कोठाको ढोकाभित्र पस्नुभन्दा पहिला मोबाइलमा घन्टी बज्यो। ढोकाबाट भित्र पस्दै मोबाइल कानमा लगाएँ।
मैले हेलो भन्न नपाउँदै, मेरो कानमा अशुभ शब्द आएर बज्रियो।
‘सही हो’,भनि एकपल्ट पुनः सोधें,‘हो र?’
डाक्टरले ‘अब हामीले केही गर्न सक्दैनौं,भनेकै हो हो नि? सक्नुहुन्छ भने जतिसक्यो चाँडै घर आउने कोसिस गर्नू।’
कोठामा कसरी पसें थाहा भएन। छिटोछिटो ड्युटीमा लगाएका कपडा उतारी आफूलाई धारामा पखालें।
यतिबेरमा साथीभाइले चिया तयार गर्नुभएको थियो। मेरो मन भने घरतिर अनि बाबाको अनुहारमा घुमिरहेको थियो।
साँझको समयमा कम्पनी पनि बन्द थियो। फेरि पनि कम्पनीको इमेलमा जानकारी गराई हालें।
साथीभाइले के भो?भन्न थाले।
मेरो अनुहारको भावले प्रष्टै थाहा हुन्थ्यो कि म अप्ठ्यारोमा थिएँ।
‘म घर जानुपर्ने भयो।’मैले छोटो उत्तर दिएँ।
‘के भयो ?साथी!,’सबैको एउटै प्रश्न।
मैले बेलिविस्तार लगाएँ। कुरा सुनेर साथीभाइ पनि निराश र चिन्तित देखिए।
मोबाइलमा फेरि घन्टी बज्यो।
यसपालि फोनमा भिडिओ कल आएको थियो।
फोन उठाएपछि थाहा भयो। बुवालाई हस्पिटलबाट घर लागिएको रहेछ।
आँगनको डिलमा, तुलसी मोठ अनि बाबाको त्यो बोल्न नसक्ने अनुहार।
बाबाको अवस्थाले मलाई आफ्नो शरीर धान्न कठिन भइरहेको थियो। बाबाको त्यो अवस्था देखेर आफूलाई सम्हाल्न सकिरहेको थिइनँ। त्यही पनि परदेशको ठाउँमा आफूलाई सम्हाल्न बाहेक अरू केही उपाय पनि त थिएन।
बाबाको बोल्न पनि नसक्ने त्यो अनुहारले,‘छोरा मसँग आएर अन्तिम समयमा मलाई काखमा लिग्न।’ भनिरहेको भान हुन्थ्यो। अनि टोलाई रहेका ती आँखाले मलाई पिलिपिली हेरेको देख्दा ‘बाबु, यो मेरो अन्तिम हेराइ हो’ भने जस्तो लाग्यो।
आँखाको किनाराबाट बगेको ती आँसु देख्दा मेरो परदेश हुनुको पीडाले छाती भरिएर फुट्न लागेको थियो।
बाबालाई एकछिन हेरिरहें। उहाँको अनुहार पनि मलाई हेरिरह्यो।
बाबालाई हेरिसकेपछि फोन काटें। रुन्नँ भन्दा पनि आँखाबाट बर्बरी आँसु झरे।
साथीभाइ सबैले मलाई सम्हाल्न सहयोग गर्नुभयो।
बाबालाई अन्तिम पल्ट भेट्न जानको लागि , म साथीलाई लिएर ट्राभलतिर लागें।
भोलिका लागि टिकट पाउन कठिन भए पनि टिकटको व्यवस्था भयो।
बिहान कम्पनी पुग्दा पासपोर्ट आइसकेको रहेछ।
म पुग्नेबित्तिकै मेरो इमर्जेन्सी बिदाको पेपर तयार भयो।
कम्पनीमा विभिन्न मुलुकका साथीभाइहरूले मेरो सफल यात्रा अनि बाबासँग छिटो भेटको लागि प्रार्थना पनि गरे।
कम्पनीको गाडीले मलाई एयरपोर्ट पुर्याउने भयो।
हातमा एउटा सानो ब्याग अनि त्यसभित्र दुई जोडी कपडा थिए। पासपोर्ट टिकट चेक गरी रूमबाट निस्किएँ।
गेटमा कम्पनीको गाडी थियो। गाडी माली छोडन एयरपोर्टतिर हुइँकियो।
एयरपोर्टको गेटबाट भित्र पस्दा अनौठो अनुभव भएको थियो।
सधैं रमाइलो लाग्ने त्यो एयरपोर्ट मेरो लागि सुनसान थियो। कसरी बोर्डिङ पास लिएर,जहाज उड्ने ठाउँमा पुगेँ थाहा भएन।
जब म जहाजमा बस्न जाने बेला भयो। फेरि मेरो मोबाइलको घन्टी बज्यो।
उताबाट आवाज आयो-बाबा बित्नुभयो।
उफ्!! म के गरूँ? एयरपोर्टमा मेरो नाम बोलाएको थियो,जहाजभित्र पस्न। ‘ल,ल म आउँदै छु’ भनी फोन काटेँ।
आखिर चार घण्टा त हो नि, काठमाडौं पुग्न। अन्तिमपल्ट बाबालाई नजिकबाट, मृत्युपछि भए पनि हेर्ने धोको राखी जहाजमा उडेँ।
जहाज उचालिएर बादल माथि-माथि उड्दै थियो। मलाई बाबाको आत्मा त्यही बादलमाथि घुमेजस्तो महसुस भयो।
‘छोरा छिटो आउन’ भनेको जस्तो आभास भएको थियो।
त्यो चार घण्टाको यात्रा, मेरो लागि चार युग जस्तो लागिरहेको थियो। कतिखेर घर पुगुँ, मनमा हुटहुटी थियो।
कहिले बादलमुनि, कहिले बादलमाथि हुँदै जहाज आफ्नो गतिमा उडेको थियो।
डाँडा, पखेरा कपासजस्ता हिमाल देखिएपछि काठमाडौं नजिक आएको प्रष्ट भयो। जहाज समयमा नै ल्यान्डिङ भयो। यसपालि कुनै किसिमको अप्ठ्यारो आएन।
हतार/हतार बाहिर आएँ। एयरपोर्ट सुनसान देखेँ। सधैं आउँदा मान्छे तान्न आउने एयरपोर्ट किन आज सुनसान छ? मनमा प्रश्न थियो। तर उत्तर पाइरहेको थिइनँ। घर पुग्न अझै दश घण्टाको यात्रा तय गर्नु थियो।
नजिकै उभिएका प्रहरीलाई सोधेँ,’ होइन हजुर किन यस्तो सुनसान?’
