प्रसंग नम्बर १
सन् २०१४ मा भारतको माहाराष्ट्र प्रदेशको पुना सहरमा सुकुम्बासी बस्तीमा बसी जीविकोपार्जनको लागि बा-आमासँगै रेलको डिब्बा डिब्बामा गीत गाएर पैसा मागी जीवनयापन गर्ने एक ११ सालको बालिका मिठो स्वर भएकै कारण एकजना युट्युब पत्रकारले भेट्टाएर भिडिओ बनाए।
त्यो भिडिओलाई सामाजिक संजालमा संप्रेषण गरिदिए। फलत: बालिकाको सो भिडिओ भारतभर मात्र होइन, धेरै देशहरुमा भाइरल भयो। दिन दुगुना, रात चौगुनाको दरले एकाएक उनी चर्चाको शिखरमा पुगिन् कि युट्युब, फेसबूक तथा इन्स्टाग्राम जस्ता सामाजिक संजालमा उनको पेज लाइक गर्नेको संख्या शाहरुख खानको भन्दा बढ्ता भयो।
उनलाई सबैले भेट्न र सेल्फी खिच्न अनि अटोग्राफ दिनमा भ्याइ नभ्याइ भयो। स्थानीय पत्रपत्रिका र एफएम लगायत टिभी च्यानलहरुको मुख्य मसला उनै बालिका भइन्।
उनीसँग इन्टरभ्यू लिनका लागि उनको बस्तीमा च्यानलहरु बिहान २ बजेबाट लाइन लागेर बस्न थाले। बालिका एकजना तर धेरै मिडिया एकैचोटि झुम्मिदा ती अबोध बालिकाले सबैलाई समय दिन भ्याउने सम्भव पनि हुन्न थियो। तसर्थ च्यानल च्यानल बीच अस्वस्थ प्रतिस्पर्धा हुन थाल्यो र त्यसको शिकार बन्न पुगिन् उनै बालिका।
उनको बढ्दो लोकप्रियता अनि स्टारडम देखेर कयौँ फिल्मीकर्मीहरुले बाल-कलाकारको रुपमा अफर गरे, कयौँ म्युजिक अरेन्जमेन्ट कम्पनीहरुले अनुबन्ध गरे। उनलाई पढाइदिने भनेर भारतका धेरै महंगा महंगा विद्यालयहरुले अफर गरे।
फलतः उनले एक विद्यालय रोजिन् र त्यहाँ भर्ना पनि भइन्। उमेर बढी भएको र आफ्नो दिमागले पढाइलाई मेकअप गर्न नसक्दा उनको ध्यान पढाइमा खासै गएन। किनकि बिहानैदेखि स्कुलको गेटमा मिडियाहरु लम्बेतान लाइन लागेर बस्थे उनको अन्तर्वार्ता लिनको लागि।
स्कुलले खाने, बस्ने र पढ्ने व्यवस्थाको जिम्मा लिएको थियो तर उनलाई पैसाको खाचो टार्ने कोही थिएन। तसर्थ उनले उनै पत्रकारहरुको साहारा लिन पुगिन् र पढाइलाई बेवस्ता गर्दै केबल अन्तर्वार्तामा केही रकम लिएर फोकस भइन्।
भारतीय मिडिया न परे। उनीहरु सबै गर्न सक्छन् सिवाय पत्रकारिता भन्ने भनाइ जो छ। हो, त्यस्तै मन पर्नेले राम्रो लेख्न थाले, अन्तर्वार्ता लिन नपाउनेले मनपरी लेख्न र प्रसारण गर्न लागे। कालन्तरमा उनले स्कुलबाट ड्रप आउट भइन् र सडक जीवन अंगाल्न पुगिन्।
जब उनीसँग पैसा भयो तब उनको संगत पनि विस्तारै आवरा केटाकेटीहरुसँग बढ्दै गयो। उनीहरुकै संगतमा परेर उनी मदिरा, धुम्रपान, लागूपदार्थको अम्मली बन्न पुगिन्। उनको संगत खराब स्वभावका साथीहरुसँग भएको कारण प्रायः उनी सडकमा बस्ने युवाहरु सँगै बस्न रुचाउन लागिन्।
किनकि त्याहाँ ड्रग खान कुनै समस्या थिएन। अन्तत: १७ वर्षको कलिलो उमेरमै पेटमा नाजायज गर्भ रहन पुग्यो र सोही गर्भावस्थामै सन् २०२० जुलाईमा उनी एचआइभी पोजेटिभ भई जीवन समाप्त पारिन्।
