२०७२ वैशाख १२ गतेको भूकम्प गएको छ वर्ष पूरा भएको छ। हाम्रो पुस्ताले देखेको सबभन्दा ठूलो भुइँचालोले सामाजिक, आर्थिक तथा भौतिक क्षेत्रमा पारेका प्रभावको पुनरुत्थान तथा पुनर्निर्माण जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको काम पनि समयगत हिसाबमा अन्तिम चरणमा छ।
भूकम्पको प्रभाव आफ्नै अगाडि देखेका जनमानसमा विपदका समयमा जुन डर र त्रास थियो, त्यो क्रमशः कम हुँदै गएको भान आमरूपमा गर्न सकिन्छ। तर भूकम्पीय जोखिम हिसाबले विश्वकै अग्रणी राष्ट्रमध्येको एक नेपालले आगामी दिनमा पुनः यस्तै विपद सामना गर्न तयारी अवस्थामा बस्नुपर्ने अवस्था विद्यमान छ।
अर्को त्यस्तै विपद सामना गर्ने हाम्रो क्षमता अभिवृद्धि हुन सक्यो वा सकेन र विपद जोखिम न्यूनीकरणका लागि उचितरूपमा काम हुन सकिरहेका छन् वा छैनन् भन्ने विषय महत्वपूर्ण हुन्छ। यो लेखमा मुख्यतः पुनर्निर्माणको समीक्षा, विपद जोखिम न्यूनीकरणमा भएका कामको प्रभावकारिता मूल्यांकन, संरचना निर्माण पद्धतिको कमजोरी र आगामी दिनमा चाल्नुपर्ने कदमबारे उल्लेख गरिएको छ।
हाम्रा धेरैजसो ग्रामीण क्षेत्रमा भूकम्पअगाडि ढुंगा, माटो र काठका संरचना हुन्थे भने पहुँच भएका ठाउँमा कंक्रिट संरचना थिए। २०७२ सालको भूकम्पबाट प्रभावित क्षेत्रमा हाम्रा सबैखाले संरचनामा ठूलो क्षति पुगेको थियो। मुख्यतः भुइँचालोको प्रभाव धेरै परेका ग्रामीण वस्ती तहसनहस भएका थिए।
त्यसपछि बढी असर भएका स्थानमा केही हदसम्म भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्छ भन्ने चेतनास्तरको विकास भएको देखिन्छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पनि भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि मात्र अनुदान दिने व्यवस्था भएकाले यसमा केही सुधार देखिन्छ।
तर दक्ष कामदार तथा निर्माण सामग्री अभाव, भूकम्प प्रतिरोधी संरचना निर्माणबारे यथेष्ट जानकारी अभावमा सरकारी अनुदान पाउनकै लागि एक-दुई कोठे घर धेरै बनेका देखिन्छ। यसबाट पुरानै पद्धति अवलम्बन गरी भूकम्प नथेग्ने कमजोर संरचना थपिने अवस्था छ।
कुनै संरचना भूकम्प प्रतिरोधी हुन उचित डिजाइन, गुणस्तरीय निर्माण सामग्रीको उपलब्धता तथा प्रयोग, दक्ष कामदारको आवश्यकता रहन्छ। यसका साथै स्थानको भूबनोट, जमिनको स्थिति र प्रकार आदिले समेत संरचनाको बलियोपनमा असर गर्छ।
हाल ग्रामीण क्षेत्रमा पुरानो होस् वा आधुनिक शैली, दुवै तरिकाले गरिने निर्माणमा समस्या देखिन्छ। स्थानको भूबनोट ख्याल नगरी सबै खाले माटो र जमिनमा एकै किसिमका निर्माण पद्धति अबलम्बन गरिएको पाइन्छ। संरचना भूकम्प प्रतिरोधी हुन आवश्यक न्यूनतम तत्व बिनै बन्ने हुनाले आगामी दिनमा समस्या पैदा गर्ने देखिन्छ।
