कोरोनाले सबैभन्दा बढी थिचेको देशमा छु म। अमेरिकालाई कोरोनाले बेहाल बनाउँदै गर्दा कहिलेकाहीँ त लाग्थ्यो, फर्किहाल्छु।
तर, उस्तै बाध्यताहरूले मलाई पनि थिच्यो अनि सहिरहें।
बाहिरबाट सुनेजस्तो कोरोनाको ठूलो समस्या थिएन अमेरिकाभित्र। पोहोर साल यिनै दिनहरूमा कोरोनाका दैनिक हजारौं बिरामी थपिन्थे।
आफ्नो ख्याल राखेस् भन्नेहरू भन्दा बल्ल खाइस भन्नेहरू टन्नै भेटिन्थे सामाजिक सञ्जालतिर। नेपालमा शान्त थियो, लकडाउन भए पनि त्यति सारो डरलाग्दो अवस्था थिएन।
कोरोना कहरका समाचार, दैनिक मृत्युदरकै कारण हामीले काम छाड्यौं। घरमा बस्न थाल्यौं। अमेरिकी सरकारले हाम्रो खातामा मासिक हजारौं डलर हाल्न थाल्यो।
कोरोनाकै कारण बेरोजगार भएकाहरूको खातामा यसरी पैसा आउन थाल्यो कि त्यति पैसा त हामी काम गर्दा पनि कमाउदैनथ्यौं। घरभित्रै बसेर अमेरिकी सरकारको पैसा खाँदा पनि मनमा डर भइरह्यो। कोरोनाले सातो लिइरह्यो।
विस्तारै कोरोनासँगै जिउने अभ्यास हामीले गर्न थाल्यौं। सतर्कता अपनाउँदै काममा फर्कन थाल्यौं। अमेरिकी सरकारको फ्रिको पैसा ‘अब चाहिँदैन, हामीले काम गर्न थाल्यौ’ भन्ने म्यासेज गरेर बन्द गरायौं।
काम गर्दा भन्दाबढी पैसा बसेर आउँदै थियो, किन नलिएको भन्ने प्रश्न हुन सक्छ। केही ले त अझै पनि त्यो पैसा लिइरहेका छन्। तर हामीजस्ता केही साथीहरूको लागि फ्रि को त्यो पैसा भन्दा ठूलो आफ्नो हैसियत बनाउनु थियो, जुन हैसियत सरकारलाई कर तिर्दा बन्छ, फ्रिको खाँदा हैसियत घट्छ।
कर तिर्नको लागि चेक काट्नुपर्छ, चेक काट्नु भनेको रोजगारीमा फर्कनु हो। रोजगारीमा फर्कनु भनेको अब मलाई बेरोजगारी पैसा चाहिँदैन भन्नु हो।
कोरोना कहरले अमेरिका थिलथिलो भयो भनेर टोले गफ दिनेहरू चोक-चोकमा भेटिन्छन्। तिनैका गफले मेरा बा आत्तिनु हुन्थ्यो। अमेरिकाभित्रै खान पाइएन, रोजगार छैन भन्दै रुँदै सामाजिक सञ्जालमा आएका पनि थिए। तर ती बाहियात थिए। भाइरल हुने सजिलो बहाना।
हो! कोरोनाले अमेरिकाको सरकारलाई थिचेको थियो होला। आर्थिक संकटमा बल्झेको थियो होला तर जनताले आर्थिक समस्या बेहोर्नु परेन। काम नगर्दा पनि गरे बराबरको रकम सिधै बैंक खातामा जम्मा भइरह्यो।
कोरोनाका बिरामी अमेरिकामा मात्र यति बढे भन्दै विश्व डराइरहेको बेला अमेरिकाले कोरोना चेक गर्दै सबैलाई सजग गराइरह्यो। नेपालमा एक जनाको कोरोना चेक गर्दा यति खर्च भनेर हिसाब गर्दै बसेको बेला अमेरिकाभित्र कोरोना चेक गर्ने क्याम्प लागे, चोक-चोकमा कोरोना चेक हुने बुथ खुले।
दैनिक लाखौंको संख्यामा चेक हुन थालेपछि हजारौंको संख्यामा संक्रमित देखिनु सामान्य थियो। तर, विश्व डराउन छाडेन। अमेरिका बिना लकडाउन चलिरह्यो।
मान्छेको जीवन अमूल्य हो भन्ने सारा विश्वले बुझेको बेला नेपालमा पैला अनि मात्र उपचारको नीति अस्पतालहरूले अपनाए। त्यसलाई अनुगमन गरेर कारबाही गर्नुको साटो नेपाली सरकार मौन बस्दियो। जसले गर्दा नेपालीहरूको सामाजिक सञ्जालमा एउटा स्टाटस खुब भाइरल नै भयो। स्टाटस थियो- सरकारीमा उपचार गरे ज्यान नरहला भन्ने डर, निजीमा गए घर नरहला भन्ने डर।