उनको मृत्युमा भारतको एक प्रसिद्ध अखबार 'जागरण' ले सम्पादकीय नै लेखेर यो निचोड निकाल्यो कि 'भाइरल नभएको भए उनी आफ्नै पेसामा इज्जत साथ लामो आयु बाच्न सक्थिन्। बाल्यकालमै गर्भवती, त्यो पनि रोग सहितको गर्भावस्थामा आफू र आफ्नो भ्रुण दुवैले अनाहकमा ज्यान गुमाउन पुगे' भनेर लेखेको थियो।
प्रसंग नम्बर २
२०६२/६३ को संयुक्त जनाअन्दोलनमा बद्रि पंगेनी जस्ता दिग्गज गायकहरु सँगसँगै आन्दोलनकारीहरुको पक्षमा गीत गाएर एकाएक सुपरहिट भएका एकजना गन्धर्व थरका बालक (गोपनियताको हकको सम्मान गर्दै नाम उल्लेख नगरिएको) जब देशमा लोकतन्त्र आयो, तब उनको उठबस गिरिजाप्रसाद कोइराला, माधव नेपाल जस्ता ठूलाबडाहरुसँग भयो।
उनलाई धेरैले माया, सम्मान र मानमनितो गर्न लागे। त्यो बेलामा उनले क्यामेरा भएको मोबाइल बोकेर सबै ठूलाबढाहरुसँग बस्दा, खाँदाको फोटोहरु आफ्नो मोबाइलमा कैद गर्न भ्याएका रहेछन्। उनी मेरो नजिकै डेरामा बस्ने हुँदामा उनलाई भाइ भन्दथेँ।
सुरुसुरुमा त उनी पनि दाइ भनेर राम्रैसँग कुरा गर्दथे तर जब उनको उठबस तथा जान पहिचान ठूला ठूला मान्छेहरुसँग हुन लाग्यो तब उनले अन्य भुइँ मानिसहरुलाई गन्न नै छोडिदिए।
एकदिन जावलाखेल चोकमा हौसिएर एकजना प्रहरी हवल्दारलाई मदिराको लतमा बर्दीमै हात त गर्दै गरेको अवस्थामा भेटेँ, उनलाई त्यस्तो नगर्न सुझाएँ। उनले त्यी हवल्दारलाई स्व. गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल लगायतका नेताहरु सँगसँगै खाना खाइरहेको, गिरिजाप्रसादले आफूलाई अंगालो मारेर स्याबासी दिएको जस्ता फोटो देखाउँदै प्रहरीलाई थर्काउदै गरेको थियो।
जसबेलासम्म उनमा मदिराको लत यति धेरै बढिसकेको थियो कि मदिरा बिना उनको दिन समेत नचल्ने अवस्था आइसकेको थियो। पछि धेरै महिनाको भाडा तिर्न नसक्दा घरबेटीले उसलाई घरबाट निकालिदियो। त्यसपछि त्यो भाइसँग सम्पर्क भएको छैन।
प्रसंग नम्बर ३
केही समयअघि झापाको सडकमा पहिला बताएअनुसार कै अत्यन्तै मिठो स्वरको एक सानो बालक भेटिए। सबैजनाले उनको स्वर मन पराए। सामाजिक संजालमा उनी एकाएक हिट हुँदै गएका बेलामा एक जना संगीतकर्मीले उनलाई आफैसँग ल्याई परिवारमा सँगै राखिरहेका छन्।
बालकलाई आफ्नो छोरो सँगै विद्यालय भर्ना पनि गरिदिए। गीत पनि रेकर्ड गराइदिए। उनको घर बनाउन पनि आर्थिक सहयोग गर्ने समयमा मिडिया उपस्थित गराई आफ्नो महानता देखाए।
उनले कम्तीमा पनि देश विदेशमा गरी १०० भन्दा बढी नै स्टेज सोहरु गरिसके होलान्। एक स्टेज प्रोग्रामबाट न्यूनतम पनि ५०० हजार मात्र हिसाब गर्ने हो भने स्टेज प्रोग्रामबाट मात्र पनि उनले ५० लाख जुटाइसके। अनि त्यस्तो फेमस गीत गाउँदा त्यसबाट आउने रोयल्टी कति होला?
