समयसँगै चिकित्सा विज्ञान झनै विकसित हुँदै गएको छ। वर्षौंअघि बुझ्नै नसकिने र जटिल समस्या पनि अनुसन्धान र नविनतम् चिकित्साले निदान सम्भव बनाईदिएको छ।
यस्तै पछिल्लो दशक विश्वमा अत्यन्तै विकसित विधा हो, ‘इम्यूनोलोजी एवं पेडीयाट्रिक र्यूमाटोलोजी’ अर्थात् रोग प्रतिरक्षा विज्ञान एवं बाल वाथजन्य विज्ञान।
अहिलेको विश्व-चिकित्सा नविनतम् प्रयास, अनुसन्धान र सफलता अधिकांशत: इम्यूनिटी बदलाव, इम्यून थेरापी, स्वस्थ्य इम्यूनिटी, जिन थेरापी, खोप, इम्यून-टेवा दिने औषधि इत्यादिमा केन्द्रित छन्।
इम्यून गडबडीले हुने र्यूमाटोलोजीकल (वाथजन्य) विमारीको अध्ययन र उपचारमा पनि उल्लेख्य विकास भएको छ, जसले अब यी विमारीले अंगभंग हुने र ज्यान जाने खतरा घटेको छ।
पश्चिमा देशमा अत्यन्त विकसित यो चिकित्साविधा नेपालमा भने चेतनाको कमी र भ्रमका कारण कयौं यस्ता रोगबाट पीडित हुने गरेका छन्। रोगको निदान हुन्छ भन्ने थाहा नभएरै कतिपय बच्चामा बाथजन्य रोग हुने गरेको छ।
तर ‘नेपालमा पनि इम्यून कमी हुन्छ र?, बालबालिकामा पनि बाथ रोग हुन्छ र?’ भन्ने जस्ता अत्यन्त भ्रामक धारणा फैलिइरहेको छ।
लक्षण देखिएका बिरामी पनि कसैले यसबारे नसोचिदिँदा रोग थप भयाभह हुने या अंगभंग भइसक्दा मात्र निदानको बाटोमा लाग्ने स्थिति छ। विकास र नविन प्राप्तिलाई आत्मसात नगर्ने बानीले गर्दा हामी यस्ता विज्ञानका थुप्रै पक्षमा अनभिज्ञ छौं या गलत तरिकाले अल्मलिएका छौं। आऔं, यही रोग प्रतिरक्षा (इम्यून) र बाल बाथ-जन्य रोग बारेका भ्रम र यथार्थबारे केही चर्चा गरौँ।
के हुन् बाल बाथजन्य रोग?
हाम्रो शरीरको प्रतिरक्षा प्रणालीमा अस्वभाविक गडबडी आएर वा शरीरका अधिकांश अङ्गमा अत्यधिक सुजन प्रतिक्रिया (इन्फ्लामेशन) देखाएर हाम्रो शरीरका बाह्य अंग (जस्तै- छाला, मुख स्वाशनली, भित्रका तन्तु आदि), आन्तरिक अंग (जस्तै- जोर्नी, रक्तनली, मृगौला, फोक्सो, मांशपेशी, हाड आदि) या जोड्ने तन्तुहरु (कनेक्टिभ टिस्यू) मा देखिने रोगनै बाथजन्य रोग अर्थात् र्यूमाटोलोजीकल रोग हो।
मुटुरोग, मृगौला रोग भनेझै एउटा मात्रै अङ्गमा असर नपरेर यसले कुनै पनि अङ्गमा असर पार्ने भएकाले यसबारे स्पष्ट जानकारी नभएसम्म बाथजन्य रोगलाई कसैले सोचेको पाइन्न। यो एक दुःखद पाटो हो। यसले बिरामीको रोग पत्तै नलाग्ने र रोगको निदाननै नहुने पनि हुनसक्छ।
तसर्थ पहिले त यसको बारेमा हामी सबै सचेत हुन जरूरी छ। अर्कोतिर चिकित्सकहरू पनि यसप्रति जानकार रहनुपर्छ। कुनै पनि रोगमा थुप्रै (दुईभन्दा बढी) अङ्ग प्रभावित या बहु-प्रणालीगत (उदाहरण- एकैचोटी छाला, मृगौला, रक्तकोषमा गडबडी देखिनु आदि) समस्या देखिएमा, कुनै बिरामीको रोग पत्ता नलागेमा, जटिल दीर्घरोग भएमा, या कुनै लक्षण बारम्बार देखिएमा कहीं यो र्यूमाटोलोजीकल अर्थात् बाथ-जन्य रोग त होइन भनि जाँच गराईहाल्नुपर्छ।
बाल बाथजन्य रोग भित्र थुप्रै जटिल तत्कालिन या दिर्घरोग पर्छन्। कावासाकी रोग, सिस्टेमिक जुवेनाइल आर्थ्राइटिस, लुपस, मल्टिसिस्टेमिक इन्फ्लामेटरी रोग, एम.ए.एस., एचएलएच आदि तत्काल गम्भीरता ल्याउने बिरामी हुन् भने अरू आर्थ्राइटिस (जोर्नी सुजन), शरीरका जोड्ने (कनेक्टिभ) तन्तुका रोग, रक्तनलीसम्बन्धित शारीरिक सुजन (इन्फ्लामेशन), अटो-इन्फ्लामेशन, इम्युन-प्रतिक्रियात्मक रोग, लिम्फ सुन्निने बढ्ने रोग आदि यसका दिर्घरोगका केही उदाहरण हुन्।
बाल बाथरोग या बाथजन्य रोग के-के लक्षण हुँदा सोच्ने?
