ठ्याक्कै १२ वर्ष हुन लागेछ बाबा, हजुर हाम्रो अगाडि नभएको। खासै त्यस्तो याद आइरहने हैन तर पनि कता-कता केही कमी छ कि अझैँ जस्तो लाग्छ।
हजुरले छोडेर जाने बेला म सानै थिएँ, जम्मा ११ वर्षको। त्यो क्रिया बसेको लगभग सबै दिन म बिहान उठेर आफूलाई टोक्थें। यो सबै सपना भैदिए हुन्थ्यो जस्तो लाग्थ्यो। तर हरेक दिन निराश हुन्थेँ।
दिनहरु बित्दै जान थाले। यादहरु मेरो मस्तिष्कबाट धमिलिँदै जान थाले। त्यो बेला मेरो दैनिकीमा ठुलो फरक त केही परे जस्तो लागेन। मेरा लागि त दिदी र आमाले हजुरको कमी खासै महशुस हुनै दिएनन्।
तर म हरेक दिन स्कुलबाट घर आउँदा आमाले हजुरको तस्बिर समातेर रोइरहेको देख्दा, म हजुरलाई सम्झिन्थेँ। आमा मलाई देखेर नमिठो मुस्कुराउँदै आँसु पुछ्नु हुन्थ्यो। यो दैनिकी करिब २/३ वर्ष नै चल्यो।
मलाई हजुर नहुँदा हजुर कतै विदेश गएजस्तै लाग्थ्यो। म मेरो मनलाई त्यहीँ भनेर चित्त बुझाउथेँ। तर कति वर्षको लागि? विस्तारै बुझ्दै गएँ, विदेश गएकाहरुलाई त फोन गर्न सकिन्छ, खबर पठाउन सकिन्छ, र आजभोलि त भिडिओ कल गर्न सकिन्छ।
तर मसँग त हजुरको नम्बरसम्म छैन भन्ने थाहा भएको दिन मैले हजुरलाई एकदमै सम्झिएँ। हजुर मेरो हरेक रिजल्टमा खुसीका आँसुहरु आँखाभरि लिएर मेरो स्कुल आएर पुरस्कार लिएको हेर्नु हुन्थ्यो। तर त्यसपछिका पुरस्कार मैले हजुरलाई नदेखाई लिनु पर्दा म हजुरलाई सम्झिन्थें।
मेरो स्कुलमा अभिभावकको भेला हुँदा सबै साथीहरुको बाबा, कसैको आमा स्कुलभरि देख्थें तर मेरो लागि अभिभावक भएर ती स्कुलका गुरुहरु नै बस्दिनु हुन्थ्यो। त्यो बेला म हजुरलाई सम्झिन्थें।
समय चलिनै रह्यो। म पढ्नका लागि गाउँ छोड्ने भएँ। घरमा आमा र दिदी मात्रै हुनुहुने भयो। गाडीमा बसिसकेपछि घर त अब छोरा मान्छे कोही छैन भन्ने कुराले झस्किँदा म हजुरलाई सम्झिएँ। मेरो बाल्यकाल हजुर नभएको दिनदेखि बाल्यकाल रहेन।
मलाई विस्तारै मेरा कर्तव्यहरुले थिच्दै लगे जस्तै लाग्यो। म बिदाको बेला अरु जस्तै खेलेर हिँड्न मिल्दैनथ्यो, म अब ज्ञानी भएर आमालाई सघाउनु पर्थ्यो, आमाले कहिल्लै भन्नु भएन खेल्न नजा भनेर, तर म सक्दिनँ थिएँ बाबा।
म मेरै पसलमा बसेर चिया र समोसा बेचिरहेको बेला, मेरै घर अगाडि गुच्चा खेलिरहेका साथीहरु देख्दा म हजुरलाई सम्झिन्थेँ। आमा र दिदीले हजुर नभएको महशुस नगराउन हर सम्भव प्रयास गरेँ र सफल पनि भएँ तर पनि बाबा कलेजमा भर्ना गर्न जाँदा, अभिभावक त ल्याउनै पर्ने सर्त कलेजले राख्दिँदा म हजुरलाई सम्झिन बाध्य भएँ।
