मिनेसोटा राज्यको उत्तरी भागमा पर्ने एउटा राष्ट्रिय निकुञ्ज डुल्दै गर्दा मलाई सँगै गएका भाइले सोधे, 'हैन दाइ, किन हो यसरी बिहान बिहानै उठेर चरा खोज्न हिँड्ने? चरा हेर्न के मज्जा आउँछ र?'
उनको प्रश्नको उत्तर मैले दिन सकिनँ। मुसुक्क हासेँ। खास के चाहिँ थाहा छैन तर मलाई चरा हेर्न मज्जा आउँछ।
चरा हेर्ने गतिविधिलाई अंग्रेजीमा 'बर्डिङ' वा 'बर्ड वाचिङ' भनिन्छ। संसारभरिका हरेक कुनामा साना बालबालिकादेखि लिएर बुढापाकासम्मलाई चराले मोहित बनाउँछन्। उनीहरू आ-आफ्नै इच्छा, समय र विधिबाट बर्डिङ गर्दै रमाउँछन्।
मिनेसोटाको त्यही भ्रमणमा हामी बाजहरू पाउने ठाउँ पुगेका थियौं। 'माइग्रेसन' को समय भएकाले त्यहाँका डाँडाबाट विभिन्न प्रकारका बाज तथा चिलहरू देख्न पाइन्थ्यो। त्यो ठाउँको नाम नै 'हक रिज'। हामी त्यहाँ पुग्दा, बिहेको जन्ती जस्तै भिड थियो। धेरै जसोको हातमा दुरबिन, कोही कोही भने क्यामरा तेर्स्याएर नि बसेका थिए।
म त आफूजस्ता चराप्रेमी देखेर खुसी भएँ।
ती भाइले छक्क पर्दै भने, 'चरा हेर्न भनेर यत्तिका मान्छे जम्मा भएका?'
'अचम्म छ, रूखमा एउटा चरा बसेको छ। यत्रा मान्छे त्यसैलाई हेरेर फोटो खिचेर रमाइलो मान्ने रे!' उनी भन्दै थिए, 'के रमाइलो हुन्छ होला?'
के त्यो लाममा उभिएका चरा प्रेमीहरूसँग भाइको प्रश्नको उत्तर छ होला? कि मजस्तै उनीहरू पनि जवाफका लागि शब्द नभेटेर मुसुक्क हाँस्छन्?
म आफैं चरातिर लागेको धेरै भएको छैन। चराबारे काम गरूँला भन्ने पनि कहिल्यै लागेको थिएन।
स्नातकोत्तर सुरू गर्नुअघि कतै ट्रेकिङ वा हाइकिङ जाँदा छेउछाउ देखिने चराहरू देखेर म दंग पर्थेँ। सानो एउटा क्यामरा थियो। सकेसम्म आफूले देखेका चराहरू क्यामरामा कैद गर्ने कोसिस गर्थेँ।
सन् २०११ पछि चराप्रतिको मोह बढ्दै गयो। मैल स्नातकोत्तरको शोधपत्र नै चरामाथि गर्ने भएँ। अध्ययन गर्न थालेपछि त चरा मोह आकासियो।
नौ वर्ष भएछ, चराहरूसँग मेरो प्रेम गहिरिएको। मलाई उनीहरूले उत्साह दिन्छन्। हरेक दिन म चराहरूबाट नयाँ नयाँ कुरा सिक्दैछु।
चरामा के छ भन्ने प्रश्नको उत्तर भने मसँग अहिले पनि छैन। चरामा केही त छ। सायद म शब्दमा भन्न सक्दिनँ। आफूले कहिल्यै नदेखेको चरा पहिलोपटक देख्दा लाग्ने खुसी म जिन्दगीका अरू खुसीसँग तुलना गर्न सक्दिनँ। नाप्नै नसकिने खुसी भेट्न म फेरि चरा खोज्दै हिँड्छु।
यस्तो खुसी चराप्रेमीहरूले मात्र बुझ्न सक्लान्। अरूलाई सामान्य लाग्ने यो खुसीले म दिनदिनै भिजिरहेको हुन्छु।
