होली प्राचिन पर्व हो। हिन्दुहरूका अनेकौं चाड पर्व मध्ये होली पनि एक उल्लासपूर्ण चाड हो। होली पर्व खासगरी नेपाली तथा भारतीय हिन्दुहरू हरेक वर्षको फागु शुक्ल पक्ष पूर्णिमा दिन मनाउने गरिन्छ।
यसको तिथि यथेष्ट नमिल्ने भए पनि हिन्दु पञ्चाङ्ग अनुसार तय गरिएको हुन्छ। होली कहिलेबाट सुरु भयो भन्ने हिन्दु संस्कृति अनुसार यसको इतिहास त्रेता युगसँग जोडिन्छ।
त्रेता युगमा राक्षस हिरण्यकश्यपुका पुत्र प्रह्लाद भगवान विष्णुका परमभक्त थिए। हिरण्यकश्यपुलाई छोरा प्रह्लाद भगवान् विष्णुको प्रिय भक्त भएको देखिनसक्नु असह्य थियो।
त्यसैले हिरण्यकश्यपुले आफ्नो छोरा प्रह्लादलाई मार्ने अनेकौं योजना बनाउने गर्थे। एकदिन प्रह्लादलाई मार्न आफ्नी बहिनी होलीकालाई अग्निकुण्डमा जलाउने षड्यन्त्र गरेछन्।
प्रह्लादकी फुपू होलीकाले आगोमा नजल्ले वरदान पाएकी थिइन्। होलीकाले प्रह्लादलाई काखीमा च्यापेर अग्नि कुण्डमा भस्म गर्न लाग्दा उल्टै आफै जलेर खरानी भएको तर प्रह्लादलाई केही नभएको विश्वास गरिन्छ।
असत्यमाथि सत्यको विजय भएको त्यहीँ दिनको सम्झनामा रंग अबिर हालेर खुसियाली मनाउने गरेको मानिन्छ। यसै दिनसँगको तिथि मिति होली मान्ने मनाउने परम्परा चल्दै आएको विश्वास गरिन्छ।
अर्को प्रसंगमा द्वापर युगमा भगवान श्री कृष्णलाई मार्न गएकी कंशकी सेना पुतना नामकी राक्षस्नी दूधमा विष मिसाएर चुसाउन गएकी तर उल्टै कृष्णले ती राक्षस्नी मारिदिएको किंबदन्ती छ। र त्यस दिनको सम्झनामा शवलाई ब्रजवासीहरूले यसैदिन जलाएर आपसमा रंग र अबिर दलेर खुसियाली मनाएको पाइन्छ।
त्यसैको सम्झनामा चीरदाह गरी होली खेल्ने परम्पराको थालनी भएको र निरन्तर चलिरहेको मानिन्छ।
यस पर्वको वर्णन अनेक पुरातन धार्मिक ग्रन्थ पुस्तकहरूमा पाइन्छ। विष्णुको परम भक्त भएको इर्ष्या, डाह, रिसले आफ्नै छोराको हत्या गर्न पछि नपर्ने निर्मम क्रुद्ध राक्षसको नाश र सत्यवादी प्रह्लाद जस्ता परम भगवान् विष्णुका अनुयायीको विजय हुनु र पछि जीवन्त प्राणीले खुसियाली मनाउने परम्परा उल्लेखनीय छ।
रंग खेल्नकै लागि मात्रै होइन, यद्यपि यसको मनोवैज्ञानिक फाइदा बेफाइदाको साथै रंगले व्यक्तिको शारीरिक, मानसिक रूपमा स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। रंगहरू रातो, पहेँलो,हरियो, निलो तथा कालो बढी प्रयोग भएको पाइन्छ।
रंगको प्रयोग गर्नु पहिला यसको फाइदा र बेपत्तासम्बन्धी जानकारी राख्नु महत्त्वपूर्ण हुन्छ।
रातो रंग
