आज रमेश दाइको घरमा हो-हल्ला सुनिन्थ्यो।
बुवा, आमा, दाजुभाइ सबैजना शर्मिलासँग रिसले चुर थिए। घरकी एक्ली छोरी शर्मिलाले 'ब्वाइफ्रेण्ड' बनाइन् रे, उनका दाजुले केटासँगै बाटोमा हिँडेको देखे रे, यही कुराले घरमा रडाको मच्चाएको थियो।
आमाले प्रश्न गर्दै हुनुहुन्थ्यो, हामीले यत्रो दु:ख गरी हुर्काएको यही दिन देख्न हो ? बाबाले भन्दै हुनुहुन्थ्यो, हाम्रो इज्जतको अलिकति पनि ख्याल भएन! दाजुभाइ पाखुरा देखाउँदै, त्यो केटालाई देखे भनें बीच बाटोमै ढाल्दिन्छु। शर्मिला मूकदर्शक थिइन्।
वाणिज्य शास्त्रमा स्नातक तहको तेस्रो वर्षमा अध्ययनरत शर्मिला मेहनती छात्रा थिइन्।
उमेरले २१ वसन्त पार गरिसकेकी उनको आजसम्म कुनै नराम्रो बानी सुनिएको थिएन।
सधैं हँसिलो देखिने उनको मुहार आजभोलि अँध्यारो देखिन्थ्यो। घरमा उनलाई एउटा कैदीको जस्तो व्यवहार हुन्थ्यो। मानौं उनले कुनै ठूलै अपराध गरेकी हुन्।
हरेक दिन 'गुड मर्निङ अङ्कल' भन्दै हाँस्दै हिँड्ने शर्मिला आजभोलि नबोली हिँडेको देखेर मलाई तथ्य कुरा जान्न मन लाग्यो।
घरमै बोलाएर कुरा गर्दै जाँदा मजाकमा उनलाई सोधें, साँच्चिकै 'ब्वाइफ्रेण्ड' नै लिएर हिँड्यौ त ? उनी रिसाएको पारामा भनिन्' अहिलेको जमानामा ब्वाइफ्रेण्ड त, भइहाल्छ नि!'
उनको यो जवाफ सुनेर एक मनले रिस पनि उठ्यो।
कस्तो लाज पनि नभाकी सिधै 'ब्वाइफ्रेण्ड' छ पो भन्छे। अभिभावकले गाली गरेर ठिकै गरेछन् जस्तो पनि लाग्यो।
तर, धेरैबेर उनीसँग कुरा गरेपछि मेरो मन पनि परिवर्तन भयो।
वर्षौंदेखि शर्मिला घरमा एक्ली भएकी रहिछन्। उनका बुवा विजनेसको सिलसिलामा सधैं घर बाहिर नै रहन्थे, आमा बैंकमा जागिरे बिहानदेखि बेलुकासम्म अफिसमा, दाजुभाइ आफ्नै तालमा। हाँस्ने, बोल्ने, घुम्ने, भावना आदान-प्रदान गर्ने साथीको अभाव महसुस भएछ।
केही समय आफ्नै लेडिज साथीहरूसँग घुलमिल हुन कोसिस गरिछन् तर उनीहरूमध्ये धेरैले ब्वाइफ्रेण्ड छानिसकेका रहेछन्। त्यहाँ पनि उनी एक्लो भइछन्।
उनले आफ्ना कुरा सुन्ने, सहयोग गर्ने र मन मिल्ने साथीको खोजीमा आफू यो अवस्थामा आएको कुरा सुनाइन्।
साँच्चि नै, परिवारको भीड भित्र पनि मानिस एक्लै बाँचेको हुने रहेछ भन्ने उदाहरण रहिछन्, शर्मिला।