के त्यसको कसैले लेखा परीक्षण माग गरेको छ? उनी अझै नाबालक नै छन्। उनलाई सही के र गलत के, छुट्ट्याउन सक्ने बेला भइसकेका छैन। उनको बाल अधिकार सुनिश्चित भएको छ त? ठूलो मन भएका दाता भएका भए त आफ्नै दौतरी अनि बा-आमासँगै रहेर रमाउँदै आफ्नो प्रतिभा प्रस्फुटन गर्नका लागि पनि सहयोग गर्न सकिन्थ्यो होला नि।
अब के ती बालक आफ्नै बा-आमासँग गएर रमाएर बस्न सक्लान्? उनको दिनचर्या नै उच्च कोटिको भइसकेको छ। तसर्थ, उनलाई आफ्नै परिवारसँगै रहेर प्रतिभा फक्रन सबैले सहयोग अनि एकमत हुन आवश्यक छ। तर यहाँ एक प्रश्न छ कि उनले गाएका गीतबाट आउनु पर्ने मुनाफा जति सबै के उनले र उनको परिवारले पाएका छन् त?
प्रसंग नम्बर ४
केही समयअघि धादिङबेसी कि एक बालिका दोहोरी गीत गाएको कारण निकै चर्चित भइन्। मिठो स्वर अनि निर्धक्क उच्च कन्फिडेन्टका साथ गीत गाउने क्षमताको कारण उनको लोकप्रियता बढ्दै गयो। उनलाई स्थानीय एक गायकले नेपालकै एक प्रसिद्ध कार्यक्रममा लिएर गए र देशकै हस्ती कलाकारहरुसँग उनको दोहोरी भएपश्चात उनको लोकप्रियता झन् व्यापक हुँदै गयो।
उनलाई सो कार्यक्रमसम्म लिएर जाने स्थानीय कलाकारले पनि माथि झापाका सानो भाइले झैँ एकलौटी विशेषाधिकार जमाउँछु भन्ने सायद सोचेका थिए होलान्। तर उनको परिवारले त्यसो हुन नदिँदा त्यी स्थानीय कलाकारले युट्युबरहरुसँग रोइकराइ गरेको भिडिओ बाहिरियो।
प्रसंग नम्बर ५
केही समयअघि रामेछापका २ जना बालकहरु मिलेर संयुक्त लगानीमा काठमाडौँमा रेस्टुरेण्ट व्यवसाय सुरु गरेको कुरा त्यस्तै युट्युबरहरुबाट बाहिर आयो। सबैले उनीहरुको मेहनतलाई स्याबासी दिए। सबैले उनीहरुलाई मुक्तकण्ठाले प्रशंसा गरे।
त्यो सबै एकाएक अत्यन्तै भाइरल भयो। उनीहरु पनि सुरु सुरुमा टिभी र युट्युबमा अन्तर्वार्ता दिन पाउँदा गमक्क देखिन्थे। त्यो क्रम बढ्दै गयो। मिडियाको जमात उनीहरुको होटेलमा लाइन लागेर बस्न थाल्यो।
उनीहरुले ग्राहकलाई सर्भिस गर्नु पर्ने समयमा पत्रकारलाई समय दिनु पर्ने भएको कारण उनीहरुका नियमित ग्राहक बिच्किए, कालन्तरमा उनीहरुले नोक्सान बेहोर्नु पर्ने भयो। भाइरलले ती अबोध बालकहरुको मेहनत, लगानी र समय सबै गुमाउनु पर्ने भयो।
प्रसंग नम्बर ६
केही समयअघि मात्रै सुदूरपश्चिम प्रदेशका एक साह्रै सानो बालक एकाएक युट्युबमा भाइरल भए। कारण उनमा उमेरभन्दा माथिल्लो लेबलले कुरा गर्ने अनि निडर रुपमा बोल्ने शैली थियो। त्यो भिडिओ यसरी भाइरल भयो कि हाम्रा फुर्सदिला टिकटकेहरुलाई उनको एक बाइट मात्र प्रयोग गरी बनाउन पाए त आफू पनि हिट हुन सकिन्छ भन्ने भान हुन लाग्यो।
उनको उमेर मुस्किलले ३ वा ४ वर्षको हुँदो हो। किटकिट दारा किटेर मलाई मेरो झुमा झट्टै चाहियो भन्न लगाएको भिडिओ सामाजिक संजालमा व्याप्त भयो। उनलाई आफन्त र आफ्नै परिवारका सदस्यहरु यसो यसो भन है भनेर सिकाउने र उनले पनि त्यस्तै शैलीमा भन्ने हुँदा उनी चर्चाको शिखरमा पुगे।
उनको आफन्त नातागोताका मानिसहरुले पनि उनीसँगै भिडिओ बनाएर पोस्ट गर्दै यो मेरो भिडिओलाई पनि भाइरल बनाइदिनु होला भन्दै अनुनय विनय गरेको देखियो। उनको त्यो बाल मस्तिस्कमा राम्रा राम्रा कुरा सिकाउनु पर्नेमा त्यो अबोध बालकलाई झुमा हालेको कुरा भन्न लगाएर हिट हुन अनि आफू पनि बन्न खोज्ने प्रवृत्ति जुन अंगालिरहेका छन् त्यो सही हुँदै होइन।
त्यो दात साटिने उमेर भएका बालकको कुन अंगको कुन अवयवले काम गर्छ र उनलाई झुमा तुरन्तै चाहिन्छ?
