पात्र १ : ओई ! सर आयो ! त्यो बुढाले त मार्छ यार्। लास्ट कडा छ। हिँड् भित्र।
पात्र २ : ओई ! बुढा आज नआउने कुरा थियो त हिजो! फेरि आज नि बोर हुने भयो। खाली पढाउनेमात्र काम गर्छ यार यो कलेज।
पात्र ३ : बुढाहरूलाई मोज गर्ने तरिका नै थाहा छैन।
पात्र ४ : छोड्! आजको क्लास बंक। के पढ्नु यार। दिमागमा केही छिर्ने हैन। बेकार के जानु क्लासमा। मेरो गिदिमात्र खराब हुन्छ। मोज गरूँ। बरू २,४ जनालाई पनि बोलाऊँ बाहिर।
एउटा शिक्षक बिहानै ५ बजे उठ्छ। हतार हतार मुखमा दुई, चार थोपा पानी छर्केर यसो कोट पाइन्टमा टाई झुण्डाएर भविष्यको कर्णधार निर्माण गर्ने अभिलाषा लिएर विद्यालय/कलेज पढाउन निस्कन्छ। विद्यालय/कलेज पुगेर हातमा लिएको हेल्मेट टस्स टेबलमा राखेर पुनः गेटमा फर्कन्छ।
बिस्तारै गेटबाट प्रवेश गर्दै गरेका विद्यार्थीहरूको नजरमा आँखा पार्न थाल्छ। अनि प्रत्येक दिन रेडिमेट प्रश्न सोध्न थाल्छ।
प्रश्न नं १: बाबु ड्रेस खै ?कहिले सिलाउने ?
प्रश्न नं २: बाबु कपाल किन छोटो ? कहिले काट्ने ?यसरी हो कपाल काट्ने ? यो मिलाएर नकाटे भोलि मै काटिदिन्छु क्लासमा।
प्रश्न नं ३ : खल्तीमा मोबाइल छ ? खै निकाल।
प्रश्न नं ४ : कानमा टप र मुन्द्रा किन?
प्रश्न नं ५ : पाइन्ट किन छोटो ? भोलिदेखि लामो पाइन्ट लगाएर आउने।
प्रश्नै प्रश्नको वर्षाले विद्यार्थीहरूलाई हायलकायल बनाउन सफल एक शिक्षक साँच्चै यी सबै प्रश्नहरूको बनावटी उत्तरले निकै निराश हुन्छ। अब केहीबेरमा कक्षा प्रवेश गर्ने घण्टी बज्छ।
शिक्षक मार्कर र डस्टर बोकेर कक्षामा छिर्ने तरखर गर्दागर्दै सकेसम्म पढ्न नपरे हुने जस्तो गरेर कक्षाकोठामा बलै प्रवेश गरेका विद्यार्थीहरूको कारण शिक्षकमा निराशा पैदा हुन्छ।
एउटा ठूलो कक्षाकोठाको लास्ट बेन्चमा गएर बल्लतल्ल सिटमा बसेका लास्ट बेन्चर्सको अर्को अध्याय फेरि त्यहाँ पनि सुरू हुन्छ। केहीबेर अगाडि गेटबाट प्रवेश गर्दा बर्साएको प्रश्नको चाङ्गमाथि थप प्रश्नको वर्षा गर्न शिक्षक बाध्य हुन्छ।
प्रश्न नं ६ : किताब कतिवटा छ ? खै, झोला चेक गरूँ।
प्रश्न नं ७ : हिजोको होमवर्क खै ?
प्रश्न नं ८ : नोटकपि छ ?किन सबै प्रश्न नगरेको ?
कुनै पनि प्रश्नको उत्तर नपाएपछि २,४ शब्द गाली गरेर आफ्नो मन केही हलुका गरेर शिक्षक आफ्नो कक्षालाई अगाडि बढाउँछ।
एउटा शिक्षक कर्ममा विश्वास गर्छ। आफ्नो कर्तव्य र जिम्मेवारी पूर्ण रूपमा इमान्दार भएर पालना गर्छ।
आफू सफल हुन नसके पनि आफूले शिक्षा दिएको विद्यार्थी भोलि गएर समाज र राष्ट्रको लागि एक उत्कृष्ट र अब्बल व्यक्ति होस् भन्ने आशा गर्दछ।
प्रत्येक बाबुआमाको सपना हुन्छ आफूले जतिसुकै दुःख कष्ट सहेर भए पनि आफ्ना सन्ततिहरूलाई उचित शिक्षा दिऔं र देशको एउटा असल नागरिक बनाऔं। तर यहाँ धेरै आमाबुवाको त्यो सपना अधुरो रहन्छ।
गाउँबाट सहर छिरेको छोरो बाटोमा हिँड्दा कानमा एयरफोन कोचेर मस्त हुँदै हिँड्छ। सडकमा कुदेको गाडीले बजाएको हर्न सुन्दैन, गाडीको ठक्करले असक्त हुन्छ।
कलेज जानुको सट्टा कलेज ड्रेसमा फिल्महल र पार्कमा भुल्छ अनि कलेजमा पाइलो नै नटेकी घर फर्कन्छ। चोक चोकको चिया पसलमा छिरेर चुरोट र चियाको चुस्कीमा रमाउँछ। उसलाई कुनै पनि समय फुर्सद छैन।
केहीबेर अगाडि भेटेको साथीसँग केही मिनेट पछि घर पुगेर पनि फेरि सामाजिक सन्जालमा गफ गर्न परेकै छ। प्रायःमोज मस्तीमा भुल्छ अनि आफ्नो अमूल्य समय खेर फाल्छ।
दि लास्ट् बेन्चर्स !
