‘भूकम्प आयो गाउँ चाहियो...
नाकाबन्दी भयो त्यही गाउँ चाहियो...
सहरमा कुनै विपत्ति आयो त्यही गाउँ चाहियो...
कोरोनाको थरीथरीका लहर आए त्यही गाउँ चाहियो
अनि सहर ? केको लागि चाहियो ? यो सहरले के दियो र गाउँलेलाई ?
सरकार, सहरमा जस्ता ठूलाठूला सुविधा सम्पन्न अस्पताल गाउँमै बनाइदेऊ, सहरमा जस्ता रोजगारीका अवसर गाउँमै दिलाइदेऊ, सहरमा जस्ता स्कुल गाउँमै बनाइदेऊ, सहरमा जस्ता साना तिना सेवा सुविधा गाउँमै पुराइदेऊ, बिन्ती छ हामी सहरमा आउँदैनौं, बस् काठमाडौं सहरमा घुम्नको लागि आउँला, धरहरा चढ्नको लागि आउला, रानी पोखरी हेर्नको लागि आउँला, पशुपति दर्शनको लागि आउँला..। अरू बेला बिर्सेर पनि यो निर्दयी सहरमा फर्कन चाहन्नौं।’
सामाजिक संजालमा भेटिएको यो भनाइले निकैबेर सोच्न विवश बनायो।
साँच्चि यो सहरमा हामीजस्ता गाउँबाट उच्च शिक्षा अध्ययन गर्नको लागि आएका गाउँले नागरिकको के हैसियत छ र ?
जतिसुकै पढाइमा अब्बल भए पनि सहरमा आएपछि हरेक विद्यार्थीको सुरूको पहिचान हुन्छ, गाउँले, गाउँबाट आएको ,केही पनि थाहा नभएके यस्तै यस्तै...।
पढाइमा निकै तगडा भए पनि सहरिया विद्यार्थीकोसामू वाह वाह बन्दैन बरु उल्टै खिसीटिउरीको पात्र बनाइन्छ, आम्मामा... गाउँबाट आएको विद्यार्थी पनि कति ट्यालेन्ट!
सहरले के ठान्छ भने गाउँ भनेको केही पनि होइन जे छ यही सहरमा छ, जो सभ्य, शिक्षित र ट्यालेन्ट वर्ग छन् यही सहरमा छन्।
हाम्रो देश कृषि प्रधान देश हो, यहाँका अधिकांश नागरिक कृषि पेशामा आबद्ध छन्।
मुख्य पेशा कृषि भएका कारण सहरमा पढ्न आउने विद्यार्थीले आफ्ना बुवाआमाको पेशा कृषिभन्दा सहरिया विद्यार्थी गलल्ल हाँसेको तीतो अनुभव अधिकाश गाउँले विद्यार्थीको जीवनमा भोग्नुपर्छ।
सहरमा बस्ने विद्यार्थीका बुवाआमाका इज्जतिला पेशा हुन्छन् उनीहरूको भाषामा भन्नुपर्दा कृषि , पशुपालनबाहेकका पेशालाई सहरले निकै इज्जत गर्दो रहेछ।
मैले आइकम पढ्दा आमाबुवाको शैक्षिक योग्यतामा साक्षर र पेशामा कृषि लेख्दा मेरा सहरिया सहपाठीहरू निकै हाँसेको याद छ। ‘ओई! मान्छे कृषि पेशा गरेर तिम्रा बाउआमाले सहरमा कसरी छोरी पढाउन सक्छन् ? तिम्रा बाउआमाको मासिक तलब आउँछ ? कसरी खर्च व्यवस्थापन गर्छौ’ भन्थे।
सायद यो भोगाइ मजस्ता हजारौं लाखौं गाउँबाट सहर छिरेका आम विद्यार्थीको साझा भोगाइ हो।