‘आज भोलि नेपाल बन्द छ हजुर’, उताबाट उत्तर आयो।
मैले आफ्नो समस्या बताएँ।
‘माफ गर्नुहोला नजिकको कुरा भएन, यति टाढा जान हजुरको लागि हामी केही सहयोग गर्न सक्दैनौं,’ प्रहरी छोटो उत्तर दिएर आफ्नो काममा लागे।
एयरपोर्टदेखि तलसम्म हिँड्दै आएँ। मन बेचैन भयो। के गर्ने कसो गर्ने मेसो पाउनै सकिनँ। मन कतिबेला घर पुगेर मलाई कुरिरहेको बाबाको शव उठाउला भन्ने सोचिरहेको थियो।
पूरा रोडमा मानिसको भीड, नारा जुलुस थियो। बिजुलीका खम्बामा जिउँदा तर मुर्दाजस्तो गरी फोटोमा टाँगिएका नेताका तस्बिर देखें। यी तस्बिरले हामी जस्ता परदेशी अनि दीनदु:खीलाई गिज्याएर हाँसेको जस्तो लाग्थ्यो।
यस्तैमा एक जना सानो भाइ आएर ‘होटल जाने हो दाइ’ भन्यो।
खै किन हो उसको मन मलाई निश्चल लाग्यो।
‘भाइ म आफ्नो अर्कै समस्यामा छु,’ आफ्नो कुरा सकाउन नपाउँदै उसले ‘कस्तो समस्या हो दाइ?’ भनेर प्रश्न गर्यो।
धेरै लम्ब्याउनुभन्दा उसलाई मेरो समस्या बताएँ।
उसको मुहार पनि मलिनो भयो। सायद उसले मेरो समस्या बुझ्यो कि!
‘ओहो! दाइ ठूलो समस्यामा पर्नु भयो नि हजुर। जाऊँ दाइ होटलमा गएर सल्लाह गरौंला। यहाँ पनि गाडी पाइने होइन।’
उसको कुरो नि ठिकै हो, रोडमा बस्दैमा समस्याको हल हुने कुरो नि भएन।
होटल पुगिसकेपछि डोमेस्टिक जहाजको टिकट पाउँछ कि भनेर होटल मालिकले खुब कोसिस गरे।
उनको प्रयास पनि असफल नै भयो।
मेरो मन पागलजस्तो भएको थियो। तत्काल घर जाने सबै विकल्प मेरा लागि बन्द भए।
तुलसीको मोठमा रहेको बाबाको शवलाई राखिरहने कुरो पनि त भएन।
घरमा फोन लगाएँ। आँगनको डिलमा बाबाको शवलाई कुरेर गाउँले अनि आफन्तजन बसिरहनुभएको थियो।
उहाँहरूलाई म आजभोलि आउन नसक्ने कुराको जानकारी गराएँ। उहाँहरूले कुरो बुझ्नुभयो आखिर नेपाल बन्द त देशभरि नै थियो। अन्तिमपल्ट बाबाको मृत्युपछिको अनुहारलाई मोबाइलबाट हेरेँ।
अब शवलाई म बिना नै उठाउने कुरो भयो। तीन भाइ तीनतिरबाट बाबाको शवलाई काँध दिने भए। मेरो 'अभागी' काँध भने परदेशबाट आफ्नो देशमा आइसक्दा पनि बाबाको शव उठाउन असमर्थ नै रह्यो।
बाबाको शव मबिना नै, शव लेखिएको पोष्टर लगाएको बसमा राखियो। म भने यता आफ्नो भन्दा पनि राजनीति खेलको समस्यामा नराम्ररी फसेको अनुभव गरिरहेको थिए।
अब बाँकी के छ र? बन्द खुलेपछि बाबाको काजकिरिया गर्न घरजाने आशा नै बाँकी थियो।
‘बा! स्वदेश आएर पनि आउन सकिनँ हजुरको शव उठाउन’भन्दै आफैंलाई समाल्ने कोसिस गरेँ।
होटलको सानो भाइ मलाई टुलुटुलु हेर्दै थियो। मेरो आँखा बाबाको शव हेरेर रसाएको थियो भने उसको आँखा मेरो वेदना देखेर।