दाङबाट मेसेन्जरमा अफलाइन म्यासेज आएको रहेछ, विष्णु श्रेष्ठको। म्यासेजमा लेखिएको थियो- जयबहादुर मामा बित्नु भएछ सर।
मैले कुनै उत्तर दिइनँ। मध्यरात थियो।
भोलि बिहान हुम्लाका कान्तिपुरकर्मी र मेरी छात्रा छपाल लामालाई फोन गरें। उनीमार्फत् सबै जानकारी पाएँ। लगत्तै जनक नेपाल र गिरिश गिरीका स्मृति लेख आए।
ती लेखहरूले मलाई जयबहादु सर (रोकाया) दाइप्रतिको सामिप्यता झन् बढायो। त्यसको केही दिनपछि कलेन्द्र सेजुवालको अर्को सम्झना लेख पढेपछि लाग्यो-मैले पनि जय दाइको बारेमा केही लेख्न पर्छ।
मैले जय दाइसँग बिताएका एक–एक सम्झनाहरू फिल्मको रिलझैं घुम्न थाले। तीनै जनाले जय दाइको पत्रकारिताबारे लेखेका थिए।
जय दाइले जति मान–सम्मान पाए, त्यसमा पत्रकारिताकै भूमिका छ। त्यसबाहेक मैले उहाँसँग जीवनका केही क्षण संगत गर्ने सौभाग्य पाएँ।
पहिलो पटक २०६३ सालमा राष्ट्रिय योजना आयोगको स्वंयसेवक सेवाबाट सामुदायिक विद्यालयलाई सहयोगको लागि हुम्ला गएका बेला जय दाइसँग सामान्य चिनजान भएको थियो। पहिलो पटकको मेरो हुम्ला बसाइ करिब एक महिनाको मात्र थियो।
म काठमाडौं फर्केपछि जय दाइसँग फोनमा बढी कुरा हुन्थ्यो। दाइ काठमाडौं आएका बेला थोरै समय भए पनि भेट्न बोलाउनुहुन्थ्यो।
एक–दुई पटक कान्तिपुरकै अफिसमा भेट्न गएको छु।
एक पटक जय दाइको फोन आयो। सायद २०६४ सालतिर हो।
‘भाइ कता हो समय छ भने आउनु सुन्धारा, मःमः खान,’ दाइले सप्राइज दिए।
प्रायः काठमाडौं आउँदा पहिल्यै जानकारी गराउँथे। तर, यसपटक काठमाडौं आएर फोन गरेका थिए। दुइटा मात्रै किन नहोऊन्, स्याउ ल्याइदिन्थे। दाइको कुरा काट्ने कुरै थिएन।
कीर्तिपुरबाट सुन्धारा पुग्न पनि एक घण्टा लाग्यो, जामले। दाइले त्योबीचमा दुई–तीन पटक फोन गरे।
सुन्धारा पुग्दा दाइले तीन ठाउँमा मःमः मगाइसकेका रहेछन्। सधैंझैं पि–क्यापमा थिए दाइ। छेउमा मैले नचिनेकी महिला पनि थिइन्।
‘मैले त उहाँलाई त चिनिनँ नि दाइ,’ मःमः खाँदै गर्दा मैले सोध्न भ्याइहालें।
‘मसँग आएपछि अरू को हुन्छ र भाइ’ यति भनेर दाइ गजबले हाँसे। ती महिला अलिअलि लजाउँदै मुसक्क हाँसिन्। अब मैले थप बोल्नु पर्ने केही थिएन,
बुझिहालें। दाइले दोस्रो सप्राइज दिए- कान्छी भाउजूको।
दाइ फर्किहाले हुम्ला। नियमित सम्पर्कमै थियौं हामी। दाइको जेठो छोरा डा.दिनेश रोकाय (हाल थाइल्यान्ड) त्यतिबेला काठमाडौंमा पढ्दै थिए।
दाइले दिनेशसँग पनि परिचय गराइदिएका थिए। ककनी चोकनजिक बस्थे। दाइले हुम्लाबाट बेलाबेला ‘दिनेशलाई सम्झाइदिनु’ भन्थे। दिनेशसँग कहिलेकाहीँ भेटघाट हुन्थ्यो। धेरैजसो दिनेशसँग फोनमा कुरा गर्थें, दाइलाई पनि जानकारी गराउँथें। दाइ र दिनेश ठ्याक्कै फरक थिए। दाइ रमाइलो स्वभावका थिए, दिनेश साह्रै ‘रिजर्भ’ खालको।
२०७० सालको दोस्रो संविधानसभा चुनावका बेला म हुम्लामै थिएँ। यो मेरो तेस्रो बसाइ थियो हुम्लामा।
२०६५ सालमा मास्टर डिग्रीको थेसिस लागि लामा समुदायको बहुपति प्रथाको अध्ययनका लागि गएको थिएँ। यो पटकको हुम्लाको बसाइ किर्डाक नेपाल नामक गैह्रसरकारी संस्थाले जुराएको थियो।
