कोरोनाभाइरस (कोभिड-१९) ले विश्वभर महामारीको रूप लिएको छ। यसले दुनियाँका हरेक क्षेत्रमा चुनौती सिर्जना गराएको छ।
बालबच्चाले कोभिड राम्रोसँग लड्नसक्ने र भइहालेमा सामान्य लक्षण भई सञ्चो हुने मानिएको थियो। तर बिस्तारै कोभिडको असरले कोभिड (थाहा पाइएको या अति सामान्य हुनाले थाहै नपाइएको) सँगै या लगत्तैपछि बच्चा र किशोरमा गम्भीर नयाँ ‘इम्युनोलोजिकल’ रोग ‘PMIS-TS’ (पी.एम.आई.एस.-टि.एस.) निम्त्याउने देखिएको छ।
पहिलोपल्ट अप्रिल २०२० देखि बेलायतसहित कोरोनासंक्रमितको संख्या बढी भएका मुलुकमा बालबालिकामाथि कोरोना (कोभिड) प्रस्तुतिभन्दा फरक ‘नयाँ बहुप्रणालीगत समस्या’ भएका बालबालिका तथा किशोर/किशोरी रोगी देखिन थाले।
ती मध्ये धेरैलाई सघन उपचार जरूरी भयो र तिनमा पिसिआर नेगेटिभ भए पनि कोभिड एन्टीबडी पोजिटिभ देखिए। शरीरका थुप्रै प्रणालीमा इन्फ्लेमेशन अर्थात् सुजनको लक्षण देखिने यो गहन बिरामीलाई पेडियाट्रीक इम्युनोलोजिस्ट र पेडियाट्रीक र्युमाटोलोजिस्टको संयुक्त विश्लेषणबाट ‘पेडियाट्रीक मल्टिसिस्टेमिक इन्फ्लामेटरी सिन्ड्रम’ (PMIS) नाम दिइयो।
मल्टिसिस्टेमिक इन्फ्लामेटरी सिन्ड्रम इन चिल्ड्रेन (MIS-C) पनि भनिने यो बिरामीका सबैजसो बालबालिकामा तत्काल या हालै कोभिड भएको वा मात्र कोभिडको एन्टीबडी पोजिटिभ पाइए कोभिडविरूद्ध शरीरले देखाउने इम्यन-प्रतिक्रिया असन्तुलित हुँदा यसलाई तसर्थ यसलाई ‘PMIS-TS’ नाम दिइयो।
यो गहन रोग सुरुमा युरोप अमेरिकामा देखा परे पनि पछिल्लो समय नेपालसहित दक्षिण एसियाली देशमा देखिन थालेको छ।
PMIS-TS रोग कोभिडबिरुद्ध बालबालिकाको शरीरका इम्युन-प्रतिक्रियाले हुने बहुप्रणालीगत रोग हो। बच्चा या किशोरहरू कोभिडबाट संक्रमित भएकै बेला या भर्खर सञ्चो भएको या लक्षणहीन कोभिड भएकामा पनि कुनै पनि बेला यस्तो रोग देखापर्न सक्छ।
बच्चामा कोभिडको प्रारम्भिक प्रत्यक्ष असर कम देखिने हुँदा कतिपय बच्चामा कोभिड लक्षण नै नदेखिएको र परीक्षण पनि नगरिएको हुनसक्छ। तसर्थ कोभिड पिसिआर नेगेटिभ आए पनि यीनमा कोभिड एन्टीबडी पोजिटिभ आउनसक्छ।
जुनसुकै उमेरका बच्चा, किशोर र कम उमेरका बयस्कमा समेत देखिए पनि PMIS-TS धेरै जसो ५ वर्षमाथिका बच्चामा देखिएको छ।
यस्ता बच्चामा अत्याधिक ज्वरो आउने, थकान हुने, आलस्य हुने, चिडचिड़े या सुस्त हुने, शरीरमा राता दाग, दाना या डाबर देखापर्ने, आँखा, जिब्रो, ओठ आदि राता हुने, पखाला या बान्ता आउने, हातखुट्टा सुनिने, सास फेर्न अप्ठेरो हुने इत्यादि हुनसक्छ।
यो रोग कोभिडको कारण देखिने इम्युनप्रतिक्रिया भएकोले कोभिड पिसिआर पोजिटिभ भएको समयबाहेक एकअर्कोमा सर्दैन। चाँडो उपचार भएमा सजिलै निको हुने यो रोग जति ढिलो उपचार हुन्छ यसमा जटिलता आउने सम्भावना पनि उत्तिकै बढी देखिएको छ।