हामीले सम्झिनैपर्ने कुरा के हो भने बाथ र बाथजन्य रोग जोर्नी मात्रैका बिमार होइनन्। यी त तमाम बहु आंगिक बहु प्रणालीगत जटिल समस्या हुन्। जसलाई समयमै निदान र उपचार गरे निको पार्न सकिन्छ। यी रोग उपचार लामो समय चल्न सक्ने र जटिलता आउनसक्ने हुँदा सही उपचारसँगै सही र पर्याप्त फलोअपको पनि त्यतिकै जरुरी हुन्छ।
हामीले कतिपय लक्षणहरू देखेर पनि नजर अन्दाज नगरौं। हुनत बाथजन्य रोग अति जटिल प्रस्तुति लिएर पनि आउन सक्छन्। तर सामान्यतया तलका लक्षणहरु २ भन्दा बढी या कुनै आंगिक लक्षण या प्रणालीगत लक्षणसँगै देखिएमा बाथजन्य रोगको सम्भावना हुन्छ।
- जोर्नी, हड्डी, टेण्डन (मांश-पट्टा), लिगामेन्ट (हड्डी-बन्धन), ढाड, घिच्रो, छाला, लिम्फ, पाचन नली आदि अङ्गमा दुख्ने या सुन्निने भएमा।
- मुख आँखा सुक्खा या रातो भइरहने, दुख्ने, टन्टनाउने, देख्न गाह्रो हुने अरू कुनै लक्षणसँगै देखिएमा।
- छालामा घाउ, दाग आउने, कपाल झर्ने, मुखमा घाउ आउने, पिसाबमा प्रोटिन या रगत आउने, रक्तकोष कम हुने तथा अन्तरिक अङ्गमा पानी जम्ने भएमा।
- ‘बारम्बार गर्भपात’, ‘लुपस’ या ‘सोगरेन रोग’ भएका आमाका नवजात शिशु भएमा। विशेषत: जन्मेको बच्चामा अनुहार र शरीरमा दाग तथा मुटुको गति कम भएमा।
- नशा, लिम्फ र रक्तनली समस्या, सुन्निने, संकुचन आउने या रक्तनलीमा क्लोट जमेर अवरोध भएमा।
- परेला रातो हुने या सुन्निने, गालामा दाग आउने र मुख्य मांशपेशीले काम गर्न नसक्ने, निल्न, बसेर उठ्न, उभिन नसक्ने भएमा।
- औंला सख्त हुने, घाउ हुने, नङ् बिग्रने, नङ्सिलीका कोशीका रक्ताम्मे हुने, चिसोमा औंला नीला हुने, छालाको नरम र लचक नरहेमा।
- शरीरका थुप्रै प्रणालीमा एकैचोटी आंगिक समस्या देखा पर्ने। फोक्सो-शुष्कता, अत्यधिक रक्तचाप या भएमा।
- कुनै पनि बिरामीको कारण पत्ता नलागेको या कुनै एक आंगिक/संक्रमण आदि कारणबाट ब्याख्या नभएमा।
- लगातार ज्वरो आउने, औलाको छाला जाने, जिब्रो, ओठ रातो हुने, हात खुट्टा सुन्निएमा।
- श्वाससंयन्त्र (मुख, कान, नाक, स्वरयन्त्र, फोक्सो) साथै मृगौलामा समस्या देखिएमा।
- आन्तरिक या बाह्य अङ्गमा खोक्रोपना, या गाँठागुँठी भएमा।
- बारम्बार घाँटीको संक्रमण भएका बच्चामा र्यूमाटिक ज्वर आएमा; बिषेशत: मुटुमा समस्या देखिएमा।
- समयसमयमा कारण पत्ता लगाउन नसकिने खालको ज्वरो, चर्म दाग, डाबर, चर्मसुजन, बिबिरा आइरहेमा।