अहिले कर्णाली प्रदेशका सामाजिक मन्त्री दल रावलले त्यसबेला हारे। उनी नेकपा एमालेबाट थिए। अहिलेका प्रतिपक्षी माननीय जीवनबहादुर शाहीले त्यतिबेला कांग्रेसबाट जितेका थिए।
कर्णालीको एउटा गजबको संस्कृति छ। सुख–दु:खमा देउडाले झक्झकाउँछ।
साँझपख मेरो अफिस अगाडिको डाँडामा रावलका समर्थकहरूले देउडा लाउँदै थिए।
देउडामा स्वयं रावल पनि समावेश थिए। देउडा लाउने र हेर्नेको भीड थियो। त्यो भीडमा म पनि थिएँ। देउडा मनपर्ने तर कम बुझ्ने। जय दाइलाई फोन गरेर देउडा हेर्न बोलाएँ। एकछिनमै आइपुगे। दाइले देउडाको अर्थ लगाइदिएपछि साह्रै मज्जा आयो।
देउडाबाटै चुनाव हार्नुको कारण अनि अर्को पटकको जितका लागि शुभकामना दिँदै थिए।
झमक्क साँझ पर्दै थियो। दाइ र म कोठातिर लाग्यौं। देउडा चल्दै थियो।
कोठा पुगेको आधा घण्टा पनि भएको थिएन, जय दाइको फोन आयो।
उनले आफ्नो घरमा बोलाए। मेरो कोठा र दाइको घर तीन मिनेटको दूरीमा थियो । घर पुग्दा दाइले चुनावकै बारेमा समाचार बनाउँदै रहेछन् । भर्खर भेट भएको मान्छेलाई दाइले किन बोलाएका होलानझैं लाग्यो।
‘साँझ के छ कार्यक्रम’ दाइले सोधे।
‘के हुनु र ! खाने र सुत्ने त हो। केही छैन,’ मैले उत्तर दिएँ।
‘उसो भए साँझ दल रावलकोमा जाऊँ ल,’ दाइले भने।
भर्खरै चुनाव हारेका व्यक्तिलाई भेट्न जानु भनेको सान्त्वना दिन नै होला भन्ने अड्कल काटें।
‘जान्नँ’ भन्न पनि गाह्रो, ‘हुन्छ’ भन्न पनि सकिनँ।
एक मनले सोचें- कुनै एउटा बहाना बनाएर ‘जान सक्दिनँ’ भनु कि! फेरि अर्को मनले सोचें-होइन, दाइले आफ्नोझैं ठानेर भनेका छन्। जान्न भने दाइले नराम्रो मान्छन्। जाने सुरसार गर्यौं।
पूरै अन्धकार भइसकेको थियो। हामी कुरा गर्दागर्दै रावलको फोन आयो, छिटो आउनु भनेर।
एकछिनमा दाइले समाचार तयार पारे। तर, सधैंको झैं साझा समस्या आइलाग्यो- इन्टरनेट राम्ररी चल्दै चलेन। फाइल अट्याच नै नहुने।
दाइले छुट्टै स्काईको डिभाइस निकाले। कोशिस गरे तर भएन। दाइलाई ब्यालेन्स चेक गर्न भनें। ब्यालेन्सै रहेनछ। दाइले प्रायः रिचार्ज कार्ड जगेडा राख्दा रहेछन्। एउटा सयको निकाले। आफूले चस्मा लाउँदा ढिलो हुन्छ भनेर मलाई नै रिचार्ज गर्न भने।
बल्ल–बल्ल समाचार गयो।
‘समाचार आएन भन्छन् हाकिमहरू। समाचार जति पनि छ। प्रविधिले साथ नदिए के गर्ने’दाइ एक्लै गुन्गुनाए।
रावलको घर पुग्दा अबेर भयो। घरमा मान्छको बाक्लो चहलपहल थियो। हामीलाई अलि विशेष पाहुना जस्तो बनाइयो। हुम्लाको लामो बसाइमा यस्तो आतिथ्य पहिलो थियो मेरो।
अधिकांश अनुहारहरू मेरा लागि नौला थिए। खानपिन सुरू भयो। कर्णालीको चिसो,त्यसमाथि हुम्ला। त्यसमा एउटामात्रै तातो थियो- चुनाव हारेको रन्को।
‘सुखदु:खको साथी’ भन्दै स्थानीय छुर्पीले झानेको छ्याङ्कोल लिएर आए एक जना। केही बोतल बियर पनि थिए। छयाङ्कोलसँगै माहोल अलि तात्तै गयो। चुनावका बारेमा धेरै विचारविमर्श भए। म एक त राजनीतिमा चासो नदिने मान्छे, त्यसमाथि पनि हुम्लाको राजनीति- म ट्वाँ पर्नुको विकल्पै थिएन। बीच्चबीच्चमा ‘हो हजर’ भन्दै बसें।
जय दाइ नै थिए त्यो कार्यक्रमको प्रमुख अतिथि जस्तो। दाइले रावललाई बडो गजबले उत्प्रेरणा दिए।