पढाइ र कामबाट केही समय मात्र पनि फुर्सदिलो भएँ भने म दुरबिन र क्यामरा बोकेर जंगल लाग्छु। सेमेस्टर चलिरहँदा धेरै पर डुल्न जान पाइन्न।
म अमेरिकाको नर्थ डकोटा राज्यस्थित फार्गो सहरमा बस्छु। यहाँका केही पार्कहरूमा डुल्छु। फरेस्ट रिभर भन्ने एउटा पार्कमा त सयभन्दा बढीपटक गइसकेँ होला। हरेकपटक नयाँ चरा पाउने त होइन। जहिले गए नि त्यही पहिले देखिसकेकै चरा। सयौंपटक देख्दा पनि पहिलोपटक देखेजसरी रमाउँछु, तस्बिर खिच्छु।
नेपाल हुँदा धेरै चरा देखेको भए पनि अमेरिका आएर मैले शून्यबाट सुरू गरेको थिएँ।
नेपालमा भेटिने धेरै चरा यहाँ नि भेटिन्छन्। तर मैले अमेरिकाकै लागि भनेर एउटा 'लाइफ लिस्ट' बनाएको छु। अमेरिकामा करिब एक हजार दुई सय प्रजातिका चरा पाइन्छन्। अहिले म एक सय ६१ जतिमा पुगेँ। मैले देख्न बाँकी अझै कति छन्, छन्।
त्यही पार्कमा पाउने चरा पनि मैले सबै देखिसकेको छैन। देख्न पाऊँ भन्ने आश बोकेरै गएको हुन्छु, नदेखे पनि खुसी हुन्छु।
कहिल्यै नदेखेको चरा देख्नु हामी चराप्रेमीका लागि धेरै ठूलो कुरा! हामीहरू त्यस्ता चरालाई 'लाइफर' भन्छौं। जिन्दगीमा पहिलो पटक आफ्नै आँखाले कहिल्यै नदेखेको चरा देख्न पाउनु, ओहो! त्यो बेलाको अनुभूति म कसरी वर्णन गरूँ?
गएको वर्ष जाडोयाममा धूपीको रूखमाथि मैले पहिलोपटक 'नर्दन स व्हेट' नाम गरेको उल्लु देखेको थिएँ। यो उल्लु धेरै भए ८ इन्चको थियो। त्यति सानो उल्लु पहिलोपटक देखेर म मात्र होइन, मसँगै हिँडेका साथीहरू पनि छक्क परे। त्यति सानो उल्लु कसरी देखेँ भनेर आफैं अचम्म परेँ।
यो उल्लु सदाबहार जंगलमा बस्न रूचाउँछ। त्यसमाथि पनि धूपीको रूखमा। अन्य सिकारी चराहरूबाट लुक्न सजिलो भएर पनि ऊ धूपीको रूखमा छेलिएर बस्छ। त्यसैले सामान्य मानिसलाई यो उल्लु खोज्न अलि गाह्रै पर्छ।
तर चरा हेर्न हिँड्दा म सधैं धूपी वा अरू सदाबहार रुख हेर्छु। उल्लु बसेको छ भने त्यहाँ उल्लुको दिसाको सेतो धर्को बसेको हुन्छ र खाएर निकालेको पेलेट पनि हुन्छ। त्यो खोज्न सके उल्लु नि भेटिन्छ। र कहिलेकाहीँ उल्लुको कलले पनि थाहा पाउँछु। अरू चराका लागि भने उनीहरूको गीत सुनेर नि चिन्न सकिन्छ। त्यसमा भने म धेरै पोख्त भइसकेको छैन। तर यता पाउने धेरै चरा आवाजले नै चिन्छु।
