जब जिम्मेवादी पद निर्वाह गरिरहेका शीर्ष नेताहरूको भाषणमा गालीगलौज, व्यक्तिगत प्रहार, आरोप-प्रत्यारोप, अत्यधिक व्यङ्ग्य वाण र सुन्नलाई अप्ठ्यारो वाक्यहरू सुन्छु, तब मनमा सोध्न मन लाग्ने धेरै प्रश्नहरू उब्जिन्छन्।
विषयवस्तुभन्दा बाहिर उम्केर बोल्दा कसैलाई व्यक्तिगत रुपमा प्रहार गर्दा के साँच्ची नै म विजयी भएजस्तो लाग्छ?
गालीगलौजको भाषण सकिएर आफ्नो आसन ग्रहण गर्दा मनमा कस्तो प्रकारको तृप्ति हुन्छ?
आफ्नो अत्यधिक व्यङ्ग्य वाणहरूको भाषण बर्साउँदा र प्रत्युत्तरमा आउने त्यो गलल्ल हाँसोले राति सुत्नुभन्दा अगाडि गिज्याउँदैन?
सुन्नलाई अप्ठ्यारो लाग्ने भाषण सुनाउँदा गलत परिपाटीको विकास म बाट भइरहेको छ भनेर कहिलेकाहीँ एकान्तमा पेट पोल्दैन?
आफ्नो आङमा भैंसी नदेखी अरुको आङको कमिलालाई पनि टिप्पणी गर्नु गलत हो भनी बिहान उठ्दा मनन हुन्न?
आफ्नो कार्य र भाषणले मैले यो देश कता डोर्याइरहेछु भनेर आफूले आफूलाई यदाकदा प्रश्न गर्नुहुन्न?
एउटा सानो बालक त साथीसँग झगडा गरेपछि गलत भयो भनेर महसुस गरी एक-अर्कासँग माफी मागेर एउटा बिहानीको सुरुवात गर्छन् भने यहाँ त बालापन, किशोरअवस्था, अधवैंशे उमेर सबै काटेर पाको अवस्थामा प्रवेश गर्दा पनि नाटक र नौटंकी देखाएर हैरान पारिसक्यो।
देश हाँक्ने नेताहरूको व्यवहार, बोलीबचनबाट हामीले के सिक्दैछौं? हामीलाई के सिकाउँदैछ? हामी कता जादैछौं? हामीलाई कता लगिँदैछ? हाम्रो दिमागमा के भरिँदै छ? हाम्रो दिमागमा के भराउँदैछ? चाहे सरकारमा रहेको होस् वा विपक्षमा जबसम्म गालीगलौजपूर्ण भाषणहरू पब्लिकमा बोलिन्छ, तबसम्म एउटा स्वथ्य समाजको परिकल्पना गर्न सक्दैनौं।
यस्ताखालको भाषणले जनताको मनमा नकारात्मक असरबाहेक अरु केही हुँदैन। जब-जब सडकदेखि सदनसम्म यस्ता अव्यवहारिक भाषणहरू ठोकिन्छ तब सुरमा सुर तालमा ताल मिलाएर भन्न मन लाग्छ- हो, यो नाटकै हो, नौटंकी नै हो।
आठ वर्ष अगाडि मेल्वर्नमा भएको लिवरल फेडरेसन काउन्सिलको मिटिङको भाषणमा त्यतिखेरको विपक्ष नेता टोनी एवर्टलाई भाषण दिन स्टेजमा बोलाइयो। उनलाई बोलाउने क्रममा उनको बारेमा थुप्रै गुनगान गाइएको थियो। हातमा माइक लिँदै उनले भाषणको सुरुवातीमा नै भनेका थिए- धन्यवाद जुलि, यति मेरो परिचयको लागि तर आउँदो चुनाव मेरो बारेमा होइन, न त पार्टीको बारेमा हो। यो चुनाव यो देश र जनताको बारेमा हो। उनीहरूको लागि हो। हाम्रो महान देशले महान, दुरदर्शी र काविल नेताहरू डिजर्ब गर्छ। त्यसैले, पनि सबै मिली देशलाई एउटा राम्रो नेता उपहार दिऊँ।