प्रसंग नम्बर ७
हालसाल मात्रै हाम्रो सामाजिक संजालमा अनि सबै युट्युबहरुमा छ्याप छ्याप्ती छाएका गुल्मी जिल्लाका एक बालक मिठो लबजका कारण एकाएक हिट भइरहेका छन। सुप्रसिद्ध कलाकारहरुले पनि आफ्नो कार्यक्रमहरु चलाउन उनलाई अतिथि कलाकारको रुपमा देखाइरहेका छन्।
८ सालका उनी पढ्ने अनि खेल्ने उमेरमा क्लोज क्याम्पमा छन्। उनलाई पनि के म बिना बच्न सक्छौ पुतली भन्न सिकाएर उनको बाइटलाई हिट बनाएर आफ्नो च्यानलको सब्स्क्राइब बढाउने ध्याउन्नमा लागिरहेका छन् केही युट्युब च्यानलहरु।
त्यो बाल मस्तिष्कलाई आफू अनुकूल ढाल्ने प्रयास गर्दैछन्। नेपालकै एक राम्रा अनि धेरैका लोकप्रिय कार्यक्रम प्रस्तोता कृष्ण कँडेलले गरेका राम्रा कामहरुको बयान गरी साध्य छैन। तर उनले यस्ता साना-साना कुराहरुमा भने केही समय घोत्लिनु पर्ने बेला आएको छ।
मात्र एकछिन कृष्ण कँडेल र ती बालकलाई बोकी बोकी हिड्ने युट्युबरले कुनै बालमनोविज्ञहरुसँग परामर्श गर्ने हो भने उनीहरुले सजिलै थाह पाउछन् कि उनको मनले के मागेको हुन्छ अनि हामी के थोपरिदिइ रहेका छौँ भनेर।
सोसल मिडियामा भएको स्टारडम केही समयका लागि मात्र हो। जसरी हिजोका दिन एकाएक सुपरहिट बनेकी गोर्खा धादिङ सीमानाकी तरकारीवाली हौसिएर फिल्मी लाइनमा हामफालिन्। तर सामाजिक संजाल र फिल्मी क्षेत्र समान होइन रहेछन् भन्ने उनले त्यो बेला चाल पाइन जब उनी सुपर डुपर फ्लप भइन्, अन्तिममा उनले आफ्नो पढाइ समेत बिगारिन्।
के भन्छ बाल मनोविज्ञान?