बाल बाथ-जन्य रोग- वास्तविक यथार्थता के हुन् ? (भ्रम हटाऔं)
- बच्चामा पनि बयस्कमा जस्तै र अझ गम्भीर बाथ र बाथजन्य रोग हुन्छन्।
- बाथजन्य रोग भनेका जोर्नीका मात्र बिमार होइनन्। खास त बाथजन्य रोग अधिकांशत: थुप्रै अङ्ग र प्रणालीमा एकैचोटी असर पार्ने खालका हुन्छन्।
- जोर्नीलाई पटक्कै केही असर नगरेका रोग पनि बाथजन्य रोग हुन सक्छन्।
- बाथरोग सधैं दिर्घरोग हुन्नन्। कावासाकी, लुपस, इन्फ्लेमेटरी रोग, एम.ए.एस. जस्ता गम्भीर सघन एवं तत्कालिन खतरा भएका बाथजन्य रोग हुन्छन्।
- लगातार ज्वरो या कुनै प्रणालीगत समस्या भैरहने या बहुप्रणालीगत समस्यामा बाथ सोचिनुपर्छ।
रोग-प्रतिरक्षा कमीका रोग (इम्युन-डेफिसन्सी) के हुन्?
हाम्रो शरीर प्रारम्भिक रचनाको बेला (गर्भदेखि नै) रोग प्रतिरक्षाको विकास हुन थाल्छ। हाम्रो जेनेटिक संरचनाले नै प्रतिरक्षाको जग बसाउने र रोगक्षमता शक्ति दिने हुँदा जेनेटिक गडबडीले रोग-प्रतिरक्षा कमीका रोग (इम्युन-डेफिसन्सी) ल्याउँछ। यिनलाई प्राइमरी रोग-प्रतिरक्षा कमीरोग (प्राइमरी इम्युन-डेफिसन्सी) भनिन्छ। जन्मिँदा जेनेटिक हिसाबले ठिक बच्चामा पनि पछि कुपोषण, प्रदूषण, कोशप्रभावी औषधि, भाइरसको लामो संक्रमण आदिले रोग-क्षमता शक्तिमा गडबडी ल्याउन सक्छ। यिनलाई माध्यमिक रोग-प्रतिरक्षा कमीरोग (सेकन्डरी इम्युन-डेफिसन्सी) भनिन्छ। प्राइमरी इम्युन-कमीका रोग जन्मजात गडबडीले हुने भए पनि यी सबै जन्मनासाथ देखिन्नन्। केही अति प्रभावीयुक्त रोग जन्मेको केही महिनामा देखिन्छन् भने अरू केही वर्षमा देखिन्छन्। कति त किशोर या बयस्क अवस्थामा देखिनेसमेत हुन्छन्। त्यसकारण वयस्कमा जन्मजात इम्युनकमीका लक्षण आउँदैनन् भन्ने कुरा सही होइन। चाहे जहिले नै प्रस्तुत होस् अधिकांशत: इम्युन कमीका रोग बारम्बार विविध संक्रमण, रक्तकोष र लिम्फकोषमा गडबडी, गाँठागुँठी इत्यादिको रुपमा देखिन्छन्।
यदि कुनै पनि बच्चामा कुनै (ब्याक्टेरिया, भाइरस, फङ्गस् अर्थात् ढुसी आदिले) बारम्बार संक्रमण हुन्छ, सघन या गम्भीर हुन्छ, सामान्य किटाणुले बढी थल्याउने हुन्छ, दबाईको असर राम्रो आउँदैन भने त्यहाँ तिनको मूल जरो-कारण इम्युनकमीका रोगको जाँच गरिनैपर्छ। नत्र हामी लक्षणको मात्रै उपचार गरेका हुनेछौं र बिमार जरोदेखि पत्ता लाग्ने पनि छैन र बच्चाको ज्यान पनि जानसक्छ।
इम्युन-कमीका रोग के के लक्षण हुँदा सोच्ने?