रातो रंग अधिकांशले मन पराउने गर्छन्। रातो रंग शक्तिको प्रतिक मानिन्छ। यसलाई शुद्धता र पवित्रा, साहस र प्रेमको प्रतिकका रूपमा लिने गरिन्छ। रातो गुलाफ प्रेमको प्रतिक त्यसैले मान्ने गरिन्छ। रातो रंग मन पराउने मानिस जिज्ञासु महत्वाकांक्षी जोसिला हुन्छन् भन्ने मनोविधहरू बताउँछन्।
हरियो रंग
हरियो रङ प्राण जीवन शक्ति प्राकृतिक प्रतिक मानिन्छ। यो रंग जीवनको अन्तरभावना, भित्री भाव, रहस्य, मन, मर्म बुझ्ने सजीव जीवित रंग मानिन्छ। हरियो रंग प्राकृतिप्रति माया गर्ने हरियाली जालझेल मन नपर्ने मानिसहरूले मन पराउने गर्छन्। सायद हरियो मन नपराउने कमै मात्रै होलान्।
पहेँलो रंग
पहेँलो रंग भक्ति धर्म परायणताको प्रतिकको रूपमा लिने गरिन्छ। पहेँलो वस्त्र लगाउने मानिस धर्म-कर्मप्रति बढी विश्वास गर्ने पाइन्छ। होली हिन्दु धर्मावलम्बीहरूको पर्व भएकाले पहेँलो रंग विशेष प्रयोग गरेको पाइन्छ। मनोचिकित्साहरूको भनाइ अनुसार यो रंग मनपर्ने मानिस रमाइलो, आत्मीय, व्यावहारिक, उत्सुक, सरल स्वभावका हुन्छन्।
निलो रंग
निलो रंगलाई धर्म युद्धको प्रतिक मानिन्छ। निलो वर्णका भगवान विष्णुले अधर्म, पापी, दानवता, असत्यको नाश गर्न सत्य र धर्म रक्षा गर्न प्रत्येक युगमा अवतार लिने गरेको मानिदैं आएको छ।
कालो रंग
होलीमा कालो रंगको प्रयोग व्यापक प्रयोग भएको पाइन्छ। विशेषगरी यो रंग इर्ष्या र स्वार्थसँग गाँसिएको मानिन्छ। यो रंग मनपर्ने मानिस तुरुन्तै झोक्किने, रिसाउने, आफ्नो भावना खुलस्त तरिकाले भन्न चाहदैनन्। कालो रङ मन पराउनेले मन नपरेकालाई लगाइदिने गरिन्छ, होली हो बुरा मत मानो।
सेतो रंग
सेतो रंग पनि अधिकांशले मन पराउने रंग हो। यो रंगलाई शुद्धताको प्रतिक मानिन्छ। अर्काको भलो चिताउने कसैको कुभलो नचिताउने कर्ममा विश्वास गर्नेहरू चहकिलो सेतो सफा चिटिक्क आकर्षकको प्रतिकका रूपमा पनि सेतो रंगलाई लिने गरिन्छ।
अनेकौं चाड जस्तै होलीका पनि आफ्नै विशेषता छ विश्वका अधिकांश मुलुकहरू आ-आफ्नै तरिकाले मनाइने फरक-फरक नामले मनाउने गरिन्छ।
नेपालमा फागुन शुक्ल अष्टमीका दिन विभिन्न रंगका कपडाहरू मिलाएर बनाएको चीर गाडेपछि उमंग र उल्लास रंग जस्तै आत्मीयताले भरिपूर्ण होली उत्सव पर्व सुरु भएको मानिन्छ।
त्यो दिनबाट सुरु भएको होलीका पर्व पूर्णिमाका दिन चीरलाई ढालेर जलाएपछि सम्पन्न भएको मानिन्छ। तराईमा त्यसको भोलिपल्ट अर्थात् दोस्रो दिन होली खेलिन्छ।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको वसन्तपुर दरबार अगाडि चीर विशेषरूपले सजाइएको लिङ्गो गाडेपछि होली सुरु भएको मानिन्छ र फागुपूर्णिमाको राति उक्त लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको मानिन्छ।
