संसारभरि हुँडारका चार प्रजातिहरु छन्। हाम्रो देश नेपालमा पाइने हुँडारका प्रजाति भनेको पाटे हुँडार हो। नेपाल लगायत विश्वमा पाटे हुँडार उत्तरी र पूर्वी अफ्रिका, मध्य पूर्व, मध्य एसिया र भारतीय उपमहाद्वीपमा पाइने एक रैथाने प्रजाति हो।
पाटे हुँडारको अंग्रेजी नाम स्ट्राइप्ड हाइना हो र वैज्ञानिक नाम 'हेइना हेइना' हो जुन एक मांसाहारी जनावर अन्तर्गत पर्दछ। पाटे हुँडार झन्डै २० देखि ४० किलोग्रम तौल भएको यो जनावरको उचाइ झन्डै २.५ फीट र लम्बाई ३.५ फीटसम्म हुन्छ।
यो जनावरलाई एक प्रमुख कुचिकारको रुपमा पनि चिनिन्छ, जसले जंगलमा रहेको सिनु खाएर वातावरण स्वछ राख्न मद्धत पुर्याउँछ। अझ हुँडार एक लार्ज कार्निभोर पनि हो जसले परिस्थितिक प्रणाली सन्तुलन राख्न सहयोग गर्छ। संसारभरिमा यो हुँडारको संख्या १४ हजारभन्दा कम छ्।
नेपालमा हुँडारको मुख्य बास्थान तराईको चारकोशे झाडी र चुरे आसपासका क्षेत्रहरु हुन्। यद्यपि नेपालका पहाडी जिल्लाहरु जस्तै जाजरकोट, कालिकोट, अर्घखाँची आदि जिल्लाहरुमा पनि हुँडार पाइएको छ। हुँडारलाई मन पर्ने बास्थान भनेको सुख्खा ठाउँ, सालको घना जंगल, घासे मैदान, खोलाको फाँटाहरु, आदि हुन्।
नेपालमा हुँडारको वास्तविक संख्या यकिन नभएपनि झन्डै १०० भन्दा कम वटा हुँडार रहेको अनुमान लगाउन सकिन्छ जुन दुर्लभ बाघ, गैंडा, तथा हात्तीभन्दा निकै कम हो।
नेपालमा मानवीय असरले गर्दा हुँडारको संख्या घट्दो क्रममा छ। पछिल्लो समयमा वनजंगल फडानी तथा हुँडारको आहारा प्रजातिको चोरी-शिकारी, आदि मुख्य कारणहरुले हुँडार लगायतका जंगली जनावरलाई प्रत्यक्ष असर पारेको छ। यद्यपि पछिल्लो केही वर्षहरुमा चुरे क्षेत्रतिर सामुदायिक वनजंगल जोगाएता पनि वन्यजन्तुको चोरी-शिकारी मुख्य समस्याको रुपमै छ।
खासगरी तराई क्षेत्रका वनजंगल विभिन्न बहानामा जस्तै मठ-मन्दिर निर्माण, चौतारा निर्माण, खेलकुद मैदान निर्माण आदिका नामले अतिक्रमण हुँदै गैरहेको छ। प्रकृतिक श्रोतहरु सीमित मात्रामा खुम्चिँदै छन् जस्ले गर्दा हुँडार लगायत अन्य दुर्लभ वन्यजन्तुहरु लोप हुने अवस्थामा छन्।
यो कारणहरु बाहेक मानिस र हुँडारबीचको द्वन्द, हुँडारको संख्या घट्नुको पछाडि अर्को मुख्य कारण हो। पुर्वी तराईको सिराहा, धनुषा, महोत्तरी आदि क्षेत्रहरुमा हुँडार झन्डै दुर्लभ जस्तै छ। चोरी-शिकारीले गर्दा जंगलमा हुँडारको आहारा प्रजातिको अभावले गर्दा हुँडारहरु गाउँको छेउ छाउमा सजिलै उप्लब्ध हुने जनावरहरुलाई निशाना बनाउने गर्छन्।
