दैव पनि कति निष्ठुरी हुँदोरहेछ कुन्नी,
भर्खर पलाउँदै गरेको त्यो मुना कसरी ओइलायो परदेशको बालुवा मुनि।।
मेरो मनमा यी शब्दहरू केहीदिनदेखि घुमिरहेका छन्। जति बिर्सन्छु भन्छु उति आँखा अगाडि घुमिरहन्छन्। त्यो साथीसँग बिताएका दिनहरू। आफनो देशको नभएपनि ऊ मेरो मनको साथी थियो। विदेशमा मिल्ने साथीहरु मध्ये उसको नाम अगाडि थियो। जात धर्म सबै बिर्सिएर हामी अति मिलिजुली दिनहरू बिताउने गर्द थियौँ।
जब म सरुवा भएर ऊ भएको ठाउँमा आएको थिएँ, उसको मोटो शरीर थियो। मैले उसलाई पाकिस्तानी सम्झिएको थिएँ। वास्तवमा ऊ पाकिस्तानी नभएर बंगलादेशी रहेछ। मलाई हिन्दीमा कुरा गर्दै 'आप नेपाली हें?' भनेको उसको पहिलो शब्द थियो। म पनि हिन्दीमै हो भनेको थिएँ। त्यो दिन ऊ पनि काममा व्यस्त थियो। म पनि आफनो काममा व्यस्त नै थिएँ।
एकहप्ताको लागि कम्पनीले बस्ने व्यवस्था गरेको थियो। मसँग अरू दुईजना साथी पनि आउनु भएको थियो। म हिजो कुरा गर्ने साथीसँग रुमको विषयमा कुरा राखें। उसले पनि मेरो कुरा राम्रोसँग सुन्यो। रूम खोज्ने प्रयास गर्छु भनी हामीलाई भरोसा दिलायो।
म पनि ऊमाथि भरोसा गरेँ। उसको मिलनसार पनले जसलाई पनि सजिलै आफ्नो बनाउँथ्यो।
दिनभर काममा फुर्सद भयो कि, मसँग गफ गर्न आउने गर्दथ्यो। दुई, तीन दिनपछि उसले मेरो लागि आफ्नो नजिकै रूम हेरिसकेको कुरा बतायो। म पनि खुसी थिएँ, रूम पाइयो भनेर।
शुक्रबारको दिन थियो। म उही साथीको रूममा गएँ। करिब बाह्र बजिसकेको थियो। साथी मुस्लिम हुनाले ऊ शुक्रबार मस्जिद जाने गर्दथ्यो। शुक्रबार उनीहरूको लागि अति महत्त्व हुन्छ, मस्जिद। मलाई एकछिन बस्न भन्दै मस्जिद तिर लाग्यो। म उसको रुममा टिभी हेर्दै बसिरहेँ।
अब भने साथी आइसकेको थियो। हामी रूम हेर्न गयौँ। रूम खासै ठूलो नभएपनि हामी तीन जनालाई गुजारा चल्ने किसिमको देखें। रूम पक्का गरियो।
हामी सामान लिएर आउछौँ भन्दा म पनि जान्छु भने। हाम्रो सामन लिन ऊ हामीसँगै आयो। परदेशमा उसको आत्मियतादेखि म अति खुसी थिएँ। हामी कम्पनीको रुमबाट समान लिएर आउँदा साँझ परिसकेको थियो। त्यो दिन उसको रुममा जो खाना खाइयो। एकछिन गफ गरी रूम तिर लागियो। शुक्रबार सकिएसँगै बिदा नि सकिएको थियो।
हामीमा मित्रता झन् झन् बढी रहेको थियो। उसको दुःखमा म सहयोगी बनेको थिएँ। मलाई अप्ठ्यारो पर्दा ऊ सहयोग गर्दथ्यो। दिउँसोको खाना एउटै टेबलमा बसि खाइन्थ्यो। उसको र मेरो खाना भन्ने जो हुँदैन थियो। जसले जसको खाना पनि खाने गर्दथियौँ। ऊ खानामा अलि बढी सौखिन पनि थियो। अलग देशका हामी मित्रतामा भने एक थियौँ।
दिनहरू यसरी नै बित्दै गएका थिए। यसैबीच उसको विवाह पनि भयको थियो।जब ऊ विवाह गरी फर्किएको थियो, उसको अनुहारमा हर्ष र दुःख एकैपल्ट देखेको थिएँ। विवाह गरेर आएकोमा हर्ष थियो भने भर्खर विवाह गरेकी जीवनसाथी छोडेर आउनु परेकोमा दुःखी थियो।
यसपालि उसलाई म सम्झाउने कोशिश गरेको थिएँ। परदेश भनेको यही हो, साथी। जे होस् विवाहपछि ऊ, जीवन संगिनीसँग फोनमा घण्टौं कुरा गर्दथ्यो। उनीहरूको माया अति गहिरो थियो।
यसरी चलेको हाम्रो दोस्तिमा अलिकति दुःखको दिन आयो। कम्पनीले वर्कर कम्ति गर्यो। लिस्टमा उसको नाम पनि थियो। हुन त भर्खर विवाह गरेको हुँदा केही समय घरमा बस्ने इच्छा थियो उसको। कम्पनीमा पनि त्यस्तै भयो।