न किताब छ। न होमवर्क छ। न त नियमित कलेज नै जान्छ। हप्तामा २ दिन कक्षामा आयो अनि सरले पढाएको केही बुझिएन भनेर क्लास बंक गरी कक्षाबाहिर गफ दिँदै बस्छ।
कक्षाका कुनै साथीभाइलाई गन्दैन। शिक्षकलाई गन्दैन। होमवर्क गर्ने कुरा त परैको भयो। सिक्ने कुरा त केहीकतै हुन्न र उसमा घमण्ड हुन्छ ‘आई यम दि लास्ट् बेन्चर्स’ ।
डियर लास्ट् बेन्चर्स !
भविष्यको भाग्यरेखा कोर्ने तिमीले नै हो। तिम्रा अभिभावकले तिमीबाट निकै आशा गरेका छन्। तिम्रो समाजले तिमीलाई नियालिरहेको छ। यो देशलाई तिम्रो निकै खाँचो छ। तिमीसँग सबैथोक छ। तिमी सबै कुराहरूमा अब्बल नै छौ।
तिमीसँग विलक्षण प्रतिभा छ। मात्र तिमीले आफूलाई सही तरिकाले अगाडि लैजान सकेका छैनौ।
गाउँघरमा खेतीपाति गरेर जीवन निर्वाह गरी तिमीलाई पठनपाठनमा अब्बल बनाउने तिम्रा आमाबुवाको सपना, खाडी मुलुकमा गएर रगत र पसिना बेचिरहेका तिम्रा आमाबुवा तथा दाजुदिदीहरू साथै युरोप र अमेरिका पुगेर तिम्रो लागि सुन्दर भविष्य निर्माण गर्न लागिपरेकाहरू सबैको आँखामा तिमीले पीडाको होइन, खुसीको आँसु भर्नु पर्दछ।
अहिले विश्व एउटा सानो गाउँजस्तै भएको छ। विश्वको कुनै पनि ठाउँमा भइरहेका गतिविधिहरू केही मिनेटमा नै संसारभर पुग्छ। प्रविधिको उच्चतम प्रयोगले गर्दा कोही कसैसँग टाढा भएको महशुस गर्न परेको छैन।
त्यसैले आजभोलि कुनै पनि विषय वस्तुको ज्ञान लिन शिक्षक नै कुर्नुपर्छ भन्ने पनि छैन। सबैको हातहातमा स्मार्ट फोन र इन्टरनेट छ तर त्यसलाई हामीले कसरी प्रयोग गरिरहेका छौं भन्ने मुख्य कुरा हो।
डियर लास्ट् बेन्चर्स !
शिक्षक कक्षामा आउने बेला पात्र १ ले भने जस्तो “ओई! सर आयो ! त्यो बुढाले त मार्छ यार्। लास्ट कडा छ। हिँड् भित्र”पनि होइन। शिक्षकलाई सम्मान गर्ने बानी गर। तिमीलाई ज्ञान बाँड्नु र सत्कर्ममा लाग्न सिकाउनु शिक्षकको पाप हो र ? शिक्षकले अपराधिक मानसिकता बोकेको हुन्छ र ?
पात्र २ ले भने जस्तो “ओई ! बुढा आज नआउने कुरा थियो त हिजो ! फेरि आज नि बोर हुने भयो। खाली पढाउनेमात्र काम गर्छ यार यो कलेज।” किन नियमित पठनपाठन गराउनु पाप हो ? सम्पूर्ण अभिभावक र विद्यार्थीको सपना पूरा गर्ने काम कलेजको होइन? एउटा शिक्षक तिम्रो भविष्य निर्माण गर्न आउँदा तिम्रो लागि त्यो शिक्षक कसरी तगारो भयो ?
शिक्षक पात्र ३ ले भने जस्तो “बुढाहरूलाई मोज गर्ने तरिका नै थाहा छैन”भन्ने होइन। शिक्षक जहिले पनि आफ्नो कर्तव्य र जिम्मेवारमा रमाउन चाहन्छ।
त्यसैले पात्र ४ ले भने जस्तो “छोड् ! आजको क्लास बंक । के पढ्नु यार। दिमागमा केही छिर्ने हैन। बेकार के जानु क्लासमा। मेरो गिदीमात्र खराब हुन्छ। मोज गरूँ। बरू २,४ जनालाई पनि बोलाऊँ बाहिर ।”भन्दै कसैको भविष्यमाथि खेलवाड गर्ने अधिकार कसैको हुँदैन।
अन्यमा कसैले पनि तिमीहरूलाई खोट लगाउन नसक्ने गरी आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर।
आफूले आफैंलाई सम्हाल र आफ्नो सुन्दर भविष्य अनि परिवारको सपना पूरा गर्ने वाचा गर्दै अगाडि बढ। पक्कै पनि सफतलाको शिखर चुम्न सफल हुनेछौ।
शुभकामना।
(मैले विगतदेखि वर्तमानसम्म प्रत्यक्ष आफूले देखेको र भोगेको कुराहरूलाई यहाँ प्रस्तुत गरेको छु। कुनै वर्गलाई आघात पुर्याउने यस लेखको लक्ष्य होइन। त्यसैले यसलाई सकारात्मक रूपमा लिई दिनुहुन विनम्र अनुरोध गर्दछु। )