नेपालको अधिकांश भूभागमा हर्ष उल्लासले हप्तौं दिनअघिदेखि पौराणिक गीत होलीकाको महिमा गाउने खेल्ने प्रचलन रहँदै आएको छ।
यो पर्व वसन्त ऋतुको आगमन भएको शंखघोष गर्दछ। प्राकृतिक रूपमा अत्यन्तै मनमोहक बोट बिरुवाले पुराना पात खसाल्ने फेर्ने नयाँ पालुवा पलाउने गर्छन्। हिमाली, पहाडी तराईका समतल घना जंगल भावर निकुञ्ज भूभागमा मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
यो मौसममा विशेषगरी हिमाली पहाड, डाँडा, पहारा, खोच, दौँतरी, भञ्ज्याङ, चौतारी किनारमा वनपाखा लाली गुराँसले दुलही झैँ ढकमक्क परेको हुन्छ। लेकमा जन्ती फूल फुल्ने समय पनि यहीँ हो। लाली गुराँसको विभिन्न प्रजाती मध्ये रातो गुराँस हाम्रो गौरव राष्ट्रिय फूल पनि हो। स्वर्ग टुक्रा हो, हाम्रो देश नेपाल।
जसरी रंगिचंगी रंगिबिरंगी अंकमाल गरेर एक आपसमा लगाइन्छ, भाइचारा पुराना रिसराग, इर्ष्या, मतभेद, मतभिन्नता, वैरभाव, कटुता, विवाद, दुराग्रह, दुराचारको अन्त्य गर्ने पर्व हो होलिका।
जसरी दैत्यको अर्थात् असत्यको विजय अग्निकुण्डमा नजल्ने वरदान पाएकी होलीका आफ्नै भदा प्रह्लादलाई मार्न भनी प्रह्लादलाई काखी च्यापेर अग्नि कुण्डमा पस्दा वरदान पनि काम लागेन, स्वयम् खरानी भइन् तर विष्णुका परम भक्त प्रह्लादलाई केही भएन। त्यसको खुसी रंगको पर्व होली हो।
होली सबै उमेर समूहका मानिसले मनाउने गर्छन्। हिन्दु धर्म मान्ने मात्रै होइन हरेक जात वर्ण धर्म मान्ने मानिस पनि होली खेल्ने रमाइलो गर्ने गर्छन्। साना बालबालिकादेखि वयस्क, वृद्ववृद्वा युवायुवती सबैले होलीमा रमाउने गर्छन्।
युवायुवती गीत गाउने बजाउने रंग लगाउने गर्छन्। कटुता, दुश्मनी, दुराग्रह बिर्सेर, अद्वितिय आत्मीय सम्बन्ध सुमधुर पार्ने होली पर्वको प्रमुख विशेषता मानिन्छ। रंगिन जीवन, रंगिन सम्बन्ध हरेक रंगको फरक फरक फाइदा र गुण बोकेका हुन्छन्।
त्यसैले सकारात्मक काम गरौं, एकाअर्कालाई आदर सम्मान गरौँ। यस्ता धार्मिक चाडपर्वको महत्त्वबाट प्रेरणा जगाउने गर्छ। समाजमा भएका अन्धविश्वास रुढीबादी परम्परालाई अन्त्य गर्दै, हाम्रा रीतिरिवाज परम्परालाई थप सुढृड गर्दै, सकारात्मक पक्ष आत्मसात गरौं। नकारात्मक पक्ष छोडौं, सुधार गर्दै अझ उन्नत हर्ष उल्लास उमंगका साथ चाड मनाऔं।