यही प्रसंग मिलाउँदै उनले घुमाउरो पाराले त्यो काविल नेताहरू आफ्नो पार्टीमा पनि रहेको दर्शाएको थियो। न त उनी चर्को नै बोले, न त सरकार पक्षलाई गालीगलौज नै गरे। न त तथानाम, व्यक्तिगत आक्षेप नै लगाए। बरु आफ्नो पार्टीले किन चुनाव लड्नुपर्छ र जित्नुपर्छ भनेर मेनोफेस्टो अघि सारे। भद्र तरिकाले नै सरकारको आलोचना पनि गरे। जे बोल्नुपर्थ्यो त्यही नै बोले। जे बोल्न हुँदैनथ्यो र जुन सान्दर्भिक थिएन, त्यो बोलेनन्।
वास्तवमा मलाई उनको भाषण गर्ने शैली मनपर्यो। उनी मात्रै होइन, त्यस्ता अन्य धेरै नेताहरु छन् जसले कपी पढेर भए पनि टु द पोइन्टको भाषण गर्दछन्। जति जे बोल्नुपर्ने हो त्यति मात्रै बोल्छन्। भावनामा बहकिएर दुई-चार तालिको आवाज र दुई चार फोहोराको हाँसोको पछि लागेर उनीहरू उफ्रँदैनन्, उचालिँदैनन्।
यसको मतलब यो पनि होइन कि विदेशका सबै नेताहरू राम्रा नै बोल्छन् र नेपालका सबै नेताहरू खत्तम छन्। यदि मैले यसो भन्नु भनेको नि:तान्त फ्यालेसिस हो। मेरो पोइण्ट यहाँ भनेको संसार परिवर्तन गर्ने, सत्ता उल्टाउने त्यस्ता आइडल भाषणहरू धेरै छन्। नेपालभित्रै पनि छन् तर ती भाषणहरू परिवर्तनको उद्देश्यको निम्ति बोलिएको छ। ती भाषणहरूले सभ्य तरिकाले परिवर्तनको आह्वान गरेको छ। ती भाषणहरूले आदरपूर्वक चुनौती दिएको छ। ती भाषणहरूले पद र पदमा बस्ने व्यक्तिको मर्यादालाई भुलेको छैन। ती भाषणहरू आफ्नो वरिपरिका ‘हनुमान’हरूलाई खुसी पार्नेमा मात्रै सीमित छैनन्।
ती भाषणहरूले युग परिवर्तन गरेको छ। ती भाषणहरूले युगलाई चुनौती दिएको छ। ती भाषणहरूले नयाँ युगको परिकल्पना गरेको छ। ती भाषणहरूले नयाँ युग कोरेको छ।
खै त ती भाषणहरूको गुञ्जयमान अहिलेको युगमा? किन हाम्रा भाषणहरू उद्देश्यहीन भइरहेका छन्? किन हाम्रो भाषणहरू गन्तव्यहीन भएका छन्? किन हाम्रो भाषणहरू डोरी चुडिएको चङ्गा झैं भएको छ? किन भाषणमा व्यक्तिगत आक्षेपबाहेक अरु कुरा हुँदैन?