सहरले के सोच्छ ? सहरिया नागरिकले के सोच्छन् भन्दा पनि म जस्ता गाउँबाट सहरमा उच्च शिक्षा अध्ययनको लागि सहरमा आएका, सहरका क्याम्पसमा उच्च शिक्षा पढेपछि केही गरौंला भन्ने उच्च मनोभावना बोकेर जन्मभूमि, जन्मदाता , साथीसंगी सबै चटक्क छोडेर बिरानो भूमि सम्झँदै प्रवेश गरेका हजारौं, लाखौं विद्याथीहरू सहरको विलासिता देखेर त्यसमै रमाउँछन्। ठूला ठूला घर, चिल्ला सडक, सुकिलामुकिला मान्छे देखेर राम्रो मान्छन्। आहा! यही भएर त मान्छे सहरमा जाने भन्दा रहेछन् भन्ने लाग्थ्यो र आम गाउँबाट पहिलो पटक सहरमा छिर्ने जो कोही विद्यार्थीलाई लाग्छ। तर जब विपत्ति आउँछ यो सहर मसानघाट जस्तै चकमन्न लाग्छ।
त्यतिबेला आत्मले सोच्न थाल्छ गाउँमा घर टाढा टाढा हुन्छन् तर मन धेरै नजिक हुन्छन्।
सहरमा सासै फेर्न नसकिने गरी घर एक आपसमा टाँसिएका हुन्छन् तै पनि सहरिया मानिसका मन कोसौं टाढासम्म पुगेका हुँदा रहेछन्। विभिन्न समयमा भएका विपत्तिको मात्रै याद गरौं त यो सहर कस्तो लाग्छ ?
सहरबाट कोही गाउँमा जान्छ भने ज्वाइँलाइ जस्तो मेजमान गर्छ गाउँले तर त्यही गाउँबाट सहरको मुख हेर्न, सहरमा रहेका आफ्ना छोराछोरी भेट्न आएका गाउँले बाउआमासँग राम्रोसँग बोल्दा पनि तोलाको बचन खोलामै जान्छ।
सहरमा जसरी कंक्रिटका घर ठडिएका छन्। सहरिया मान्छेका मन पनि त्यसैगरी पत्थर भएका छन्।
यहाँ कोही कसैमा सहयोग र मानवताको नाता नै हराएको आभाष हुन्छ। को मान्छे कस्तो, कस्को व्यवहार कस्तो भन्ने कुरा जब विपत्ति पर्छ त्यो बेलामा मात्रै चिनिन्छ ।
भाडा तिरेर बसुन्जेलसम्म त्यो गाउँले विद्यार्थी, त्यो गाउँले ज्यामी जो सहरमा ज्याला मजदूरी गरेर आफ्नो परिवार पाल्दै आएको छ उनीहरू निकै गतिला हुन्छन् तर जब विपत्ति आउँछ, स्कुल क्याम्पस पढ्ने विद्यार्थी संकटमा पर्छ, ज्याला मजदूरी गर्ने मजदूरको रोजीरोटीको बाटो रोकिन्छ तर निर्दयी सहरले उनीहरूलाई धपाउन खोज्छ बस् धपाउन मात्रै खोज्छ ।
एक हप्ता, एक महिनाको लागि पनि आश्रय दिन सक्दैन। त्यो विद्यार्थी, त्यो मजदूरले सितैमा बस्न चाहेको हुँदैन, बस्न खोज्दैन पनि।
गाउँबाट बाउआमाले पैसा पठाउन सक्ने अवस्था छैन, श्रमिकको काम रोकिएको छ। काम गर्ने वातावरण भए पनि कमाएर घर भाडा तिर्छु भन्दाधरी उनीहरूले सुख पाउँदैनन्।
भाडा नतिरेकै बहानामा कतिपय स्थानमा डेरावाल कुटिन्छन्, घरबाट जर्वजस्ती अपमान गरेर निकालिन्छ या यातना दिइन्छ।
पोहोरको जस्तो दु:ख यसपालि सहर छोड्नेहरूले भोग्नु परेन। यसपालि सरकारले दुईदिन अगाडिदेखि नै निषेधाज्ञाको सूचना प्रकाशित गर्र्यो।
कतिपय यात्रुहरू गुनासो गर्दै बाहिरिएका देखिन्थे, निर्दयी सहरले के दियो र हामी गाउँलेलाई ? अब तिम्रो सहर छोडी टाढा टाढा जाँदै छु त्यो पनि नफर्कने गरी...
