जसै बेलायतमा कोरोनाको कहर घट्दै थियो हामी बडो आशावादी थियौं, यसपालिको बिदामा नेपाल गएर बुवा-आमासहित परिवारसँग समय बिताउने। बिगत १३ महिनादेखि खुल्दै बन्दहुँदै गरेको लकडाउन बेलायती सरकारले जुन महिनादेखि पूर्णत हटाउने घोषणा गर्यो। उता न्युजिल्याड र अष्ट्रेलियाले आफ्ना बिछोडिएको परिवार भेट्ने ब्यवस्था मिलाएको दृश्य टिभीमा हेर्दै हामी पनि आफ्ना बच्चाहरुको स्कुल छुट्टी भएको मौकामा विगत २ बर्षदेखि आफ्नो देश र परिवारसँग बिछोडिएको पीडा भुल्दै त्यसरी नै परिवारसंग पुनर्मिलनको आशामा थिएँ। तर छिमेकी मुलुक भारतमा अनियन्त्रित तरिकाले फैलिएको कोरोनाको असर नेपालमा पनि देखिँदा फेरी उहि दिन दोहोरिने त्रास बढ्दोछ।
भारतको अधिकांश अस्पताल कोरोनाका बिरामीले भरिएका छन्। राजधानी दिल्ली, महाराष्ट्रलगायत अधिकांश ठूला राज्यमा कर्फ्यू लगाइएको छ। दिल्लीका मुख्यमन्त्री केजरिवालले त अब केही दिनलाई मात्र पुग्ने अक्सिजन बाँकी भएकाले अक्सिजन व्यबस्थाको लागि केन्द्र सरकारलाई गुहारिसकेका छन्।
यही भयाबहताले गर्दा यसै साता भारत भ्रमण गर्न लागेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको भ्रमण पनि स्थगित भएको छ। योसहित बेलायती प्रधानमन्त्रीको भारत भ्रमण दोस्रो पटक स्थगित भएको हो। जोन्सन गत जनवरीमा भारतको गणतन्त्र दिवसको प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएका थिए। फरक यत्ति हो कि, अहिले भारतमा फैलिएको कोरोनाको कारण, जनवरीमा चाहि बेलायतमा फैलिएको कोरोनाको कारण भ्रमण स्थगित भयो।
वृद्ध भइसक्नु भएका आफ्ना बुवा- आमालाई भेट्ने रहर सबैलाई हुन्छ। तर दिन यस्तो पनि आयो कि गत दशैंमा परदेस हुनेको त कुरै छाडौ, सँगसँगै नजिकै हुनेहरुले समेत आफ्ना- बुवा- आमा अनि अभिभावकको आशिर्वाद थाप्न पाएनन्। सबैभन्दा पीडादायी क्षण त्यतिखेर लागेको थियो, जब मुश्किलले २०० मिटर दुरीमा रहनुभएको मेरा दाइ-भाउजुको परिवारले समेत बुवा-आमाको आशिर्बाद भिडियो कलमार्फत लिनुभयो। टिकाको दिन मेरी ८१ वर्षिय आमाले भन्नुभएको शब्द अझै कानमा गुञ्जिरहेछ- ‘बाबु, बार बारे बाली बिरूवा जोगिन्छ, तार बारे जिउ जोगिन्छ’, दशैं तिहार त फेरि फेरि पनि आउँछ नि’, तर म उहाँको बोलीमा काँपिरहेको माया अनि सन्तानसँग भेट्न नपाउनुको पीडा नापिरहेको थिएँ।
मैले केहि दिन अगाडि कुराकानीको क्रममा स्थिति सामान्य बने यसपाली साउन-भदौमा आउँछौं होला भन्दा आमाले त्यही कुरा दोहोर्याउनुभयो, मन चसक्क भयो।
केही समय शान्त देखिएको हाम्रो देशमा फेरि उही नियति आउने सम्भावना बढ्दै गएको देखिन्छ। खुला सिमाना, अनियन्त्रित प्रणाली, सबैजसो कुरामा भारतसँगको निर्भरता आदि कारणले भारतमा फैलिएको कहर नेपालमा आउन समय लाग्दैन, भनौ, आइसकेको छ।