ढुंगा वा इँटाको गारोमा माटो वा सिमेन्टको जोडाइ हुने निर्माणमा जगको गहिराइ र मोटाइ चाहिने मात्रामा नहाल्ने, जग र घरका मुख्य गारोको जोडाइ सही नगर्ने, घरका कमजोर भाग जस्तै झ्याल-ढोका रहने स्थान र घरका सुर र दुई गारो जोडिने स्थानमा बन्धन नहाल्ने वा सही रूपमा प्रयोग नगर्ने र संरचनाले थेग्न सक्नेभन्दा बढी तला बनाउने लगायत समस्या विद्यमान छ।
यसबाहेक एउटा संरचनामा कुन तत्वको के काम हुन्छ र त्यसको सही प्रयोग कसरी गर्न सकिन्छ भन्ने जानकारी अभावमा भूकम्पपछि पनि कमजोर संरचना बनिरहेकै छन्।
यो समस्या ग्रामीण क्षेत्रमा मात्र होइन, सहरमा पनि छ। सहरी क्षेत्रमा मुख्यतः बिम र पिलर राखेर ढलान संचरना बनेका देख्न सकिन्छ। तर सही डिजाइन अभाव वा डिजाइन सही नै भए पनि उचित निर्माण सामग्री र दक्ष कामदार अभावका कारण कमजोर संरचना बनिरहेका छन्।
सहरी क्षेत्रमा हुने सामान्य निर्माणमा माटोको किसिम र भूबनोटलाई आधार नमानी डिजाइन हुने गरेको देखिन्छ। जमिनको स्थिति, बनोट र माटोको प्रकार अनुसार भारबहन क्षमता फरक-फरक हुन्छ। तर त्यसलाई नजरअन्दाज गरी डिजाइन भइरहेको देखिन्छ। नदीखोला बग्ने वा वरिपरि, पानी जम्ने स्थान, भिरालो, कालो माटो हुने लगायत जग्गाको प्रकारअनुसार फरक डिजाइन गरिनुपर्छ। तर यस्तो चलन निकै कम छ।
आम रूपमा सामान्य घर बनाउँदा ५ फिट गहिरो र ५ फिट लम्बाइ र चौडाइको जग हाल्ने चलन पनि यसकै एक उदाहरणका रूपमा लिन सकिन्छ। साथै पिलर र बिममा डण्डीहरू सही रूपमा नहाल्ने, जोडाइ सही नगर्ने, पिलर बिमभन्दा कमजोर हुने गरी बनाउने, दुई डण्डीबीचको जोडाइ र डण्डीको प्रयोग सही नगर्ने, गिट्टी, बालुवा, इँटा लगायत निर्माण सामग्रीको गुणस्तरमा ध्यान नदिने र उचित प्रयोग नगर्ने लगायत धेरै समस्या देखिन्छ।
नक्सा पास गरेर मात्र निर्माण गर्न पाइने प्रावधान हामीकहाँ छ। नक्सामा घरको बाहिरी बनोट, ओगटेको क्षेत्रफल, झ्याल राख्न छाड्नुपर्ने दुरी लगायत विषय मात्र केन्द्रमा राख्ने तर बलियोपनमा ध्यान नदिने वा डिजाइनमै त्रुटि भए पनि नऔंल्याइने समस्या पनि छ। अर्कातिर डिजाइन र नक्सा सही भए पनि यसभन्दा बाहिर गएर संरचना बन्ने गरेका छन्।
यसबाहेक घर बनेको धेरै वर्षपछि तला थप्दा पनि संरचना कमजोर हुन सक्छ। खिया लागेर कमजोर भएका डण्डी र पानीका कारण ह्रास आएका कंक्रिट ढलानमा तला थप्दा सामान्य अवस्थामा असर देखिँदैन। तर भूकम्पका समयमा गम्भीर असर हुने सम्भावना प्रबल हुन्छ।
