुल ७७३१ मृत्युमध्ये १९ वर्ष मुनिका ६८ जना (०.९२%) छन्। कोभिड नयाँ लहरले ठ्याक्कै कसलाई बढी प्रभाव पार्छ भन्ने ठोकुवा गर्न गाह्रो छ। तर बालबालिकाले खोप नलाएको र वयस्कमा खोप प्रतिशत बढेको बेला बच्चामा संक्रमण प्रतिशत बढ्नसक्छ।
६. के नयाँ जब्बर भेरियन्ट भेटिएका हुन्?
भियतनामलगायत ठाउँमा नयाँ बढी संक्रमण क्षमता भेरियन्ट भेटिए पनि यसको विश्व स्वास्थ्य संगठनमार्फत आधिकारिक विवरण आउन बाँकी छ। हालै विश्व स्वास्थ्य संगठनले जारी गरेको सूचना अनुसार ब्रिटेन (अल्फा α) (B.१.१.७), अफ्रिका (बिटा β) (B.१.३५१), ब्राजिल (गामा γ) (P1) र भारत (डेल्टा δ) (B.१.६१७.२) मा पहिले भेटिएका भेरियन्टलाई ‘चिन्ताका भेरियन्ट (variant of concern)’ भनिएको छ भने अमेरिका (एपसाइलोन, आयोटा), ब्राजिल (जिटा ‘P2’), फिलिपिन्स (थिटा ‘P3’), भारत (कप्पा) (B.१.६१७.१) आदिलाई ‘चासोका भेरियन्ट (variant of interest)’ भनी वर्गीकरण गरिएको छ।
जुनसुकै भेरियन्ट भेटिए पनि त्यसको वास्तविक असर समुदायमा आएपछि मात्र प्रमाणित हुने हुँदा पहिल्यै अत्तालिनुपर्ने कारण छैन र सावधानीका उपाय छोड्नु पनि हुन्न। खोपले जस्तोसुकै भेरियन्ट बिरूद्ध केही न केही सुरक्षा दिने हुनाले खोप एक पक्का बिधि हुनसक्छ।
७. खोपले कसरी इम्यूनिटी दिन्छ?
खोप या प्राकृतिक संक्रमण पछि शरीरका ‘बि’ कोषमार्फत् एन्टीबडी उत्पादन हुन्छन् र तिनले किटाणु/जीवाणु छिरेको खण्डमा तिनका निर्दिष्ट बिन्दुमा आक्रमण गरी निस्तेज पार्छन्। तर त्यतिमात्र होइन यिनले मेमरी कोष (‘बी’ र ‘टी’ कोष) बनाएर पुन:आक्रमणको लागि तयार बनाई राख्छन्। तसर्थ रिपोर्ट अनुसार यदि कोही कोही फेरिएको भेरियन्ट न्युट्रलाईजिङ एन्टीबडीबाट बचे पनि ‘टी’ कोषको कोषीय इम्युनिटीमार्फत् समेटिइन्छ।
८. कोभिड खोपको प्रभाव कहिलेसम्म रहन्छ?
कुन खोपको प्रभाव कतिसमय रहन्छ, शुरूमै थाहा हुन्न। जस्तै: दादुराको खोपले आजीवन इम्युनिटी दिन्छ भने बिसिजी आदिको प्रभाव आजीवन हुन्न। अझ फ्लूको खोप त उत्परिवर्तित भाइरसनिम्ति वर्षेनी लाउनुपर्छ। हुन त आर.एन.ए. भाइरसको बारम्बार उत्परिवर्तन हुनु नौलो होइन। कोरोनाको उत्परिवर्तन दर भने इन्फ्लुएन्जाको भन्दा अलिक ढिलो छ।
प्रतिष्ठित जर्नल ‘नेचर’ मा हालै प्रकाशित अध्ययनअनुसार कोरोना संक्रमण भइसकेकाको बोन-म्यारोमा आठ महिनापछि पनि सक्रिय र सक्षम मेमरी कोष पाइएकोछ। त्यस्तै इक्लिनिकल मेडिसिन जर्नलमा प्रकाशित अनुसन्धान अनुसार कोभिड संक्रमित भइ निको भएकामा दश महिनासम्म उल्लेख्य एन्टीबडी भेटिए। फाइजर र मोडेर्ना खोपको असर कम्तिमा करीब नौ महिना रहने दाबी क्लिनिकल ट्रायलको छ।
एकातिर खोपले सबै व्यक्तिमा ठ्याक्कै उत्तिकै प्रभाव छोड्छ भन्ने छैन। अर्कोतिर कोरोना खोपको असर ठ्याक्कै यति समयसम्म रहन्छ भन्ने थाहा छैन। तर यसको तत्कालिन महत्व अत्यधिक छ। यसलाई कालान्तरमा बुस्टर डोज चाहिने या नचाहिनेबारे अध्ययन भइरहेको छ।
९. कोभिडका औषधि कुनै छन्?
