माघको महिना, बिहानी पख चिसो-चिसो मौसमलाई न्यानो बनाउने प्रयासमा ओछ्यानमा कम्बलसँग लड्दै थिएँ, एक्कासि कसैले ढोका ढक-ढक गरेको आवाज सुनें।
दाइले ढोका खोल्ने बित्तिकै रिसाएको पारामा आवाज आयो - 'हैन! बाहिर त, दुई जोर जुत्ता देख्छु, के हो यो ?' दाइले हिजोमात्र गाउँबाट भाइ आएको जानकारी दिनुभयो।
फेरि, रिसाएकै स्वरमा- 'जो सुकै आओस्! दाइ, भाइ, बा, आमा, मलाई मतलब छैन, मैले त एक जनालाई मात्र कोठा दिएको हो, भन्द्या छु! तिम्रो गाउँ होइन यो, काठमाडौं हो! काठमाडौं।'
यही वाक्य सुनेर मेरो काठमाडौंको पहिलो बिहानी सुरू भयो।
उठ्नेबित्तिकै दाइले मलाई पानीको परिचय दिन थाल्नुभो। यो पानीले धुन हुन्छ, नुहाउन हुँदैन। यसले नुहाउन हुन्छ, पकाउन हुँदैन। यसले पकाउन हुन्छ, पिउन हुँदैन आदि। यति धेरै पानीका प्रकार, म दंग परें।
एउटै पँधेराको पानीले सबै आवश्यकताहरू पूरा गर्दै हुर्केको शरीरले अब भने नयाँ अनुभव गर्ने भो जस्तो लाग्यो।
सोधें- अनि पिउने पानी नि ?
दाइले खाली जार देखाउँदै भन्नुभयो- ए, यो त सकिएछ, जाऊ त घरबेटी दाइलाई पानी चाहियो भन, उहाँको आफ्नै पसल छ।'
दाइको आदेश पाएपछि म सिँढी चढ्दै माथि उक्लिएँ र घरबेटी दाइलाई बोलाएँ।
हातमा बिरालो खेलाउँदै गरेकी एक युवतीले छोटो जवाफ दिइन्- बाबा छैन'।
मैले प्रश्न गरें - कता जानु भो त ?
उनले भनिन्- बाबा त कुकुर चराउन गाको छ।
यो सुनेर, म अक्क न बक्क भएँ।
गाउँ- घरमा बाख्रा, गाइ, गोरू, भैंसी चराएको सुनेको थिएँ तर पहिलो पटक कुकुर चराएको सुन्ने मौका मिल्यो। पछि थाहा भयो, घरबेटी दाइ कुकुरलाई घर बाहिर शौच गराउने प्रयासमा कसरत गर्दै हुनुहुँदो रहेछ। असिन-पसिन हुँदै, घरि-घरि कुकुरको शौच गर्ने ठाउँ हेर्दै, शौच कुरिरहेका घरबेटी दाइलाई सोधें - हैन दाई, किन यति धेरै तनावमा?
दाइले निरास हुँदै भने - सधैं यतिबेलासम्म गरिसक्थ्यो, आज हुँदै भएन। उहाँको कुरा सुनेर मैले हाँसो थाम्न सकिन। मेरो हाँसो देखेर रिसाउँदै उनले भने- आफूलाई कति टेन्सन भाको छ, तिमी ‘पाखे’ गाउँलेलाई के थाहा? यो काठमाडौं हो ! काठमाडौं।
म केही बोलिनँ।
उपत्यका बाहिरबाट काठमाडौं बसोबास गर्ने अधिकांश मानिसहरूको एउटा काम भने नियमित हुने रहेछ। विदेश जाने आफन्त तथा साथीभाइलाई एयरपोर्ट छोड्न जाने र उताबाट आउनेलाई लिन जाने। पल्ला घरे रामु दाइलाई अमेरिकाको भिसा लागेछ, छोड्न जानु पर्यो। पहिलो पटक एयरपोर्ट पुगियो। त्यहाँको वातावरण देखेर म चकित भएँ। वर्गीय समानताका लागि दश वर्षे जनयुद्ध भए पनि सबभन्दा धेरै वर्गीय असमानता मैले एयरपोर्टमा देखें।
एकातिर अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान आदि मुलुक जान लागेका मानिसहरू जहाँ परिवार, साथीभाइ छोड्न आएका छन्, सेल्फी खिचेका छन्, खादा ओडाएका छन्, रमाइलो छ।
अर्कोतर्फ खाडी मुलुक जान लागेका मानिसहरूको प्रवेशद्वार नै अलग छ, न कुनै सेल्फी छ, न त खादा छ, न कुनै रुने, न कुनै हाँस्ने।
हेर्न नसकिने दृश्य हुँदो रहेछ।