जसमा घरपालुवा जनावरहरु पहिलो सूचीमा पर्छन्। हुँडारले घरपालुवा जनावरहरु जस्तै भेडा बाख्रा तथा हाँस-कुखुरा आदि खाइदिने हुँदा कतिपय मानिसहरु चेतनाको अभावका कारण हुँडार मार्ने गरेको पनि भेटिएको छ। ग्रामीण भेगहरुमा हुँडार भन्नासाथ नकारत्मक दृष्टिकोणबाट हेर्ने चलन अझै स्थापित छ।
हुँडारले गोठबाट गाईवस्तु तानेर लैजाने तथा स-साना केटाकेटीलाई बोकेर लैजान्छ भन्ने भ्रामक जनविश्वास तथा भ्रामक कथाहरुले पनि जनस्तरबाट पनि हुँडार संरक्षणमा ठोस पहल छैन भन्ने बुझिन्छ।
कुनै पनि प्रजाति लोप हुनु वा उस्को संख्यामा कमी आउनुको मुख्य कारण उस्को बास्थान र आहारामा प्रत्यक्षरुपले कमी वा ह्रास आउनु हो। यी बाहेक अरु कारणहरु जस्तै प्राकृतिक कारणहरु, मान्छेहरुबाट अत्यधिक मात्रामा चोरी-शिकारी आदिले गर्दा पनि प्रजाति लोप हुन सक्छन्।
नेपालमा हुँडारको संख्यामा कमी आउनुको कारणहरु पनि यी नै हुन्। नेपालमा हुँडारहरु संरक्षित क्षेत्र जस्तै राष्ट्रिय निकुन्ज र संरक्षित क्षेत्र बाहिर पनि पाइन्छन्। तुलनात्मक रुपमा संरक्षित क्षेत्र भित्र कम जोखिम भए पनि संरक्षित क्षेत्र बाहिर हुँडारहरुको अवस्था दयनीय छ।
कतिपय ठाउँहरुमा हिजोका दिनमा सजिलै देखिने हुँडारहरु आजकाल देखिन छाडेका छन्। हुँडारलाई पासो थापेर मार्ने, बन्दुकले मार्ने, विष हालेर मार्ने आदि जस्ता गतिविधिले गर्दा हुँडारको संख्यामा कमी आएको छ।
हामीले गरेको एक अध्ययन अनुसार हुँडारकोको मुख्य आहारा प्रजातिहरुमा बदेल, खरायो, रातो बाँदर, लङुर लगायतका जनावरहरु पर्छन्। अझ रातो बाँदर, दुम्सी, र खरायो हुँडारको मुख्य आहारामा पर्न आउँछन्। तर बितेका केही वर्षहरुदेखि मानवीय अतिक्रमणले गर्दा संरक्षित क्षेत्र बाहिर हुँडारको आहारा प्रजातिहरुको संख्यामा कमी आएको छ।
हुँडार एक प्रकारले किसानको साथी हो। हुँडारले बाली-नाली नष्ट गर्ने मुसा, दुम्सी, बाँदर आदिलाई खाएर बाली-नालीको उत्पादन बढाउन सहयोग गर्छ। वन-जंगल तथा खेतबारीमा रहेको सिनुहरु खाएदिएर वातावरण स्वस्थ पार्छ।
हुँडारका आनीबानी र यसका फाइदा बारेमा जनस्थरमा चेतना बढाउनु पर्छ। हुँडार भन्नासाथ कतिपय मानिसले नकारात्मक दृष्टिकोणले हेर्छ, त्यस्ता नकारात्मक विचारहरु परिवर्तन हुनु पर्छ। जनस्तरमा मान्छे र हुँडारको सम्बन्ध बलियो हुनु पर्छ।
हुँडार नेपालको एक संरक्षित वन्यजन्तु हो। राज्यस्तरबाट कुनै पनि किसिमको ठोस कार्य नहुँदा भविष्यमा हाम्रा हुँडारहरु हराएर जान सक्छन्। आउँदो पिँढीले हुँडार लगायत अन्य दुर्लभ जीवजन्तु हेर्न पाउनेछन् भन्नेको कुराको निश्चित छैन। तसर्थ राष्ट्रिय स्तरबाट हुँडार संरक्षणका लागि थप कार्यक्रम ल्याउनु पर्ने हुन्छ।