ब्राह्मणको घरमा नवाज! लेखको शिर्षक सुन्दा नै के-के लेख्छ यो? भन्ने कुरा सबैको मनमा आयो होला है?
मेल नै नभएको कुरा, कहाँ ब्राह्मण र कहाँ मुस्लिम। यसो धर्म ग्रन्थ हेर्ने हो भने त झन् जमिन आकाशको फरक।
देउता फरक, पूजा गर्ने तरिका फरक, पूजारी फरक, आरधना गर्ने नाम फरक। हामी पूजा भन्छौँ त उनीहरु नवाज। अझ मन्दिर फरक नहुने त कुरै भएन। हजुरको मनमा यस्तै प्रश्नका छालहरु उठिराछ है? ल आउनुस्, कुरालाई नबंगाइकन भन्छु।
साउन भदौको महिना होला, मधेसको गर्मी उस्तै। अझ मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना अर्थात् रमजानको अन्तिम अन्तिम महिना भएर होला बजारमा गाउँबाट सदरमुकाम जिन्सी समानदेखि, ईदमा लगाउनका लागि नयाँ लुगा फाटा किन्नेको भिड उस्तै छ।
बजार व्यवस्था गर्नलाई गाह्रो भएर हो कि गाउँको हिलाम्य बाटो हिँडेर आएका गाडीहरुलाई घण्टाघरको बायाँपट्टिको खुला चउरमा राख्न नदिएर हाम्रो घर अगाडिको चउरमा राखिएको थियो।
घरको पेटीमा बसेर अस्थायी बसपार्कको दृश्य हेर्दै र चिया खाँदै गर्दा एकजना ४०/४५ वर्ष कि मोटोघाटो शरीर, आँखा थोरै धसेको भएकी महिलाले दायाँ बायाँ पलाक पुलुक हेर्दै फर्किँदै दुई/चारपटक नै गरिन्।
यस्तो लाग्दै थियो कि उहाँ कसैलाई खोज्दै हुनुहुन्छ। विस्तारै देब्रे हातले देब्रे घुँडालाई समाउँदै हामी तिर आउनु भयो।
'सुनिना नवाज पढेके समय होगइल, चारुवरि देखलेनि केनहु निमन जगा ना मिलल। अपनेके बरण्डा मे पढलि? (के म हजुरको बरण्डामा नवाज पढन सक्छु? यता उता हेरेँ कतै राम्रो ठाउँ भेटिनँ।)'
भेटोस् पनि कसरी? सानो चउरमा त्यत्रो मान्छे, आउँदा फोहोर हुने त भैहाल्यो नि। अझ व्यवस्थित शौचालय नहुँदा जता पाए त्यतै यात्रुहरुले गरेका पिसाबले चउर दुर्गन्धित नै थियो।
बुवा: (भोजपुरीमा) हुन्छ गर्नुस्, अरु केही चाहिन्छ कि?
उहा: आवश्यक भए मागूँला। हात खुट्टा धुनु पर्ने, बाथरुम कता हो?
बुवा: अगाडिबाट बायाँ तिर हो। रुक्नुस् अलमलिनु होला, जा जा बाबु बाथरुम देखाइ दे।
म हस् भन्दै ती अन्टीलाई बाहिरपट्टि रहेको बाथरुममा लैजान्छु। म सानै थिएँ र हाम्रो घरमा प्रायः नेपाली नै बोल्ने भएकोले भोजपुरी भाषाको त्यति गहिरो गफ बुझ्नलाई निकै गाह्रो भयो। अर्थात्, आधिअधुरो बुझेको थिएँ। तर यति बुझेको थिएँ कि ती अन्टीलाई केही पढ्नु छ भनेर।
केहीबेरमा ती अन्टी बाहिर रहेको बरन्डामा आउनु हुन्छ र एउटा पातलो कपडा भुइँमा ओछ्याएर पश्चिमपट्टि निहुँरेर मुख भुइँमा जोड्दै, दुई हातले हामीले दसैंमा टीका थाप्दा गरे झैँ विस्तार मन्त्र पढ्दै हुनु हुन्थ्यो।
यो दृश्य मैले प्रत्यक्ष पहिदै पटक देखेको। त्यो नि मेरो घरमै। मैले कल्पना पनि गरेको थिइनँ मेरो घरमा यो दृश्य देख्न पाउँछु भनेर, तर हिन्दी फिल्महरुमा भने निकै पटक देख्या थिएँ।
हजुरबुवा हाँस्दै ठट्यौली पारामा भन्नु हुन्छ 'हाम्रो कृष्ण भगवानलाई ढोग्दै छिन् कि क्या हो!'