हामी चिया पिउँदै अवलोकन गर्दागर्दै रामु दाइलाई बाई-बाई गर्ने बेला भएछ। त्यहाँ पिएको चिया भने सधैं स्मरणमा बस्ने भो, किनकी बाहिर बीस रुपैयाँमात्र पर्ने चिया एयरपोर्टभित्र तीन बीस तिरेर आइयो।
यहाँ बसोबास गर्नुहुने गाउँलेहरूको कुरा गर्नु पर्दा सबभन्दा अग्र स्थानमा हरि अंकलको नाम आउँछ। उहाँले काठमाडौंमा गरेको प्रगतिलाई गाउँभरि उदाहरणको रूपमा लिने गरिन्छ।
काठमाडौंको मुटु पुतलीसडकमा उहाँको आफ्नै अफिस रहेछ। घर -जग्गा खरिद-विक्रीदेखि मानिस विदेश पठाउने, विवाह-सम्बन्धविच्छेद गर्ने, देश-विदेशबाट हुने 'एक्सपोर्ट- इम्पोर्ट' का सम्पूर्ण कार्य उहाँको अफिसबाट हुने रहेछ।
समय मिलाएर उहाँलाई भेट्न म अफिसमा पुगें। व्यस्त मान्छे, फोनमा कसैलाई भन्दै हुनुहुन्थ्यो, 'अब यो काम बन्यो भने पन्ध्र- बीस लाख हातमा पर्छ।' मलाई देखेपछि आँखाकै इशारामा बस्ने संकेत गर्नुभयो। केहीबेरपछि आफ्ना सफलताका कहानीहरू सुनाउन थाल्नुभयो।
उहाँ भन्दै हुनुहुन्थ्यो, 'काठमाडौंमा पैसाको ‘बोट’ छ, टिप्न जान्नु पर्छ। यो सीधा औंलाले आउँदैन, औंला टेडो बनाउन जान्नु पर्छ।'
यो सुनेपछि मैले मेरो हातकाऔंला हेरें, सबै सिधा थिए। तिमीलाई भोक लाग्यो होला भन्दै नजिकैको भोजनालयमा लिएर जानुभयो।
प्लेटमा रहेको खाजालाई देखाउँदै अंकलले भन्नु भयो, 'काठमाडौंमा 'सेट' हुनु छ भने, यो म:म. को डल्लो जस्तो हुनुपर्छ, बाहिर हेर्दा राम्रो तर भित्र के छ कसैलाई थाहा छैन।'
मैले कुरा बुझिनँ। खाजा सकिसकेपछि अंकल कानमा फोन राख्दै बाहिर निस्कनु भयो। म केहीबेर पर्खिरहें तर उहाँ आउनु भएन, खाजाको बिल मात्र आयो। पैसा तिरेर म बाहिर निस्किएँ। हतार- हतार बागबजारको बाटो हुँदै गन्तव्यतर्फ जाँदै थिएँ, कसैले पछाडिबाट 'दाइ -दाइ' भन्दै पुकारेको सुनें।
आफ्नै गाउँको कोही होला भनि पछाडि फर्कें तर करिब पन्ध्र- सोह्र वर्षकी एक अपरिचित किशोरी रहिछन्। म एकोहोरो हेरिरहें। उनले फेरि भनिन्, ' पाँच सय मात्र हो दाइ, जाऊ ' यो सुनेपछि भने म पछाडि नफर्की भागें।
काठमाडौं आएपछि पशुपतिनाथको दर्शन गरिएन भने भ्रमण अपुरो हुन्छ रे, त्यही भएर दाजुभाइ पशुपतिनाथ जाने योजना बनाइयो।
कीर्तिपुरबाट यात्रा प्रारम्भ गर्नु थियो। सार्वजनिक यातायातबाहेक हामीसँग अरू विकल्प थिएन। कुर्दा-कुर्दा बल्ल एउटा माइक्रो फेला पर्यो। बाहिर ढोकामै यात्रुहरू झुन्डिरहे पनि खलासी भाइले खाली छ भन्दै मेरो हात समातेरभित्र हुलिदियो।
भित्र खुट्टा राख्ने ठाउँ मात्र खाली रहेछ। भित्तामा टाँसिएका तस्बिरहरू जस्तै मानिसहरू माइक्रोभित्र हलचल गर्न नमिल्ने गरी उभिएका, एउटाको छाती अर्काको ढाडमाथि, कतै मुख जोडिएका, कतै काँध जोडिएका विचित्र थियो।
त्यही भीडमा म पनि एउटा कुनामा टाँसिएँ। सिटमा बसेकाहरू भने आफूहरू ‘भाग्यमानी’ भएको आभास गरिरहेका थिए।
केहीबेरपछि यात्रुहरू ओर्लिन थाले, सिटहरू खाली हुँदै गए। नजिकै रहेको सिटमा बसेकी चुल्ठो बाटेकी, कानमा मुन्द्रा लगाएकी महिलालाई अनुरोध गरें - दिदी अलि पर सर्दिनुहोस् न!