बारम्बार संक्रमण तथा दबाईले नछुने दिर्घ लक्षण नै इम्युनकमीका मुख्य चिन्ह हुन्। यी देखिएमा यिनको लागि निदानका जाँच गरिनु बान्छनीय हुन्छ।
सामान्यीकरण गरी भन्दा जनस्तरमा आफ्ना बालबालिकामा तलका लक्षणहरू आइरहने या रहिरहने छन् भने इम्युन कमीका रोगको लागि जाँच गरिनुपर्छ।
- बारम्बार या दीर्घकालीन पिनास, निमोनिया, रक्तनली, आँखा, पाचन अंग, छाला, कानको संक्रमण, या कुनैपनि भित्री अङ्गको सघन या लामो समय संक्रमण रहेमा।
- लामो समय सघन उपचार चाहिने, एन्टिबायोटिकको कम प्रभाव हुने, हरेक चोटी इन्जेक्शन दबाई चाहिएमा।
- झाडापखाला भइरहने, बारम्बार पिलाखटिरा हुने; पिप जम्ने, गम्भीर संक्रमण हुने, कोमल अंगमा ऐजेरु या गाँठागुँठी देखिएमा।
- सोचेजति बच्चाको विकास, तौल, उचाई वृद्धि नहुने, मुख,दिसा, पिसाब, आदिबाट ब्लीडिङ भइरहेमा।
- छालामा दादजस्तै घाउ, एलर्जी, उकुच, एक्ज़ेमा सधैँ रहने या मुखमा बाख्री (सेतो लेउ) जमेमा।
- सामान्य किटाणु (जसले स्वस्थहरुमा संक्रमण गर्दैन) ले गम्भीर बिरामी भएमा।
- कुनै पनि स्व-प्रतिरक्षित (autoimmune) बिरामी भए। बहुप्रणालीगत समस्यासाथ हर्मोन गडबडीमा।
- बोन-म्यारो (रगत बन्ने ठाउँ)को समस्या तथा कुनै रक्तकोष संख्या कम-ज्यादा भइरहेमा।
- समय समयमा ज्वरो आइरहने तर त्यसको कारण पत्ता नलागेमा।
- अस्वाभाविक ओठ फुल्ने, एलर्जी हुने, हड्डी दुख्ने, लिम्फ या फियो/ तिल्ली (spleen) को आकारप्रकार बद्लिएमा।
इम्युन-कमी रोग – वास्तविक यथार्थता के हुन्? (भ्रम हटाऔं)
- अधिकांश इम्युन कमी रोग जन्मजात हुन्छन् तर ती प्रस्तुत हुने उमेर फरक हुन्छन्।
- कुपोषण, वातावरण, जीव जीवाणुको प्रभाव आदि थुप्रै कुराले जन्मपश्चात इम्युन कमी हुन्छन्।
- बाहिरी रूप र आंगिक रुपले ठीकठाक लाग्दैमा बच्चा इम्युन-हिसाबले चुस्त नहुनसक्छ।
- इम्युन कमीका रोगलाई सामान्य लिनुहुन्न। निदान नभएमा कालान्तरमा यसले ज्यान जानसक्छ।
- इम्युन रोग समयमा निदान भएमा उपचार सम्भव भएका बिरामी हुन्।
अन्त्यमा, पश्चिमा र विकसित देशहरुले इम्युन र बाथजन्य रोगमा ठूलो फड्को मारे पनि हाम्रो देशमा संचेतना र जागरुकताको कमी अनि सरकार-निजी प्रयासले यसलाई प्राथमिकतामा नराख्दा अझै पनि यस्ता बिरामी निदान नै नभई यता उता भौंतारिनुपरेको छ। पहिले नेपालमा यस विषयको विशेषज्ञको अभाव भए पनि अहिले बिस्तारै विदेशमा यही विषयमा डाक्टरेट (डी.एम.) डिग्रीयुक्त बिशेष-बिज्ञ उपलब्ध भैसकेका छन्। (हेर्नुहोस्)।
जनचेतना भएमा कमसेकम यस्ता जटिल लक्षणमा मान्छेले आफ्ना बालबालिकामा यी रोग सोच्ने वातावरण बन्नसक्छ।
त्यसो भएमा आज यी रोगले अङ्गभंग हुन पुगेका, ज्यानजान पुगेका बालबालिका भोलि यहीँ निदान र उपचार भै बच्न र सामान्य जीवन जिउन पाउनेछन्। तसर्थ हामीले इम्युन-कमी र बाथ-जन्य रोगका यी सूचकको बारेमा जानकारी राख्दा लाक्षणिक बच्चा लाभान्वित हुनेछन्।
डा. धर्मागत भट्टराई, एम.डी. (बालरोग विज्ञान), डी.एम. (पेडियाट्रिक इम्युनोलोजी एवं र्यामाटोलोजी) हुन्।