डाक्टरहरुले भनिसकेका छन्, दिनमा २-३ हजार संक्रमित हुँदा त भेन्टिलेटर र अस्पतालको बेड भरिइसकेका छन् भने, भारतमा झैँ फैलियो भने के होला? आफैं अक्सिजन र खोप बनाएर निर्यात गर्ने भारतको त त्यो हबिगत भइसकेको छ भने, अरूको आशा अनि दयामा भर पर्नुपर्ने हाम्रो देशको अवस्था झन् के होला? जो स्वत: अनुमान गर्न सकिन्छ। त्यसैले सरकारले सोच्नुपर्ने बेला आएको देखिन्छ। तर जनताले पालना गर्नुपर्ने नियम अनि स्कुल र रेस्टुरेन्टलगायत अन्य मनोरञ्जन स्थल बन्द गरेकोलाई नै तयारी मान्ने बाहेक सरकार त्यति गम्भीर भएको जस्तो देखिदैन।
अझ ती नियमहरु बस् सर्वसाधारण जनताले मात्रै पालना गर्नुपर्ने तर सरकारमा बसेकाले चाहिँ मान्नु नपर्ने हो कि जस्तो देखिएको छ।
सरकारी आदेश जारी भएको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले गाडीको लवालस्करसहित भगवान् राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति चितवन पठाए। पठाउनुअघि उनले बालुवाटारमा धुमधामका साथ पूजा अर्चना गरेका थिए। उक्त दिन तनहुँको देवघाटमा रथयात्रा आइपुग्दा सयौंको भीड स्वागतमा खटिएको थियो। त्यो भीडमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पनि सहभागी थिए। नेपालमा कोरोना भाइरसको महामारी सुरू हुँदाताकाका स्वास्थ्य मन्त्री भानुभक्त ढकाल दोस्रो लहर सुरू हुँदै गर्दा भौतिक दूरी कायम गर्नुपर्ने न्यूनतम मापदण्डको पनि बेवास्ता गरी बिनामास्क सयौंको भीडमा व्यस्त देखिन्थे।
मन्त्री नै यसरी प्रस्तुत हुँदा अन्य नागरिकले त जनस्वास्थ्य मापदण्डको पालना गर्ने कुरै भएन।
यो दृश्यले सरकारी आदेशलाई गिज्याए झैँ लागेको थियो जबकि, सोहिबेला कोरोना प्रकोपबाट बचाउन भिडभाड हुन् नदिन पशुपतिनाथ मन्दिरमासमेत सर्वसाधारणको लागि भने बन्द गरिँदै थियो। यस्तो अवस्थामा जनतालाई भिडभाड गर्नबाट रोक्ने सरकारी आदेश पालना गराउन फिल्डमा खटिने, विशेष गरी प्रहरीलाई जनताबाट आउने प्रतिकार र प्रश्नको जवाफदेहिता को हुने?
जब फिल्डमा खटिएका प्रहरीबाट आफ्ना काम लिएर घरबाट निस्किएका जनमानसलाई रोक्ने प्रयास हुन्छ, तब प्रहरीमा यही प्रश्न दोहोरिन्छ, ‘तपाईँका प्रधानमन्त्री र मन्त्रीलाई चाहि यो नियम लागू हुँदैन?’ मलाई एउटा परिघटनाको याद आउँछ। आजभन्दा करिब २७ वर्ष अगाडि मध्यावधि निर्वाचन हुँदैथ्यो, म मोरङ जिल्लाको ७ नम्बर क्षेत्रको सुरक्षा इन्चार्जको रूपमा खटिएको थिएँ।
मतदान हुने ठिक ३ दिन अगाडि सो क्षेत्रको मझारे गाउँमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला चुनावी सभालाई सम्बोधन गरेर हेलिकप्टरमा फर्किनुभएपछि हामी प्रहरी गस्ती गर्दै आफ्नो बेसमा फर्कँदै थियौं। यस्तैमा लस्करै १२ वटा भारतीय नम्बर प्लेटको गाडी लहरै पार्क गरिएको थियो। उक्त गाडीको कागज र गाडी भित्र कतै हतियार पो छ कि? भन्ने आशंकामा गाडी खानतलासी गर्न खोज्दा गाडी ड्राइभर र त्यसमा सवार व्यक्तिले हामी प्रहरीलाई रोक्दै आफ्ना नेतालाई बोलाएर लिएर आए। यसो हेर्छु त पुर्व कानुन मन्त्री अर्थात त्यस क्षेत्रका उम्मेदवार बद्रि प्रसाद मण्डल (पछि उपप्रधानमन्त्री तथा गृहमन्त्री) पो मतिर आउँदै गरेको देखियो। म नजिक आइपुग्नु भएपछि पूर्वमन्त्रीले सिधै सोधे, ‘के भयो इन्स्पेक्टर सा'ब?’ मैले भने, ‘मन्त्रीज्यू, यो गाडीको कागजात र गाडीभित्र केही कानुनले बर्जित कुरा छ कि? भनेर तलासी लिन खोजेको,’ कुरा बताए। तर ती मन्त्री बद्रि मण्डलले ठूलो ठूलो स्वरमा भने, ‘ए इन्स्पेक्टर सा'ब, यो नियम हामीमाथि मात्रै हो कि? सत्तारूढ पार्टीको लागि पनि हो?,’ मैले जवाफ फर्काए, ‘यो सबैको लागि बराबर हो।’
त्यसपछि आकाशमा भर्खरै मझारेको कार्यक्रम सकेर उड्दै गरेको हेलिकप्टरतिर औलाले इशारा गर्दै उहाँले भन्नुभयो, ‘त्यसो भए ऊ त्यो गिरिजा (तत्कालिन प्रधानमन्त्री) चढेको हेलिकप्टर खानतलासी गर्नुहोस्।’ एक्कासी आएको यस्तो प्रश्नले म झस्किएँ। तर सम्हालिदै जवाफ दिएँ, ‘प्रधानमन्त्री चढ्नुभएको त्यो हेलिकप्टरमा पूर्व क्षेत्रको डिआइजी सा'ब आफैं हुनुहुन्छ, त्यसैले त्यसै पनि त्यो हेलिकप्टर खानतलासी भए बराबर नै मान्नुहोस्।’ तर उहाँ सन्तुष्ट हुनुभएन। पूर्व मन्त्रीको आरोप थियो, ‘प्रहरी खाली बिपक्षी दलमाथि प्रहार गर्न मात्रै खटिएको हो।’ यसरी प्रधानमन्त्री अनि मन्त्रीको ब्यवहार हेरेर फिल्डमा खटिएका प्रहरी स्थानीयको तारो हुन्छन्।
आज प्रधानमन्त्री केपी शर्मा ओली सम्पूर्ण रूपमा तयार नभइसकेको धरहरा उद्घाटन गर्दै हुनुहुन्छ। सायद घरबाट बाहिर निस्किएर आफ्नो काममा जादै गरेका जनमानसलाई जब प्रहरीले सरकारी निर्णयको हवाला लिँदै रोक्ने प्रयास गर्नेछन् तब २७ वर्ष अगाडि झैँ आज प्रधानमन्त्रीले भिडभाडको बिचमा धरहरा उद्घाटन गर्न गएको बारेमा तिनै फिल्डमा खटिएका प्रहरीमाथि नै प्रहार हुनेछन्।
के आजै भिड जम्मा गरेर धरहरा उद्घाटन गरिहाल्नु हतारो थियो कि? के यस्तो कार्यक्रममा श-शरीर धरहरा गएरै गर्नुको साटो भर्चुअल माध्यमले गरेको भए के फरक पर्थ्यो।
आजको धरहरा उद्घाटन कार्यक्रममा प्रधानमन्त्री उपस्थित हुने भन्ने बित्तिकै मन्त्री, सुरक्षा निकायका प्रमुखहरू र प्रधानमन्त्रीका सुरक्षामा खटिने (कम्तिमा ४-५ सय) सुरक्षाकर्मी र उद्घाटन समारोह हेर्न आउने हजारौं रमितेको बिचमा हुने यस्ता कार्यक्रमले कोरोनालाई नै गिज्याए झैँ लाग्दैन र?
के कोरोनाको बढ्दो ग्राफमा कुनै पनि उद्घाटन कार्यक्रम अहिलेको आवश्यकता भित्र पर्दछ त? यस्ता कार्यक्रम अलि पछि स्थिति सामान्य हुँदा गरे हुन्न र? जब कि, धरहरा अहिले उद्घाटन गरे पनि सर्वसाधारणले यसको अवलोकन गर्न तुरून्तै नपाउने रे, अलिक पछि तयारी भइन्ज्यालसम्म कुर्नु पर्ने रे। त्यसो भए यसको उद्घाटनको हतारो किन?
उद्घाटन अहिले नै गर्नुपरे पनि भिडभाड जम्मा नगरी भर्च्युअल मार्फत गरे हुन्न र? जब कि उनी प्रधानमन्त्रीले केही समय अगाडि २६५ वटा सडकको उद्घाटन यसरी नै बालुवाटारमै बसेर बटम दबाएर गर्नु भएको थियो। हो, त्यसरी नै आज पनि भर्च्युअल माध्यमबाट धरहराको उद्घाटन गरे के फरक पर्थ्यो र?