म कोठा लिएर काठमाडौंमा बस्न थालेँ। कहिले कुनै साथीहरुको घर जान्थेँ, मैले कसैलाई सोध्न पर्दैनथ्यो। तर कहिलेकाहीँ साथीहरु मेरोमा आउँदा उनीहरुले आफ्नो बाबासँग अनुमति मागेको देख्दा म हजुरलाई सम्झिन्थें।
हजुर मेरो दिमागमा आइरहने त हैन, मलाई हजुरको तस्बिर नै हेर्दा पनि हजुरलाई याद गर्ने कुनै उपयुक्त बहाना नभेटेको जस्तो लाग्छ। तर भदौ कुशे औँसीका दिन त्यो बुबाको मुख हेर्ने दिन सबैले 'ह्याप्पी फादर्स डे' भनेर आफ्नो बुवाको फोटो हालेको देख्दा म हजुरलाई सम्झिन्छु। म नास्तिक नै त हैन तर भगवानमाथि त्यति आस्था पनि छैन र पनि हरेक चोटि गाडी चड्दा भगवानको नाम लिँदा, म हजुरलाई सम्झिन्छु।
आज हजुर भएको भए पनि दैनिकी फरक हुन्थ्यो या हुन्थेन म भन्न त सक्दिनँ। कहिले काहीँ नयाँ साथीहरुसँग कुरा गर्दा घरमा को-को हुनुहुन्छ भनेर सोध्छन्, मैले 'म र मम्मी' भनेर जवाफ दिँदा उनीहरु फेरि अर्को प्रश्न फर्काउँछन् 'अनि बाबा?'
हो, अनि म हजुरलाई सम्झिन्छु।
साँच्चीकै भन्नु पर्दा म रमाइलोमा खासै सम्झिन्नँ बाबा हजुरलाई, किनकि हजुरलाई सम्झिँदा निराश हुन्छु अनि त्यो रमाइलो खेर नजाओस् भन्ने हुन्छ। हो, त्यहीँ बेला आमाले यसको व्यहोरा त ठ्याक्कै बाउको जस्तै छ भन्दा म फेरि हजुरलाई सम्झिन्छु।
आजभोलिका सोच अलिक भिन्न छन् बाबा, आजभोलि कहिले काहीँ मन यस्सै उदास हुन्छ, केही गर्न मन लाग्दैन। आफूलाई साथ दिने माटो, ढलान बन्दै जान्छन्। घन्टौ टोलाएर बस्छु, कति कुराहरु प्रयास गर्दा गर्दै बिग्रिन्छ। व्यवहारले अलिकति थिचे जस्तै लाग्छ।
हरेस खानै लाग्दा आमालाई खुसी बनाउनु छ भन्ने सम्झेर जाँगर गरेर आकाश तिर फर्केर लामो साँस फेर्दा म हजुरलाई सम्झिन्छु।
यी सब त मेरा कुराहरु भए बाबा, तर जोसँग यो जन्मसँगै बाँचौंला मरौंला भनेर कसम खाएकी आमाले कहिले काहीँ म झर्केर बोल्दिँदा, कहीँ कसैले नराम्रो भनिदिँदा, हप्तौ दिनसम्म मैले फोन नउठाउँदा, घर एक्लै ती भाडाकुँडासँग कुरा गर्नु पर्दा, तातो पानि तताएर दिने अनि लिने मान्छे पनि नहुँदा, छोराछोरीको गुनासो गर्ने साथी पनि नहुँदा हजुरलाई कति सम्झिनु हुन्छ होला भन्ने सोच्दा पनि म हजुरलाई एकदम सम्झिन्छु बाबा।
कुनै पनि चिजको महत्व चाहिने बेला मात्र थाहा हुँदो रहेछ बाबा।