प्रसंग नम्बर १
'हजुरहरुको शुभेच्छा र भगवानको आशीर्वादले गर्दा बाँचियो। ज्यान रहेपछि घर त बनाइ हालिन्छ नि। प्राण जाने खड्गो थियो, धन्न अपांग मात्र भइयो। ठूलो खड्गो कट्यो।'
भूकम्पमा घाइते भएर हात गुमाएका हाम्रा गाँउको दाजुले अनुहारमा खुसी भर्दै दिएको जवाफ सुन्दा म नतमस्तक भए। उहाँलाई आफ्नो हात र घर गुमाउनको दुःखभन्दा आफ्नो र परिवारको ज्यान बाँचेकोमा औधि खुसी हुनुहन्थ्यो।
प्रसंग नम्बर २
आगलागीले घर-गोठ चौपाया समेत जलेर नष्ट भएर पालमुनि रात काटिरहेका परिवारलाई राहत लिएर गएका पत्रकारहरुलाई अन्तारवार्ता दिने क्रममा 'धन्न हामीलाई केही भएन, ठूलो दशा टर्यो' भन्दै मुस्कराउँदै ती परिवारले पत्रकारसँग कुराकानी गरेको मैले टिभीमा हेर्दा तिनी आगलागी पीडितहरु सँगसँगै मेरो पनि मन रमायो। दुःख भित्र पनि कस्तो खुसी खोज्न जानेका।
प्रसंग नम्बर ३
कलेजबाट घर फर्कने क्रममा कहाँ मोबाइल हरायो, मैले केही मेसो पाइनँ। त्यो मोइबाइल खोज्न सबै प्रयास गरेँ तर भेटिनँ। मोबाइल हराउँदा पैसाको त नाश भयो नै, सबै साथीहरुको सम्पर्क नम्बर पनि हराउँदा मलाई साह्रै तनाव भयो।
'भैगो, पिर नगर्। पैसा वा सामान हराउँदा ग्रह कट्यो भन्छन्, तेरो पनि नराम्रो ग्रह कट्यो' आमाले मलाई यति भनिदिँदा मोबाइल हराएको पिरभन्दा ग्रह कटेको खुसी लाग्यो। पहिलाको भन्दा राम्रो मोबाइल किन्छु भनेर म आफ्नो काममा लागेँ। अघिसम्मको तनाव कता भाग्यो भाग्यो।
प्रसंग नम्बर ४
'दिदी मेलम्चीको पानी आयो नि, अब त आनन्दै। अबदेखि न त ट्यांकर मगाउनु पर्छ न त मध्यरातमा पानी भर्न उठ्न पर्छ' धाराबाट झर्दै गरेको पानी देखाउँदै बहिनीले भिडिओ कल गरी। ऊ यति खुसी थिईकी धाराबाट पानी होइन, संसारकै खुसी झरेको छ।
प्रसंग नम्बर ५
'बहिनी, मेरो छोराको नागरिकता एकदिनमै बन्यो नि। हाकिम त भगवान नै रैछ। नत्र कसरी एकैदिनम नागरिकता बन्छ! न त हामीले कसैलाई चिने जानेको न त सोर्स फोर्स' छिमेकी दिदीले मलाई यति खुसी हुँदै सुनाउनु भयो कि उहाँको छोराले नागरिकता होइन, स्वर्ण पदक नै पाएको हो।
प्रसंग नम्बर ६
'साँझ पनि नपर्दै कति छिटो फर्किसक्नु भयो बुवा?' भन्दै मैले ढोका खोलिदिएँ।
'जाम न साम एकैछिनमा आइपुगियो' मख्ख पर्दै बुवा घरभित्र पस्नुभयो। मानौँ जाम नभएको बाटोमा गाडीमा हिँड्न पाउनु भनेको त एकछिन भए पनि राष्ट्रपति हुनु हो। उहाँको अनुहारमा खुसी झल्कन्थ्यो।
यी छ वटा प्रसंग त प्रतिनिधि प्रसंग मात्र हुन्। सानातिना कुरामा खुसी हुने हाम्रा विषयहरु त हजारौं छन्।
माथि प्रसंग नम्बर १, २, ३ र तिनमा उल्लेख गरिएका भूकम्पमा घर भत्कनु अपांग हुनु, आगलागीमा घरगोठ जल्नु, सामान हराउनु वा चोरी हुनु दुःखका कुरा होलान् तर हाम्रो वशभन्दा बाहिरका यस्ता दुःखका कुरामा खड्गो कट्यो, दशा टर्यो, ग्रह काटियो भनेर हामी समान्य हुन प्रयास गर्छौँ।