यो सघन रोग फरक फरक रोगसँग मिल्दोजुल्दो हुनसक्छ। केहीमा झट्ट हेर्दा इन्फ्लेमेशनले हुने अर्को रोग ‘कावासाकी रोग’ (Kawasaki Disease) या केहीमा एम.ए.एस. (Macrophage Activation syndrome) जस्तो देखिन्छ।
सघन सक्रमणको अवस्था टि.एस.एस. (टोक्सिक शक सिन्ड्रम) जस्तो पनि देखिने यसको प्रस्तुति ‘कोभिड एन्टीबडी टेस्ट’ र ‘इन्फ्लामेसन/सुजनका सूचक’को टेस्ट नगरेमा निदान नै नहुनसक्छ। यसको लागि यो रोग PMIS-TS लाई यस्ता प्रस्तुतिमा एक सम्भावनाको रुपमा सोच्न जरूरी छ।
यो नयाँ रोगको भयानक पक्ष भनेको मुटुमा, स्वासप्रस्वासमा र मस्तिष्कमा गर्न सक्ने सघन असर हो। चाँडै निदान भएका अधिकांश बच्चामा खास केही दिर्घकालीन असर देखिदैनन्। भने ढिलो अस्पताल ल्याइएका या नयाँ बिरामी भएकाले त्यतापट्टी नसोचिँदा कतिको ज्यान नै खतरामा पर्नसक्छ।
बेलैमा पत्ता लगाउन सके यसको पूर्ण उपचार सम्भव भएकाले यो रोगका बारेमा व्यापक जनचेतना फैलाउनुपर्ने देखिन्छ।
भारतका चेन्नई, कोलकाता, दिल्ली, मुम्बईलगायत क्षेत्रबाट अत्याधिक रिपोर्ट गरिएको यो रोगका बिरामी काठमाडौंमा पेडीयाट्रीक र्युमाटोलोजीष्टबाट निदान र उपचार भइरहेको छ।
यसबाट बच्चा र किशोरलाई पीडित हुन नदिन अभिभावकले कोभिडको नजिकका सम्पर्क, माथि भनिएका लक्षण अनि चाँडोभन्दा चाँडो परामर्श लिनु बान्छनीय हुन्छ।
कतिबेला पेडियाट्रिसियन या पेडियाट्रीक र्युमाटोलोजिस्ट कहाँ जाने ?
एक दिनभन्दा बढी लगातार उच्च ज्वरो आएमा
कोभिड सम्पर्कमा आएका बालबालिका तथा किशोर/किशोरीमा थकान, ज्वरो, आलस्य, स्वासप्रस्वासमा समस्या भएमा।
शरीरमा राता दाना डाबर देखिएमा
आँखा, जिब्रो, ओठ रातो भएमा
हात खुट्टाका कुनै पनि भाग सुन्निएमा
शरीरमा लिम्फग्रन्थी सुन्निएमा
घाँटी दुख्ने, झाडापखाला, पेट दुख्ने, असह्य टाउको दुख्ने, काम गर्न गाह्रो हुने भएमा
खोकी, र अक्सिजन कमी
फोक्सो, मृगौला र मुटुका रोगी लक्षण देखिएमा (अरू प्रत्यक्ष कारण नभएको बेला)
PMIS-TS कोभिडबिरूद्धको इम्युन प्रतिक्रियाका कारण हुने एक गडबड इम्यून अवस्था सृजित आकस्मिक र्युमाटोलोजिकल रोग हो। जसमा बालबालिका तथा किशोरकिशोरीका शरीरका थुप्रै प्रणालीमा एकैचोटी अति-सुजन र त्यसका जटिलताका लक्षण आउँछन्।
जति चाँडो उपचार भयो, त्यति नतिजा राम्रो हुने भएकाले जटिलता नहुँदै निदान गर्न सकिए हामीले बालबालिका तथा किशोर/किशोरीलाई यो खतरनाक रोगबाट बचाउन सकिन्छ।
(लेखक डा. धर्मागत भट्टराई (एम.डी.,डी.एम.) पेडियाट्रीक इम्युनोलोजिस्ट एवं र्यूमाटोलोजिस्ट हुन्।)