उताबाट रिसाएको स्वरमा पुरूषको आवाज आय- कस्तो 'पाखे' रहेछ! तत्कालै मैले कुरा बुझिनँ तर पछि थाहा भयो, उहाँ पुरूष पो हुनु हुँदो रहेछ।
यात्राभरि म मुख लुकाउन कोशिस गरिरहें। बल्ल - तल्ल गौशाला पुग्यौं। माइक्रोबाट ओर्लेर भाडा दिन खोज्दा म झसंग भएँ, पर्स कसैले उडाइसकेको रहेछ। एक पटक बुवालाई सम्झें, गाउँबाट काठमाडौं हिँड्ने बेलामा सम्झाउँदै भन्नुभाको थियो, पछाडिको खल्तीमा पैसा नराख है, त्यो काठमाडौं हो! काठमाडौं।
पाशुपत क्षेत्र प्रवेश गर्नेबित्तिकै छुट्टै प्रकारको आनन्द आउने रहेछ। खुला परिवेश,भक्तजनहरूको भीड, भजन-कृतन, पुरातात्विक महत्वका कलाकृति साँच्चि नै! एकपटक आउनै पर्ने धाम रहेछ। केही आगाडिमात्र बढेका थियौं, एक लस्कर माग्नेहरूले बाटो नै रोकेर पैसा माग्न थाले। दाइले बेवास्ता गर्ने संकेत गर्नुभयो।
मलाई अचम्म लाग्यो, सबै माग्न आउने ठाउँमै, यति धेरै माग्ने। दर्शन गर्दै जाँदा एक जना साधुले टीका लगाउन अनुरोध गरे।
हामीले अनुरोध स्वीकार्यौं। त्यसपछि उनले दक्षिणाको माग गरे। खल्तीमा हेरेपछि आफूसँग पाँच सयभन्दा कमको खुला पैसा नभएको दाइले मलाई सुनाउनु भयो। यसैबीच साधुले ठूलो स्वरमा भने - चिन्ता नलिनुहोस्, म साटिदिन्छु।
यति भन्दै झोलाबाट पैसाको मुठो निकाले र हाम्रो पाँच सयको नोट लिएर चार सय फिर्ता दिए। हामी हेरेको हेर्यै भयौं।
घुम्दै जाँदा आर्यघाट पुगिएछ, मानिसहरूको ठूलो भीड थियो। मलामीहरूबाट थाहा भयो, मृतक काठमाडौंको एक धनाढ्य परिवारकी महिला रहिछन्।
ब्रम्हानिलमा मृतक शरीरको अन्तिम बिदाइका क्रममा मृतकका छोराले पहिले जल खुवाए। त्यसपछि एकाएक मृतकको हातका औंलाबाट जबरजस्ती औंठी निकाले, नाकको फूली र कानका टपहरू सजिलै निस्केनन् तर उनले शरीरका अंगहरू नै च्यातेर भए पनि निकाली छाडे। त्यो दृश्य हेर्न लायक थिएन। मलामीमध्येका एक जनाले भन्दै थिए, 'मानिस जति धनी हुँदै गयो, उति नै लालची बन्दै जान्छ'।
मलाई नेपाली चलचित्र 'लुट' मा ‘हाकु काले’ पात्रले बोलेको संवादको सम्झना आयो 'काठमाडौं गिद्दै गिद्दको सहर हो'।
केही वर्ष पहिले हाम्रा एक जना पूर्वप्रधानमन्त्रीले काठमाडौंबासीहरूलाई 'सुकिला-मुकिला' भनेर सम्बोधन गर्नु भएको थियो। बाहिरी आवरण सुकिलो भए पनि धेरैका भित्री मनहरू धमिलो पाए।
काठमाडौंका मेयरले एक समय भनेका थिए, यहाँ भोकाहरू छैनन्। साँच्चि नै, यहाँ पेटका भोकाहरू कमै होलान् तर मनका भोकाहरू भने हरेक घर - गल्लीमा छन्।
कुनै समय मन्दिरै मन्दिरको सहर भनेर चिनिने यो ठाउँ आज धुलमाडौं, मास्कमाडौं, हिलोमाडौं आदिका नामले चिनिन थालेको छ।
आफूलाई काठमाडौंबासी भनेर घमण्ड गर्नुभन्दा पहिले काठमाडौं बस्न योग्य बनाउन सबै जिम्मेवार भएर अगाडि बढौं।