म अति दुखी भएको थिएँ। चाहेर पनि केही गर्न सक्ने अवस्था थिएन। छ वर्षको सँगै खाने बस्ने, घुम्ने, हामी दुई जमिनी रूपमा अलग भएका थियौं। ऊ आफ्नो देश गयो। म अरबमा जो थिएँ।
ऊ आफ्नो मुलुकमा भएपनि फोनमा कुरा भइरहन्थ्यो। ऊ आफ्नो देशमा केही गर्न खोजेको बताउथ्यो। धेरै प्रयासपछि पनि मुलुकमा राम्रो अवसर नपाएकोमा मलाई गुनासो पनि पोखेको थियो। अन्तत: उसले फेरिपनि परदेशको झोला बोक्न बाध्य भयो। अरबमा भएपनि म बस्ने मुलुकमा नभएर अर्को मुलुक तिर ऊ आफ्नो गन्तव्य बनाएको थियो।
जब ऊ दोस्रो देशको गन्तव्य स्थानमा पुग्यो, उसले मलाई आफू सकुशल पुगेको बताएको थियो। अनि त्यो देशको बारेमा मलाई जानकारी गराउने गर्दथ्यो। भिडिओ कलमा अरू साथीभाइलाई मेरो नेपाली साथी भनी परिचय गराउने गर्दथ्यो। म पनि उसको माया प्रति अति आभारी थिएँ।
यसरी हाम्रो मित्रता बढी रहेको थियो। आजभोलि ऊ अलि निराश लाग्दै थियो। चिन्ता छ साथी भन्दै थियो। म उसको टेन्सन बुझ्ने प्रयास गर्थेँ। उसको कम्पनी सोचे जस्तो नभएको गुनासो पोख्दै थियो।
त्यसपछि घरमा पनि आर्थिक अभाव हुँदै गएको कुरा गर्दै थियो। हुन पनि विदेश जाने बित्तिकै पैसा कमाउन सकिन्छ भन्ने भ्रम पनि बढी नै छ। विदेशमा भने जस्तो सजिलो छैन,पैसा कमाउन। म उसलाई धेरै सम्झाउने कोशिश गरेको थिएँ।
एकदिन हामी बिदाको दिनमा गफ गरी रहेका थियौँ। उसले नै मलाई फोन गरेको थियो। ऊ अति उदास अनि चिन्तित देखिएको थियो। हाँसोमा मलाई झुट बोल्ने कोशिश गर्दै थियो। मैले फेरि फेरि सोधी रहेपछि मेरो प्रश्नको उत्तर यसरी दिएको थियो।
'साथी म अति दुःखी, चिन्तित अनि पीडादायिक जीवन बिताएको छु। दुई/तीन महिनादेखि तलब पाएको छैन। मेरो जिन्दगी अब लामो समयसम्म जाला जस्तो छैन्।'
यी शब्द भन्दाभन्दै उसका आँखामा आँसु झरेका थिए। म पनि के बोलूँ मेसो जो पाइनँ। यति भन्दै साथी पछि कुरा गरुँला बाई भन्यो।
म पनि उसलाई बाई भनेँ।
केही दिन भयो उसको फोन आएको थिएन। मैले फोन गरेको थिएँ, फोन उठेको थिएन। बिहान उठेर यसो मोबाइल हेर्दै थिएँ, मोबाइलमा आएको एक पोस्ट म धेरैपल्ट हेरी रहें। मलाई भरोस लागेको थिएन। संवेदनामुनि उसको फोटो राखिएको थियो। लास घर पठाउन भनी सहयोगको अपिल पनि गरिएको थियो।
हे परदेशी जिन्दगी! भनी म एकछिन टोलाइ रहेँ। हुन त यस्ता घटना परदेशमा भइ रहन्छन्। तर ऊ मेरो आफनो नजिकको मित्र थियो, ऊसँग बिताएक ती पुराना दिनहरू झन् मेरो अगाडि झलझली आउन थाले।
म उसको फोटोमुनि हार्दिक श्रद्धान्जली लेख्न नि डराइरहेको थिएँ। सत्यता तितो हुन्छ भन्थे, आज वास्तविक जस्तो लाग्यो। उसको फोटो मुनि हात कमाइ कमाइ हार्दिक श्रद्धान्जली लेखेँ।
उसको त्यो बाई नै मेरो लागि अन्तिम बाई भयो। मोबाइल खाटमा राखी बाथरूम भित्र पसी शरीर चिसो पानीले भिझाएँ। शरीर चिसो भयो, मन भने जलिरहेको थियो।
केही समयपछि पुनः उसको फोटो हेरेँ। अलबिदा साथी भनी फेरि दुई शब्द लेखी आफ्नो फेसबुकमा पोस्ट गरेँ। अब उसको लास कहिले पुग्ने हो आफनो मुलुकमा, मस्तिष्कमा अनेक तरंग आउँदै थिए। कम्पनीको बसको हर्नले मेरो सोचलाई आफूतिर तान्यो। म डिउटी लागि बसतिर दौडिएँ।
अलविदा! मेरो साथी।