म घरको कान्छो, अरु चार जना दिदी। सबै दिदीहरुको बिहे भैसक्यो। कान्छी दिदी र मबीच ५ वर्षको फरक छ। कान्छी दिदीको बिहे भएको भर्खर ३ वर्ष हुन लाग्यो।
मैले सबै दिदीलाई तपाईं हजुर नै भन्छु, तँ भन्ने त्यहीँ कान्छी दिदीलाई हो। ममीले कति चोटि गाली गर्नुभयो 'दिदीको बिहे भएसी त तपाईं भन्न सिक्' भनेर तर मलाई भन्नै आएन।
हाम्रो बाबाले हामीलाई चाँडै छोडेर जानुभयो। घरमा तीन जना मात्र हुन्थ्यौं। जसो तसो गरेर ममीले पढाउनु भयो, दिदीले ब्याचलर पढ्ने बेलामा नै काम गर्न थाली। आफ्नो खर्च सँगै घरमा अलि अलि सहयोग गर्न पुग्ने भयो।
मलाई ब्याचलर पढ्ने खर्च त्यसैले नै सहयोग गरी। दिदी हाम्रै घर नजिकको स्कुलमा सरकारी शिक्षक हो। दिदीको बिहे भएपछि पनि जागिर छोड्न नमिल्ने जस्तो भएको भएर हामीसँगै बस्थी। त्यही भएर पनि बिहे भएर गए जस्तो पनि लाग्दैनथ्यो।
तर अहिले दिदीको आफ्नै घरतिर सरुवा भयो। अलिक टाढा नै छ दिदीको घर। म काठमाडौं छु अहिले, सानो तिनो जागिर गर्छु। घर दिदी र ममीसँगै हुनुहुन्थ्यो भनेर ढुक्क थिएँ। आज घर फोन गर्दा ममीले 'बाबु, दिदी त घर गई आज' भन्नु भयो।
मलाई थाहा थियो आज भोलिमा जान्छे भन्ने तर किन किन ममीले त्यो भन्दै गर्दा मलाई एक्लै भए जस्तो भयो। सुनसान लाग्यो म बस्ने कोठा, मैले सम्झेको त्यो घर, ममीको मन सबै एक्लै लाग्यो।
दिदीको बिहे गरेर बिदाइ गर्दा पनि यति एक्लो भए जस्तो लागेको थिएन किनकि दिदीको जागिर यतै भएकोले आइहाल्छे नि भन्ने भएर नि होला तर अब त तँ पनि टाढा भए जस्तो लाग्यो दिदी।
मलाई आज त्यो सबै कुरा एक्कासी याद आयो दिदी। त्यो चिया खाँदा खाने पाउरोटी स्केलले नापेर आधा आधा काटेको, तँलाई धेरै पर्यो भनेर म रोएको, ममीले दुई जनालाई रुने गरी पिटेको, पसलको चाउचाउ आँटीमा बसेर लुकी लुकी खाएको।
मेरो होमवर्क गर्देर तँ स्कुल जान्थिस्, कतै खेल्न गएर एकछिन आइन भने गाउँभरि भाइ भाइ भन्दै खोज्न हिन्थिस्। घर आएपछि फेरि झगडा गर्थ्यौं। हरेक बिहान ममीले पढ्न पठाउनु हुन्थ्यो अनि तँ र म कोठामा बसेर नाम, थर, ठाउँ, फिलिम वाला गेम खेल्थ्यौँ।
तँ घर हुन्जेल कहिल्यै लुगा धुन परेन मलाई। कहिल्यै झोलामा आफै किताब राखिनँ। कतै जाँदा लुगा मिलाइदिएर लगाइदिनी तँ नै हुन्थिस्। अझै पनि तँसँग फोनमा राम्रोसँग कुरा गरेको याद छैन मलाई। सधैँ कराएर फोन काट्ने गर्थेँ, तर पनि पैसा तैले नै हाल्दिन्थिस्। दसैँमा तँ नै गएर लुगा किन्दिन्थिस्।
तर अब त्यस्तो नहोला दिदी, अब घरमा पाउरोटी आधा आधा पारेर खाने मान्छे हुन्नन्। घर ढिला आउँदा खोज्न जाने मान्छे हुन्नन्। अब त त्यो उमेर नि छैन तर पनि तेरो कमि त्यो घरले, त्यो घरको भान्साले, ती माथि लगाएका फूलहरुले, त्यो दराजको ऐनाले, ती घरका भित्ताले, ती ममीका आँखाले र यो भाइको मनले महशुस गर्ने छन्।
हो, हुन त बिहे भएसी तँ ढिलो चाँडो तेरो घर जानै पर्थ्यो तर पनि मनले मान्दैन। अब ती ममीका हरेक साँझका गुनासो सुन्ने तँ हुनेछैनस्। मसँग सानो कुरामा कराउने तँ हुने छैनस्। तँ हरेक चोटि झगडा गर्दा भन्ने गर्थिस् 'बिहे भएसी म त आउँदै आउन्न देखेस्।'
म नि भन्थेँ 'कति आनन्द हुन्छ होला' तर दिदी त्यस्तो केही हुन्न। सुनसान हुनेछ घर तँ बिना। आजभोलि त त्यो घरका हरेक भित्ताले त्यो भान्जाको आवाज नसुनी अडिन गाह्रो मान्छन् होला। तेरो स्पर्श बिना त्यो भान्साका भाँडाले खाना बनाउन इन्कार गर्न सक्छ।
त्यो दराजको ऐनाले तेरो बाहेक अरुको आकृति देखाउन गाह्रो मान्न सक्छ। मलाई थाहा छैन, अब तेरो घरले तेरो कसरी स्वागत गर्ने छ, तर हाम्रो घरले तलाई बिदाइ गर्न साह्रै गाह्रो मान्यो दिदी।