अहिलेसम्मको सम्पूर्ण अध्ययनमा गम्भीर बिरामीमा सन्चो बनाउन र मृत्यु नै घटाउन सफल देखिएको औषधि भनेको डाक्टरको पूर्ण निगरानीमा दिइने स्टेरोइडमात्रै हो। यो भन्दैमा सामान्य अवस्थाका कोरोना संक्रमितले स्टेरोइड सेवन गर्नु हुन्न। त्यो घातक सिद्ध हुनसक्छ। स्टेरोइडबाहेक इन्फ्लेमेशन रोक्न ‘टोसिलीजुमाब’ जस्ता औषधि केही प्रभावकारी हुने दाबी छ। तर यो औषधि ‘टोसिलीजुमाब’ सुरूको अवस्थाका बिरामीमा प्रभावहीन देखिएको छ।
रेम्ड़ेसीभिरलाई प्रारम्भिक एक सानो अध्ययनले हस्पिटल रहने अवधि कम हुने आधारमा गम्भीर र आपतकालीन स्थितिका निम्ति प्रयोग गर्न मिल्ने बताए पनि त्यसपछिका बिभिन्न अनुसन्धानले यो प्रभावहीन देखाएकोले एन.आई.एच.(NIH) ले यसलाई स्टेरोइड प्रयोग गर्न नसकिने जटिल बिरामीमा मात्र भनेको छ भने विश्व स्वास्थ्य संगठन र बिभिन्न संस्थागत गाइडलाइनले यसको प्रयोग नै नगर्न भनेका छन्।
सुधार ल्याउने प्रमाण नभेटिएकाले प्लाज्मा थेरापीको पनि अनुसन्धानमा पटक्कै प्रभाव नपाइएकोले यसलाई पनि प्रयोग नगर्न भनिएको छ।
यीबाहेक पुनरूद्देशित औषधि जस्तै ‘एजिथ्रोमाइसीन’, ‘डक्सीसाइक्लीन’, ‘ओसेल्टामिभीर’, ‘हाइड्रोक्सीक्लोरोक्वीन’, ‘कोल्चिसीन’, ‘आइभरमेक्टिन’, ‘फेवीपिराभिर’ आदि कुनै पनि औषधि कोभिड कम गर्ने उद्देश्यको निम्ति प्रभावकारी देखिएको छैन र विश्व स्वास्थ्य संगठन, सिडिसी, एन.आई.एच. आदि कुनै संस्थाको कोभिड औषधि सूचीमा यी औषधि छैनन्। तसर्थ पिसीआर पोजीटिभ आयो भन्दैमा आफूखुसी यी दबाई किनेर खाँदा यिनको खराब असर मात्र हुन्छ। जथाभावी भिटामिनलगायतका ट्याब्लेट लामो समय खाएर इम्यूनिटी चुस्त भइ बिमार नै नलाग्ने भ्रम पनि पालिनु हुन्न। स्वस्थ्य सन्तुलित भोजन र स्वस्थ जीवनशैली नै इम्यूनिटी चुस्त राख्ने अचुक उपाय हुन्। कुनै निर्दिष्ट औषधि खाँदैमा इम्युनिटी बढ्ने (बुष्ट हुने) हुँदैन।
(उल्लिखित सम्पूर्ण तथ्यहरु W.H.O., N.I.H., C.D.C., F.D.A., E.M.A., N.H.S., तथा The Lancet, Nature र अन्य इन्डेक्स्ड जर्नलमा प्रकाशित लेख/पेजमा आधरित सूचनाअनुसार सम्प्रेषित हुन्-डा. धर्मागत भट्टराई।)