पहिले-पहिले मानिसहरू संयुक्त परिवारमा हुर्किन्थे। हजुरआमा, हजुरबुवा, काका, काकी, दिदीबहिनी,दाजुभाइ आदिसँगै हुर्किंदा कहिले पनि साथीको अभाव हुँदैनथ्यो।
सबैले आफ्ना अनुभव साटासाट गर्दागर्दै दिन बितेको थाहा नै हुँदैनथ्यो। तर, अहिले मानिसहरू एकल परिवारमा हुर्किन्छन्। सबैको व्यस्त जीवनशैली, कसैलाई कसैको बारेमा सोच्ने फुर्सद छैन।
सबै आ-आफ्नै शैलीमा बच्न चाहन्छन्। यस्तो अवस्थामा आफ्नो बाटो आफैं खोज्ने प्रयास गर्नुलाई अस्वभाविक मान्न सकिँदैन।
सबैलाई थाहा भएकै कुरा हो, अभिभावकले आफ्नो सन्तानको सधैं भलो नै होस् भन्ने चाहन्छन्।
आफ्ना सन्तानको भविष्य उज्ज्वल बनाउन हर सम्भव प्रयासरत रहन्छन्। छोराभन्दा पनि छोरीको भविष्यको विषयमा बढी गम्भीर देखिन्छन्।
राम्रो घर, इमान्दार अनि सक्षम जीवनसाथी खोजेर छोरीलाई बिदा गर्ने सबै अभिभावकको सपना हुन्छ। तर, के सबै अभिभावक यसमा सफल भएका छन् त ?
सबै अभिभावकलाई आफ्ना सन्तानको इच्छा, चाहना, शोक आदि पूर्णरूपमा थाहा हुन्छ भन्ने हुँदैन।
परिवारले हरबखत सुरक्षित भविष्यमा मात्र ध्यान दिएको पाइन्छ। माथिल्ला घरे हरि दाइले भर्खर बाह्र पास गरेकी छोरीको हतार-हतार विवाह गरिदिनुभयो।
मैले जिज्ञासा राखें- किन हतार गर्नुभयो त ? उहाँले सजिलै उत्तर दिनुभयो, 'केटा सरकारी जागिरे पाइयो, भोलि तलमाथि भयो भने पनि छोरीले पेन्सन पाउछे।'
यो उत्तर सुनेर म स्तब्ध भएँ।
मनमनै प्रश्न गरे के यसैलाई सुरक्षित भविष्य भन्छन् ?
भविष्यमा फेसन डिजाइनर बन्ने सपना बोकेकी सहपाठी सुनिताको केही वर्ष पहिले आफूभन्दा दश वर्ष जेठो उमेरको केटासँग बिहे भयो।
सम्पत्ति दश पुस्तासम्मलाई पुग्ने देखेर उनको परिवारले यो नाता जोडेका रहेछन्।
बिहे भएको एक वर्षपछि उनीसँग भेट भयो, हातमा बच्चा बोक्दै हतार-हतार हिँडिरहेकी उनलाई ठट्टा गर्दै सोधें, ' के छ त फेसन डिजाइनर को खबर ?'
उनको आँखाभरि आँसु टिलपिल देखेर मन खिन्न भयो। सँगै पढ्दा चुलबुले स्वभावकी, हत्तपत्त अरूको मजाक उडाइहाल्ने उनी आज आफैं मजाक भइछन्।
जाने बेलामा भन्दै थिइन्- मलाई धेरै सुख छ, घरमा नोकर-चाकर सबै छ।
मनमनै प्रश्न गरें- के यसैलाई सुख भन्छन् ?