यस लेख तयार पार्नु पूर्व मैले एकजना मनोविज्ञसँग परमर्श लिएको थिए। उनका अनुसार बालबालिकाहरुमा जब आफूलाई अरुभन्दा फरक छु भन्ने भान पर्न थाल्दछ, तब उनीहरुले त्यो फरकपनालाई अझ बढाउने चाहना हुन्छ। उनीहरुले अहिले पाइरहेको वाह वाही अनि चौतर्फी तारिफ दीर्घकालीन होस् भन्ने चाहना हुन्छ।
तर सामाजिक संजालमा प्राप्त हुने स्टारडम त केही समयका लागि मात्र हो। यसले भोलिका दिनमा निरन्तरता पाइरहन्छ भन्न सकिन्न। त्यो बेला उनीहरुमा विचलन आउन सुरु हुन्छ जतिबेला उनीहरुले आफूलाई अरुभन्दा फरक सोचे पनि त्यो पाइरहेका हुँदैनन।
त्यसबेलासम्म उनीहरुको मस्तिष्क त्यो वाह वाही पुनर्स्थापना गर्नपट्टि ध्यान केन्द्रित गर्ने हुँदा उनीहरुले आफ्नो करियर वा पढाइलाई बिगार्दछन् र कालान्तरमा प्रायःजसो असफल हुने सम्भावना उच्छ हुनेछ। आफूलाई मात्र चारै तिर चर्चाको शिखरमा पाएपछि उनीहरु हौसिने र अरुलाई नगन्ने स्वभाव विकास हुने सम्भावना उच्च हुन्छ।
धेरैले वाह वाही गरेको देख्दा अन्य बालबालिकाहरु पनि आफू पनि त्यस्तै वा भाइरल हुन अनौठो प्रकृतिको काम गर्ने योजना र सोको प्रयासपट्टि बढी नै घोत्लिने हुँदा आफ्नो पढाइ र पूर्व निर्धारित लक्ष्यमा पुग्ने योजनामा ब्रेक लाग्न जान्छ।
यसले कालन्तरमा उनीहरु असफल हुने सम्भावना उच्च रहेको कुरा मनोविदले बताउनु भयो। अनि अर्को कुरा, बालबालिकाहरुमा र महिलाहरुमा सिको गर्ने गुण अरुमा भन्दा उच्च हुने गर्दछ। एकजना भाइरल भए भने त्यो सिको गर्ने धेरै हुन्छन्।
जसले गर्दा सबैले त सामाजिक मिडियाहरुमा त्यो अवसर नपाउन सक्छन्, तब उनीहरुमा आफूमा हीन भावना मौलाउँदै गएको हुन्छ र त्यस्तो सोचाइले गर्दा उनीहरु आफ्नो मूल ध्यान पढाइलाई दिन सकिरहेका हुँदैनन्।
यस आलेखको निष्कर्ष के हो भने, भाइरल भएर अनि बनाइएर यदि उसले दीर्घकालीन हित हुन्छ भने त्यो साह्रै राम्रो हो। तर अहिले हिट हुन्जेल तीन तारे होटलको बास र त्यो हराउन साथ गाउँमा गएर उसिनेको खाना खानु पर्दा बालबालिकामा पर्न सक्ने मनोसामाजिक असर अनि त्यसले पार्न सक्ने अहितका कुरालाई पनि हामी सबैले विचार गर्न सक्नु पर्दछ।
बालबालिकाहरुलाई अरुभन्दा बिल्कुल फरकपन हो भनेर चरितार्थ गराइदिनु कदापि हुन्न। उनीहरु पनि यही समाजको एक पात्र हुन्। अरु जस्तो छन्, तिमी पनि त्यस्तै नै हौ भनेर आफ्नो धरातालमा टेकाउँदै उनीहरुलाई उनीहरुकै आफ्नो करियरमा फोकस गराउन सबै अविभावकहरुको दायित्व हुन जान्छ।
तसर्थ, बाल मनोविज्ञानलाई असार पुर्याउने काम हामी वयस्कहरुले गर्ने गराउने कदापि नगरौँ। १५ सेकेण्डको टिकटके क्षणिक वाह वाहीको लागि बालबालिकाहरुको प्रयोग नगरौँ। यस्तै नचाहिने विषयवस्तु प्रस्तुत गर्ने युट्युबरहरुको च्यानलहरु हेर्नबाट बालबालिकाहरुलाई टाढा नै राखौँ।
अभिभावकहरुले बालबालिकाहरुलाई यस्तो विषयको नकारात्मक पाटोको बारेमा समय मै सचेत गराऔँ।। बाल विकासमा प्रत्यक्ष अनि अप्रत्यक्ष असार पुर्याउने कुनै पनि गतिबिधि सामाजिक संजालमा पोस्ट गर्न बन्द गरौँ। भाइरल भइसकेका र अन्य सबै बालबालिकाहरुलाई विभिन्न संचार माध्यम मार्फत मनोशिक्षा प्रदान गरी समय मै सचेत गराऔँ।