दैव पनि कति निष्ठुरी हुन्छ है! जसलाई हामी यति धेरै माया गर्छौं, जसको साथमा रहन हामीलाई सधैं मन लाग्छ, भगवानले उसलाई हामीबाट टाढा लैजान्छ।
मेरी सानिमा जो निडर, सबैको प्रेरणाको स्रोत हुनुहुन्थ्यो परिवारमा। जीवनमा घटेका अनेक संघर्षका घटना सुनाएर हामीलाई प्रेरणा दिनु हुन्थ्यो। नहारी जित्न सकिन्न, नलडी उठ्न सकिन्न भनेर हामीलाई घच्घचाइरहनु हुन्थ्यो।
समय चक्र भनौं या भाग्यको खेल। भगवानले पनि अग्नि परीक्षा लिइरहन्छ बारम्बार, ताकी मान्छे अघि बढ्न सक्छ कि सक्दैन भनेर। जो मान्छेले जिन्दगीमा जति संघर्ष गरेको छ, त्यही मान्छेलाई बारबार अग्नि परीक्षा लिइरहन्छ। मेरी सानिमाले नि जिन्दगीमा थुप्रै परीक्षा दिनुभयो। लड्नु भयो फेरि उठ्नु भयो, अघि बढ्नु भयो, हामीलाई हौसला दिनुभयो।
तर समय सधैं उस्तै कहाँ पो हुँदो रहेछ! एकदिन अचानक उहाँलाई असजिलो महशुस भयो। अस्पतालमा चेकअपको लागि जानुभयो। चेक गर्दा थाहा भयो, उहाँलाई स्तन क्यान्सर भएको रहेछ।
जिन्दगीमा सोच्दै नसोचेको रोगले समातेको थाहा भएपछि उहाँ छाँगाबाट खसेको जस्तो हुनुभयो। केही सोच्नै सक्नु भएन। मन भारी भएर आयो। आफ्नोभन्दा पनि परिवारको चिन्ताले सतायो। बुढेसकालमा श्रीमानको ‘लाठी’ बन्ने र छोरोको भविष्यको चिन्ताले उहाँ गल्नुभयो।
के गर्ने के नगर्ने केही सोच्नै सक्नु भएन। हामीलाई संघर्षको पाठ पढाउने सानिमाले आफै संघर्षसँग जुध्न सकिरहनु भएको थिएन।
घरपरिवार चाहिने भनेको नै यस्तै बेला न हो। हामीले सानिमालाई ढाडस दियौं। अनि डाक्टरसँग परामर्श लियौं। डाक्टरको परामर्श अनुसार अप्रेशन गरी एउटा स्तन काटेर फाल्नुपर्ने भयो। डाक्टरको सल्लाह अनुसार नै सफल अप्रेशन भयो। हामीले पनि उहाँलाई हिम्मत, आड, भरोसा दियौं।
विश्वव्यापी महामारीको रूपमा फैलिँदै गरेको कोरोना भाइरसका कारण सबैतिर डर छाइरहँदा मेरी सानिमा क्यान्सरसँगको लडाइँमा हुनुहुन्थ्यो। घर परिवार आफन्तलाई आफैले हौसला दिनुहुन्थ्यो। सानिमाले परिवारको साथ र आफ्नो आत्मविश्वासका कारण अन्तत: क्यान्सरलाई जित्नुभयो।
भन्नुहुन्थ्यो- क्यान्सरलाई जितें पनि बाँचुन्जेलसम्म आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नु छ।
कोरोना कहरले गर्दा सानिमालाई चाहेर पनि भेट्न सक्दिनँ थिएँ। यस्ता बिरामीलाई कोरोनाले चाँडै छुने भएकाले झन् सतर्क हुनुपर्थ्यो। रहर त थियो भेट्न जानलाई तर सबै रहर कहाँ पूरा हुन्छन् र!
हाम्रो रहर उहाँको लागि कहर नबनिदियोस् भनेर बेलाबेलामा फोन, त कहिले भिडिओ कल हुन्थ्यो।
यस्तो बेलामा बिरामीलाई झन् आफन्तको साथ र सहयोगको खाँचो पर्छ। भौतिक रूपमा नभए पनि भावनात्मक रूपमा उहाँको मनोबल उच्च राख्नको लागि हरदम प्रयत्न गरिहरन्थ्यौं।
किमो थेरापीले गर्दा उहाँको लामो बाक्लो कपाल झर्यो। टाउको मरुभूमि जस्तोमा परिणत भयो, सुख्खा र उजाड। तर उहाँको मुहार भनेर पूर्णिमाको रात जस्तो उज्यालिएको थियो। अनुहारमा रत्तिभर पनि दु:ख र पीडाका रेखा थिएनन्। सानिमालाई हेर्दा लाग्दैनथ्यो कि उहाँले कुनै दिन क्यान्सरसँग लड्नु भएको थियो।
भनिन्छ नि हुने हार दैव नटार, सुरक्षाको मापदण्ड पालना गर्दागर्दै पनि सानिमालाई कोरोनाले छोइ छाड्यो। विस्तारै विस्तारै सानिमा गल्दै जानुभयो। मनमा आत्मविश्वास र दृढ संकल्प भएर पनि आखिर त्यो अदृश्य शक्तिमाथि केही लागेन।
त्यसले नै जितिछाड्यो। २०७७ पुस १७ गते ४१ वर्षकी सानिमाले हामीलाई छाडेर जानुभयो। सदा सदाको लागि…
सानिमा तपाईंको बारेमा जति नै लेखौं कम नै हुन्छ। हजुर हाम्रो हृदयमा सधैं रही रहनु हुनेछ।