यस्ता प्रश्नहरूमा सरकारमा बस्ने नेतृत्व यसमा गम्भीर हुनु जरूरी छ। एक वर्ष अगाडि भर्खर भर्खर बेलायतमा कोरोना कहर शुरू हुँदै थियो, बेलायती सरकार कोरोना लक्षित अस्पताल एक साता भित्रै तयार पारेर प्रिन्स चार्ल्सबाट उद्घाटन गर्ने कार्यक्रम थियो। तर प्रिन्स चार्ल्स यसमा नअल्मलिइ अर्थात श-शरीर उपस्थित नभई भर्चुअल्लि उद्घाटन गरेका थिए। अर्को गजब चाहिँ गत हप्ता करिब ७० वर्ष ‘राजमुकुट: प्रति बफादार भएर जनतामा लोकप्रिय रहेका ड्युक अफ एडिनबरा फिलिपको अन्त्यष्टिमा राजपरिवार मात्रै संलग्न भए। यतिसम्म कि, प्रधानमन्त्री बोरिस जोन्सनसमेत त्यसमा संलग्न भएनन् र टेलिभिजन मार्फत हेरेर चित्त बुझाए।
सरकारको नेतृत्व गरेका व्यक्ति नै सबै भन्दा पहिले उदाहरणीय बन्न सक्नुपर्छ। अन्यथा ‘म जे भन्छु त्यहीँ गर्नू, मैले जे गर्छु ,त्यो चाहिँ नगर्नू’ भने झैँ अर्थ लाग्नेछ।
संसारका अति विकसित मुलुकले कोरोनासँग लड्न लकडाउन अर्थात भिडभाड हुन् नदिने र भिडभाडमा नजाने नीति अवलम्बन गरेर यसलाई रोक्ने प्रयासमा लागे र सफल पनि भएका छन्। अहिले संसारमा ब्राजिल पछि भारतमा यसको संक्रमण तिब्र गतिमा फैलिएको देखिन्छ, त्यसको कारणमा भारतमा भिडभाड लाई खुल्ला छाड्नु मुख्य कारण मानिएको छ।
त्यसैले अहिले संसारभरका न्युजच्यानलले भारतको कुम्भमेलामा अनियन्त्रित तवरले गंगामा नुहाउँदै गरेका हजारौंको संख्यामा रहेका भक्तजनको भिडलाई देखाइरहेका छन्।
अरू त अरू नेपालका पूर्व राजा ज्ञानेन्द्र र रानी कोमलसमेत उही कुम्भ मेलामा विशिष्ट अतिथि बन्दै कोरोना संक्रमित भएर फर्किएको समाचार बाहिरिएको छ। आखिर कोरोनाले ठूला र साना भनेर छुट्याउने होइन रहेछ। अनि अर्कोतिर ब्राजिलमा ८ लाख भन्दा बढी मानिस कोरोनाबाट मारिएका छन् , त्यसमा राष्ट्र प्रमुखको गैर जिम्मेवारितालाई दोष लगाइएको छ।
तसर्थ हाम्रा देशका राष्ट्रप्रमुख, सरकार प्रमुख अनि मन्त्रीहरू बेलैमा सजग र जिम्मेवार बन्नु जरूरी छ। बितिसकेपछि पश्चाताप गरेर केही फाइदा छैन। जसको लागि अरू धेरै कुरा गर्नु पर्दैन, सरकारका सम्बन्धित निकायले कोरोनाको भयावहता आउनु अगावै तयारी गर्नुपर्ने कुरा त छँदैछ। सो सँगसँगै सरकार प्रमुख अनि मन्त्रीले जनताको लागि जारी गरेको आदेश सबैभन्दा पहिले आफूले पालन गरेर उदाहरण देखाउनु जरूरी छ।
न कि विवाह, ब्रतबन्धमा भेला हुन् पाइने संख्या २५ तर पार्टीका बैठक र भेलाहरुमा चाहि सयको संख्या नाघ्न पाउने स्वेच्छ्चारिता नदेखियोस्।
जे होस् देशमा रहेकाको मात्र हैन हामी परदेसमा रहेकाको पनि एउटै मन्त्र छ - कोरोना कहर नियन्त्रण भित्र रहोस् र आफ्नो देश आउन र परिवारजनसँग चाडै पुनर्मिलन गर्न पाइयोस्।