व्यक्तिगत रिसिइबी होला, व्यक्तिगत आक्षेप लगाउन मन लाग्ला। तर, यस्ता संवादहरू न त कार्यालयको फोनबाट हुन मिल्छ, न त कार्यलयभित्रको बैठकमा हुन मिल्छ, न त कार्यलयको समय र तालिकामा हुन मिल्छ न त देशको ढुकुटीले किनेको त्यो माइकमा गएर बोल्न मिल्छ। व्यक्तिगत रिसिइबी यदि कोही नेताले देशको निर्माण कार्यमा ल्याउँछ भने हामी जनताले ती नेताहरूलाई सिधै डिस्क्वालिफाइड गर्ने नीति-नियम र कानुन सर्वोच्चले ल्याउन सक्नुपर्दछ।
सरकार पक्षमा रहेको र विपक्षमा रहेको एक-दुई जना शीर्ष नेताहरूको भाषण र अन्तर्वार्ता मैले पनि हेरेको छु। उहाँहरू कति मिठो बोल्नुहुन्छ। भलादमी हुनुहुन्छ। कति सरल बोल्नुहुन्छ। नचिच्याइ, नमिठो नबोली पनि त गलतको प्रतिकार मजाले गर्नुहुन्छ। विपक्षीको कार्य चित्त नबुझेको कुरा पनि त राम्रैसँग तर्कसहित, तथ्याङ्कसहित बोल्छन्। जो समयको पावन्दीलाई ख्याल गरेर समय सान्दर्भिक विषयलाई चिनेर बोल्छन्। उहाँहरूको बोली र भाषणमा छुद्रता देखिँदैन। तर, बिडम्बना उनीहरू कहिले माथि पनि आउँदैनन्। उनीहरू कहिल्यै छाउँदैनन् पनि न त मिडियाले उनीहरूलाई पर्याप्त रुपमा हाइलाइट नै गरेका हुन्छन्। उनीहरूजस्तो नेता पार्टीमा राखिरहने, माथि आउन पनि कहिल्यै नदिने गरेको देख्दा लाग्छ- तमाम छुद्र स्वभावका यी नेताहरूको यो सकुनी जाल हो। लाग्दछ, आफ्नो पाप धुन पार्टीको एउटा कुनामा गंगाजल राखिरहेका छन्।
आजकाल बिहान उठ्यो सोसल मिडियामा देश खोज्यो। देश त कता हो कता। नेतैनेता छाउँछन्। एउटा नेतालाई यो नाटकै हो भन्ने फुर्सद हुँदैन, अर्को नेतालाई यो नौटंकी नै हो भनेर थाक्दैन। एउटा नेता सेतो फरियामा राजनीति नगर्न चेतावनी दिन्छन्, अर्को नेता बालकोट गए हुन्छ भनेर तुच्छ मजाक गर्दछ। अनि हामी जनता पनि यही भाषणहरूमा रमाइरहेका छौं। तालि ठोकिरहेका छौं। रमिता हेरी रमिते भइरहेका छौं।
देशलाई कसले राम्रो गर्न सक्दछ भन्ने बीचमा दुई नेताबीच, दुई पार्टीबीच मतान्तर हुनु राम्रो हो। उनीहरूको मतान्तरबाट योग्य र अयोग्य छान्ने मौका जनताले पाउनु पनि पर्छ। तर, अत्यन्त तल्लोस्तरको मजाक गरेर, एक-अर्कालाई दोषापरोण मात्रै गरेर यदि भाषण हुन्छ भने मलाई माफ गर्नु, मलाई यस्तो चिज अपाच्य छ।
मेरो लागि यो एउटा समय बर्बादी मात्रै हो। यसले ममा ऊर्जा दिँदैन। यसले मलाई देश फर्केर काम गर्ने वातावरण प्रदान गर्दैन। यस्ता भाषणले म मा डर पैदा गरिदिन्छ। यस्ता भाषण सुन्दा म मा नकारात्मक असर पर्दछ। योग्यताको परीक्षामा कसैको व्यक्तिगत हस्तक्षेप गर्ने कसैलाई पनि अधिकार हुँदैन। कसको छोराछोरी छ, कसको छोराछोरी छैन, को सडकमा आउनुपर्छ, को बालकोट जानुपर्छ भन्ने जस्ता कुरा व्यत्तिगत हुन्।