त्यो दिन त्यति सानो उल्लु पहिलोपटक देखेपछि म त्यस्तै उल्लु खोज्न भनेर विभिन्न पार्कतिर धेरै डुलेँ। कैयौंपटक मैले त्यो उल्लु देखेको छु। अहिले देख्दा पनि खुसी लाग्छ। बर्ड्स 'अफ प्रे' र जुनसुकै रंगीन चरा मलाई मन पर्छन्। एकदमै धेरै मन भने उल्लुहरू हुन्। यीनमा एउटा भिन्नै प्रकारको गुण हुन्छ कि मलाई मात्र त्यस्तो लागेको हो थाहा छैन, ठूलाठूला आँखा, टुल्ल परेर घाँटी घुमाउँदै बसेको हेरेरै म दंग खान्छु।
अहिले जाडो महिना सुरू भइसक्यो, दिउँसोकै तापक्रम -१५ देखि -२०/२२ पुगेको हुन्छ। मलाई चरा खोज्न निस्किन भने तापक्रमले रोक्दैन। केही दिनअघि मात्र घर नजिकैको पार्क डुल्दा अर्को उल्लु भेटेँ। फेरि रमाएँ, फेरि खुसी भएँ र कहिले नदेखेजस्तो गरी टन्नै तस्बिर लिएँ।
चराप्रेमीको उत्साह कस्तो हुन्छ भनेर म एउटा किस्सा सुनाउँछु है।
म 'घर भँगेरा' माथि काम गर्छु। गएको ग्रीष्म ऋतुमा फार्गोस्थित फिल्ड साइटमा काम गर्दा हाम्रो भँगेराको बीचमा एउटा 'रूख भँगेरा' फेला पर्यो। अनि मैले इ-बर्डमा राखिदिएँ। इ-बर्ड भनेको आफूले भेटेका र देखेका चराहरूको फोटो, भिडिओ वा जानकारी हाल्ने एउटा अनलाइन डेटाबेस हो। यो नेपालमा पनि चलाउन सकिन्छ है।
यहाँ गएपछि कुन राज्यको कुन ठाउँमा कस्तो चरा भेटियो हेर्न मिल्छ। एउटै राज्यभित्रका मान्छेले त्यो सूची पछ्याइरहन्छन्। नदेखेको चरा कसैले कतैबाट रिपोर्ट गरे, दौडेर हेर्न पुग्छन्।
त्यो दिन मैले जसै रूख भँगेरा भेटिएको रिपोर्ट गरेँ, केहीबेरमै त्यहाँ मान्छेको घुइँचो लागिसकेको थियो। भोलिपल्ट बिहान उस्तै! मान्छेहरू चार-पाँच सय माइल परबाट घण्टौं गाडी चलाएर एउटा भँगेरा हेर्न आएका थिए। एक जोडी त झण्डै १२ घण्टाको दुरीमा रहेको मोन्ट्याना राज्यको सहरबाट आएका रहेछन्। त्यही एउटा भँगेरा हेर्न हप्तैभरी सयौं मान्छे आए।
हालसालै पनि फार्गोतिर नदेखिने एउटा चरा यहाँ भेटियो। म हरेक दिन इ-बर्डको सूची 'रिफ्रेस' गरेर बस्ने भएकाले देखिहालेँ र खोज्न भनेर गएँ। म पुग्दासम्म त्यहाँ मान्छेको घुइँचो लागिसकेको थियो।
नयाँ चराले हुरूक्क त पार्ने नै भयो। तर चराप्रेमीहरू त सधैं देख्ने चरामा पनि धेरै रमाउँछन्। चराको दुनियाँ नै त्यस्तै छ।
चरा देख्दा मात्र होइन खुसी र आनन्द मलाई उनीहरू बस्ने जंगलमा पनि मिल्छ। जंगलमा चरा मात्र हुन्नन्, हावाले हल्लाएर बजेका पात हुन् कि हावाको आफ्नै गीत! कुलुकुलु गर्दै बगिरहेको खोलाको आवाज होस् वा छेउछाउतिर आफ्नै तालमा सुसाइरहेको नदीको भाका!
म प्रकृतिमै आफ्नो घर देख्छु र प्रकृतिका ती आवाजले मलाई जीवित राख्छन्।
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)