तर अमेरिकामा त्यस्तो थिएन, उपचार नै पहिलो प्राथमिकतामा थियो। सामान्य शंका मात्र लागे पनl घरमै डाक्टरसहितको एम्बुलेन्स आइपुग्थ्यो अनि अवस्था हेरेर भर्ना।
यहाँ बिरामीको गोजी छामेर हैसियत हेरिँदैनथ्यो। अनि हैसियत अनुसारको उपचार पनि हुँदैन। सबैलाई समान उपचार।
कोरोनाले विश्व रोइरहेकै बेला नेपालमा भ्याक्सिन आयो। भ्याक्सिन उत्पादन गर्ने मुलुकका बासिन्दाहरू पनि भ्याक्सिनका लागि तड्पिरहेको बेला नेपालमा ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, पत्रकारहरूले पालैपालो भ्याक्सिन लगाए। सामाजिक सञ्जालमा भ्याक्सिन लगाएका फोटा पोष्टिन सुरू भए। तर बिचरा सोझासादा भ्याक्सिन आइपुगेको खबर सुन्दै बसिरहे, उनीहरूको पालो टाठा बाठाले मिचिदिए।
यता अमेरिकातिर पनि भ्याक्सिनको सुरुवात भयो। तर हामीलाई वास्तै थिएन। बाहिरबाट हेर्दा कोरोनाले खत्तम भएको अमेरिकाभित्र बस्ने हामीहरूलाई कोरोना केही होइन जस्तो लाग्न थालिसकेको थियो। सचेत हुनुपर्छ, लागिहाले उपचार गर्ने सरकार छ भनेर ढुक्क भयौं।
अहिलेसम्म भ्याक्सिन उपलब्ध हुँदा पनि धेरैले लगाएकै छैनन्।
‘ह्या! सजगता अपनाए त भइहाल्यो नि’ भन्दै भ्याक्सिन लगाउन अटेरी गर्ने एउटा म पनि थिएँ।
जीवनमा सुई घोच्न भनेपछि तुरुक्कै हुने म भ्याक्सिन लाउँदिन भनेर बसिरहें। एउटा साथीले जबरजस्ती गरिरह्यो, ‘लगाउ न यार प्लीज!
उसले भ्याक्सिन लगाउने ठाउँको लिंकहरू पठाउँदै धम्क्यायो - भ्याक्सिन नलगाउँदासम्म अब नबोलेस्।
ऊ सँग बोल्नु थियो, उसले भनेको भोलिपल्टै गएर भ्याक्सिन लगाएँ।
नेपालजस्तो पहुँचको भरमा भ्याक्सिन लगाइँदैन यहाँ। यहाँ त अनलाइनबाट नाम टिपाएर उपलब्ध गराइएको समयमै गएर भ्याक्सिन लगाइन्छ।
भ्याक्सिन लगाएपछि एउटा कुरा महसुस गरें, आत्मबल निकै बढ्दो रहेछ। अब बाँचिन्छ भन्ने आशा अलि बढी नै हुने।
विभिन्न रोगहरूलाई जित्न आत्मबल पनि चाहिन्छ भन्ने सुनेको थिएँ। कोरोना परास्त गर्न आत्मबलको पनि उत्तिकै भूमिका रहन्छ भनेर सबैले भन्थे। भ्याक्सिन लगाएपछि मेरो आत्मबल यसरी बढ्यो कि म भित्रको डर हरायो।
भ्याक्सिनले काम गर्दैन भन्नेहरू पनि छन समाजमा। उसो त कोरोना केही होइन भन्नेहरू पनि त यही समाजमा छन् नि। केही होइन भन्नेहरू र भ्याक्सिन के काम गर्दैन भन्नेहरू एउटै हुन्। रोग जित्न आत्मबल चाहिन्छ, त्यो आत्मबलको एउटा स्रोत भ्याक्सिन पनि हो।
कोरोनाले सबैभन्दा बढी प्रभावित देश अमेरिकाभित्रको दैनिकी सामान्य नै छ मेरा लागि। यहाँ न लकडाउन भयो, न त त्रासमय समाज।
सुरुवातीमा हामी आफैं डरायौं, काम छाडेर बस्यौं। सरकारले पैसा दियो। मस्ती नै भयो।
‘ह्या! यो अब हट्दैन’ भन्ने मानसिकता भएपछि काममा फर्कियौं। यहाँ बाटोमा, पसलमा या पार्कमा भिडभाड हुँदैन। भिडभाड नहुँदा डराउनु पर्ने पनि भएन।