बिस्तारै–बिस्तारै माहोल फेरि देउडामै मोडियो। सबै जना हल्का छयाङ्कोलको स्वादमा देउडा गाउँदै थिए। दाइले मलाई अथ्र्याइदिन्थे। एकछिनमा दाइ अर्थ लाउने अवस्थामा रहेनन्। छयाङ्कोलले उनलाई जितेछ। रात धेरै छिप्पिसकेकाले दाइलाई घर जान अनुरोध गरें।
दाइलाई घर पुर्याउन अरू दुई जना साथी आए।
दाइलाई पुर्याएर साथीहरू गए। म पनि सँगै थिएँ।
दाइले मलाई एकछिन बस्न भने।
‘अघि अलि धेरै नै बोलियो क्या हो भाइ’ ग्लानिबोधले सोधें।
‘हैन, ठिक्क थियो। मातेको बेला कसैलाई थाहा हुन्न। अरू पनि हल्लिएकै थिए,’मैले हाँस्दै भनें।
त्यसले उनलाई सान्त्वना दिएछ, शान्त भए। उनलाई सुताएर म कोठातिर लागें।
दाइ प्रायः रिपोर्टिङको समयबाहेक घरमै भेटिन्थे। उनलाई भेट्ने अर्को ठाउँ भनेको लोटाई लामाको होटल थियो। दाइको घरसँगै थियो होटल। छयाङ्कोल र चोती (स्थानीय मुला) चिसोमा दाइका सारथीजस्ता थिए। चोतीको त म पनि फ्यान भइसकेको थिएँ।
ल्यापटप, कलम, सानो कपीको पाना र डटपेन दाइको साथबाट छुट्दैनथे। कुनै खबर आयो वा केही विशेष घटना भयो भने जुरुक्क उठेर घर कुदिहाल्थे। त्यस्तो समयमा ढुंगा बोल्थ्यो, दाइ बोल्दैनथे।
एकपटक अफिसबाट सरासर दाइकहाँ गएँ र बोलाएँ। बोल्दै बोलेनन्। चप्पल बाहिरै थियो। ढोका ढक्ढकाएँ, खोलेनन्। फार्ममा गएर स्याउ खाएँ। स्याउ फार्म आफ्नैजस्तो भएको थियो। २० मिनेटजति बसें, दाइले ढोका खोलेनन्।
चिसो बढ्दै गयो। म कोठातिर फर्किएँ। झण्डै एक घण्टापछि दाइले फोन गरेर घर बोलाए।
‘किन गएको नबसेर’ दाइले भने।
‘हजुर मरिगए बोल्नु भएन, चिसोमा घरबाहिर के रुँघेर बस्नु भनेर फर्किएँ,’ मैले भनें।
दाइ गलल हाँसे।
‘म व्यस्त थिएँ के, माइन्ड नगर्नू ल, आगलागीको समाचार बनाउँदै थिएँ,’ दाइले भने।
त्यत्तिकैमा स्याउ खाने कुरा आयो। फेरि स्याउ फार्म गयौं दुबै जना। बोटमै चढेर स्याउ खाएको मेरो पहिलो अनुभव थियो।
स्याउ टिप्दाटिप्दै म रूखबाट हाँगासँगै भुइँमा बजारिएँ। स्याउको बोट सानै हुँदा चोट धेरै लागेन तर लटरम्मै फलेका स्याउ सबै भुइँमा झरे। दाइ र मैले झरेका स्याउ बोरामा उठायौं।
यस्ता दिन बित्दै थिए, अचानक मेरो काठमाडौं सरुवा भयो।
दाइसँगको भेटघाट निरन्तर थियो। एक्कासि दाइ हराए। करिब एक वर्ष जति दाइसँग सम्पर्कको कुनै माध्यम रहेन। हुम्लामा विभिन्न माध्यमबाट दाइको बारेमा बुझें।
दाइ अलि बिरामी रहेछन्। सञ्चारका माध्यम पनि कम चलाउँदा रहेछन्। ‘कान्तिपुर’ पनि छोडेको थाहा पाएँ। उनको ठाउँमा स्थानीय छपाल बहिनी ‘कान्तिपुर’की रिपोर्टर नियुक्त भएकी रहिछन्। उनी मेरी विद्यार्थी भएकीले कुराकानी गर्न सजिलो भयो। पछिल्ला केही महिनायता जय दाइलाई सम्पर्कमा ल्याएर भेटघाट पनि छपालले नै गराइदिएकी थिइन्। दाइसँग पुनः भलाकुसारी हुँदै गए। हुम्ला बसाइका केही सम्झनाहरू कोट्यायौं।
एक्कासि दाइ बिते।
यो लेखिरहँदा मेरा आँखा भरिएका छन्। आजको दिन तिमीले हामीलाई छोडेको छ महिना पुगेछ। यति सज्जन मान्छे किन यति छिट्टै गए!
समय समयमा तिम्रो याद आउँछ। भावपूर्ण श्रद्धाञ्जली दाइ।
जहाँ छौ, शान्तिले बस...