मोबाइल विज्ञान र मार्टिन कुपरको एक अमूल्य बरदान नै भने हुन्छ मानव जातिलाई। मोबाइल र मानव बीचको सम्बन्ध यस्तो घनिष्ट छ कि कुरा गरेर साध्य छैन।
राति सुत्नु अघि होस् या बिहान उठेर आँखा मिच्दै हेर्ने पहिलो वस्तु नै मोबाइल, दु:खमा नारायण गोपालको गाना सुन्नदेखि खुसीमा मजाले नाच्न समेत यही नै चाहिन्छ।
पर रहेका आफन्तसँग बोल्नदेखि, छेउमै रहेका मन परेका व्यक्तिलाई बेवास्ता गर्न होस्। आफ्नो प्रियसीलाई आंगालोमा च्यापेर तस्बिर खिच्नदेखि, मन्न नभरुन्जेल रातभरि बोल्न होस्। यहाँसम्म कि मैले यो लेख लेख्नदेखि तपाईंहरूले यो पढ्न समेत मोबाइलकै प्रयोग गरी राखेको छ।
बेरोजगारलाई पब-जी खेल्नदेखि कुँवारा केटाहरुलाई केटी पट्याउन होस्, सबलाई मोबाइल नै चाहिन्छ। हामी मोबाइलप्रति यति भिजिसकेका छौँ कि यस्तो लाग्छ, मोबाइल हाम्रो शरीर अमूल्य अंग नै भइसक्यो। बरु एउटा किड्नी नहोला, केही वर्ष बाचिएला तर मोबाइ बिना त थाहा भएन कति गाह्रो होला बाच्न अबका पुस्तालाई?
टेलिभीजन, भित्तेपात्रो, क्यालकुलेटर, घडी, रेडियो, टेलिफोन, पत्रपत्रिका, कापी, कलम, इन्टरनेट सबको सामूहिक मिश्रित रुपनै त हो मोबाइल। यहाँसम्म कि राष्ट्रपतिदेखि जन्ताको हात हातसम्म समान स्थान ओगट्न सफल भएको छ।
चलाउन आवस् नआवस्, आरुको सामु फिर्ती लाउन भए नि बोक्नु पर्छ। राम राम, यतिले कहाँ पुग्छ! विचरा मोबाइल मानवबाट शोषित छ। दिनभरि रेट्या रेटै ब्याट्रीको डन्डी पातलिएर रातो नभएसम्म छोड्दैनम् हामी मान्छेले। अझ यो लकडाउनको बेला बुढीभन्दा प्रिय साथी नै यहीँ छ।
नपत्याए आफ्नो मोबाइलको ब्याट्री सकिँदा हुने छट्पटि नै सम्झनुस् त! माछालाई पानी बाहिर रख्दा पानीको निम्ति छट्पटाएको जस्तो लाग्दैन? यति छट्पटी त नयाँ भर्खर विवाह गरेको श्रीमती तिजमा माइत गएको बेला नि हुँदैन।
यदि मोबाइलको नि नेता हुन्थ्यो भने माइतीघर मन्डलामा टायर बालेर जोडजोडले काराउदै भन्थ्यो होला- 'मोबाइलप्रति भएको श्रम शोषण अन्त्य गर, हाम्लाई नि न्याय दे!' तर विचरा मोबाइल, यी सबै कल्पनामा नै सीमित छन्।
थरि थरिका मोबाइल। थ्याच्चे, लाम्चे, मोटे, पुन्टे, खियाउटे, डल्ले, टुकटुके सबको बेग्लै मूल्य छ। पाँच सयदेखि पाचँ लाखसम्म। दाजुले विदेशबाट ल्याएको लाम्चेदेखि हजुरबुवाले बोक्ने डल्ले मोबाइलसम्म, नाम अनुसारको कामसम्म फरक छ, जति महंगो उति नै बहुखुबी।
बोक्ने र चलाउनेलाई बेग्लै आनन्द छ। आजभोलि त मान्छेको मोबाइल हेरेर मान्छेको सोखिनता नाप्न पनि सकिन्छ। महंगो मोबाइल एप्पल, वानप्लस, मोटरोला, स्यामसङको भर्खरै बजारमा आएका महंगासेट बोके धनी। ओपो, एमआइ, भिबो बोके मध्यम वर्गीय। यसरी नि मोबाइलले वर्गीयतामा छुट्याएको रहेछ समाजलाई। यो के भन्छ भनेर अचम्म नमान्नुस्, लेख मेरो हो तर शब्द समाज को हो।
हाम्रो कला र संस्कृतिमा नि मोबाइल।
'बाख्रा-पाठा कराए घाँस काट्ने दिन हराए
बाख्रा-पाठा कराए घाँस काट्ने दिन हराए
संगिनीले बोल्छन् हेपेर
मुबाइल किन्देऊ बुढा बाख्रा बेचेर'
गायक कृष्ण परियारको यो गित निकै नै चलेको थियो। समयसँग सान्दर्भिक भएर होला मानिसले यो गित निकै रुचाएका पनि थिए। मोबाइलकै गित मोबाइलमै बजाएर गाउँ डुल्यो भने निकै शान हुने उबेला। मोबाइल र मानिसबीचको जोडी यस्तो लाग्छ कि आलु र प्याज, नङ र मासु, फूल र सुगन्ध, दाल र भात, मासु र ढिडो, दहि र चिउरा, घर र छानो, पानी र माछाको जोडी यी यति धेरै जोडिहरुको बथानमा एक नयाँ जोडी थपिएको छ।
अझ यो लकडाउनमा मोबाइलको गरिमा नै बढेको छ। अनलाइन क्लास होस्, वेब सिरीज, अल्मलिने बाटो नै मोबाइल भएको छ। यही मोबाइल घरि सुतेर, घरि उठेर, घरि उल्टाएर चलाउछौँ। चलाउँदा चलाउँदै कहिलेकाहीँ नाकको डाँडी नै भाँचिने गरी मुखैमा खस्छ। एकछिन नाक सुम्सुम्याउदै फेरि त्यही मोबाइल चलाउन थाल्छौँ।
कुनै कुनै बेला रिसमा चुर भएको बेला केही नपाए यहीं मोबाइल भुइँमा बेसरी पछार्छौं। रिस शान्त हुनासाथ फालेको मोबाइल टिपी चलाउन लाग्छौँ। सन्दर्भ कुनै बेला नचल्ने गरी फुटेको मोबाइल बोकेर रिसलाई गाली गर्दै मोबाइल बनाउने पसल तिर जन्छौँ। कस्तो तितो र मिठो सम्बन्ध छ है? यसो विचार गरेर हेर्ने हो भने मोबाइल र मानवबीचको सम्बन्धमा केवल मोबाइल मात्र पीडित त छैन?
मैले यत्रो मोबाइलकै गुनगान गाउँदा यो मित्रताको मानवप्रतिको घात नदेखेको हो कि? मोबाइलप्रति हाम्रो झुकाव पछि गएर ठूलो मित्रघात हुने हो कि। प्रविधिलाई हाम्ले चलाको राम्रो हो, न कि प्रविधिले हामीलाई।