प्रसंग नम्बर ४, ५, ६ मा उल्लेख गरिएका धारामा पानी नआउनु, एकदिनमै नागरिकता नबन्नु, बाटोमा घन्टौँ जाम हुनु दुःखका कुरा होला तर धारामा पानी आउनु, एकदिनमै नागरिकता बन्नु, बाटोमा जाम नहुनु सामान्य कुरा हुन् तर हामी अत्यन्त खुसी भएका हुन्छौँ।
अत्यन्त सामान्य लाग्ने कुरामा पनि धेरै खुसी हुने हाम्रो संस्कारले गर्दा पनि नेपाल दक्षिण एसियाकै सबैभन्दा धेरै खुसी हुने देशमा परेको 'विश्व खुसी प्रतिवेदन २०२१'ले देखाएको छ। विश्वमै सबैभन्दा खुसी हुने देशमा फिनल्यान्ड पहिलो डेनमार्क र स्विजरल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा परे।
हामीले २०२१ मा कोरोनाले दिएको दुःखमा सोही वर्षको मध्यतिर सलह आतंक, बाढीपहिरो र बेलाबेलामा जाने भूकम्पका झट्काले अनि राजनीतिक खिचातानिले थप दुःख दिइरह्यो तर पनि हामी दुःखमा सामान्य हुने र सामान्य अवस्थामा खुसी हुने संस्कारले आफूलाई सम्हाल्यौँ।
सरसर्ती हेर्दा लाग्न सक्छ नेपालमा के छ र खुसी हुने? खुसी त विकसित देशका जनतामात्र हुन्छन्। राजनीतिक अस्थिरता, भौतिक पूर्वाधारको पर्याप्त विकास नभएको अवस्था, गुणस्तरीय शिक्षा स्वास्थेको अभाव, धुवाँ, धुलो, बेरोजगारी, गरिबी, बत्ती, पानी जस्ता अति सामान्य कुराको पनि सहज उपलब्धताको असुविधा तर माथि उल्लेख गरिएको ६ वटा प्रसंगले नै खुसी सामन्य लागेका कुराले एवम् खुसी हुन अभिप्रेरित गर्ने हाम्रा संस्कारले पनि दिन सक्छ भनेर प्रष्ट पार्छ।
नेपालमा २०७२ सालको महाभूकम्पले नेपालको धेरै भौतिक संरचनालाई आघात पुर्यायो। त्यो बेलामा आफ्ना घरबास गुमाएकाहरू कतिले अझै गतिलो छानो पाएका छैनन्। कति घाइतेहरु आजपनि उपचारत छन्। आफन्तजन गुमाउँदाको अपुरणीय पीडा छँदै छ।
कति परिवारहरु आज पनि त्यस भूकम्पले चर्काएको घरका भित्ताहरु हेर्दै त्यही घरमा रात काटिरहेका छन्। कति भौतिक संरचनाहरु बन्न बाँकी छन् तर पनि त्यस महाभूकम्पले ढलाएको धरहरा आज छ वर्षपछि ठडिँदा हामी नेपाली यति खुसी छौँ कि सरकारलाई हृदयदेखि नै धन्यवाद दिइरहेका छौँ।
भौतिक सुबिधाको सहज उपलब्धताले मानिसलाई सुख पक्कै दिन्छ। भौतिक सुख खुसीको एउटा आधार हुन सक्छ तर खुसीको पर्यावाची होइन। सुख र खुसी फरक कुरा हुन्। सबै खुसी मानिसहरु सुखी र सबै सुखी मानिसहरु खुसी नहुन पनि सक्छन्।
मानिसहरु खुसी हुन भौतिक सुख सुविधा मात्रै नभएर उनिहरुको विचार विश्वास संस्कार लगायत अन्य कुराको पनि भूमिका हुन्छ।
सन् २०२० को कोराना, सलह, बाढीपहिरो, वायुप्रदुषण र राजनीतिक अस्थिरताका बापत पनि नेपाल दक्षिण एसियाकै सबैभन्दा धेरै खुसी हुने मुलुकमा पर्यो।
यदि हामी सबैले हातेमालो गर्दै देशलाई राजनीतिक स्थिरता प्रदान गर्यौं र शिक्षा स्वास्थ्य रोजगारी र भौतिक विकासमा पनि सुधार गर्यौं भने हामी विश्वकै खुसी हुने देशमा पर्न धरै वर्ष कुर्न नपर्ला किनकि सामान्य कुरा पनि खुसी संस्कार त हामीले पूर्खाबाटै लिएरै आएका छौँ।