छोरो १२ वर्षे, घरमा हुँदा बेलाबेला स्यानिटाइजर लाउने, हात धुने अनि मास्क जम्मा गर्छ। साथीहरू भेटेपछि खेल्छ, दौडिन्छ जुन बालसुलभ गुण नै भो, यहीँ गरिराख्दा मास्क बिर्सन्छ, स्यानिटाइजर पर हुत्याउँछ।
बाहिर हिँडिन्छ, सबैलाई भेटिरहेको हुइन्छ भनेर वुवा ७० वर्षको कोठामा भरसक नछिर्यो, छिर्दा पर बसेर कुरा गर्यो, वुवा भने मौका मिल्यो कि सार्वजनिक गाडी चढेर डुल्न हिँडी हाल्ने। अहिले त यसरी हिँड्न हुँदैन भन्यो बस्दाबस्दा उकुसमुकुस भयो भन्ने जवाफ।
यी माथिका त घरका कुरा भए। हर घरका, नभए धेरै घरका। कार्यालय के कम हुनु। अड्डामा एक हाकिम साहेबले साथीले प्रयोग गरिरहेको ल्यापटप आफूले छुन अघि हातमा स्यानिटाइजर के दलेका थिए, ठूला हाकिमले कोरोना भइसकेको मान्छे नि कति डराको भनेर उडाए।
स्वास्थ्य प्रोटोकल पालना गर्नु भनेको ठाडै डराएको ठहर्छ धेरै अवस्थामा। अनि सुरक्षित दूरी पालना गर्छु, स्यानिटाइज नियमित गर्छु भन्नु खालि ब्यवसाय सुरू गराउन भनिएको मीठो झुठ न भयो जसको भुक्तभोगि ढिलाचाँडो सबै हुनु नै छ। विमान सेवाले लगाइदिएका फेससिल्ड कता हराए, सँगैको सिट खालि राख्ने कुरो सार्वजनिक बसमा त सम्भव भएन पिलेनमा कसरी होस्।
कोरोना धेरै अर्थमा रणनीतिक भएको छ। ब्यवसायी पलायन भई नै रहेका छन्, बाटामा भिड उस्तै छ। अब त धेरैले जाँच गराउन छोडे, गराउने निकायले पनि उसरी नै गति छाड्यो।
फरक प्रसङ्ग। चुनावमा खोलो सरी पैसा बगेकै छ चाहे त्यो कलेज युनियन, ब्यवसायिक संगठन वा टोल सुधार समिति कै किन नहोस्। आम चुनावमा हेलिचार्टर गरेर नेता भोट माग्न पुगेका समाचार हामीलाई पढ्न लाउने, सुनाउने, देखाउने पत्रकार साथीहरुले यो मानेमा नेताहरुलाई अनुशरण गरेको कुरो सुनियो, हो होइन समयले बताउला।
अनि लकडाउनका समयमा गरिएका भर्चुअल बैठक, कार्यालय सञ्चालन लगाएत यावत कार्यहरु यसरी बिर्को लगाइयो कि अब तेतातिर लाग्न नपरेहुन्थ्यो भन्ने निर्विरोध भाव जसरी। कार्यालयका कामहरु श-शरीर गरिराख्दा विगतमा घरैबाट सम्पन्न भएको कुरा नबिर्सदा नि राम्रै हुन्थ्यो।
सानो छोरोलाई जसरी जुम कक्षाको पिरलो छ उसरी नै सरकार र संस्कार वाधक छन् सहज कार्य वातावरण बनाउनमा। कर्मचारी समय अगावै घर फिरेको, ढिलो अड्डा छिरेको सब फेहरिस्त राख्ने अड्डा र हाकिमहरु कर्मचारीबाट सम्पादन हुनुपर्ने कामका विषयमा अनभिज्ञ छन्, काम छरितो कसरी हुने विषय उनीहरुका प्राथमिकतामा छैनन्।
यो पुरै लेखमा खालि भएन, गर्न सकिएन जस्ता सुनेका, देखेका, भोगेका कुरा उक्काउन मात्र खर्चिएको हैन। समयले ल्याएको परिवर्तनमा पात्र र माध्यम फरक प्रवृति उही रह्यो कि भन्ने बस्तुस्थितिको चिरफार गर्न मूलत खोजिएको हो।
पँधेरोमा पानी भर्ने दैनिकीका क्रममा हुने गफलाई कुरो काटेको देख्ने समाजले पधेँरोका सिमिततालाई धुजाधुजा पारी सामाजिक सञ्जाल रङ्गाउने कामलाई प्रविधिमा आएको फड्को देख्नु घातक छ। पधेँरो आधुनिक रुपमा वाल भएको छ, जहाँबाट राजादेखि रंकलाई हिलो छ्याप्न सकिन्छ। कसैलाई पनि सिधै सोध्न सकिने, छलफल गर्न सकिने सामाजिक सञ्जालका गुण गौण बनाइन चाँहि भएन।
बाटोमा एकसुरले हिँडिराख्दा कोही ठोक्किन आइपुग्छ। बुझ्दा साथी टिकटक बनाइरहेको रहेछ। उसको टिकटक अनि सार्वजनिक स्थलमा उसले नाँच्न नपाउने, गाउन नपाउने भन्न खोजेको किमार्थ होइन। उसका भाइरल हुने होडमा बाटोमा सुरक्षित हिँड्न पाउने मेरो सामान्य भन्दा सामान्य अधिकारलाई दखल नगरोस्, यती मात्रै। अलिक अगाडि पुलबाट खसेर एक युवाको प्राण गएको दुखद समाचार हामीलाई सचेत गराउने यु-टर्न मोड हो।
बिट मार्ने प्रसंग। फोहर फाल्न हुँदैन जान्ने दिमाग, मनन गर्ने मन भन्दा निर्णायक चाहीँ हात हुने रहेछ जसले फाल्नलाई उज्याइसकेको हत्केलाालाई सर्लक्क घुमाएर बगलीमा अनि बिर्सजन गर्न मिल्ने ठाउँमा हुत्याओस्। हातलाई अभ्यस्त पार्नु नै आजको मूल मर्म हो। हो सुधार हातबाट गरम्, खुट्टाबाट बढम्, दिमाग त ज्ञानी कै छ।