मास्कबिना पसलमा, सपिङ कम्प्लेक्स अनि कार्यालयहरूमा प्रवेश गर्न नपाइने नियम छ। ती नियमहरू सबैले पालना गर्छन्। मास्क लगाएरै पसलभित्र छिरेकाहरूको पनि उभिने छुट्टै एरिया हुन्छ।
कोरोना कहर सुरू हुनुभन्दा पहिलेदेखि नै यहाँ स्यानिटाइजरको अत्यधिक प्रयोग हुन्थ्यो। कोरोना कहर सुरू भएपछि झन् त्यो रोकिने कुरै भएन।
यति हुँदाहुँदै पनि किन कोरोना संक्रमित बढी? भन्ने प्रश्न उठेको होला।
पहिले नै भनिसकें, दैनिक लाखौंको संख्यामा चेक गर्दा हजारौंको संख्यामा देखिनु सामान्य हो। र, फेरि त्यो समय नै यस्तो थियो कि सामान्य रुघाखोकी पनि कोरोना बनेर रिपोर्ट आइदिन्थ्यो।
अब रह्यो मृत्युदरका कुरा।
अमेरिकाभित्र लाखौंको संख्यामा घरबारविहीन मानिसहरू छन्। रोडमा बसेर माग्ने अनि आकासे पुलमुनि सुत्नेहरू देख्दा लाग्छ कि संसारको सबैभन्दा धेरै मगन्ते भएको देश अमेरिका हो।
सरकारले मासिक दिने पैसालाई ड्रग्स र रक्सीमा उडाउने अनि नपुग पैसा भिख मागेर जीवन चलाउनेहरू हरेक बाटोमा सयौंको संख्यामा देख्न सकिन्छ। यहाँ भोलिको लागि बचत गर्ने संस्कार हुँदैन। पैसा आएको दिन राजा बन्ने, अर्को दिन भिखारी।
सडकमा बसेर भिख माग्नेहरू ड्रग्सको कुलतले कमजोर भइसकेका हुन्छन्। उनीहरू मृत्यु कुरेर बसेका हुन् भन्ने कुरा अनुहार हेरेरै थाहा हुन्छ।
अनि फेरि यहाँ रहेका ज्येष्ठ नागरिकहरू कुनै न कुनै रोगले पीडित हुन्छन्। सुगर, प्रेसर या अन्य कुनै दिर्घ रोग। निरोगी मान्छेहरू कमै मात्र देख्न सकिन्छ यहाँ।
सडकमा बसेर माग्नेहरू जीवनका अन्तिम दिनहरू गन्दै बसेका हुन्छन्। तिनिहरूका आफ्ना घर हुँदैनन्। सडकमै ढल्छन्, सरकार आएर उद्धार गर्छ। अस्पताल पुर्याउँछ।
बिरामीको मृत्यु हुन्छ, रिपोर्टमा कोरोना नै देखिन्छ। यो क्रम अमेरिकामा मात्र होइन, हाम्रै नेपालमा पनि चल्यो। अघिल्लो वर्ष कोरोनाका कारण मरेका धेरै मान्छेहरू दिर्घ रोगका कारण मरे तर रिपोर्टमा कोरोना पोजेटिभ नै थियो।
यही कारणले पनि अमेरिकामा कोरोनाको कारण मृत्युदर बढेको हो। उपचार नपाएर या सरकारको लापरबाही र अस्पतालको हेलचेक्राइँले मरेका छैनन् यहाँ।
अमेरिकाको बयान गरेर नेपाललाई होच्याउन खोजेको होइन। म नेपाली हुँ, रहरले होइन बाध्यतले अमेरिका बस्ने। मैले त यहाँ अमेरिकी सरकारले कोरोनालाई नपत्याउँदा पनि जनता कसरी सजग भए, त्यो नेपालीले सिक्नुपर्छ भन्न खोजेको हुँ।
अमेरिकी सरकारले लकडाउन गरेन, जनता आफैं सजग भए, घरबाट निस्कन डराए। मास्क लगाउँ भन्दियो, जनताहरू मास्कबिना हिँड्नै छाडिदिए।
भिडभाड गर्न आफैं डराउने हो, सरकारले लाठी लगाउँदै जनता भगाउनु पर्दैन। भिड भएको देख्नासाथ ग्राहक आफैं बाहिर पर्खन्छन् यताउता। नेपालमा जता भिड, उतै मान्छे कुदने मानसिकता।
जनता सजग भएपछि कोरोनाको चेनब्रेक गर्न त्यति कठिन छैन जस्तो लाग्छ मलाई। त्यसैले, आफ्नो स्वास्थ्यको सुरक्षा आफैं गरौं।