२०७२ को भुइँचालोपछि भवन संहिता परिमार्जन गरी भूकम्प प्रतिरोधी संरचना निर्माणमा सहयोगी हुने खालको बनाइए पनि कार्यान्वयन पक्ष कमजोर छ। निकै ठूलो मात्रामा कामदारलाई बलियो संरचना निर्माणका लागि तालिम दिइए पनि उचित प्राविधिक सल्लाह अभावमा सोचेजति प्रभावकारी हुन सकेको छैन। अनि भूकम्पीय असर नपरेका क्षेत्रमा हालसम्म पनि तालिम व्यवस्था हुन सकेको छैन।
यसैगरी भूकम्पबाट सामान्य असर पुगेका संरचना पनि प्रबलीकरण गरिनुपर्नेमा सामान्य टालटुल गरी प्रयोगमा आउँदा जोखिम बढेको छ। विभिन्न निर्माण सामग्रीको आ–आफ्नो आयु हुन्छ र यथोचित मर्मतसम्भार नभए प्रभावकारी हुँदैन। तर हामीकहाँ निश्चित समयको अन्तरालमा हुनुपर्ने मर्मतसम्भारका काम हुँदैनन्। संरचनाको आयु सम्बन्धी ज्ञान पनि छैन।
२०७२ को भूकम्पबाट कम असर पुगेका संरचनालाई उचित मर्मतसम्भार र आवश्यकता अनुसार प्रबलीकरण नगरे आगामी दिनमा सोही किसिमको अर्को भूकम्प आए ठूलो असर देखिन सक्छ। त्यसैले विगतमा बनेका संरचनाको आवश्यकता अनुसार प्रबलीकरण गर्नेतर्फ राज्यको ध्यान जान जरुरी छ।
यसबाहेक भूकम्पीय जोखिम कम गर्न प्राविधिक जनशक्तिको उचित प्रयोग अपरिहार्य हुन्छ। तर नेपालमा सिभिल इन्जिनियरिङ विधातर्फ चाहिने जति मात्रामा भूकम्प र त्यससँग सम्बन्धित विषयको पढाइ हुने गरेको छैन। ग्रामीण क्षेत्रमा अत्यधिक प्रयोग गरिने निर्माण पद्धति सम्बन्धी पढाइ पनि कम हुन्छ। हाम्रो निर्माण पद्धति सुहाउँदो पढाइ हुने गरी पाठ्यक्रम विकास वा परिमार्जन गर्नुपर्ने आवश्यकता पनि छ।
हालको अवस्था विद्यमान रहे हामीले आगामी दिनमा ठूलो भूकम्प आउँदा अपूरणीय क्षति बेहोर्नुपर्ने हुनसक्छ। अर्को भूकम्पका लागि तयारी अवस्थामा बस्नुको विकल्प नभएकाले जोखिम कम गर्न प्राविधिकको सिकाइ विकास, निर्माण सामग्रीको यथोचित प्रयोग सम्बन्धी मापदण्डको सही कार्यान्वयन, कामदारको सीप विकास, यथोचित परामर्शको व्यवस्था, संरचनाको आवश्यकताअनुसार समयमा मर्मतसम्भार, प्रबलीकरण, आम जनमानसले बुझ्ने तवरले भूकम्प प्रतिरोधी संरचना निर्माणमा प्रोत्साहन, सबै स्थानीय निकायमा अनिवार्य नक्सा पास व्यवस्था र हुन नसक्ने स्थानमा भूगोल सुहाउँदो डिजाइन विकास, नक्सा पासमा भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि आवश्यक डिजाइन हुनुपर्ने अनिवार्य व्यवस्था र नक्सा पासमा मात्र नभई निर्माणका क्रममा समेत भूकम्प प्रतिरोधी संरचना निर्माण भए–नभएको यथोचित निरीक्षण हुन जरुरी छ।
(लेखक आचार्य सरकारी सेवामा इञ्जिनियर हुन् र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा भूकम्पीय पुनर्निर्माणका क्षेत्रमा काम गरिसकेका छन्।)