हजुरबुवाले भनेको त्यो कुराले मैले नि भित्तामा झुन्डाएको ती बालकृष्णको तस्बिर झल्यास्स याद आयो। म नि हजुरबुवाको बोलीमा 'है' थप्दै फिस्स हाँस्न लागेँ।
भित्रबाट दिदी नि बाहिर निस्किनु भयो र एकछिन अकमकाउनु भयो। जाउँ कि न जाउँ छेउबाट। दिदी मात्र हैन, यतिबेला हाम्रो घरमा भएका सब नै वाल्ल परेर तिनै अन्टीलाई हेर्दै थियौँ।
बुवा बाहिरबाट इशारा गरेर ममीलाई एक कप चिया लेराउन र भिड नगर, जाओ भित्र भन्नु भयो। घरका मान्छेहरु अचम्म पर्नु त स्वभाविकै हो हिन्दुको घर, त्यसमाथि उपाध्याय बाहुन!
बरण्डादेखि हल प्यासेज विभिन्न ठाउँमा, विभिन्न देवी देउताका तस्बिर सुझाइएका। हजुरबुवा, बुवा गीता पठ गर्ने। मलाई त यस्तो लाग्दै थियो कि हामीले सधैं पूज्ने देउता के आव ती महिलाको रुपमा हाम्रो घरमा त आएका हैनन्? हुन त हाम्रा देउता रुप छल्नलाई एकदमै सिपालु छन्। के थाहा! जे नि हुनसक्छ।
ती अन्टीको पाठ सकिनु र चिया बोकेर ममी बाहिर आउनु सँगसँगै हुन्छ।
ती आन्टीले बाबालाई दुई हात जोड्दै धन्यवाद भनिन्।
बाबा: यतिको लागि धन्यवाद भन्नु पर्दैन। बस्नुस् न, हजुरको भाग चिया बनिसक्यो खाएर जानुस्।
उहाँ: मेरो त रमजान छ, सूर्य नडुबेसम्म केही खन हुन्न। हजुरहरुको वर्त जस्तै हो यो हामीहरुको।
बुबा: ए हुन्छ।
उहाँ: अर्कोचोटि आएँ भने अवश्य खान्छु दिदीको हातको चिया।
ममी: हस्, हुन्छ।
उहाँ: भगवान् सबै एउटै हो, राम रहिम सबै एउटै हो। केवल पूज्ने तरिका मात्र फरक फरक हो।
सबैलाई नमस्कार गर्दै आफ्नो गाउँ जाने बसतर्फ हिँड्दै गइन्। ती अन्टी पर गइसकेपछि मैले बुबालाई सोधेँ, यसो गर्दा हाम्रा देउता रिसाउँदैनन्?
'हाहा..' बुवा र हजुरबुवा एकैसाथ हाँस्नु भयो। म भने अक्क न बक्क परेर बुवा र हजुरबुवाको मुख हेरेर बसेँ। मेरो प्रश्नमा वास्ता नगरी हाँसेको भएर मलाई भित्र भित्रै रिस उठिराखे पनि बाहिर भने म नि हाँसेकै थिएँ।
बुवा: तैट लाटा! कस्ले भन्यो देउता रिसाउँछन् भनेर? यस्तो झिना मसिना कुरामा नि देउता रिसाउँछन्! यदि हामीले ती महिलालाई नवाज पढ्न नदिएको भए चाहिँ देउता रिसाउँथे।
लाइब्रेरीमै एकै ठाउँमा राखेका विभिन्न धर्म ग्रन्थका किताबहरु कहिले रिसाएर गीता, कुरान म बेग्लै बस्छु भनेको सुन्या छस्?
म: छैन।
मैले खोजेको उत्तर पाएपछि म मौन भएँ।
बुबा भने त्यही अन्टीकै तारिफ गर्दै भन्नु हुन्छ। हेर त जाने बेला कस्तो राम्रो कुरा भनेर गएको। यही त हो नि धार्मिक सहिष्णुता।
हुन पनि हो, धार्मिक सहिष्णुता भनेकै यही त हो। हिन्दुले मस्जिद बनाउन सहयोग गर्नु, मुस्लिमले दुर्गापूजा गर्न सहयोग गर्नु। बौद्धधर्मीको स्वयम्बूमा हिन्दु जानु। हाम्रो होलीमा उनीहरु रमाउनु र उहाँहरुको ईदमा हामी।
सायद विश्वमै विरलै भेटिन्छन् होला नेपालीहरु जस्तो धार्मिक सहिष्णुता भएको अरुहरु। नत्र त प्रत्येक देशको इतिहासका दुई/चार दशक पल्टाइयो भने जातीय द्वन्द्व, धार्मिक द्वन्द्वमा बगेर सुकेका टाटा रगतहरु पानैपिच्छे भेटिन्छन्। तर करिब १२६ जातजाति १२३ भाषाभाषी भएको हाम्रो देश। न कहिले लडेको छ न कहिल्यै लड्ने छ।