साँच्चि यो सहर कति निर्दयी ? यही सहरमै सरकार छ, यही सहरमै मन्त्रालय छन्, ठूलाठूला महल छन् तर विपत्तिमा, संकटमा गाउँलेको हेरचाह गर्न सक्दैन। सहरमा थोरै मात्रै रहरले र धेरै विभिन्न बाध्यताले भित्रिएका हुन्छन्। अधिकांश सहरियामा पहिले गाउँले जीवन नै बिताएका अनुभव छ। तै पनि उनीहरूले आफ्नो दायित्व बोध गर्न सक्दैनन्।
काठमाडौंमा देशका सबै जिल्लाका प्रबुद्ध व्यक्तिको बसोबास छ। राजनीतिक रूपमा बलिया र अलिकति पहुँच भएका व्यक्तिहरूले मनमा सेवाभाव र हृदयमा धर्म बोध गर्ने हो र आ-आफ्नो निर्वाचन क्षेत्रका बासिन्दा कहाँ कति जना कस्तो अवस्थामा छन्। त्यसको मात्रै हेक्का राख्ने हो भने हरेक विपत्तिमा गाउँमै सहरलाई धारे हात लगाउँदै जानुपर्ने थिएन।
अवस्था सामान्य भए पनि एकाधबाहेक अधिकांश नागरिक जसरी गाउँमा गएका थिए उसैगरी फेरि यही सहरमा भित्रनु पर्छ। यो अवस्थाको दीर्घकालीन उपाय के हुन्छ ?
सहरमा जस्ता अवसर गाउँमा उपलब्ध गराउन तीन तहको सरकार हुँदा पनि किन सकिएन ? यो विषयमा कहिले बहस पैरवी हुने ?
गाउँगाउँमा सिंहदरबार पुगेको भए किन गाउँगाउँका बासिन्दा यही सिंहदरबारको छत्रछायामा आफ्नो भविष्य देखेर जोखिम मोलेर भित्रन बाध्य भइरहेका छन्?
आखिर गाउँ नै सबैथोक हो हामी गाउँलेको लागि। कम्तीमा गाउँमा समाज छ, सामाजिक चेतना छन्, सेवा र सहयोग भाव छ जुन यो सहरमा छैन।
सहरमा एउटा कोठामा मान्छे मर्दा सँगैको अर्को कोठाका बस्नेले पत्तो पाउँदैन। अनि अब पनि हामी यही सहरमा आफ्नो भविष्य खोजिरहने कि गाउँमा आफ्नो सीप र दक्षता पोख्ने ?
अलिकति बाटो देखाइदेऊ सरकार सहरमा गल्लीमा छिनो र घन समाउने हात, डोकोमा गिटी र बालुवा बोक्ने ज्यानले आफ्नै गाउँलाई हराभरा बनाउन सक्छ।
रोजगारीका अवसर गाउँगाउँमा पुराइदेऊ आमाले पकाएको खाना खाएरै घर अफिस गर्छन छोराछोरी।
वर्ष दिनमा एकपटक भेट्नेगरी टाढिएर सहरमा आउँदैनन्।
सिकिस्त बिरामी पर्दा तुरून्तै अस्पताल जाने व्यवस्था गाउँमै गरिदेऊ, तीन चार दिन लगाएर, बारी खेत बेचेर सहरमा अस्पतालमा कुनै गाउँले आउँदैनन्।
राम्रा स्कुल क्याम्पस गाउँमै खोलिदेऊ सहरमा सोर्स लगाएर भर्ना हुनकै लागि कोही आउँदैन।
बस् सहरको सुगमता गाउँमा पुगोस्, गाउँको कहालीलाग्दो लावालस्कर हरेक विपत्तिमा यसैगरी नओइरियोस्।
आखिर एक पटक होइन पटक पटक यो सहरले गाउँलेलाई चोट दियो गनीगनी...