रिता दिदी बलिउड अभिनेता सलमान खानको फ्यान हुनुहुथ्यो।
'तेरे नाम' चलचित्र हेरेपछि, मेरो जीवन साथीको हेयर स्टाइल पनि यस्तै हुनुपर्छ भन्नुहुन्थ्यो। घर परिवारले ठूलो मैदान भएको घर खोज्दा बेहुला पनि मैदान साफ भएको खोजेछन्। कहिलेकाहीँ भेट हुँदा दिदीले भन्नुहुन्छ- उहाँको शिरमात्र होइन मन पनि साफ छ। म भाग्यमानी छु। अर्चना बहिनी कसैले खैनी, सुर्ती, चुरोट खाएको गन्ध आउँदा पनि उक्क -उक्क गर्दै बाथरूमतिर दगुर्थिन्। आज थाहा भो ज्वाइँ साप पर देखिँदा पनि सुर्तीको गन्ध हामीसम्म आइपुग्ने रहेछ। तै पनि बहिनी भन्दै थिइन्- उहाँको यही बानीमात्र खराब हो, अरू सब राम्रो छ।
मैले मनमनै भनें- आफ्ना इच्छा, चाहना, सौख सबलाई मारेर पनि खुसी हुन खोज्ने वाह रे वाह सहनशीलता नारी !
अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेकी सरिताको विवाहको कुरा चल्यो।
यो सूचना थाहा पाएपछि सरिताले आफूले जीवनसाथी खोजेको जानकारी दिइन्।
तर, जात भने नमिल्ने थाहा पाएपछि परिवारले स्वीकारेन। सरिताले परिवारले भने बमोजिम आफ्नै जातको कूल घरानामा विवाह गरिन्। विवाहपछि दुवै जना अस्ट्रेलिया पुगे तर त्यहाँ पुगेको केही दिनमै उनको डिभोर्स भयो। केटाले आफू अस्ट्रेलिया जानको लागिमात्र विवाह गरेको बताएछ। सरिता अहिले एक्लै छिन्।
अहिलको समय पहिले जस्तो रहेन। उहिले मानिसहरू छोरीलाई अर्काको घर जाने जात भनेर अर्कै नजरले हेर्ने गर्दथे। छोरालाई बोर्डिङ स्कुलमा पढाएर छोरीलाई सरकारी स्कुलमा लगेका उदाहरणहरू प्रशस्तै छन्।
उमेर नपुग्दै छोरीको बिहे गरिदिने र उसको जीवनको गोरेटो अर्कैको हातबाट कोरिन्थ्यो।
जीवनमा सुख, दुःख, पीडा, अन्याय सबै सहेर आफ्नो कर्मको लेखा सम्झेर दिनहरू ब्यतित गर्नु पर्दथ्यो।
आफूले कहिल्यै नदेखेको, नसुनेको व्यक्तिलाई जीवन साथीको रूपमा स्वीकार्नु पर्ने र असहजतालाई सहेर हिँड्नुपर्ने बाध्यता जस्तै थियो। मन परोस्, नपरोस्, चित्त बुझोस्, नबुझोस्, जसरी पनि चल्नु पर्ने।
तर, आज समय परिवर्नत भएको छ। छोरीहरू शिक्षित भएका छन्। आफ्नो हित अहित छुट्ट्याउन सक्ने भएका छन्। आफ्नो खुट्टामा आफैं उभिन सक्ने भएका छन्। यसको सम्मान गर्न सक्नु पर्दछ।
कहिल्यै नदेखेको, नसुनेको व्यक्तिसँग जीवन जिउनुभन्दा आफूले जानेको, बुझेको व्यक्तिसँग जीवन जिउन सजिलो हुनसक्छ। हुनेवाला जीवन साथीको आनीबानीसँग पहिल्यै नै परिचित हुँदा जीवन जिउन सहज हुन सक्दछ।
यसको मतलब सबैले 'ब्वाइफ्रेण्ड' खोज्दै हिँड्नु पर्छ भन्ने होइन तर आफ्नो जीवनका महत्वपूर्ण निर्णयमा प्रमुख भूमिका जीवन जिउनेलाई नै दिनुपर्छ भन्ने मात्र हो।
यो भनेर अभिभावकको भूमिकालाई अवमूल्यन भने गर्न मिल्दैन। उनीहरूको अनुभव हाम्रो किताबी ज्ञानभन्दा हजार गुणा बढी शक्तिशाली हुन्छ।
उहाँहरूको अनुभव, सुझाव र हाम्रो ज्ञानलाई सँगसँगै अगाडि बढे जीवन सहज हुन सक्दछ।